बढी चिसो आवश्यक पर्ने जातहरु

स्याउका जातलहरुलाई फूल फुल्न र फल्न आबश्यक पर्ने चिसोको (चिलिंग आवश्यकता आधारमा ३ प्रकारमा बर्गीकरण गरिएको छ:

क) बढी चिसो आवश्यक पर्ने जातहरु
बढी चिसो आवश्यक पर्ने जातहरु (high chiling cultivar))लाई सुषुप्त अवस्था वाहेक फूल लाग्न र कोपिला फक्रन १,००० घण्टा भन्दा बढी ७ डिग्री भन्दा कम तापक्रम भएको समय चाहिन्छ । यस्तो जातका स्याउमा आवश्यक चिस्यान पुगेको खण्डमा मात्र राम्ररी कोपिला फक्रिने, फूल फूल्ने र फल लाग्ने गर्दछ । नेपालको २००० देखि ३००० मिटर सम्म उचाईको उच्चपहाडी भागमा यस्ता जातहरु लगाईन्छ । जस्तै

१. रेड डेलिसियस( red delicious)
यसको फल भाद्र महिना  देखि कार्तिकको विच सम्म टिप्न सकिन्छ । यस जातको बोट ठूलो हुन्छ भने हंँगाहरु माथितिर बढेका र पातला हुन्छन्,। यस जातको स्याउको फल रातो धर्साहरु भएको मझौला देखि ठूलो आकार सम्मको हुन्छ । यो आफैमा परागसेचन क्रिया गर्न सक्ने भएपनि अरु परागसेचन कर्ता जातहरु पनि लगाउनु पर्दछ ।वर्षै पिच्छे फल्ने (regular bearer)र भदौ महिनाको अन्त्यतिर पाक्न शुरु गर्ने जात हो ।  यो जात उच्च पहाडी क्षेत्रको लागि सिफारिस गरिएको छ ।

२. रोयल डेलिसियस(Royal Delicious)
बोट ठूलो हुन्छ र हांगाहरु सिधा माथितिर बढेका हुन्छन् । यो पनि वर्षै पिच्छे फल्ने (regular bearer) जात हो । यस जातको स्याउको फल भदौ महिनाको दोश्रो हप्ता देखि पाक्न शुरु गर्दछ । यो जात उच्च पहाडी क्षेत्रको लागि सिफारिस गरिएको छ ।

३. गोल्डन डेलिसियस (Golden delicious)
डेलिसियस समूहका सबै जातहरुको लागि उत्तम परागकणकर्ता (best polinizer) को रुपमा यस जातको प्रयोग  गरिन्छ । यसको वोट मझौला खालको हुन्छ तर यसको हाँगा चारै दिशामा फैलिने खालको हुन्छ ।यस जातको स्याउको फल मझौला देखि ठूलो आकारको हुन्छ र भदौको महिनाको अन्त्तिम/आश्विनको पहिलो हप्तातिर पाक्न शुरु हुन्छ । यो जात स्याउ उत्पादन हुने सबै क्षेत्रमा लगाउन सकिन्छ ।

४. रिचा रेड (Richa Red)
हेर्दा झट्ट रेड डेलिसियस जस्तो  देखिए तापनि यसको फल अलिक ठुलो र गाढा रातो रङ्गको विचमा मसिना टिक टिक सेता थोप्लाहरु हुन्छन् ।रेड डेलिसियस भन्दा ८–१० दिन अगाडि पाक्न शुरु गर्दछ ।अन्य डेलिसियस जातमा भन्दा फलको रङ्गको विकास पनि चंँडो हुन्छ । यो उच्चपहाडी क्षेत्रको लागि सिफारिस गरिएको जात हो ।


५. रेड चिफ ( Red Chief)
यो ठूलो बोट हुने, घना फल लाग्ने र बढी उत्पादन दिने जात हो । भाद्रको पहिलो हप्तामा यसको फल पाक्न शुरु गर्दछ ।फल रोयल डेलिसियस संगै पाक्छ तर यसको फलको रङ्गको विकास रोयल डेलिसियसको भन्दा ८–१० दिन पहिले नै शुरु भएको हुन्छ । यो जातलाई उच्च पहाडी क्षेत्रको लागि सिफारिस गरिएको छ ।


६. जोनाथन (Jonathan)
यो तुलनात्मक रुपमा कम ठण्डा हुने ठाउँहरुमा पनि सफलताका साथ खेती गर्न सकिने जात हो । यस जातको स्याउको बोट मझौला खालको र केही लचकदार (flexible)हुन्छ ।फूल फूले पश्चात करिव १४०–१५० दिन सम्ममा अर्थात भाद्रको अन्तिम तिरवाट फल पाक्दछ र फलदिन करिव ४–६ वर्ष जति लाग्दछ ।जोनाथान जातको स्याउको फलको भण्डारण क्षमता निक्कै बढी हुन्छ ।


७. म्याकन्टस (Mc Intosh)
फल फल्नको लागी वढि चिसो आवश्यक पर्ने यस जातको वोट कडा खालको(Hardy) हुन्छ । प्रत्येक वर्ष फल दिने (Regular bearer) यो जातमा घना फल लाग्ने गर्दछ तसर्थ फललाई अनिवार्य छाँट्नु पर्दछ तर यसमा फल झर्ने समस्या पनि तुलनात्मक रुपमा बढी हुन्छ । यसका फलहरु भाद्र–आश्विनमा पाक्ने गर्दछन् |


८. वेल स्पर(Well Spur)
यो होचो वोट भएको घना फल लाग्ने जात हो । यसको फल रोयल डेलिसियस भन्दा १०–१५ दिन अगाडि पाक्दछ । उत्पादन क्षमता बढी हुनुका साथै यो जातलाई उच्च पहाडी क्षेत्रको लागि सिफारिस गरिएको छ ।


९. ग्रानि स्मिथ(Granny Smith)
पछौटे समुहमा पर्ने यो जातको फल असोजको अन्तिम हप्तातिर पाक्दछ ।नियमित रुपमा फल्ने भएता पनि यसको वोट अलिक ठूलो आकारको हुन्छ ।यो डेलिसियस समूको लागि राम्रो परागसेचनकर्ता (polinizer) जात हो ।स्याउ हुने सबै क्षेत्रहरुमा लगाउन सकिन्छ ।

१०. भांस डेलिसियस (Vance Delicious)
अगौटे समुहमा पर्ने यो जातको फल भाद्रको पहिलो हप्तामा नै पाक्न शुरु गर्दछ ।
बोट ठूलो आकारको तथा घना फल (Heavy fruiting)लाग्ने गर्दछ ।यसको उत्पादन क्षमता बढी हुन्छ र यो उच्च पहाडी क्षेत्रको लागि सिफारिस गरिएको छ ।

११. रेड स्पर (Red Spur)
यसको वोट रोयल डेलिसियस भन्दा दुई तिहाई सानो हुन्छ तर घना फल लाग्दछ ।भाद्रको शुरुमा नै फल पाक्न शुरु गर्दछ । यो बढी उत्पादन क्षमता भएको जात हो ।यो स्याउको उत्पादन हुने सबै क्षेत्रका लागि उपयुक्त जात हुन्छ ।