व्यावसायिक जातका कुखुराहरु

फुल तथा मासु उत्पादन लागि उपयुक्त हुने किसिमका व्यावसायिक जातका चल्लाहरु उत्पादन गर्न त्यस्ता प्रकारका कुखुराको माउ चल्ला (प्यारेन्ट स्टक) विदेशबाट मगाई तिनीहरुबाट चल्ला उत्पादन गरेर कृषकहरुलाई विक्री वितरण गर्ने गरिन्छ । केही वर्ष अघिबाट ब्रोईलर चल्लाको माउ स्वदेशमा नै उत्पादन गर्न ग्राण्ड प्यारेन्ट स्टक  फार्म नेपालमानै स्थापना भएर माउ चल्ला (प्यारेन्ट स्टक) उत्पादन गरी ह्याचरीहरुमा वितरण गरीदै आएको छ । त्यस्ता प्यारेन्ट स्टकबाट उत्पादन भएको अण्डाबाट ह्याचरीहरुले चल्ला उत्पादन गरेर वितरण गरिने चल्लाहरुलाई व्यवसायीक चल्ला भनिन्छ । यस्ता कुखुराको फुलबाट पुनः चल्ला उत्पादन गर्नु हुँदैन । चल्ला उत्पादन गरिएमा त्यसमा बढी उत्पादन गर्ने वंशाणुगत गुणमा ह्रास आउने हुन्छ । त्यसकारण ह्याचरीले पनि आफ्नो कुखुरा बूढो भए पनि पुनः माऊ चल्लाको व्यवस्था गर्नुु पर्दछ । यस्ता कुखुराको मासु तथा फुल उत्पादन क्षमता अन्य शुद्ध नश्लको भन्दा धेरै हुन्छ । नेपालमा प्रचलनमा रहेका र फुल तथा मासु उत्पादनको उद्देश्यले विकास गरिएका व्यावसायिक जातका कुखुराहरु यस प्रकार छन् ।

नेपालमा हाल हाईसेक्स ब्र्राउन, नोभोजेन ब्र्राउन, एच एण्ड एन निक ब्र्राउन, हाइलाईन ब्र्राउन, लोम्यान ब्र्राउन, बि.भी. ३८०, बोभान्स ब्राउन, इसा ब्राउन र डोमिनान्ट सि जेड  आदि जातका लेयर्स तथा हब्बार्ड फ्लेक्स, मार्सल आर, कसिला, प्योर लाईन जेनेटिक्स, कब १००, कब ५००, कब एभियन ४८ र रोस–३०८, ईण्डीएन रिभर, लोम्यान आदि जातका ब्रोईलर कुखुराका प्यारेन्टहरु आयात गरि चल्ला उत्पादन गरेर र बिक्रि वितरण हुने गरेको छ । हाल कुखुराको आहारा, प्रजनन् तथा व्यवस्थाापन सम्बन्धी प्रविधिको विकासले गर्दा लेयर कुखुराले ७२ हप्ताको उमेरमा करीब ३०० गोटा फुल पार्दछन र ६–७ हप्ताको उमेरमा करिब २ केजी तौलको हुन्छ ।