कुखुरा फार्मको अभिलेख

कुखुरा फार्मलाई व्यवस्थित गर्न सही ढंगले अभिलेख राख्नु पर्छ । अभिलेखले फार्मको प्रगति तथा कमजोरी पत्ता लगाउन सहज हुन्छ र त्यसको आधारमा फर्मको उन्नति गर्न सहायक सिद्धहुन्छ । राम्रो अभिलेख राख्नाले यसको आधार मा आउने दिनहरुमा आफ्नो व्यवसायको योजना बनाउन महत्वपूर्ण योगदान प्रदान गर्छ । फार्मको हरेक लटको कुखुराको प्राविधिक र आयव्यय गरेर दुई किसिमको अभिलेख राखिन्छ ।

प्राविधिक अभिलेखमा दैनिक कुखुरा संख्या, दाना खपत, ब्रोईलरको साप्ताहिक औषत तौल, खोप लगाएको, औषधी दिएको मृत्यु संख्या विवरण राख्नुपर्छ र यो विवरणलाई साप्ताहिक रुपमा केलाएर कमी कमजोरी देखिएको कार्यलाई सुधार गर्नुपर्छ । त्यस्तै आयब्यय अभिलेखमा चल्ला खरीद, उत्पादन सामाग्रीहरु जस्तै दाना, औषधी, खोप (प्राविधिकको फिस समेत) खरिद खर्च, सोतर, पानी, बिजुली, ज्यामी ज्याला  आदि सबै किसिमको खर्चको अभिलेख राख्नु पर्छ । त्यस्तै ब्रोईलर कुखुरा, मल तथा दानाको खाली बोरा विक्रीबाट भएको आम्दानीको सही अभिलेख राख्नु पर्छ । यसले चालु खर्चको तुलनामा कती आम्दानी भयो सहजै पत्ता लाग्छ । अभिलेखकै आधारमा पछि पालिने कुखुराको हरेक लटमा पहिले भएको कमी कमजोरीलाई सुधार गरी व्यवसायलाई प्रतिस्पर्धी बनाउन सहज हुन्छ ।