फेद कुहिने रोग(Collar Rot)

यो रोग (Phytophthora catorum/ Phytophthora syringae) भनिने ढुसीले गर्दा उत्पन्न हुन्छ । यस्तो ढुसीले विरुवाको फेद र माटोको सतह मुनीको भागमा समेत असर पार्दछ । फेद कुहिने रोगले प्रायः जसो १५ वर्ष उमेर पुगेका ठूला रुखहरुलाई बढी असर गर्दछ(चित्र ३७) । २५ सेल्सीयस भन्दा बढी तापक्रम र माटोमा चिस्यानको मात्रा बढी भएको बेला यो रोग बढी फैलिन्छ । फेद कुहिने रोग लागेपछि पातहरु पहेंलिंदै जाने  र समय नपुगी  झर्ने लक्षणहरु देखिन्छ । यो रोगको संक्रमण भएकोे स्याउको बोटको फोदका बोक्रा नरम र चिसो हुन्छ भने बोक्रा काटेर हेर्दा खैरा, हल्का सुन्तला रंगका धर्साहरु देखिन्छन् । विरुवा रोप्दा कलमी भाग सम्म माटोमा पर्ने गरी रोपेका विरुवामा यो रोग बढी लाग्दछ ।

चित्र ३७: स्याउको फेद कुहिने रोग

रोकथाम / व्यवस्थापन:
१. विरुवाको कलमी भाग माटो भन्दा १५ देखि २० से.मि. माथि पर्ने गरी बिरुवा रोप्नु पर्दछ ।
२. विरुवा कलमी गर्दा एम–२६ बाहेकका एम.एम. लायनका रोग अवरोधक रुटस्टकहरु प्रयोग गर्नु पर्दछ ।
३. विरुवाको फेद र माटोमा चैत्र र भदौ महिनामा १ प्रतिशतको बोर्डो मिक्चर हाल्नु पर्दछ ।
४. रोग लागेको बोटको फेदको वरिपरिको ५ से.मि. बोक्रा हटाएर १ के.जि. निलोतुथो, २ के.जि. चुना र ४ लिटर पानी मिसाएर वोर्डोपेष्ट वा ८०० ग्राम निलोतुथो, ८०० ग्राम रेड लिड र १ लिटर आलसको कांचो तेल मिसाएर चौवटिया पेष्ट बनाएर रोग रहेसम्म प्रत्येक वर्ष फागुन–चैत्र र भदौ–असोज महिनामा लगाउनु पर्दछ । यस्तो पेष्ट वरिपरिका रुखमा लगाउदा त्यस्ता बोटमा समेत संक्रमण हुन पाउदैन ।
५. विरुवाको फेदमा पानी जम्न नदिन निकासको राम्रो व्यवस्था मिलाउनु पर्दछ