परिचय

परिचय तथा महत्व

परिचय

नेपालमा उष्ण प्रदेशिय फलफूलहरु मध्य आँप प्रमुख फल हो र यसलाई फलफूलको राजा पनि भनिन्छ । एनाकार्डिएसी (Anacardiaceae) परिवारमा पर्ने आँपको वैज्ञानिक नाम म्याङ्गीफेरा इण्डिका (Magnifera indica) हो । हावापानी र माटोको दृष्टिकोणले यसको खेतीदेशको तराई देखी मध्य पहाडसम्म गर्न सकिन्छ । पाकेको आँप पुनर्ताजगी गर्ने खालको र स्वादिष्ट हुन्छ जस्मा भिटामिन ए र सी प्रचुर मात्रामा पाईन्छ । पाकेको फलमा अम्ल र प्रोटिनको मात्रा थोरै भएता पनि चिनीको मात्रा भने धेरै हुन्छ । आँपको उद्गम स्थान दक्षिण–पूर्बि एसिया,खासगरी मलायन ‍‌ द्विप समुह मानिन्छ । परापुर्वकालदेखी नै खेती हुँदै आएको आँप पुराना ऐतिहासिक मठ मन्दिर र राणाकालिन दरवारहरुमा अझैपनि देख्न सकिन्छ ।

उपयोग/प्रयोग

अपरिपक्व हरिया फलहरुलाई अचार,चटनी र टुक्राहरु लाई घाममा सुकाएर अम्चुर बनाई प्रयोग गर्न सकिन्छ । ताजा पाकेको फललाई सिधै खानमा प्रयोग गर्न सकिन्छ । पाकेको आँपको टुक्रा र गुदीलाई डब्बामा बन्द गरेर संरक्षण गर्न सकिन्छ । यसैगरी पाकेको आँपको रसलाई घाममा सुकाएर माडा वनाउन सकिन्छ । ठुला ठुला रुखहरुका काठहरु घर तथा फर्निचर वनाउन सकिन्छ भने सुकेका डांठहरुलाई दाउराको रुपमा प्रयोग गर्न सकिन्छ ।

नेपालमा आँपको वर्तमान अवस्था

क्षेत्रफलको हिसावले मध्यमाञ्चल विकास क्षेत्रमा आँपको धेरै खेती भएतापनि उत्पादन र उत्पादकत्व भने पुर्वाञ्चल विकासक्षेत्रमा वढि देखिन्छ । आँप उत्पादनको लागी मुख्यगरी पुर्वाञ्चल विकास क्षेत्रमा (सिराहा, सप्तरी र उदयपुर), मध्यमाञ्चल विकास क्षेत्रमा (महोत्तरी, सर्लाही, धनुषा, वारा, पर्सा, रौतहट र धादिङ्ग), पश्चिमाञ्चल विकास क्षेत्रमा (नवलपरासी, कपिलवस्तु र रुपन्देहि),मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा (दाङ्ग, वाँके, वर्दिया र सुर्खेत) र सुदुर पश्चिमाञ्चव विकास क्षेत्रमा (कैलाली र कञ्चनपुर) गरी १९ जिल्लामा व्यवसायिक आँप खेती गर्न सकिन्छ ।

वानस्पतिक गुण

आँप एउटा सदाबहार बोट हो । यो सिधामाथी जाने, ठाडो, हांगाहरु युक्त र चौडा आच्छादन (foliage) भएको हुन्छ । पातहरु रातो पालुवाका रुपमा निस्कन्छन् र पछि हरिया हुन्छन् । एउटा थुंगामा फूलको संख्या २००–४००० भन्दा बढि हुन सक्छ । धेरैजसो नेपालमा प्रचलित जातहरुमा एक–भ्रुणीय कोयाहरु हुन्छन् भने इण्डोनेसीया, थाइल्याण्ड र फिलिपिन्सका जातहरु भने बहु–भ्रुणीय हुन्छन् । बोटको मुख्य जरा (त्बउ चययत) हलुको माटोमा ४–५ मीटर सम्मको गहिराइमा जान सक्दछ ।

बिजु आँपका बोटहरु १०० बर्ष सम्म र कलमी बोट ७०–८० बर्ष सम्म बाँच्न सक्छ । उष्ण क्षेत्रमा सुख्खा मौसम यदि लामो समयसम्म (४ महिना) रहन्छ भने त्यहि समयमा फूल फुल्दछ, अन्यथा बर्षा याममा फूल फुल्ने गर्दछ । उपोष्ण क्षेत्रमा आँपजाडो यामको अन्त्यतिर वा बसन्तको प्रारम्भमा फुल्दछ । आँपको परागसेचन परसेचन क्रियावाट हुन्छ र स्वयंसेचन हुने सम्भावना कम हुन्छ । आँप फुलेपछि फल पाक्न साधारणतया ३–५ महिना लाग्दछ । आँपमा साधारणतया पुर्ण फूलहरुको ०.१५ फूलवाट लागेका फलमात्र परिपक्व हुने गर्दछन् र वाँकी ९९.९५ झरेर नै जाने गर्दछन् ।

जातहरु

अगौटे जातहरु
क्र.स. आँपको जात जातीय विषेशता
बम्बई ग्रिन रुख अग्लो र सिधा, फल मध्यम आकारको र अण्डाकार, बाह्य रंग स्याउ जस्तो हरियो, गुदी सुन्तला रंगको, रसदार र मीठो, रेशा थोरै, भण्डारण क्षमता उत्तम, फलाई मध्यम ।
बम्बई एलो रुख अग्लो र सिधा, फल मध्यम आकारको र अण्डाकार, बोक्रा मोटो र खस्रो, गुदी पहेंलो,कडा सुगन्धित, स्वाद धेरै मीठो, केहीं रेशाहरु भएको, फलाई मध्यम, भण्डारण क्षमता कम
कृष्ण भोग रुख भध्यम, फल मध्यम,करीब करीब गोलो,बोक्रा मध्यमबाक्लो, गुदी हलुका पहेंलो, स्वाद मीठो, रसदार, बढि फल्ने, भण्डारण क्षमता उत्तम
अल्फान्सो रुख मध्यम, फलसानो, अण्डाकार, गुदी एप्रिकोट रङ्गको सुगन्धित, बढि गुलियो र रसदार, रेशा बिहीन, गुणस्तर राम्रो, फलाई मध्यम
गुलाबखास रुख मध्यम, सीधा, फल सानो, अण्डाकार, बोक्रा मध्यम बाक्लो, मीठो सुगन्ध, रेशा थोरै, फलाई मध्यम

