चल्लाहरुमा शुरुको अवस्थामा मृत्युदर बढ्नुको कारण

रोग बाहके अन्य कारणहरुले पनि चल्लाहरुको मृत्यु वा नोक्सानी हुने हुनाले निम्न कुराहरुमा ध्यान दिनपुर्छ:

चिसो (Chilling)

आवश्यकता अनुसार तापक्रम नपाए चल्लाहरु एकै ठाउँमा थुप्रिन्छन् यसले गर्दा स्वास फेर्न गाह्रो भई चल्लाहरु मर्दछन् । चिसोमा चल्लाले दाना कम खाने, साँस फेर्न गाह्रो हुने र पखेटा लतार्ने गर्दछन् । ६० डिग्री फरेनहाइट भन्दा कम तापक्रम भएमा धेरै चल्लाहरु मर्दछन् । यसरी मरेको चल्ला चिरेर हेर्दा गाँडमा कम दाना हुने, फोक्सो रातो हुने, किड्नी फिका रंगको हुने र पहेंलो नपचेको हुन्छ । चल्लाहरुलाई आवश्यकता अनुसार ब्रुडर र तापक्रमको कमी तथा बु्रडिंग कोठामा हावाको प्रवाह सिधा आउने भएमा चिसोको असर पर्दछ । तसर्थ उपयुक्त तापक्रमको व्यवस्था मिलाउनु पर्छ ।

तापक्रम (Temperature)

ब्रुडिंग तापक्रम आवश्यक भन्दा ज्यादा भएमा चल्लाहरुले दाना कम खाने, आवश्यकता भन्दा २/३ गुणा पानी पिउने, स्वांस फेर्न गाह्रो अनुभव गर्ने, निर्जलीकरण हुने, पानीको भाँडा भएको ठाउँमा झुम्मिने र मर्ने गर्दछन् । यसरी मरेको चल्ला हेर्दा आँखा भित्र गाडिएकोे, खुट्टा सुकेको हुने र कुनै खास रोगको लक्षणहरु नदेखिने हुन्छ ।

निर्जलिकरण (Dehydration)

चल्लाहरुलाई हमेसा सफा ताजा स्वच्छ पानीको आवश्यकता पर्दछ अन्यथा चल्लाहरु सुक्दै जाने, कमजोर हुने, दिशा कडा हुनुको साथै कब्जियत हुने र मर्न थाल्दछ । यस्तो अवस्था ४/५ दिनसम्म रहेमा मृत्युदर निकै बढ्न सक्दछ । कुनै कारणबस चल्लाहरुले ६/७ दिन पानी प्राप्त गर्न नसकेमा ७५ देखि १०० प्रतिशतसम्मै मर्न सक्दछन् । चल्लाहरु निम्न कारणले निर्जलिकरण हुनसक्छ ।

  • चल्लाहरुमा कुनै रोग भएमा ।
  • आवश्यकता अनुसार पानीको  भाँडा कम भएमा ।
  • पानीको भाँडा फोहर भएर पानी खान लायक नभएमा ।
  • पानीमा आवश्यक भन्दा बढी औषधी मिसाएमा ।
  • पानी बढी चिसो वा तातो भएमा ।
  • पानी खान नसक्ने भई अग्लो ठाउँमा राखिएमा ।
  • पानीको तापक्रम कोठाको तापक्रम भन्दा बढी भएमा ।
  • कोठामा उज्यालो कम भएमा ।
  • ब्र्रुडर घरमा आवश्यकभन्दा बढी तातो भएमा ।

चल्लाहरु भोकै भएमा (Starvation)

कुनै कारणबस चल्लाहरु भोकै रहन सक्दछ्रन्, जसको कारणले गर्दा एकै स्थानमा थुप्रिने, प्वाखहरु नबढ्ने वा फोहरी देखिने, एक आपसमा ठुँङने, चिउ चिउ कराउने, जे पायो त्यो खाने वा दिसा पनि खाने, चल्लाहरु कमजोर हुने, तौल घट्ने र मृत्युदर बढ्नेसम्म हुनजान्छ । निम्न कारणले चल्लाहरु भोकै हुनसक्छन् ।

