पानीको श्रोत

मत्स्य पालनको सफलता पानीको सफल व्यवस्थापन माथि निकै भर पर्दछ । मत्स्य पालनको लागि पानी एक माध्यम हो । पानीको अभावमा सर्वोत्तम माटोमा बनेको पोखरीको समेत उपयोग हुन सक्दैन । पोखरी नजिक पर्याप्त पानी भएको श्रोत भएमा यसले धेरै समस्याको समाधान गर्दछ । पोखरी निर्माण गर्नु भन्दा पहिले पोखरी संचालनको लागि चाहिने पानीको आम्दानी खर्चको लेखा जोखा गरि राख्नु आवश्यक हुन्छ ।

हाल हाम्रो देशमा मिश्रित माछा पालन लोकप्रिय भईरहेको छ । मिश्रित मत्स्य पालनको लागि पानीको न्युनतम गहिराई १.२ मिटर हुनु पर्दछ । यस गहिराइमा प्राकृतिक आहाराको अधिकतम उत्पादन गराई पानीको तीन वटा सतह प्राप्त गर्न सकिन्छ । मत्स्य पालन अवधि भरी नै यस गहिराइलाई कायम राख्नु पर्दछ । पोखरीबाट नियमित रुपमा पानीको ह्रास समेत भईरहेको हुन्छ । पानीको ह्रास मुख्यतया वाष्पिकरण तथा चुहावटबाट हुने गर्दछ ।

राम्रो माटोमा पोखरी निर्माण गरी चुहावटलाई न्युनतम ०.५ से.मी./दिन राख्न सकिन्छ । त्यसै गरी तराई क्षेत्रको वार्षिक वाष्पिकरण १.५ मिटर देखि १.८ मिटर सम्मको पाइन्छ । अर्थात् दैनिक करिब ०.५ से.मी. औसत वाष्पिकरणबाट ह्रास हुने देखिन्छ । यसप्रकार पोखरी जस्तोसुकै राम्रो माटोमा बनाइएको भएतापनि न्युनतम दैनिक करिब १ से.मी. पानीको ह्रास हुने गर्दछ । तसर्थ पानी यति मात्रामा उपलब्ध हुन सक्नु पर्दछ, जसले गर्दा चाहिएको बखत पानी भर्नेको साथै पानीको दैनिक ह्रासलाई समेत पुरा गर्न सकोस् । पानीको नियमित श्रोतको अभावमा अर्थात् वर्षातको भरमा पोखरी संचालन गर्ने हो भने पोखरीको गहिराई न्युनतम ४.५ मिटर हुनु पर्दछ, जुन आर्थिक दृष्टिकोणले लाभदायक हुन सक्दैन । पानीको भरपर्दो श्रोत भनेको इच्छाइएको बेलामा न्युनतम प्रयास तथा खर्चबाट आवश्यक परे जति पानीको आपुर्ति गर्न सकिने हुनुपर्दछ । यस्तो श्रोत मुल, ताल, रिजभ्र्वायर, आर्टिजन, बोरिङ्ग, व्यक्तिगत कुलो, भरपर्दो नहर हुन सक्दछ । इनार, खोला तथा स्यालो बोरिङ्गबाट मात्र पानीको आपुर्ति गर्दा थप खर्च लाग्ने हुन्छ जसले गर्दा व्यवसाय त्यति आकर्षक रहन जाँदैन । यस्तो श्रोत आकस्मिक अवस्थामा प्रयोग गर्न वा वैकल्पिक श्रोतको रुपमा मात्र उपयोगी हुन सक्दछ । तर ह्याचरी संचालन तथा भुरा उत्पादन गर्नका लागि यस्तो श्रोत समेत उपयोगी हुन्छ । पानीको मात्रा निर्धारण गर्दा सुख्खा समयको हिसाब गर्नु राम्रो हुन्छ । पानीको मात्रा कम भएमा उत्पादनलाई प्रभावित गर्दछ । ७ कट्ठाको पोखरीको लागि पानीको नियमित श्रोत भएमा ०.४ लि./से. पानीको बेग हुनु पर्दछ तथा ५–७ हर्ष पावरको पम्पले दैनिक ४५ मिनेट वा हप्तामा ५ घण्टा पानी थप्नु पर्ने हुन्छ ।

पानीको मात्रा पर्याप्त भएको ज्ञात गरी सकेपछि, पानी मत्स्य पालन गर्न योग्य छ, छैन ज्ञात गर्नु आवश्यक हुन जान्छ । पानीको श्रोत कारखाना नजिक वा खानी नजिक छ भने गुणस्तर परिक्षण गरिनु पर्दछ । कोइला वा सल्फर क्षेत्रबाट निस्केको पानी निकै अम्लिय हुन्छ भने चुन ढुङ्गा क्षेत्रबाट निस्केको पानी निकै क्षारिय हुन्छ । पानीको पि.एच. ७ देखि ९ को बीचमा हुनु पर्दछ । जमिन मुनीको पानीमा फलामको मात्रा बढी हुन्छ र कहिले काही निकै नोक्सानजनक हुनसक्छ । खास गरी ह्याचरी संचालन गर्दा निश्चिन्त हुनका लागि पानीको गुणस्तर जाँच गरिनु आवश्यक हुन्छ । तर जाँचको कार्य सुख्खायाममा गरिनु उपयुक्त हुन्छ किनकी सुख्खा समयमा वाष्पिकरणले गर्दा दुषित तत्वको मात्रा बढेर जान्छ । तर वर्षातमा पानी कम दुषित हुन सक्छ । पानीको गुणस्तर त्यस पानीमा पालिने माछाका जात बारे जानकारी गरेर वा केही समय सो पानीमा माछा राखेर समेत थाहा पाउन सकिन्छ । पानीमा खराब बासना हुनु हुँदैन, साथै पानी दुषित वा धेरै बालुवा मिसिएको समेत हुनु हुँदैन । पानीको श्रोत पोखरीको सतह भन्दा माथि भएमा पोखरीमा सजिलै पानी ल्याउन सकिन्छ ।

Serial No.

3

मत्स्यपालन विवरणको प्रकार