अनुत्पादक कुखुरा हटाउने

कुखुराको वथानबाट उत्पादन क्षमता कम भएका कुखुराहरुलाई छानेर हटाउने प्रविधिलाई कलिङ्ग भनिन्छ । यसरी अनुत्पादक वा कम उत्पादन दिने कुखुराहरुलाई छानेर हटाउने कार्य खोरमा राखे देखि खोरबाट नहटाउने बेलासम्म जारी रहन्छ । अनुत्पादक कुखुराहरुलाई हटाउने कार्य अति महत्वपुर्ण हुन्छ किनभने उत्पादन नदिने कुखुराहरुलाई पनि दाना खुवाउनु पर्दा धेरै अनावश्यक खर्च हुनजान्छ । कुखुरा छान्नु भन्दा पहिले तिनिहरुको स्वभावलाई खोरमा राम्रोसँग नियालेर हेर्नुपर्छ । यसरी हेर्दा बथानमा भएको स्वस्थ र अस्वस्थ कुखुरा तिनिहरुको स्वभावबाट नै थाहा पाउन सकिन्छ ।

अस्वस्थ्य/ अनुत्पादक कुखुरा

धेरै हिडडुल नगरी बसिरहन मन पराउने, दानापानी मन नलगाई खाने, टाउको झुकाएर बस्ने, आखाँ बन्द गर्ने, प्वाँखहरु ठाडो पर्ने, पखेटो र पुच्छर लतार्ने गर्छ। साथै अर्कालाई ठूग्ने, आफ्नै पखेटालाई चुच्चोले तान्ने, स्वास प्रस्वास सम्वन्धी अस्वभाविक लक्षण देखाउने गर्छ । सोतर, प्वाख आदि खाने सवथै पोथी कुखुामा भालेको स्वभाव बढ्दै जाने गर्छ ।

स्वस्थ्य/ उत्पादशील कुखुरा

स्वस्थ्य कुखुराहरु फुर्तिलो, तेजिलो, रातो सिउर तथा लोती भएको, चम्किलो आँखा, स्वाभाविक स्वर निकाल्ने, मन लगाएर दाना पानी खाने, सोत्तरमा खोस्रिने र खेल्ने प्रवृत्तिका हुन्छन् यस्ता कुखुराले बढी संख्यामा फुल उत्पादन गर्दछन् ।

कुखुरालाई छनौट गर्ने तरीका

अनुत्पादक कुखुराको छनौट गर्दा कुखुराको खोरमा गएर बथानमा कुखुराहरुलाई नियालेर हेर्नुपर्छ । यसरी नियालेर हेर्दा ब्रुडिङ्ग गरिरहेको चल्लाहरुमा आखाँ सुकेको, पखेटा लत्रेको, खुट्टा दुखेको, विमारी तथा कमजोर चल्लालाई देख्नासाथ वथानबाट छुट्टै राख्नुपर्छ । त्यस्तै हुर्किएका चल्लाहरुमा शारिरीक वृद्धि कम भएका, खुट्टा कमजोर भएका, पखेटा लत्रिएका, ज्यादै कम शरिरीक वृद्धि भएका र विरामी भएकालाई पनि छानेर निकाल्नु पर्छ । त्यस्तै फुल पार्ने वा पारीरहेका कुखुरालाई पनि निम्न आधारमा उत्पादनशील र अनुत्पादक कुखुरा हुन् भनि छनौट गरिन्छ । 

आधार

उत्पादनशील कुखुरा

अनुत्पादक कुखुरा

सिउर/लोती

ठूलो, रातो, चम्किलो

धमिलो, खुम्चिएको

चुच्चो

छोटो, सेतो

धेरै लामो, पहेलो

गाँड

आहाराले भरिएको, नरम

धेरै कडा, शरीरमा झुण्डिएको

छाती

छातीको हाड सोझो र मासुले भरिएको

छातीको हाड बाङ्गो र मासुको भाग कम भएको

पेट

नरम, ठूलो लच्कने, पेलभिक बोन र किलबोनको फरक ४ औला भएको

कडा, तन्किएको , ट्यूमर भएको पानीले भरिएको पेलभिक बोन र किलबोनको फरक ४ औला भन्दा कम

मलद्वार

ठूलो रसिलो, फूलको आकार जस्तो रातो, पेल्भिक बोनको दुरी २–३ औला

सानो खुम्चिएको सुख्खा, गोलो, पहेलो पेल्भिक बोनको दुरी २ – ३ औंला भन्दा कम

नलीखुट्टा

सिधा, बलियो र चम्किलो

लुलो र हिड्न नसक्ने

 

छनौट गर्ने समय

ब्रुडीङ्ग गरिरहेका चल्लाहरुलाई दिनको कुनै पनि समयमा छान्न सकिएता पनि हुर्कीरहेका कुखुरालाई दाना खाएको समयमा छनौट गर्दा उनिहरुमा धेरै धपेडि पर्ने हुनाले करिब ६ घण्टा सम्म दाना नदिनु राम्रो हुन्छ । साधारणतया हुर्किरहेका र फुल उत्पादनमा रहेका कुखुराहरुलाई बिहान वा बेलुका को समयमा छनौट गर्नु राम्रो हुन्छ । यसरी छनौट गर्दा छनौट गर्नु एक दिन पहिले देखि तिन दिन सम्म पानीमा मल्टीभिटामिन मिसाएर दिनु राम्रो हुन्छ ।