फुल पार्ने कुखुराको व्यवस्थापन

लेयर जातका कुखुरालाई १८ हप्ताको उमेर पुगे पछि अथवा बथानको ५ प्रतिसत कुखुराले फुल पार्न थालेपछि लेअर हाउसमा सारिन्छ । लेयर हाउसमा कुखुरा सार्नु अघि खोेर सफा गरेर निसंक्रमण गरी नया सोतर ओछ्याउनु पर्छ । तर गा्रेअरलाई लेयर हाउसमा नै हुर्काएको भएमा कुखुरा घर सफा गरी राख्नु पर्दैन । लेयर कुखुरालाई एकैपटक भित्र्याएर एकैपटक हटाउने तरिका (All In All Out System) अवलम्बन गरिन्छ । यस तरिकामा कुखुरा घर मा एकै उमेरका कुखुराहरु रहन्छन् । यो तरिकामा कुखुरालाई रोग लाग्ने सम्भावना कम हुने हुनाले यस्ता वथानमा कुखुराबाट फुल उत्पादन बढी हुन्छ ।

फुल पार्ने अवस्थाका कुखुरा लाई लेयर रासन (दाना) दिनुपर्छ । ग्रोअर रासनबाट लेयर रासन दाना परिवर्तन क्रमिक रुपले गर्नु पर्छ । किनभने एकैपटक दाना परिवर्तन गर्दा कुखुराले नपचाउन पनि सक्छ । दानाको भाँडोको उचाई कुखुराको काँधको बराबर हुनुपर्छ । साधारणतया लेयरले एक दिनमा ११०—१२० ग्राम दाना खान्छ भने दानाको २.५—३  गुना बढि पानी खान्छ । पानीको भाँडोलाई दैनिक सफा गरेर पानी दिनुपर्छ । गर्मीको मौसममा पनि पिउने ठाउँ बढाउनु पर्छ । कुखुरालाई साना साना ढुङ्गाका टुक्रा ९न्चष्त० प्रति हप्ता ५०० ग्राम प्रति गोटा कुखुराको दरले दिनुपर्छ । त्यस्तै एउटा भाँडोमा सिपीको टुक्रा राखी दिएमा क्याल्सियमको आपूर्ति हुन्छ । फुल पार्ने कुखुरालाई दैनिक १६ घण्टा उज्यालो आवश्यक पर्छ । तसर्थ, राती थप समयको लागि विजुलीबाट उज्यालो दिनुपर्छ । फुल पार्नु भन्दा २–४ हप्ता पहिले देखि फुल पार्ने गुँड राखी दिनुपर्छ ।  फुल पार्ने कुखुराको लागी उपयुक्त तापक्रम २१ डिग्रि से. (७० डि एफ.) हुन्छ ।  कुखुरा घरको तापक्रम २७ डिग्रि से.नाघेपछि फुल उत्पादन घटन थाल्छ । त्यस्तै तापक्रम १२.८ डिग्रि से. भन्दा कम भएमा चिसोको असर देखिन्छ ।  

फुल पार्ने गुँड

फुल पार्ने ठाउँमा अँध्यारो तर हावा ओहोर दोहोर हुने व्यवस्था गर्नुपर्छ । फुल पार्ने गुँडको चौडाई १२ इन्च, गहिराई १४ इन्च र उचाई १४ इन्च भएको हुनुपर्छ । यस्तो एउटा गुँडमा ७ वटा कुखुराले फुलपार्न सक्छन् । यस्तै किसानले सामुदायिक गुँड पनि राख्न सकिन्छ । त्यस्तो गुँडमा ७५ वटासम्म कुखुराले फुल पार्न सक्छन् । सामुदायिक गुँडको साइज चौडाइ २ फिट र लम्बाई ८ फिट हुन्छ । उपरोक्त गुँडहरु बाहेक पेट्रोलियम पदार्थ राख्ने पुरानै ड्रमको बीचमा प्वाल पारेर राख्दा पनि राम्रो नतिजा देखिएको छ । फुललाई दैनिक ३ पटक संकलन गर्नु पर्छ । लेयर जातका कुखुराले १ बर्ष सम्म फुल उत्पादन राम्रोसँग दिन्छ । त्यसपछि बजारमा फुलको भाउ हेरी माउ विक्री गर्नु पर्छ ।

फुल संकलन

फुललाई समयमा जम्मा नगरेमा चर्कने, फुट्ने, फोहर लाग्नेआदि संभावना बढी हुने भएको ले  यस्तो फुलको संख्या बढी भएमा आर्थीक नोक्सानी बढी हुन्छ  तसर्थ  दिनमा कमसे कम ३ पटक फुल जम्मा गर्नु पर्छ । फुल जम्मा गर्दा ल्पास्टिकको भाडोमा जम्मा गरेमा फुट्ने संभावना कम हुन्छ । फुल जम्मा गरिसकेपछि यस्लाई ग्रेडिङ्ग गर्नु पर्छ । साधारणतया ग्रेडिग गर्दा साना, मझ्यौला, ठिक्कको, अति ठुलो र चर्केको तथा फोहर लागे को फुललाई छुट्याएर ट्रे मा राख्नु पर्छ ।

स्वास्थ्य संरक्षण

कुखुराको स्वास्थ्य दैनिक निरीक्षण गर्नु पर्छ । यसरी निरीक्षण गर्दा बाह्य परजीवी जस्तो जुम्रा, उपियाँले आक्रमण गरेको नगरको राम्रोसँग हेर्नु पर्छ । साथै दानापानी कमखाने, फुलको संख्या र आकार घट्ने, सुली पातलो वा रगत मिसिएको देखिएमा कुखुराको  स्वास्थ्यमा केही गडबडि छ भनेर बुझुनु पर्छ । बिभिन्न रोगको बिरुद्धमा समयमै खोपलगाउनुको साथै पेटको जुगाको बिरुद्धमा निएमित रुपले औषधि खुवाउनु पर्छ ।