 

मध्यम जातहरु
क्र.स. आँपको जात जातीय विषेशता
दशहरी रुख मध्यम,फल मध्यम, बोक्रा पातलो र नरम, गुदी पहेंलो, स्वाद अति मीठो, रेशा बिहीन गुदी, भण्डारण क्षमता राम्रो, केहीं हदसम्म प्रत्यक बर्ष फल्ने ।
मालदह रुख मध्यम, फल मध्यम, बोक्रा पातलो र नरम, गुदी पहेंलो, सुगन्धित, स्वाद मीठो, भण्डारण क्षमताकम, राम्रो फलाई
लङ्गस रुख अग्लो र फिंजिने किसिमको, फलको आकार ठूलो र अबलौंगिस, गुदी पहेंलो र मीठो, उत्पादन बढि एकत्रो बाली
जर्दा रुख मध्यम, फल मध्यम, अण्डाकार, सतहको रब क्रिम जस्तो, चिल्लो, बोक्रा मध्यम बाक्लो, सुगन्धित, मीठो रसदार, रेशा धरै, फलको गुणस्तर राम्रो, बढि फल्ने, भण्डारण क्षमता उत्तम
अम्रपाली (दशहरी*निलम) यो माल्फर्मेशन (Malformation) रोग कम, बोट सानो, हरसाल फल्ने जात हो । फल सानो तर छिटो पाक्ने हुन्छ । यसमा रातो सिंदुरे रोग प्रसस्त लाग्छ । यो जातको फल मीठो हुन्छ । यो हाइब्रिड जात हो ।
मल्लिका (निलम*दशहरी) यो प्रत्यक बर्ष फल्दछ, फल ठुलो आकारको हुन्छ । यो हाइब्रिड जात हो ।
रत्ना (अल्फान्सो*निलम) अल्फान्सो जातमा स्पोन्जी टिस्यूको समस्याका साथै हरसाल नफल्ने हुँदा निलम जातसंग बर्णशंकर गरी रत्ना निकालिएको हो । यो जात हरसाल फल्ने आँपहो र यसमा स्पोन्जी टिस्यूसमस्या पनि छैन । यो हाइब्रिड जात हो ।
पछौटे जातहरु
क्र.स. आँपको जात जातीय विषेशता
चौसा रुख अग्लो र फैलने खालको, फल मध्यम, गुलियो रसदार, रेशा कम, फलको गुणस्तर अति उत्तम, फलाई ठिकैको, भण्डारण क्षमता असल
कलकत्तीया रुख मध्यम, फल मध्यम, oblongish, सतहको रंग हरियो, गुदी पहेंलो, बढि गुलियो नभएको, बढि फल्ने, भण्डारण क्षमता असल
निलम रुख मध्यम,फल मध्यम, अण्डाकार टेढो, सतहको रंग पहेंलो, बोक्रा मध्यम बाक्लो,गुदी रेशा बिहीन,स्वाद मीठो, फलको गुणस्तर राम्रो, बढि फल्ने, भण्डारण क्षमता राम्रो
सफेदा लखनउ रुख अग्लो र सीधा,फल सानो र एउटै आकारको, सतह नरम, बोक्रा मध्यम बाक्लो, गुदी नरम र खुर्पानी फलको रंग जस्तो, रसदार र मीठो, मध्यम सुगन्धित, रेशादार, फलको गुणस्तर राम्रो, बढी फल्ने, भण्डारण क्षमता उत्तम
फजली रुख ठूलो,फल लामो–चौडा र ठूलो,गुदी रेशादार र मीठो,भण्डारण क्षमता मध्यम
तोतापर (बग्लोरा) रुख पुड्को र सीधा,फल सानो र बाङ्गो टिङ्गो,सतह नरम, बोक्रा मध्यम बाक्लो, गुदी पहेंलो, रसदार, मीठो, बढी फल्ने, भण्डारण क्षमता कम
एक–भ्रुणीय आँपहरु

एक–भ्रुणणीय आँपको कोयामा एउटा मात्र भ्रुणण हुन्छ,तसर्थ यसबाट एउटा बोट मात्र उत्पादन हुन्छ । भ्रुण बर्णसंकर (जथदचष्म) हुन्छ । यसको निर्माण दुई जातको बोटका फूलहरुको गर्भाधान प्रक्रिया बाट हुन्छ । एक भ्रुणणीय आँपको कोयाबाट उमारिएको बोट माउ सरह हुँदैन । नेपालमा पाईने सबै जातहरु एक भ्रुणणीय हुन् ।

बहु–भ्रुणणीय आँपहरु

बहु–भ्रुणणीय आँपका कोयामा एक भन्दा बढी भ्रुणणहरु हुन्छन् तसर्थ, यस्तो कोयाबाट एक भन्दा बढी बिरुवाहरु उत्पादन हुन्छन् । थुप्रै भ्रुणहरु मध्य एउटा मात्र क्रसिङ्ग (गर्भाधान) प्रक्रियाबाट उत्पन्न हुन्छ । बाँकी सबै माउको ओभ्यूल (ovule) कोषको बिभाजन बाट बन्दछन् । यिनले अरु कुनै जातको तत्व ग्रगण गरेको हुंदैन । बहु–भ्रुणणीय आँपको कोया रोप्दा थुप्रै बिरुवाहरु निस्कन्छन् । यी बिरुवाहरु माउ सरह हुन्छन् । नेपालमा बहु–भ्रुणणीय जातका आँपहरु पाईदैनन् ।

