कुखुरा पालन गर्ने प्रणालीहरु

सामान्यतयाः कुखरा पालन प्रणालीहरु ४ किसिमका छन् जस अनुसार

खुला छाडेर पाल्ने

स्थानिय कुखुराहरु यहि प्रणालीबाट हाम्रो देशका गाउघरमा पालींदै आएको छ । दिनभरी घर वरीपरी कुखुरालाई छाडा छाडिन्छ  र साझ परेपछि खोरमा राखिन्छ । कुखुराले किरा फट्याग्रा, घास, घासको बिउ आदि खाएर आफ्नु आहाराको ठुलो हिस्सा आपुर्ति गर्दछ । थोरै संख्यामा यो प्रथाबाट कुखुरा पाली गरिब कृषकहरुले कम लगानीमा फाईदा लिई रहेकाहुन्छन् । व्यवसायीक हिसाबले यो पथ्राबाट कुखुरा पालन गर्न सकिंदैन ।

फोल्डिङ्ग यूनिट प्रणाली (Folding Unit System)

प्रसस्त घाँस भएको जमिनमा यस प्रणालीको खोर बनाउदा एक ठाउबाट अर्को ठाउँमा सार्न सकिने गरी बनाउनु पर्छ । यसमा प्रति कुखुरा  १ बर्ग फुट स्थानमा कुखुरा राख्न र ३ वर्ग फिट स्थान कुखुरा हिडडुल गर्न र खेल्नको लागी दिईन्छ ।  यो प्रणालीमा २५ वटासम्म कुखुरा पाल्न उपयुक्त हुन्छ । तसर्थ ५ फिट चौडाई र २० फिट लम्बाई भएको खोरमा २५ वटा कुखुरा पाल्न सकिन्छ । यस प्रणालीमा कुखुरा पाल्दा कुखुरालाई प्रसस्त हरियो घाँस, किराफट्याङ्ग्रा आदि आहाराको रुपमा प्राप्त हुन्छ । खोरलाई दिनदिनै एक ठाउँबाट अर्को ठाउमा सार्नु पर्ने हुँदा कृषकलाई अली अप्ठारो हुने भएपनि कुखुराले जमीनलाई मलिलो बनाउँछ । तर यो प्रणाली हाम्रो देशमा प्रचलित छैन ।

अर्ध सघन प्रणाली (Semi-intensive system)

खुला छाडेर पाल्ने ठाउँको कमी भएको स्थानमा यो प्रणालीबाट कुखुरा पालन गर्दा उपयुक्त हुन्छ । यसमा कुखुराहरुलाई तार जालीको घेरा गरी दिउसोको समयमा छाडिन्छ भने रातको समयमा खोरभित्र राखीन्छ । यस प्रणालीमा प्रति कुखुरा खोर भित्र २ वर्ग फिट र खोर बाहिर जालीको घेरामा उपलब्ध खुला ठाँउ घुमफिर तथा चर्नको लागि उपलब्ध गराईन्छ । खुला स्थान खोरको दुबैतिर पर्ने गरी बनाउनु पर्दछ ।

सघन प्रणाली (Intensive System)

यस तरिकामा कुखुराहरुलाई पुर्णरुपमा खोर भित्र नै राखी त्यसको लागि दानापानी लगायत सम्पुर्ण व्यवस्था खोर भित्र नै मिलाईएको हुन्छ । सिमित जग्गा जमिन भएको ठाउमा यो तरिका उपयुक्त मानिएको छ किनभने एउटै खोरमा धेरै कुखुरा कुनै समस्या बेगर नै पालन गर्न सकिन्छ । हाल हाम्रो देशमा सानो वा ठुलो स्केलमा व्यवसायिक रुपमा कुखुरा पालन यसै प्रणालीमा आधारित भएर गरिएको छ । सघन प्रणाली बाट  कुखुरा पालन गर्न मुख्यतयाः दुई तरिका अपनाईएको छ ।

केज वा व्याट्रि प्रणाली  (Cage or battery system)

