दाना भण्डारण

कुखुरापालनमा सबैभन्दा बढी खर्च दानामा हुने हुँदा यसको उचित तरिकाबाट भण्डार गर्नु अति जरुरी छ । दाना भण्डारणमा अपनाएको अलिकति असावधानीको कारणले कृषक वर्गले ठूलो नोक्सानी खेप्नु परेको धेरै उदारणहरु  देखिन्छ । दानाको सही भण्डारणले कुखुरा व्यवसाय सफल बनाउन ठूलो सहयोग गर्दछ । दानालाई लामो समयसम्म घाममा राख्दा दाना तातेर ज्यादै फुका भई धुलो उड्ने, दानामा  भएको भिटामिनहरु नष्ट हन्छ । दाना भिजेमा वा ओषिलो स्थानमा राखेमा चिसोले डल्लो पर्ने, पोषकतत्व नष्ट हुने र ढुसीले दाना विषाक्त भई विभिन्न प्रकारका ढुसी विषादीहरुले हुने रोगहरु जस्तै एफ्लाटाक्सिकोसिस, ओक्राटक्सिकोसिस आदि लाग्ने हुनाले दाना भण्डारण गर्दा निम्नानुसारको व्यवस्था गर्नु पर्दछ ।

  • वर्षातको समयमा सकभर पानी छलेर दाना ढवुानी गर्ने । पानीले दाना नभिज्ने गरी प्लाष्टिकले  छोपी मात्र ढुवानी गर्ने ।
  • सिधा घाम पर्ने अथवा पानी चुहिने वा छिटा पस्ने ओस लाग्ने स्थानमा दाना भण्डारण नगर्ने ।
  • उज्यालो, सफा, सुख्खा, ओस नलाग्ने र पानीले नभिज्ने स्थानमा दाना भण्डारण गर्ने ।
  • भूँईको चिसो तथा मुसा आदिबाट दाना बचाउन करिब ६ इन्च अग्लो दाना राख्ने काठको र्याक बनाउने ।
  • दाना कोठा भित्र भण्डार गर्दा भित्तामा बोराले नछुने गरी चाङ लगाएर राख्ने र एक चाङबाट अर्को चाङको बीच केही दूरी कायम राख्ने ।
  • दाना भण्डारण गर्ने कोठामा हावा राम्रोसँग चल्ने हुनु पर्दछ । दाना भण्डारण गर्ने कोठा मुसा बिरालो र अन्य पन्छीबाट बचाउन झ्याल ढोकामा जाली प्रयोग गर्ने ।
  • दाना खरीद गरी लामो समयसम्म भण्डारण नगर्ने । एक लटमा सात दिनको लागि पुग्ने दाना मात्र राख्ने।