आवश्यकता

हावापानी

आँप विशेषगरी सामुन्द्रिक सतहदेखी २००–७०० मिटरसम्मको उचाईमा व्यवसायिक रुपमा गर्न सकिन्छ । यस्को खेतीको लागी उपयुक्त तापक्रम २०–३० डि से हुन्छ भने यस्ले तुषारो र सुख्खा सहन सक्दैन । वार्षिक औषत वर्षा १५०–२५० से.मी. हुने ठाँउमा यस्को खेती राम्रोसँग गर्न सकिन्छ । आँपको नर्सरी गर्नको लागी ६०० मिटर भन्दा माथी उपयुक्त मानिदैन ।

माटो

कम देखि राम्रो मलिलोपना भएको, माटोको पि.एच. ४.५–७ र २ मी.गहिराई भएको माटो आँपखेतीको लागी उपयुक्त मानिन्छ । निकास ब्यबस्था राम्रो भएको, पानी नजम्ने खालको माटोमा आँप खेती राम्रोसँग गर्न सकिन्छ ।

नर्सरी व्यवस्थापन

विरुवा प्रसारण (प्रजनन्) विधि

मुख्य गरी आँप लैङ्गिक र वानस्पतिक प्रजनन् विधिवाट प्रसारण गर्न सकिन्छ ।

लैङ्गिक प्रजनन् विधि (Sexual method)

यस तरिकामा प्रजनन् बिउबाट गरिन्छ, बीउ एक– भ्रुणणीय वा बहु– भ्रुणणीय हुन्छन् । मानिसले जानेको सबैभन्दा पुरानो, सस्तो र सजिलो प्रजनन् गर्ने तरिका बीउबाट नै हो । धेरैजसो मुख्य जातहरुको बिकास बिउ बाटै भएको हो । बिजु बोट धेरै अबधि सम्म बाँच्छ र बढी फल्दछ तर कलमी बोट भन्दा धेरै ढिलो फल्दछ । बहु–भ्रुणणीय बिउको प्रयोग गर्नुपर्दछ किनभने यसमा माउकै गुण हुन्छ । एक–भरुणीय बिउलाई कहिल्यै पनि प्रयोग गर्नु हुँदैन किनभने यो माउ बोट सरह हुदैन र यसमा लागेको फलको गुणस्तर पनि कमसल हुन्छ ।

वानस्पतिक प्रजनन् विधि (Asexual method)

१. इनर्चिङ्ग वा एप्रोच ग्राफ्टिंग

यो नेपालको सबैभन्दा प्रचलित तरिका हो । यस तरिकामा रुटस्टकलाई माउ बोटको हाँगा सँग कलमी गरिन्छ । माउ बोटको हाँगा माउ बोटबाट अलग गरिएको हुँदैन ।

रुटस्टक उत्पादन र हेरचाह

  • फल टिप्ने मौसममा आँपका कोयाहरु संकलन गरी रुटस्टकहरु उमार्ने काम गरिन्छ ।
  • ताजा र स्वस्थ कोयाहरु रोप्नुपर्दछ, किनभने ३ सातापछि कोयाहरुको उमारशक्तिमा ह्रास हुन जान्छ ।
  • थोरै मात्रामा बिजु बिरुवाको आवश्यकता भएमा उपयुक्त साइजको पट वा भाँडाहरुलाई कम्पोष्ट र माटोको मिश्रणले भरेर कोयाहरु रोपिन्छ ।
  • बृहत रुपमा रुटस्टक उत्पादन गर्नुपरेमा राम्ररी मलखाद प्रयोग गरिएका ब्याडहरु प्रयोग गरिन्छ ।
  • कोयाहरुलाई लाईनमा रोपिन्छ, लाईन बीचको दूरी ३० से.मी.र कोया बीचको दूरी १५ से.मी.राखिन्छ।
  • कोयाहरु २०–२५ दिन भित्रमा उम्रन्छन् र १० महिना सम्म नर्सरी ब्याडमा हुर्काएपछि ग्राफ्टिंग गर्न लाएक हुन्छन् । त्यतीबेलासम्म यिनीहरु ४०–५० से.मी.अग्ला भैसकेका हुन्छन् ।
  • यस अबधिमा ब्याडहरु झारपातबाट सफा राखिन्छ । रुटस्टकको बृद्धिका लागि मलखादको प्रयोग गरिन्छ । १५–२० के.जी. एमोनियम सल्फेट प्रति कठ्ठाका दरले दुई लाइनको माझमा छरेर माटोमा मिलाईन्छ । मलखादको प्रयोग पश्चात हलुका सिंचाई गरिन्छ । मलखादको प्रयोग जनबरी (माघ) मा गरिन्छ ।

रुटस्टक उखेल्ने काम

  • रुटस्टक उखेल्नु भन्दा केहिं दिन अघि ब्याडहरुमा राम्ररी सिंचाई गरिन्छ ।
  • बिजु बोटहरुलाई २०–२५ से.मी.ब्यास भएको माटोका गोला सहित उखेलिन्छ ।
  • जराहरु नष्ट हुन नदिन साबधानि अपनाईन्छ ।
  • ब्याडबाट बिरुवा उखेलेर २५×१५ से.मी.को प्लाष्टिक पटमा रोपी हार्डे्निङ्गको लागि रुखमुनी ३ साताजति राखिन्छ । यस अबधिमा हजारीले प्रत्यक दिन सिंचाई गरिन्छ ।
  • ३ साताको हार्डेनिङ्ग पछि रुटस्टकहरु कलमी योग्य हुन्छन् ।
  • प्लाष्टिक पटहरु महंगो हुने भएकाले नर्सरी धनीहरुले रुटस्टकको जरामा भएको माटोलाई बेर्न धानको पराल प्रयोग गर्दछन् ।