  • चल्लाको तौल आवश्यकता भन्दा कम भएमा ।
  • चल्ला हुर्काउने कोठा सानो भएमा वा दाना दिने भाँडा कम भएमा ।
  • ब्रुडिंग तापक्रम कम वा कोठामा बढी तातो भएमा ।
  • कोठामा उज्यालो कम भएमा ।
  • चल्लामा कुनै रोग भएमा ।
  • दानाको आकार खानै नसक्ने गरि ठूलो भएमा । त्यस्ता चल्लाहरु चिरेर हेर्दा निम्न लक्षणहरु देखिन्छन् ।
  • गाँड खालि हुने र कहिलेकाहीँ दिसा पनि भेटिने ।
  • आन्द्रा खाली र म्यूकस भरिएको देखिने ।
  • कलेजो सानो र पित्तथैली पित्त भरिएर ठूलो हुने ।
  • छालाको तल वा भित्र जेली जस्तो र्याल परेको पदार्थ भेटिने ।

औषधीको गलत प्रयोग  (Wrong medication)

अनुभबिहिन व्यक्तिहरुसँग प्राविधिक परामर्श लिएर औषधी खुवाउने गरेमा उपचार खर्च बढ्नुको साथै चल्लाको मृत्युदर समेत बढने हुँदा औषधीको प्रयोग गर्नुपर्दा निम्न कुराहरुमा ध्यान दिनु पर्छ ।

  • औषधी जहिले पनि पशु चिकित्सकको सल्लाह अनुसार मात्र खुवाउने । पशु चिकित्सकको सल्लाह विना औषधि किनी खुवाउँदा बढी खर्चिलो र नराम्रो असर पनि पर्न सक्दछ ।
  • औषधी पूर्ण मात्रामा खुवाउने ।
  • कहिलेकाँही औषधी मिसाएर खुवाउँदा रासानिक प्रतिकृया हुन सक्ने  हुँदा जुन पायो त्यहीँ औषधी नमिसाउने । जस्तै जडिबुटीको औषधी र अन्य औषधी नमिसाउने, धेरै थरिको एण्टिबायोटिक औषधी एकै पटक नखुवाउने आदि ।

हानिकारक ग्यासको कारणले (Harmful gases)

चल्ला ब्रुडिङ्ग गर्दा तापक्रम व्यवस्थापन गर्न भुखारी, मट्टितेलको स्टोभ आदि प्रयोग गर्दा निस्कने धुवाको राम्रो व्यवस्थापन हुन नसक्दा खोरभित्र हानिकारक ग्याँस जम्मा भएर चल्लाहरुको मृत्यु हुन सक्दछ । खोरमा भेन्टिलेशनको राम्रो व्यबस्था भएन भने सोतर चिसो रहन्छ साथै सोतरमा पानी पोखियो भने पनि त्यसबाट एमोनिया ग्याँस बढी मात्रामा जम्मा हुन सक्छ । खोरमा २० पी.पी.एम. भन्दा बढी एमोनिया कुनै पनि हालतमा जम्मा हुनु हुँदैन । एमोनिया ग्याँस बढी भएमा मानिसको आँखासमेत पोल्छ । त्यस्तै कार्वन मोनअक्साइड र कार्वनडाइअक्साइड ग्यासको मात्रा बढी भएमा पनि मृत्यु हुनसक्छ ।

एकै स्थानमा थुप्रिएर मर्ने  (Huddling)

ब्रुडरमा बढी संख्यामा चल्लाहरु ब्रुडिङ्घ गरेको खण्डमा कहिलेकाहि  एकै ठाउँँमा थुप्रियर तथा खाँदिएर मर्न सक्दछन् । चल्लाहरु प्रायगरेर अचानक बत्ति बन्द हुँदा वा कुनै कडा आवाज एक्कासी आउँदा तर्र्सिएर कोठाको कुनामा थुप्रिन गई कोचिएर, निसास्सिएर मर्न सक्दछन् । तसर्थ जहिले पनि चल्ला हुर्काउने कोठाको कुनामा चिक गार्डको व्यबस्थाको साथै अचानक बत्ति निभ्दा बत्तिको बैकल्पिक व्यबस्था गर्नु पर्दछ । त्यस्तै हुर्किरहेको चल्ला राख्दा समेत काठको फलेक, टिनको पाता वा अन्य सामाग्रीले कोठाको कुनाहरु छेक्नु पर्छ ।