नर्सरी ब्याडमा बिरुवा तयारी गर्ने 

अन्नबालीको प्रकार

विवरणको प्रकार

नेपालमा धानको रोपाइँ गर्ने काम मनसुनको शुरुवात भएपछि हुने हुनाले, धानको नर्सरी तयारी मनसुन शुरु हुन करिव १५–२५ दिन अगाडि अर्थात जेष्ठको दोस्रो हप्तामा गर्नु पर्दछ । करिव एक हेक्टरमा धान रोपाइँ गर्नका लागि ५००–७०० वर्गमिटर भएको नर्सरी ब्याड तयारी गर्नु पर्दछ, जसका लागि २०–२५ के.जी. बिउको आवश्यकता पर्दछ। नर्सरी ब्याडको तयारी गर्दा प्रर्याप्त मात्रामा राम्ररी पाकेको सुधारिएको गोठेमल र यूरिया मल ५–७ के.जी. ५००–७०० बर्गमिटर नर्सरीका लागि प्रयोग गर्नुपर्दछ ।

सुख्खा/पानी नर्सरी, हिले/पानी नर्सरी र ड्यापोग नर्सरी गरी तीन प्रकारका नर्सरीहरु नेपालमा प्रचलित छन् । आजभोली बिशेष गरी प्याराशुट तथा प्लान्टरबाट रोपाइँ गर्नको लागि नमूनाको रुपमा केही नर्सरीहरु शुरु गरिएका छन् । सुख्खा/पानी नर्सरीको तयारीका लागि जमिनको माथिल्लो भागको करिव १०–१५ सेन्टिमिटर जति माटोलाई जोतेर वा खनेर ढुङ्गा, जरा, तथा झारपातहरुलाई हटाउनु पर्दछ, डल्लाहरु फुटालेर, राम्ररी पाकेको गोवरमललाई मिसाएर माटो मसिनो र बुवुर्राउँदो बनाउनु पर्दछ । त्यसपछि ब्याडलाई जमिनबाट चार औलाजति उठाएर सम्म बनाउनु पर्दछ, त्यसमाथि धानको बिउ राम्रोसँग र बरावर पर्ने गरी छर्नु पर्दछ । त्यसपछि धानको बिउलाई पातलो माटोको तहले छोप्नु पर्दछ, जसले गर्दा धानको बिउलाई चराचुरुङ्गी तथा बर्षाको ठूलो पानीबाट जोगाउन सकिन्छ । हिले नर्सरीका जमिनको छनौट गर्दा लगातार सिँचाई तथा निकासको राम्रो प्रबन्ध भएको छनौट गर्नु पर्दछ । हिले नर्सरीका लागि जमिनको तयारी माथि बताए अनुरुप रोप्नका लागि जस्तै तयार गर्नु पर्दछ । जमिनको तयारी गर्नु भन्दा पहिले राम्रासँग एक पटक खनजोत गर्ने र जमिन सम्याउनका लागि पाटा लगाउने गर्नु पर्दछ । राम्रासँग सम्याइएको हिले नर्सरीमा बिउलाई राम्रोसँग र बरावर पर्ने गरी छर्नु पर्दछ । ड्यापोग नर्सरीलाई नेपालको बिभिन्न ठाउँमा बिभिन्न नामले चिनिन्छ । यो नर्सरी बिशेष गरी बाढीको प्रकोप हुने ठाउँहरुमा बाढी पश्चात बिरुवा उमारेर बाढीले नष्ट गरेको धान खेतमा पुनः रोपाइँ गर्नको लागि गर्ने गरिन्छ । जसका लागि जमिनबाट माथि उठाएर करिव १ मिटर लामो नर्सरी तयार गरिन्छ । खनजोत गरेर नर्सरीको तयारी गरेपछि त्यसमाथि केराको पात वा प्लाष्टिक ओच्छयाइन्छ । बिउलाई पानीमा भिजाएर राखिन्छ र जव बिउ उम्रन थाल्दछ, त्यसपछि उक्त उम्रन लागेको बिउलाई करिव २ सेन्टिमिटर बाक्लो हुने गरी केराको पात वा प्लाष्टिक माथि छरिन्छ । यो तरिकाद्वारा तयार गरिएको बिरुवा करिव ९–१४ दिनमा रोप्नका लागि तयार हुन्छ ।

Serial No.

2