माउबोट र सायनको छनौट

  • सायनका लागि स्वस्थ,बयस्क र राम्रो बृद्धि भएको असल बोट छनौट गरिन्छ ।
  • कलमी कार्यलाई सजिलो पार्न माउ बोटका हाँगाहरुलाई सकेसम्म भुईमा छुनेगरी नुगाईन्छ ।
  • छनौट गरिएको सायनको उमेर र मोटाई रुटस्टक सरह नै हुनुपर्दछ ।

इनर्चिङ्गको तरिका

  • बृद्धि भैरहेको बेला जब रुखका कोषहरुमा रस स्वतन्त्रता पूर्बक प्रवाहित भैरहेको हुन्छ, त्यतिबेलानै कलमी गर्नुपर्छ । नेपालमा कलमीका लागि उपयुक्त समय बर्षा ऋतुको मध्य अर्थात श्राबण महिना (जुलाई) हो ।
  • पटमा हुर्काईएका बिजु बोटहरुलाई माउ बोटको नजिकै लगिन्छ । त्यस्तै सायनको डांठ प्रत्यक रुटस्टकका लागि छनौट गरिन्छ । साधारणतया ६–८ महिना सम्मको टुप्पाका हांगाहरु कलमीका लागि छनौट गरिन्छ ।
  • सायनलाई पहिले तलपट्टि नुगाएर रुटस्टकलाई छुने गरी माथि तिर धनुष आकारमा उठाईन्छ । रुटस्टक र सायनले छोएको भागलाई ताछेर कलमी गरिन्छ ।
  • धारलाग्ने चक्कुका मद्धतले रुटस्टकको डाँठबाट ५–६ से.मी. लामो करिब ०.७५ से.मी.चौडा र ५ से.मी. गहिरो पातलो काठ सहितको टुक्रा ताछेर घाउ बनाईन्छ । यस्तै प्रकारको घाउ सायनको डाँठमा पनि बनाईन्छ ।
  • रुटस्टक र सायनको डाँठमा बनाइएको घाउ चिल्लो, समतल र सम्म परेको हुनुपर्छ । रुटरुटक र सायनको काटेको भागलाई आपसमा जोडेर सुथरीको डोरीले बाँधिन्छ । सुथरीको डोरीमा मैन दलिन्छ । यसले गर्दा ग्राफ्ट गरेको भागमा पानी र हावा प्रबेश गर्न पाउँदैन ।
  • रुटस्टक र सायनको जोडिने प्रक्रिया ६०–७५ दिनमा पुरा हुन्छ । इनर्चिङ्गबाट ८०–८५५ सम्म सफलता हासिल हुन्छ ।
  • रुटस्टक र सायन बीचको जोडिने कार्य पूरा भै सकेपछि सायनलाई जोर्नी मुनिबाट काटेर माउ बोटबाट अलग गरिन्छ । सायनलाई अलग गर्ने कार्य दुई पटकको कटाई बाट पूरा गरिन्छ
  • रुटस्टकको टुप्पा जोर्नीको ठिक माथी काटेर हटाईन्छ ।
  • यस प्रकार तयार गरिएको कलमी बोटलाई आँशिक छायाँदार ब्याडमा ७–८ महिना हुर्काएर बिक्री बितरण गरिन्छ ।

२. भिनियर ग्राफ्टिंग

  • यस तरिकामा ८–१० महिनाको बिजु बिरुवा लाई रुट स्टकको रुपमा प्रयोग गरिन्छ । माटोको गोला सहित रुटस्टकलाई नर्सरी ब्यडबाट उखेलेर २५/१५ से.मी.को प्लाष्टिकको थैलामा सारिन्छ र हाईेनि· लागि रुख मुनी ५–६ हप्ता सम्म राखिन्छ ।
  • जमिनको सतहबाट ३० से.मी.को उचाईमा रुटस्टकको डाँठमा छड्के काटेर मुनीबाट तेर्सो काटी काठ सहितको बोक्राको टुक्रालाई हटाईन्छ ।
  • ३–४ से.मी. ब्यास र ८–१० से.मी.लामो सायन छनौट गरिन्छ । सायनमा भएका सम्पूर्ण पातहरुलाई अलिकति भेट्नो छाडेर हटाईन्छ ।
  • सायनको फेंदको टुप्पाको एक छेउमा सफासँग एक छड्के कटाई बनाउनु पर्छ ।
  • टुप्पामा उल्टो (लामो) छेउ तिरबाट अर्को कटाई बनाई काठको टुक्रा हटाईन्छ जस्ले गर्दा रुटस्टकमा बनाइएको घाउमा राम्ररी अडिन सकोस्
  • यसरी तयार पारिएको सायनको फेदलाई स्टकमा घुसारेर रबर वा २ से.मी. चौडा प्लाष्टिकको टुक्राले बांधिन्छ ।
  • ६०–७५ दिनमा जोडिने क्रिया पूरा हुन्छ । जोडिने अवधि भरी कलमी गरेको बिरुवा लाई बरोबर सिंचाई गरिन्छ ।
  • भिनियर ग्राफ्टिंग गर्ने सबैभन्दा उत्तम समय बैशाख १५–आषाढ १५ (May-June) हो ।
  • यस तरिकामा इनर्चिङ्ग भन्दा एउटा ठूलो फाईदा छ, त्यो हो, यदि ग्राफ्टिंग सफल भएन भने रुटस्टकलाई पुन ग्राफ्टिंगका लागि प्रयोग गर्न सकिन्छ ।
  • साधारणतया घुसारेको २० दिन पश्चात सायन पलाउन थाल्दछ । यस तरिका बाट ६०–७०५ सफलता प्राप्त हुन्छ ।

३. क्राउन ग्राफ्टिंग

यस तरिकामा रुटस्टक लाई जमिन देखि ३० से.मी.को उचाईमा सम्म पारेर काटिन्छ । अनि फाली आकारको घाउ बनाईएको सायनलाई रुटस्टकको चिरामा घुसारिन्छ ।