शहरी क्षेत्रमा जग्गाको कमी र महंगो पनि हुने भएकोले यो पद्धतीले निकै लोकप्रियता कमाईसकेको छ । यो पद्धतीमा  खासगरी फुल पार्ने कुखुरा (Layers) लाई केज अर्थात पिंजडा भित्र राखीन्छ । केजमा कुखुरा उठबस गर्न सजिलैसग सक्ने तर घुमफिर को लागि स्थान कम दिएको हुन्छ । एउटा केजका ३—५ वटा सम्म कुखुराअटन सक्ने स्थानको व्यवस्था मिलाईएको हुन्छ । यो केज तिन तल्ला (Three tier system) सम्मको हुन्छ । फुल पार्ने किसिमका कुखुरा (layers) पालन गर्दा ८ हप्ता देखि १६ हप्ता सम्मको लागि ग्रोअर केज (grower cage) मा राखीन्छ । जसमा प्रति केज ५ वटा सम्म कुखुरा राखीन्छ । प्रत्येक केजको साईज १८”× १५”× १५” को हुन्छ । प्रति चल्ला ५४ वर्ग इन्चको क्षेत्र उपलब्ध गराइएको हुन्छ । तिनै तल्लाका केज यहि हिसाबले बनाईएको हुन्छ । केज बलियो ग्याल्भानाईज्ड गरिएको तारबाट बनाईएको हुन्छ । दाना पानी दिने स्थान केजको बाहिर पट्टि कुखुराले सजिलैसँग खान सक्ने गरी व्यवस्थित तरिकाबाट राखीएको हुन्छ । फुल पार्ने अवस्थाका कुखुरा अर्थात १७ हप्ता भन्दा बढि उमेर पुगेका कुखुरालाई प्रति के.जी ३ वटाको हिसाबले राखीन्छ । प्रति केज १५” × १२” × १५” क्षेत्रफल राखी प्रति कुखुरा ६० वर्ग ईन्च क्षेत्रफल उपलब्ध गराईएको हुन्छ । यो तरिकामा प्रति ईकाई स्थानमा बढि कुखुरा राख्न सकिन्छ । हरेक उद्देश्य अनसुार केज भिन्न भिन्न कुखुरा संख्याको लागि भिन्न भिन्न साईजको केज बनाईन्छ । जस्तै एउटा मात्र कुखुरा राख्ने केज (Individual cage), धेरै कुखुरा राख्नको लागि केज (Colony cage) प्रयोग गरिन्छ । एउटा मात्र कुखुरा राख्ने केज अनुसन्धान कार्य वा ब्रिडर स्टकको लागि प्रयोग गर्न सकिन्छ । हरेक कुखुराको सजिलैसँग रेखदेख गर्न सकिने हुँदा अनुत्पादक कुखुराहरुलाई हटाउन र फुल उत्पादन रेकर्ड राख्न सजिलो पर्दछ । एक आपसमा ठुगाठुग गर्ने समस्या कम हुन्छ र सफा फुल उत्पादन हुन्छ, दाना पानी सबै कुखुराले एक नाससँग पाउदछन् । कक्सिडियोसिस र आन्तरिक परजिवीलाई सजिलोसग नियन्त्रण गर्न सकिन्छ । यस तरिकाबाट कुखुरा पालन गर्दा केहि फाईदा र केहि बेफाईदाहरु दुबै देखिन्छ ।

फाईदाहरु

  • यस प्रणालीमा पालीएका कुखुराहरुलाई प्रभावकारी रुपमा निरीक्षण गर्न सकिन्छ ।
  • प्रत्येक कुखुराको गुण सजिलैसँग पत्ता लगाउन सकिन्छ र अनुत्पादक कुखुरालाई हटाउन सकिन्छ।
  • कुखुराको मृत्यू दर सोत्तर विच्छाई पाल्ने (Deep litter system) तरिकामा भन्दा कम हुन्छ ।
  • कक्सिडियोसिस रोगको प्रकोप कम हुन्छ ।
  • व्यवस्थापन कार्यको लागि कम श्रमिक/ज्यामीको आवश्यकता पर्दछ ।
  • सफा फुल उत्पादन हुन्छ ।
  • प्रति दर्जन फुल उत्पादनका लागि आवश्यक पर्ने दाना डिपटिर तरिकामा भन्दा कम आवश्यकता पर्दछ ।

