माटोको बनोट

पोखरीको निर्माणमा माटोको महत्वपुर्ण भुमिका हुन्छ किनकी पोखरीको उत्पादकत्व तथा पानी अड्ने क्षमता प्रत्यक्ष रुपमा माटोको बनोट माथि निर्भर गर्दछ । चिम्ट्याइलो माटो पानी अडाउन सबभन्दा राम्रो माटो हो । तर यसका कणहरु पानीमा तैरी राख्ने भएकोले पोखरीको पानीलाई धमिलो पारी प्रकाशलाई अवरुद्ध पार्नुका साथै आवश्यक पोषक तत्वहरुलाई आफुमा बांधी पोखरीलाई अनुत्पादक बनाउँदछ । तसर्थ चिम्ट्याइलो दोमट माटो मत्स्य पालनको लागि सबैभन्दा बढी उपयुक्त मानिन्छ । बलौटे माटोको पानी राख्न सक्ने क्षमता कम हुन्छ । साथै सोबाट तयार पारिएको डिल कमजोर हुन्छ । तसर्थ बलौटे माटो भएको स्थानमा पोखरी निर्माण गर्नु हुँदैन ।

माटोको नमुना संकलन

जमिनको सबैतिर तथा सबै सतहको माटो एकनासको हुँदैन । तसर्थ पोखरी निर्माण हुने स्थलको पुर्ण प्रतिनिधित्व हुने गरी विभिन्न स्थानबाट माटोको नमुना संकलन गरिनु पर्दछ । नमुना संकलन गर्दा पोखरी खनिने गहिराइ भन्दा ३० से.मी. मुनी सम्मको माटो संकलन गर्नु पर्दछ । माटोको बनोट अध्ययनका लागि प्रत्येक विन्दुको, फिट गहिराईको माटो संकलन गरिनु पर्दछ । गहिराईबाट माटोको नमुना लिने कार्य खाडल खनेर वा पाइप अगर (soil auger) बाट गर्न सकिन्छ ।

माटोको भौतिक अवस्था जांच्ने तरिका

१. डल्ला परिक्षण (ball test) तरिका

  1. माटोलाई भिजाइ सानो गोला बनाउने,
  2. गोलालाई घाममा सुकाउने,
  3. गोला पुरै सुकेपछि हातमा लिई थिचेर पटाल्ने प्रयास गर्ने,
  4. माटोको गोला फटेन भने वा गाह्रो गरी फुट्यो भने पोखरी निर्माणको लागि उपयुक्त हो तथा सजिलै फुट्यो भने अनुपयुक्त हो ।

अथवा

  1. माटो भिजाई डल्ला बनाउने,
  2. माटोको डल्लालाई केही माथि फाली पुनः हातमा समात्ने,
  3. डल्ला जस्ताको तस्तै रहेमा राम्रो र फुटेर गएमा नराम्रो ठहरिन्छ ।

२. रिवन परिक्षण तरिका

  1. माटोलाई भिजाई मुट्ठी बन्द गर्ने,
  2. बुढी औंलाले माटोलाई थिच्ने,
  3. माटो निस्कँदा लामो रिवनको आकार लिई निस्किन्छ भने माटो मत्स्य पालनको लागि उपयुक्त हो यदि माटो निस्कँदा छिट्टै टुक्रा भएर गयो भने अनुपयुक्त हो ।

३. पानीको चुहावट नाप्ने तरिका

  1. पोखरी खनिने गहिराई सम्मको खाडल खन्ने,
  2. ४ से.मी. डायमिटरको पाइप उक्त खाडलमा २० से.मी. अझ तल धसाउने,
  3. पाइपलाई पुरै पानीले भर्ने र जग्गालाई भिज्न दिने तथा पुनः पाइपलाई भर्ने,
  4. एक निश्चित समयपछि (२४ घण्टा) पाइपमा पानी कति घटेको रहेछ नाप्ने र तीन पटक यस क्रियालाई दोहोर्याउने,
  5. निम्न सुत्रको प्रयोग गरी चुहावटको मात्रा निर्धारण गर्ने ।

चुहावटको मात्रा = पानी घटेको मात्रा (से. मि.) / पानी घटेको समय (दिन)

४. नमुना माटोको संरचनामा पत्ता लगाउने तरिका

  1. विभिन्न किसिमका माटोका कणको संरचना प्रतिशतको आधारमा माटोको वर्गीकरण गरी उपयुक्त छ, छैन ज्ञान गर्नु पर्दछ ।
  2. सफा पारदर्शी शिशाको भांडो लिने,
  3. भांडामा आधी माटोको नमुना राख्ने तथा बांकी पानी थप्ने,
  4. पानी र माटोलाई राम्ररी घोल्ने र ६–८ घण्टा थिग्रिन दिने,
  5. भांडामा विभिन्न तह देखिन्छ । सबभन्दा तल बालुवा, बालुवा माथि पांगो माटो, पांगो माटो माथि चिम्टयाइलो तथा सबभन्दा माथि जैविक पदार्थ
  6. यी विभिन्न तहको नाप गरी विभिन्न माटोका कणहरु कुन अनुपात वा प्रतिशतमा छन्, ज्ञान गर्न सकिन्छ ।

माटोको संरचना परिक्षण = (माटोको तहको मोटाइ / कुल माटोको मोटाइ) * १००

Serial No.

4

मत्स्यपालन विवरणको प्रकार