सायन र रुटस्टकको तयारी

  • सिधा, स्वस्थ १२–१५ से. मी. लामो र २ से. मी. ब्यास भएको सायनलाई माउबाट काटेर ल्याईन्छ ।
  • सायनको तल्लो भागलाई दुबै छेउँबाट छडके काटेर ६–७ से. मी. लामो फाली आकार बनाईन्छ । कटाइको काम शुषुप्त आंख्लाको ठिक मुनीबाट प्रारम्भ
  • गरिन्छ । यसबाट ग्राफ्टिंगलाई छिट्टै पलाउन मद्धत मिल्छ ।
  • जमिनको सतह देखि ३० से. मी. को उचाई बाट रुटस्टकको टुप्पालाई काटेर हटाईन्छ ।
  • ठुटाको टाउको बाट तलतिर २ वटा ६–७ से.मी. लामो चिरा बोक्रालाई छेड्ने गरी बनाईन्छ ।
  • दुई चिराको दूरी सायनको फारी आकारको चौडाइ भन्दा अलिकति बढी राखिन्छ ।
  • दुई कटाई बीचको बोक्रालाई हटाएर सायनको फारी भागलाई घुसारिन्छ ।
  • बोक्रालाई तानेर फारी आकारलाई पुरै छोपिन्छ र काटिएका पूरै भागमा मैन दलिन्छ र कलमी गरेको भागलाई प्लाष्टिकको टेपले बाँधिन्छ ।
  • नेपालमा क्राउन ग्राफ्टिंग गर्ने सबैभन्दा राम्रो समय असोज–कार्तिक (Sept-Oct) हो ।
  • जोडाईको प्रक्रिया ६० दिन भित्र पुरा हुन्छ ।

४. स्टोन ग्राफ्टिंग र इपिकोटाईल ग्राफ्टिंग

  • प्रजनन्को यो सजिलो, सस्तो र छिटो तरिका हो । यस तरिकामा कलिलो रुटस्टकलाई चाहिएको जात सँग कलमी गरिन्छ ।
  • ७–१० दिनको कलिलो बिजु बिरुवा लाई कोया सहित उखेलिन्छ ।
  • ब्याडमा भएका थुप्रै बिरुवाहरु मध्य बृद्धि राम्रो भएको, स्वस्थ, सीधा र मसिना जरा धरै भएका बिरुवालाई उखेलेर १५×१० से. मी. को पटमा सारिन्छ ।
  • पटलाई १:१ कम्पोष्ट र माटो भएको मिश्रणले भरिन्छ । सार्नु भन्दा अगाडि मुख्य जराको टुप्पो (५–६ से.मी.सम्म) काटिन्छ ।
  • पटमा सारिएका बिरुवाहरुलाई सिंचाई गरेर बाँस र धानको परालले बनाईएको छाप्रो मुनी राखिन्छ ।

सायन र रुटस्टको तयारी

  • ८–१० से. मी. लामो, स्वस्थ,२–३ महिनाको र ३–४ आँख्ला भएको सायन डाँठलाई माउ बोटबाट काटेर ल्याईन्छ ।
  • सायनको तल्लो पुछारमा ३–४ से. मी. लामो फारी आकार बनाईन्छ ।
  • रुटस्टक लाई ६ से.मी.को उचाई बाट काटेर टुप्पा हटाईन्छ यसरी छुट्याईएको रुटस्टकको टुप्पाको माझबाट धार लाग्ने चक्कुले ३–४ से.मी. लामो चिरा बनाईन्छ ।
  • सायनको फाली आकार लाई रुटस्टकको टुप्पामा बनाइएको चिरामा घुसारेर ३ से. मी. चौडा प्लाष्टिकको टेपले बाँधिन्छ ।
  • जोड्ने प्रक्रिया २० दिनमा पुरा हुन्छ । यस अवधिमा कलमी बोटलाई बराबर सिंचाई गरिन्छ ।
  • कलमी बोट उही बर्ष बिक्री लायक हुन्छ ।
  • यसबाट ६०–६५ प्रतिषत सफलता प्राप्त भएको छ ।
  • आँपको प्रजनन् यसको अलावा अरु थुप्रै तरिकाहरु प्रयोग गरिएका छन् जस्तैः टङ्ग ग्राफ्टिंग, साइड ग्राफ्टिंग र बिभिन्न प्रकारका बडिङ्ग आदि । तर यस प्रकारका ग्राफ्टिंग तथा बडिङ्गहरु नेपालमा कम सफल भएका छन् ।

जग्गा तयारी

लगाउने समय

नेपाल अधिराज्य भरी सबैभन्दा उत्तम रोप्ने समय बर्षा याम (जेष्ठ–श्रावण) हो । बढी पानी पर्ने क्षेत्रहरु झापा, मोरङ्ग र चितवनमा बर्षाको अन्त्यतिर रोप्नु पर्छ । कम पानी पर्ने क्षेत्रहरुमा मनसुनको प्रारम्भमा रोप्नुपर्छ । सबैभन्दा राम्रो रोप्ने समय बेलुकीपख हो । दिउंसो रोप्दा पातहरुले बढी पानी उत्स्वेदन क्रियामा खर्च गर्ने हुँदा बोट ओइलाउंछ ।

खाडल खन्ने र पुर्ने

जग्गालाई राम्ररी जोतेर सम्याईन्छ रोप्नुभन्दा कम्तिमा २ महिना अगाडि (०.७५–१ मी. गहिराईको) खाडल खनिन्छ । खाडललाई १ महिना वा बढी अबधि सम्म खुला छोडिन्छ, यसरी खुला छोड्नाले भित्रीभाग राम्ररी तात्छ र रोग कीराको प्रकोप कम हुन्छ। बर्षा हुनु अगावै खाडललाई कम्पोष्ट (प्रति खाडल ३०–४० के.जी. कुहिएको गोबरमल, २ के. जी. हाडको धुलो र ५ के. जी. खरानी) र माटोको मिश्रणले पुरिन्छ र सुरुको बर्षाबाट खाँदिन छोडिन्छ ।