बेफाईदाहरु

  • शुरुमा केज निमाणका लागि बढि पुंजी लाग्ने ।
  • सबै कुखुरालाई पक्राश तथा भेन्टिलेसन आवश्यकता अनसुार मिलाउन कठिनाई पर्ने ।
  • धेरै कुखुरा एउटै केजमा राख्दा खुट्टा कमजोर हुने, फुल पार्ने कुखुरा चाडै थाक्ने (Cage fatigue) जस्ता समस्या देखिन्छन् ।
  • खोरमा झिंगा बढि लाग्ने र गन्हाउने हुन्छ ।
  • दाना पानी दिनको लागि बढि ज्यामी लाग्ने ।

सोत्तर विच्छाई कुखुरा पालन गर्ने प्रणाली (Deep litter system)

यो प्रणाली विश्वव्यापी रुपमा कुखुरा पालन जगतमा बृहत रुपमा अपनाईदै आईएको छ । यस पद्धतीमा कुखुरालाई ठुल्ठुला खोरमा भुईंमा सोत्तर विच्छाएर पालीन्छ । कुखुरालाई चिसोबाट बचाउन ४ ईन्च जती बाक्लो हुने गरी भुइ मा सोत्तर विच्छयाउनु पर्दछ । सोत्तरको प्रयाोग गर्दा नरम हुनुको साथैओसिलोपनलाई बढि सोस्न सक्ने, ढुसीरहित, सस्तो र स्थानिय स्तरमा उपलब्ध हुन सक्ने र सधै ओभानो रहिरहने गुण भएको हुनुपर्दछ । यसको लागि काठको धुलो, परालको टुक्रा, बदामको बोक्रा, उखुको खोईला आदि प्रयोग गर्न सकिने भएता पनि हाम्रो देशमा धानको भुसलाई सोत्तरको रुपमा अत्यधिक रुपमा कृषकले प्रयोगमा ल्याएका छन् ।

कुखुराको सुली, पोखिएको दाना पानी आदिका कारणले गर्दा शुक्ष्म जिवाणुको सक्रृयता बढि सोत्तर सड्दै र टुक्रदै जाने हुँदा समय समयमा नयाँ सोत्तर थप्दै जानु पर्दछ । यो तरिकाबाट माटोले लिपेको भुई वा ईट्टा विच्छाईएको भुईंमा सोत्तर राखी कुखुरा पालन गर्न सकिएता पनि पछि खोर सफाईमा कठिन पर्ने हुँदा सिमेन्ट प्लाष्टर गरेको भुईं/भित्ता भए राम्रो हुन्छ । किनभने यस्तो भुईं वा भित्ताहरु सफा गर्न र किटाणु मुक्त पार्न सजिलो हुन्छ । सोत्तरमा बढि ओसिलोपन भई ढिक्का परेमा उक्त खोरबाट कुखुरा संख्या घटाई हावा ओहोर दोहोरका लागि भेन्टिलेसनको उचित प्रबन्ध मिलाउनु पर्दछ ।

डिपलिटर प्रणालीबाट कुखुरा पालन गर्दा निम्न लिखित सावधानी अपनाउनु पर्दछ ।

  • कुखुरा राख्ने भुईं जमीनको सतहबाट ४५—५० से.मी. उचाईमा हुनु पर्दछ । पक्का भुई (Cemented floor) यस प्रणालीको लागि उपयूक्त मानिन्छ ।
  • प्रति कुखुराको लागि भुईंको क्षेत्रफल २—३ वर्ग पिट उपलब्ध गराउनु पर्दछ ।
  • सात्तेर अथवा भुइँ ओसिलो हुनु हुँदैन यसलाई सधैं ओभानो राख्ने व्यवस्था मिलाउनु पदर्छ ।
  • खोरमा राम्रोसँग हावा आवतजावत गर्न सक्ने व्यवस्थाको लागि भेन्टिलेसनको राम्रो व्यवस्था गर्नु पर्दछ ।
  • सोत्तरको प्रयोग प्रयाप्त मात्रामा गर्नु पर्दछ ताकी यसको गहिराई ४”(१० से.मी.) हुनु पर्दछ ।
  • कुखुराको खोर भित्र विभिन्न उपकरणहरु जस्तै दाना दिने, पानी दिने, फुल पार्ने गुंड आदि उचितडस्थानमा मिलाएर राख्नु पर्दछ ।
  • कुखुराहरुलाई भिटामिन ए र डि युक्त दाना खुवाउनु पर्दछ । किनकी कुखुराहरु खोर भित्रे थुनेर पालिने हुँदा प्रयाप्त मात्रामा सुर्यको प्रकाश लिन पाउँदैनन् ।

