थोप्ले रोग (Leaf spot) 

अदुवामा लाग्ने थोप्ले रोग (Phyllosticta zingiberi Ramkr.) नेपालमा निकै व्यापक भएको पाइन्छ । यो रोगबाट सरदर ५% सम्म उत्पादनमा क्षति हुने अनुमान गरिएको छ ।
रोगको लक्षण 
 सबैभन्दा पहिले पातमा स–साना गोलाकार वा अण्डाकार हल्का पहेंला थोप्ला, विशेष गरी श्रावण–भाद्र महीनामा, बढी देखा पर्दछ । रोगको प्रकोप बढ्न गएमा थोप्लाहरू एक–अर्कोमा जोडिन्छन् र थोप्लाको बीचको भाग सेतो नेपाली कागजजस्तो देखिन्छ । बीच–बीचमा सुकेर च्यातिन वा प्वाल पनि पर्न सक्दछ । यस रोगको असर कलिलो पातमा बढी हुन्छ । प्रकोप बढी भएमा अदुवाको बोट दोब्रिने, लत्रिने वा होचो हुने हुन्छ । पातमा हरितकण घट्न जाने भएकोले उत्पादनमा क्षति पुग्न जान्छ।                  

१

तस्वीर १०: पातमा थोप्लेरोगको लक्षण

 रोगचक्र 
पातको बीचको सेतो भागमा स–साना काला बिन्दजुस्ता दाग देखा पर्दछन् । उचित वातावरण पाई ती फिक्निडियाहरूबाटै पिक्नियोस्पोर उत्पन्न भई नयाँपातहरूमा दोस्रो पुस्ताको संक्रमण शुरू गर्दछन् र रोग फैलिंदै जान्छ । संक्रमित पातमा बनेका पिक्निडियाहरू प्रतिकूल वातावरणमा १४ महीनासम्म जीवित रहन सक्छन् । अनुकूल वातावरणमा पिक्निडियाबाट बनेका पिक्नियोस्पोरहरूले पानीको बाहुल्यतामा पुनः आक्रमण गर्दछन् र रोगचक्र निरन्तर रूपमा चलिरहन्छ ।
रोग व्यवस्थापन 
⦁    यस रोगका ढुसी अदुवाको बोटमा सुषुप्तावस्थामा रहिरहने हुनाले नयाँखेती गर्दा पुराना अदुवाका बोट छापोको रूपमा प्रयोग गरिनुहुदैन । पुराना अदुवाका बोटहरू अदुवा खनेपछि जम्मा गरी, जलाई नष्ट गर्ने
⦁    बारीमा रोगी बिरुवाका पात देखिनासाथ जम्मा गरी जलाइदिने
⦁    रोगको प्रकोप कम गर्न वा रोग व्यवस्थापन गर्न ३ वर्षको बालीचक्र अपनाउने
⦁    आंशिक छाया दिने खालको अन्तरबाली वा मिश्रित बाली प्रणाली अपनाउने
⦁    रोगको प्रकोप ज्यादै बढी भएमा कप्पर अक्सिक्लोराइड ५० % डब्लु.पी. (ब्लाइटक्स) ३ ग्राम प्रतिलिटर पानीका दरले रोग देखा परेपछि छर्कने