 

 

लगाउने तरिका

 

  • कलमी बोटको जरामा भएको माटो पुरिने गरी खाडलबाट माटो झिकिन्छ ।
  • कलमी गरेको आँपको बोटलाई माटोको गोला सहित खाडलको माझमा रोपिन्छ । अनि बोटको बरिपरिको माटोलाई राम्ररी थिचिन्छ ।
  • सानो बेसिन बनाएर बोटलाई सिंचाई गरिन्छ ।
  • कलमीको जोर्नीलाई माटोमुनी पुर्नुहुन्न ।
  • कलमीको बोटलाई हावाले भाँच्नबाट जोगाउन काठको टेको दिनुपर्छ ।

बाली व्यवस्थापन तथा हेरचाह

मलखाद प्रयोग गर्ने मौसम र समय

उष्ण हावापानी भएको स्थानमा मलखाद प्रयोग गर्ने सबैभन्दा राम्रो समय मनसुनको प्रारम्भ हो । उपोष्ण क्षेत्रमा फूल फुल्नु भन्दा २ महिना अगाडि मलखादको प्रयोग गरिन्छ ।

बोटको फेदको बरिपरि ६० से. मी.चौडा र १५ से. मी. गहिरो कुलेसो बनाईन्छ । १ बर्षको बोट छ भने फेददेखि ३० से.मी.को दूरीमा कुलेसो बनाईन्छ । प्रत्यक बर्ष कुलेसाको दूरी बोटको फेद देखि २० से.मी.जति बढाईन्छ । मलखाद लाई कुलेसोमा राखेर राम्ररी माटोमा मिसाईन्छ ।

गोडमेल र अन्तरबाली
  • आँपको बगैचालाई सालभरी नै खाली राखिन्न ।
  • बगैचालाई सफा राख्न बर्षमा २ पटक जोतिन्छ ।
  • समय समयमा झारपात निकाल्ने र बोटको वरिपरि खन्ने काम गरिन्छ ।
  • युवा बगैचाको खाली ठाउँमा ४–५ बर्ष सम्म छोटो अबधिका होंचा बालीहरु लगाएर प्रयोग गरिन्छ । जस्तै–खुर्सानी, गोलभेडा, केराउ, सिमी, काउली, बन्दा,
  • अदुवा, हलेदो आदिको खेती गर्न सकिन्छ ।
सिंचाई

आँपलाई सालभरी नै सिंचाई आवश्यकता नपरेतापनि वृद्दि विकासको खास समयमा आवश्यक मात्रामा सिंचाई दिनुपर्छ । बलौटे माटो र कम पानीपर्ने क्षेत्रहरुमा बोटहरुलाई शरद ऋतुमा एकपटक राम्ररी सिंचाई गर्नुपछ । यस सिंचाइले फूलफुल्न मद्धत गर्छ । फल झर्ने प्रक्रिया रोक्नका लागि फल लाग्ने बेलामा २–३ पटक सिंचाईको आवश्यकता पर्दछ । बेसिन अथवा रिङ्ग वनाएर सिंचाई दिनु पर्दछ ।

काँटछाँट

काँटछाँट

नेपालमा खेती गरिने सबैजसो आँपका जातहरु ठाडो प्रकारका छन् । यिनीहरुले समरुप हांगा प्रणाली बनाउने हुंदा कांटछांटको आवश्यकता त्यति पर्दैन । समय समयमा सुकेको र रोगी हांगाहरुलाई काटेर हटाई दिनुपर्छ । बयस्क बोटको केन्द्रीय भागलाई वारपार गर्ने हाँगाहरुलाई पनि काटेर हटाई दिनुपर्छ । युवा बिरुवाको कलमी गरेको भाग भन्दा मुनी रुटस्टकबाट निस्केका पालुवाहरु काटेर हटाई दिनुपर्छ । पहिलो ३ बर्ष भित्र फुल्ने सबै फूलहरुलाई हटाई दिनुपर्छ । किनभने यिनीहरुले बोटको बृद्धिमा असर पार्दछ ।

रोग व्यवस्थापन

कोत्रेरोग (anthracnose)

रोगको जीवाणु : Colletrotrichum goleosporiodes

रोगको लक्षण

पात, कमलो डाँठ, फुलको झुप्पा तथा फलमा कालो दागहरू देखा पर्दछन् र मुन्टाको टुप्पोबाट सुक्दै जान्छ । फलमा रोग शुरुमै लागेमा फल झर्दछन्

व्यवस्थापन

रोग लागेका भागहरू काँटछाँट गरी नष्ट गर्ने । वर्षा शुरु हुनु अगाबै फुल  फक्रनु अघि ३ देखि ४ पटकसम्म कपर अक्सीक्लोराइड (व्लाइटक्स ५०%) २ ग्राम प्रति लि.पानीमा मिसाएर छर्ने ।

सेतो धुलेढुसी (powdery mildew)

रोगको जीवाणु : Oidium mangiferae

रोगको लक्षण

पात, फूलको कोपिला, फूलको झुप्पो र फलमा फुस्रो सेतो धूलो देखापर्दछ । पछि ती सुकेर काला हुन्छन् ।

व्यवस्थापन

फुल फक्रनु अघि ढूसी नाशक डिनोक्याप ४८% इ.सी. (केराथेन) १-२ ग्राम/लीटर पानीमा वा Carbendazim 50% WP (Bavistin, Dhanustin, Derosal)  ०.५ (१ ग्राम/लीटर पानीमा अथवा Sulphur 80% WP(Sulfex, Sulphur, Sulphil)  ३ ग्राम प्रति लीटर पानीमा अथवा Hexaconazole 5%EC (Avon, Comfort, Hexahit) १-२ मी.ली.प्रति लीटर पानीमा मिसाइ १ पटक पूर्ण फुल फक्रिसकेपछि र दश बाह्र दिनको फरकमा २–३ पटक छर्कने ।

