परिचय

 स्याउको उत्पति दक्षिण–पश्चिम एसिया, पूर्वी युरोप र दक्षिण–पश्चिम साइवेरीयामा भएको मानिन्छ । नेपालका केही भागहरुमा पनि स्याउका जंगली प्रजातिहरु पाइन्छन् । नेपालको हिमाली क्षेत्रहरुमा पाईने ईडिमयल (Edimayal) र सुर्खिलो (Surkhilo) जस्ता बनस्पतिहरु विकसित स्याउका जंगली नातेदारको रुपमा लिन सकिन्छ
नेपालमा सन् १९३७ श्री ३ चन्द्र शम्सेरको पालामा जापान र इटालीवाट स्याउका केही वोट ल्याएर छाउनी, बालाजु र गोदावरीमा लगाइएको भेटिन्छ  । नेपालमा स्याउ खेतीको विकासको प्रयास भने वि.सं. २०१९–२०२१ को दोश्रो तीन वर्षीय योजना अवधिमा कीर्तिपुर, दामन, रसुवा, बैतडी आदि ठाउंमा वागवानी फार्महरु स्थापना भएपछि मात्र शुरु भएको र त्यस योजना अवधिमा भारत लगायत अन्य विभिन्न देशवाट उन्नत जातका स्याउका विरुवाहरु ल्याएर खेती गर्न शुरु गरिएको पाईन्छ । आ.ब. २०६८/६९ सम्ममा नेपालको १०९२६ हेक्टर क्षेत्रफल स्याउले ढाकेको र जसमध्ये ५६७४ हेक्टरबाट ४८९४६ मे.टन उत्पादन भएको पाईन्छ । नेपालमा स्याउको सरदर उत्पादकत्व ८.६३ मे.टन प्रति हेक्टर रहेको छ  ।
नेपालको जुम्ला, मनांग, मुस्तांग,डोल्पा, मुगु, कालीकोट र हुम्ला लगायतका जिल्लाहरुमा  ब्यबसायिक रुपमा स्याउको खेती हुदै आएको छ ।