जरा कुहिने रोग (Root rot)

यो रोग Demotophora necatrix नामको ढुसीवाट लाग्दछ । यस रोगले  बढी चिस्यान भएको स्थान, पानी जम्ने तथा बढी पानी पर्ने क्षेत्रमा लगाइएका स्याउका वोटहरुलाई असर पार्दछ । यो रोग उत्पन्न गर्ने जीवाणु जमीनको सतहको नजिकको भागवाट विरुवामा प्रवेश गरेर जराको टुप्पोतिर बढ्दै जान्छ र संक्रमण बढी गरेर जरा नै कुहाई दिन्छ । ढुसीले बोटमा संक्रमण गरे पछि हांगा र पातहरु पहेंलिदै जाने, (चित्र नं. ३६) पातहरु धेरै नआउने, फलहरु साना हुने र बोटमै चाउरी पर्ने जस्ता लक्षणहरु देखिन्छन ।

चित्र ३६: स्याउको जरा कुहिने रोग

रोकथाम/व्यवस्थापनः
जराहरु कुहिसके पछि मात्र बोटमा जरा कुहिने रोग लागेको लक्षण देखिने भएकोले यस रोगको रोकथाम गर्न कठिन हुन्छ । त्यसकारण यस रोगको रोकथामका लागि पहिले नै सावधानी पुर्याउनु पर्ने हुन्छ ।
१. जमीनको सतहवाट कम्तीमा २० से.मि. माथि सम्म खाडल उठाएर र माटोको सतह भन्दा १५ से.मि. माथि कलमी भाग  पर्ने गरी नयां विरुवा रोप्नु पर्दछ ।
२. बगैंचामा पानी जम्न दिनु हुंदैन र निकासको राम्रो व्यवस्था मिलाउनु पर्दछ ।
३. बगैंचा भित्र अन्य बाली लगाउनका लागि जोत्दा जरामा चोट लाग्ने र त्यसै ठाउवाट रोगका जीवाणु प्रवेश गर्ने भएकोले त्यसरी जोत्ने वा अन्य बाली लगाउने गर्नु हुंदैन ।
४. यस्तो रोग लागेर मरेका सबै विरुवाहरु जरा सहित हटाएर जलाईदिनु पर्दछ । यसरी संक्रमित बोट उखालिएको ठाउमा आगो बालेर बोर्डो मिक्चर समेत छर्नु पर्दछ र त्यस्तो ठाउहरुमा कम्तिमा २ वर्षसम्म अर्को नयां विरुवा लगाउनु हुंदैन ।
५. समय–समयमा १ प्रतिशतको बोर्डो मिक्चरको झोल बनाएर छर्ने गर्नु पर्दछ ।
६. एक लिटर पानीमा वेभिष्टिन वा  १ प्रतिशतको बोर्डो मिश्रण झोल बनाएर वरिपरि छर्ने र माटोले खाडल पुरि दिने गर्नुपर्दछ ।