किरा व्यवस्थापन

आँप वीज - कोयाको घुन (Stone weevil)

पहिचान

वयस्क घुन मध्यम आकारको, डल्लो र गाढा खैरो रङ्गको हुन्छ । छोइ दिंदा मरेको जस्तै बहाना गर्दछ ।

क्षतिको लक्षण

लाभ्रेहरू आँपको गुदी खाँदै कोयासम्म पस्दछन र फल खान लायक हुँदैन ।

व्यवस्थापन विधि

१. बोटबाट झरेका फलहरू र कीरा लागेका फलहरूलाई नष्ट गर्ने ।

२. केराउको दाना जत्रो फल भएपछी Dimethoate 30% EC (Roger, Anugor, Rogohit) १.५ मी.ली.प्रति लीटर पानीमा मिसाइ १५ दिनको फरकमा ३ पटक  छर्ने ।

आँपको मिली बग (Mango mealy bug)

यस कीराले चैत्र बैशाख तिर  माटोमा फुल   पार्दछन् । क्रमिक रुपमा यी फुल किराको रुपमा बिकास हुन्छन् र यीनिहरु बिस्तारै आपका नयां  पात, मुना र हांगामा पुग्दछन् ।  खास नोक्सान कीराका पखेटा बिनाका पोथीले आपको डाथ र पात को रस चुसेर  पुराउदछन ।

व्यवस्थापन विधि

१. झारपात नियन्त्रण गर्ने

२. गर्मी याममा बगैंचा खनजोत गर्ने

३. आँपको फेदमा बोर्डो मिक्स्चर पेन्ट गरेर प्लाष्टिक, ग्रिज वा अन्य टासिने पदार्थ ले २ फिट चौडा लेप लगाउने

४. कीरा को बढी समस्या भाको क्षेत्रमा इमिडाक्लोप्रिड १ मि.लि. २ लिटर पानीमा मिसाएर पुस अन्त्य देखी १५ दिनको फरकमा २ पटक छर्ने

आँपको साइलिड (Mango psyllid)

पहिचान

वयस्क कीरा सानो खरानी रङ्गको पखेटा भएको हुन्छ ।

क्षतिको लक्षण

यो कीराले कोपिलामा आक्रमण गर्दछ जसको फलस्वरुप यसमा गांँठाहरू निस्कन्छन् ।

व्यवस्थापन विधि

१. कीरा लागेका हाँगाहरू काटेर नष्ट गर्ने ।

२. माथि फड्के कीराको जस्तै विषादी प्रयोग गन

३. कीरा कम लाग्ने आँपका जातहरू लगाउने ।

आँपको हाँगा सुकाउने गवारो (Mango stem borer)

आँपलाई नोक्सानी गर्ने १० वटा प्रमुख कीराहरु मध्ये हालैका वर्षहरुमा आँपको हाँगा सुकाउने गबारो कीराले सवैभन्दा धेरै क्षति पु–याएको पाईएको छ । गबारो कीराको जीवनचक्र धेरै लामो हुन्छ र बयस्क रुप मुख्यतया वर्षातको समयमा देखिन्छ । यिनीहरुले रुखको घाऊ अथवा रोगी हाँगामा फुल पार्दछन । गवारो बलियो मुख भएका हुन्छन र हाँगाको भित्री भाग काटेर नोक्सानी गर्दछन । जाडोमा यी गवारोहरु हाँगामा बनाएको प्वाल भित्र बस्छन र न्यानो मौसम सुरु हुनासाथ (फाल्गुण चैत्र महिनामा) नोक्सानी सुरु गर्दछन । यस कीराको गवारो अवस्था एक वर्ष भन्दा लामो हुन्छ र जीवनचक्र १–१.५ वर्षमा पुरा हुन्छ ।

बँगैचा व्यवस्थापन
आँपको वगैंचालाई स्वस्थ तथा उत्पादशील बनाई राख्न खाद्य तत्व को भूमिका महत्वपूर्ण हुने भएकोले हरेक वर्ष आँप टिपिसकेपछि वँगैचाको काटछाँट गरेर वोटको उमेर अनुसार सिफारिस गरिए वमोजिम रासायनिक तथा प्राङगारीक मल प्रयोग गर्नु पर्दछ । हिउँदमा हुने वर्षा र माटोमा उपलब्ध चिस्यानको अवस्था हेरेर वँगैचामा ३ पटक सम्म सिंचाई गर्ने व्यवस्था मिलाउनु पर्दछ । आनावश्यक झारपात र कीरा लागेर सुकेका हाँगाविगाहरुमा कीराले वसोवास गर्ने भएकोले ती सवै हटाई बँगैचालाई सफा राखिराख्नु पर्दछ ।

कीरा व्यवस्थापन
गबारो कीराको फुल पार्ने वेला या आँप टिपिसकेपछि (असार १५ गते देखि) १५र१५ दिनको अन्तरमा ५ पटक ईमिडाक्लोप्रिड १७.८ एस.एल. १ मि. लि. प्रतिलिटर पानीमा अथवा थायोमेथेक्जाम २५ प्रतिशत डब्लु. जी. १ ग्राम प्रतिलिटर पानी मा मिसाई छर्कनु पर्दछ ।

फड्के किरा (Hopper)

पहिचान

वयस्क कीरा हल्का हरियोमा खैरो मिसिएको हुन्छ र उफ्रन्छन् ।

क्षतिको लक्षण

यिनीहरूले गर्दा बिरुवामा कालो ढूसी लाग्छ ।

व्यवस्थापन विधि

१. आंपका पात, फुल र फललाई पर्याप्त घाम चाहिने हुनाले   बाक्ला हांगा र पातलाई मकै छांटे जस्तो छांट्नुहोस बिरुवाको वरीपरी भरसक पानी जम्न नदिनुहोस  ।

२. उचित मात्रामा मल हाल्नु होस।

३. फुल फुल्ने प्रारम्भिक अवस्थामा उज्यालो बत्तिमा वयस्क किराको निम्ति खोर थाप्नु पनि प्रभावकारीनै हुन्छ