सोत्तर व्यवस्थापन (Litter management)

  • खोरमा सोत्तर विच्छयाउनु भन्दा पहिले भुई र पर्खालको भित्ताहरु सफा गरि त्यस्मा लाईसोल, फिनेल, ब्लीचिङ्ग पाउडर वा चुनापानी छर्की किटाणुमुक्त बनाउनु पर्दछ ।
  • कुखुराको खोरमा गर्मी मौसममा भुईंको सतहबाट ४ ईन्च उचाई र जाडोको मौसममा ६ ईन्च उचाईसम्म सोत्तर विच्छयाउनु पर्दछ
  • विच्छयाईएको सोत्तर सधैं ओभानो राख्नु पर्दछ । ओसिलो सोत्तरको कारण सानो उमेका कुखुराहरुका कक्सिडियोसिस रोग लाग्नसक्छ । यस्तो अवस्थामा सोत्तरलाई ओभानो राखी राख्न ५०० ग्राम चुना वा १ के.जी सुपर फस्फेट प्रति वर्ग मिटरमा प्रयोग गर्न सकिन्छ ।
  • सोत्तरलाई डल्ला पर्नबाट जोगाउन खोर भित्रको सापेक्षिक आर्द्रता कम गर्नुको साथै कम्तिमा हप्ताको १ पटक सोत्तरलाई ओल्टाई पल्टाई गर्नु पर्दछ ।
  • कुखुरा खोरमा राख्नु पुर्व नयाँ र ताजा सोत्तर विच्छयाउनु पर्दछ । यस प्रणालीबाट कुखुरा पालन गर्दा सकेसम्म सुख्खा मौसमबाट शुरु गर्नुपर्दछ ।
  • पुरानो सोत्तरलाई वर्षाद पछि अर्थात हिउंद शुरु हुनु भन्दा अगावै खोरबाट हटाई सक्नुपर्दछ ।
  • ओभानो सोत्तरको लागि खोरभित्र पानी दिने भांडा आवश्यकता अनुसार व्यवस्थित रुपमा राख्नुको साथै खोरको छाना तथा झ्यालबाट पानी नचुहिने व्यवस्था मिलाउनु पर्दछ ।

यस प्रणालीबाट कुखुरा पालन गर्दा हुने फाइदाहरु

  • कुखुरालाई सुरक्षित रुपमा खोर भित्र राख्न सकिन्छ ।
  • थोरै मात्रामा भए पनि कुखुराले सोत्तरबाट प्रोटिन, भिटामिन र हर्मोन प्राप्त गर्न सक्दछन् ।
  • कुखुरालाई आराम र सुविधा प्राप्त हुन्छ ।
  • सोत्तरलाई ओभानो अवस्थामा राख्न सकेको खण्डमा कुखुराहरुमा रोगको प्रकोप पनि कम हुन्छ ।
  • फर्सदको समयमा कुखुराहरु सोत्तरमा खोस्रेर आफुलाई व्यस्त राख्ने हुंदा एक आपसका ठुगाठुगं गर्ने समस्या कम हुन्छ । 
  • यस प्रणालीमा खोरहरुलाई सधैं सफा गरिरहनु नपर्ने हुँदा ज्यामी ज्यालामा बचत हुन जान्छ ।
  • यस प्रणालीबाट तयार भएको मल मुल्यवान र राम्रो गुणस्तरको मानिन्छ । राम्रोसँग तयार भएको सात्तेर मलमा करिव ५% नाइट्रोजन, २% फस्फारेस र २% पाटोस पाइन्छ । यसरी एउटा फलु पार्ने कुखुराले आफ्नो जीवनकाल (७२ हप्तामा) मा १८—२० के.जी. सोत्तर मल उत्पादन गर्न सक्दछ ।
  • सोत्तरले एकैनासको तापक्रम कायम गरीराख्ने हुँदा वायूमण्लको तापक्रम बढ्नासाथ कुखुराले यताउती खेली आफुलाई ठण्डा पारी राख्दछ ।