माछाका लागि थप दानाको व्यवस्था (Supplementary feeds)

उन्नत प्रविधि अपनाएर माछा पाल्दा एउटा सानो जलाशय क्षेत्रमा बढी घनत्वमा माछा पालिन्छ | यस्तो अवस्थामा प्राकृतिक आहाराले मात्र माछाको अधिकतम वृद्धि कायम राख्न पर्याप्त पोषण पुग्दैन | तसर्थ व्यवसायिक उत्पादन लिनका लागि थप पूरक दानाको व्यवस्था गर्नुपर्छ | यस्तो दानाले माछाको शारीरिक क्रियाकलाप तथा वृद्धिदर कायम राख्न आवश्यक मात्रामा प्रोटिन, कार्बोहाइड्रेट तथा फ्याटको आपूर्ति गर्दछ |

मत्स्यपालन व्यवसायमा माछाको दानामा बढी खर्च लाग्छ | दाना व्यवस्थापन गरेर लागत घटाउन सकिन्छ, माछाको स्वास्थ्य र वृद्धिका साथै जलाशयको वातावरण पनि सुधार गर्न सकिन्छ |

दाना व्यवस्थापनका लागि निम्न तथ्यहरुमा ध्यान दिनुपर्दछ:

  • दाना बनाउने खाद्य सामग्रीको सहि चयन
  • किफायती दाना बनाउने तरिका
  • दाना खुवाउने सहि तरिका

माछाका लागि दाना उच्चस्तरको पोषिलो हुनुपर्दछ | यसमा प्रोटिनको मात्रा २८-३२%, फ्याट ३-६% तथा शक्ति, भिटामिन, खनिज र लवण आवश्यक मात्रामा मिसाइएको हुनुपर्दछ | माछाको भुरालाई ३०-३५% प्रोटिनयुक्त दाना आवश्यक पर्दछ | त्यस्तै माउ माछालाई २५-३०% र खाने माछालाई २०-२५% प्रोटिनयुक्त दाना दिनु पर्दछ तर ट्राउट माछाको भने सबै उमेर र अवस्थामा ३५% प्रोटिन भएको दाना आवश्यक पर्दछ | माछालाई सबैभन्दा आवश्यक पर्ने पौष्टिक तत्व कार्बोहाइड्रेट हो | खाद्यान्न बाली र तिनका उप-उत्पादनहरु (धानको ढुटो, गहुँको चोकर, पिठो, मकै आदि) कार्बोहाइड्रेटका स्रोतहरु हुन् | त्यस्तै भटमास, पिनाहरु, सिद्रा, माछाको धुलो एवम् गेडागुडीहरु प्रोटिनको स्रोतहरु हुन् | दानको फर्मुलेसन गर्दा प्रोटिनको प्रतिशतलाई बढी ध्यान दिइन्छ |

दानाको टुक्रा धेरै सानो वा धेरै ठूलो हुनु हुँदैन | साधारणतया यसको आकार ३-६ मिलिमिटर बिचको हुनुपर्छ | दाना बनाउनको लागि विशेषगरी भटमासको पिना, धानको ढुटो, गहुँको चोकर, मकैको पिठो तथा अन्य खाद्यसामग्रीहरुको प्रयोग गरिन्छ | दानामा फोस्फोरस, भिटामिन तथा खनिज तत्वहरु पनि आवश्यक मात्रामा मिसाइएको हुनुपर्दछ | माछाहरुले रेशमको कोया, भान्सामा उब्रिएको खाना, बंगुरको विष्टा आदि पनि खाने हुँदा खेर गएको खाद्य पदार्थहरु प्रयोग गर्न सकिन्छ | ग्रास कार्पका लागि हरियो पोषिलो घाँस र केराको पात पनि दिइन्छ |

Serial No.

3

मत्स्यपालन विवरणको प्रकार