४. Dimethoate 30% EC (Rogor, Anugor, Rogohit) १.५ मी.ली.प्रति लीटर पानीमा वा Buprofezin 25%SC (Buprolod, Devefezin)  १-२ मी.ली.प्रति लीटर पानीमा वा Malathion 50% EC (मालाथियन रिमेडी, Cythion, Suryathion ) १.५ मी.ली.प्रति लीटर पानीमा वा Deltamethrin 2.8% EC (Decis, Dice) ०.५ मी.ली.प्रति लीटर पानीमा वा Imidacloprid 17.8 % SL (Admire, Atom, Chemida) १ मी.ली.प्रति चार लीटर पानीमा वा Thiamethoxam 25%WG (Areva, Arrow, Renova) १ मी.ली.प्रति दश लीटर पानीमा पानीमा मिसाई फुल फुल्नु अगाडि र फुल झर्न शुरु हुँदा १–१ पटक छर्ने ।

बाली कटानी तथा भण्डारण

फल पाक्ने तथा उत्पादन

फुल्ने र फललाग्ने

  • रोपेको ४–५ बर्ष देखि कलमी बोटहरु फल्न थाल्दछन् ।
  • फूल फुल्ने समयलाई स्थानीय हावापानीको स्थितिले असर पार्दछ ।
  • तराई र भित्री मधेशमा आँपका बोटहरु फागुन–चैत्र (Feb-March) मा फुल्दछन् । फूल फुल्ने प्रक्रिया ६–८ हप्ता सम्म जारी रहन्छ ।
  • आँपको फूल र फल मुख्यतया टुप्पाका हाँगाहरुमा लाग्दछन् । टुप्पाको कोपिलाहरुको अभाबमा अक्जुलियरी (Auxilliary) कोपिलाहरुमा पनि फल लाग्दछ ।
  • सुख्खा हावापानीले फुल्ने प्रक्रियालाई उत्तेजित गर्छ र बादल युक्त हावापानी र जाडोको बर्षाले ढिलो गर्छ ।
  • माघ देखि चैत्र सम्म निस्केका ८–१० महिना परिपक्व हाँगाहरुमा साधारणतया फूल फुल्छ त्यसपछि मनसुन र असोज उप्रान्त निस्केका हाँगाहरु पुष–माघमा बिरलै फुल्ने गर्छ ।
  • नेपाल अधिराज्य भरी आँपको फूलफुल्ने समय पुस १५ – माघ १५ (Feb) महिना हो ।
  • तराई र भित्री मधेशमा सालभरीमा आँपले ३ पटक नयाँ पालुवाहरु (Flushes) उत्पादन गर्दछ ।
  • पहिलो पालुवा फागुन–चैत्र (Feb-Mar) सम्म, दोश्रो बैशाख–जेष्ठ (April-May) सम्म र तेश्रो श्राबण–भाद्र (July-August) मा उत्पादन गर्दछ ।

फल पाक्ने

आँपको थुप्रोमा क्याल्सियम कार्बाईट राख्नाले आँप पाक्ने प्रक्रिया लाई तीब्र गर्छ । २ मि. ली. इथेरोल लाई १० लि. पानीमा मिसाएर छर्दा पाक्ने प्रक्रिया झन तीब्र हुन्छ ।

उत्पादन

आँपको उत्पादन तथा उत्पादकत्व विविध कुराहरु जस्तै माटो, हावापानी, जात, वगैचा व्यवस्थापन, रोग कीराको प्रकोप आदीमा भर पर्दछ तर साधारणतया युवा बोटहरु (५–६ बर्ष) मा प्रत्यक बर्ष प्रतिबोट २०–३० फलहरु लाग्छन् । त्यसैगरी १०–१२ बर्षको बोटहरुमा ५००–६०० फलहरु, १२ बर्ष पछि बोटहरुमा प्रतिबर्ष प्रतिबोट २५०० फलहरु र २० बर्ष उप्रान्त बोटहरुमा प्रतिबर्ष प्रतिबोट २५००–४००० सम्म फलहरु लाग्ने गर्दछ तर आँपको उत्पादन ४० वर्ष पछि घटेर जाने गर्दछ । यसरी औषत उत्पादन–प्रतिबोट प्रतिबर्ष १२००–१५०० सम्म हुन्छ ।

अन्य जानकारी

आँपमा एकत्रो फल्ने (बर्ष बिराएर फल्ने) बानी

आँपमा एकत्रो फल्ने (बर्ष बिराएर फल्ने) बानी

आँप नियमित रुपमा फल्दैन (एक बर्ष फल्छ अर्को बर्ष फल्दैन) । यस प्रकारको फल्ने बानीलाई आँपमा एकत्रो फल्ने बानी भनिन्छ । जुन बर्ष आँप बढी फल्छ त्यस बर्षलाई फल्ने बर्ष (On year) र कम फल्ने वा नफल्ने बर्षलाई नफल्ने बर्ष (off year) भनिन्छ ।

एकत्रो फल्ने बानीलाई असर गर्ने तत्वहरु

एकत्रो फल्ने बानीलाई असर गर्ने थुप्रै तत्वहरु छन् ।

(क) बाह्य तत्वहरु– प्रकाश, तापक्रम, हावा, सापेक्षिक आद्रता, चिस्यान, रोग र कीरा आदि ।

(ख)आन्तरिक तत्वहरु– फिजियोलोजिकल, पोषण सम्बन्धि, लैङ्गीक अनुपात र हरमोन को सन्तुलन ।

सन्दर्भ सामग्री

सन्दर्भ सूचि

सन्दर्भ

पद्मनाथ आत्रेय

फलफूल विकास अधिकृत

उष्ण प्रदेशीय फलफूल खेति प्रविधि पुस्तिका - आँप खेती प्रबिधि

फलफूल विकास निर्देशनालय

कीर्तिपुर, काठमाडौं