कुखुराको पाचन प्रणाली

कुखुरामा अन्य जनावरको जस्तो दाँत नभई दुईवटा चुच्चो हुन्छ जस्को सहायताले दाना मुखमा राख्छ र जिब्रोको सहायताले दाना भित्र धकेल्छ । कुखुराको पाचन प्रणालीमा निम्न भागहरुहुन्छन्

इसोफागस (Oesophagus): यो मुखबाट गाँड सम्मको नली हो जसबाट आहारा गाँडमा पुर्याइन्छ

गाँड (Crop): यो इसोफागसको फुकेको भाग हो जस्मा आहारा केहिबेरको लागी जम्मा हुन्छ र त्याहा आहारालाई नरम बनाईन्छ । गाँडको भित्रीभाग खुम्चने र बढने क्रममा आहारालाई पेटमा घचेट्दछ ।

प्रोभेटिकुलस (पेट) (Proventriculus): गाँडभन्दा २—३ ईन्च पर यो अँग रहन्छ । यस्को मोटाई ०.५ देखि ०.७५ सम्म र लम्बाई १.२५ देखि २ इन्च हुन्छ । गाँडबाट आहारा पेटमा आएपछि यस्को भित्रपटीको सतहमा रहेका ग्रन्थिहरुबाट निस्कने पाचन अम्ल आहारामा मिसिन्छ जस्ले आहारालाई नरम बनाई पचाउन सजिलो बनाउछ ।

गिजार्ड (Gizzard): यो दुई वटा कडा मासुले बनेको भागहो जुन प्रोभेटिकुलसको पछाडि रहेको हुन्छ । पेट बाट आएको आहाराको मसिनो भागहरुलाई डिउडेनममा तुरुन्त पठाई खस्रो र कडाबस्तुहरुलाई यस्ले छानेर राख्छ । कडाबस्तुहरुलाई यस्ले पिनेर सानो सानो टुक्रा वा धुलो बनाइरु मात्र डिउडेनमा पठाउँछ ।

पानकृयाज (Pancreas): यो डिउडेनमको फोल्डको बिचमा रहेको हुन्छ । पानकृयाजले एक किसिमको रस निकाल्छ जसलाई पानकृयाटिक रस भनिन्छ जुन डिउडेनममा झर्दछ । यस रसमा विभिन्न प्रकारका इन्जाइमहरु पाईन्छ जस्ले प्रोटिन, कार्बोहाइट्रेड र चिल्लो पदार्थलाई पचाउन सहयोग गर्दछ ।

कलेजोः यो शरीरको सबैभन्दा ठूलो  ग्रन्थी हो र यस्मा दुई वटा लोब हुन्छ । यस्ले एक  प्रकारको रस निकाल्छ जसलाई पित्त भनिन्छ । यस्ले चिल्लो पदार्थलाई पचाउन सहयोग गर्दछ । कलेजोबाट नलीको माध्यामबाट एउटा थैलीमा पित्त जम्मा हुन्छ जस्लाई पित्त थैली भनिन्छ । पित्त थैलीका   साना नलीको माध्यामबाट पित्त पुन डिउडेनमको आखिरी भागतिर झर्दछ ।

सानो आन्द्रा (Small intestine): यो पाचन अङ्गको मुख्य भाग हो जुन गिजार्डदेखि सिकासम्म फैलिएको हुन्छ । बयस्क कुखुरामा यस्को लम्बाई करिब ५ फिट हुन्छ । यस्को भित्रीभागमा साना साना काडेदार रुपका भीलाई हुन्छन् । यहाँ पाचन क्रिया हुनगई आहाराको पोषण तत्वहरु साना रगतको नली र लिम्फ नलीबाट शरीरमा सोसेर लिन्छ । सानो आन्द्राको पहिलो भाग फेरो परेर रहेको हुन्छ । यस्लाई डिउडेनम भनिन्छ । यस्को फेरोमा पानकृयाज रहेको हुन्छ । यहाँ पाचन रसको साथै पानकृयाटिक रस आहारामा मिसिन्छ ।

सिका (Caeca): सानो आन्द्राको अन्त्य र ठूलो आन्द्राको शुरुमा दुई ओटा ५—७ इन्च लामो शाखाहरु बाँडिएको देखिन्छ जस्लाई सिका भनिन्छ । यो एकातिर आन्द्रामा मिसिएको हुन्छ र अर्कोतिरको यस्को भाग बन्द हुन्छ । यस्ले पचेर बाँकि भएको पदार्थलाई केहिबेर भण्डारण गर्दछ । यहाँ सुक्ष्म जिवाणुको मद्दतले रेसादार पदार्थलाई पचाउने कार्य गर्नुको साथै आहारामा भएको पोषकतत्वहरु शरीरमा सोस्ने कार्य हुन्छ ।

ठूलो आन्द्राः सिका र क्लोएका (मलद्वार) को बिचको भागलाई ठूलो आन्द्रा भनिन्छ । पशुहरुमा हुने ठुलो आन्द्राको प्रतिनिधित्व कुखुरामा  रेक्टमले गर्दछ र यस्को लम्बाई ४ इन्च हुन्छ । यहापनि केहि मात्रामा पाचन कृया भई पोषण तत्व शरीरमा सोस्ने कार्य हुन्छ । साथै शरीरमा पानीको सन्तुलन कायम गर्न यहाँबाट पानी शरीरमा सोसिन्छ ।

क्लोएका (मलद्वार): यहा प्रजनन, पाचन र मुत्र प्रणालीको भागहरु खुलेको हुन्छ । त्यसकारण यसबाट सुली, पिसाब, फुल वा भालेको सिमेन बाहिर निस्कन्छ । रेक्टमबाट पाचन भइसकेको आहारा सुलीको रुपमा र  मृगौलाबाट पिसाब क्लोएकामा पठाउँछ । कुखुराको मृगौलाबाट युरीक एसिड मात्र सुलीमा मिसीएर सुलीलाई सेतो रङ्ग दिन्छ र त्यस्ता किसिमका पदार्थहरु भेन्टबाट बाहिर निस्कन्छ ।