स्याउको दादे रोग (Apple scab)

यो रोग Venturia inaequalis भनिने ढुसीको कारणले लाग्दछ । यस ढुसीले स्याउको बोटको डांठ, हांगा, पात कोपिला तथा फलमा आक्रमण गर्दछ । यसको संक्रमण भएपछि शुरुमा वसन्त ऋतुमा पल्हाएका कलिला पातहरुको तल्लो भागमा तेलका थोप्ला जस्ता स–साना हरियो थोप्लाहरु देखिन्छन् । पछि पातको दुवै भागमा ढुसी फैलिदै जान्छ र गाढा र∙का धव्वाहरु बन्दछन् र पात पहेंलिदै गएर मध्यकर्मी समयमा झर्दछन् । ढुसीको संक्रमण भएको रुखको फलमा (चित्र न. ३४) कालो धव्वादार दागहरु देखिन थाल्छन् भने फलको वृद्धि राम्रो किसिमको नहुने, फल फुट्ने, झर्ने र फलको गुणस्तर घटाउने जस्ता समस्याहरु देखिन्छ । वर्षाको समयमा झरी वादल बडी लाग्ने र घाम कम लाग्ने ठाउंको स्याउको बगैंचामा यो रोग बढी देखा पर्दछ ।

चित्र ३४: फलमा दादे रोगको क्षति  

 चित्र ३५: पातमा दादे रोगको क्षति


रोकथाम/व्यवस्थापन:
१. यो रोग उत्पन्न गर्ने ढुसीहरु झर्ने अवस्थाका पातमा रहने हुनाले फल टिपिसकेपछि पात नझर्दै सबै बोटमा युरियाको झोल छर्ने र झरेका पातहरु जम्मा गरी जलाई दिने गर्नुपर्दछ ।
२. यसको रोकथामका लागि विभिन्न प्रकारका ढुसीनाशक विषादीहरुको प्रयोग गर्न सकिन्छ । जस्तै  फूल फुल्ने अवस्थामा वेभिष्टिनको १ ग्राम वा डाइथेन एम – ४५ को २ ग्राम प्रति लिटर पानीमा मिसाएर स्प्रे छर्दा यो रोगको नियन्त्रण हुन्छ ।