ब्लास्ट रोग

अन्नबालीको प्रकार

विवरणको प्रकार

यो रोगका कारण, यसले आक्रमण गर्ने बोटको भागको आधारमा ९० प्रतिशतसम्म नोक्सानी पुर्याएको पाईएको छ । बेर्ना अवस्थामा रोग देखा पर्यो भने पूर्ण रुपमा बिरुवा नष्ट पनि हुन सक्दछ । गाँज हाल्ने अवस्थामा रोगको आक्रमणले ३०—४० प्रतिशतसम्म नोक्सान गरेको पाईएको छ । साथै रोगले बालामा आक्रमण गर्नाले बाला टुक्रिने वा दाना नलाग्ने हुन सक्दछ र १०० प्रतिशतसम्म पनि नोक्सान पुर्याउँदछ । यो रोग पाईरीकुलारिया ओराईजा (Pyricularia oryzae) नामको ढुसीको कारणले गर्दा हुने गर्दछ ।

रोगको जीवाणु - Pyricularia oryzae

लक्षण:

पातमा स–साना सेता टीका बीचमा भएका लाम्चिला खैरा थोप्ला देखा पर्दछन् । बाला मुन्तिरको डाँठको वरिपरी वा आँख्लामा खैरो रङ्ग भएको दाग पनि देखिन्छन् । जसलाई नेक ब्लास्ट पनि भनिन्छ ।

यो रोगले पात, काण्ड, अन्तरकाण्ड र बालाको गर्धन बा घाँटीमा आक्रमण गरी साना मसिना थोप्लाहरु उत्पादन गर्दछ । पातमा शुरुको अवस्थामा साना, पानीले भिजेको जस्तो, खैरा तथा हल्का निला रंगका थोप्लाहरु देखिन्छन् । पातमा दुबै छेउतिर चुच्चिएका अण्डाकार बा डुंगा आकारका खैरा थोप्लाहरु निस्कन्छन् र थोप्लाको बीचमा सेतो बिन्दु हुन्छ । यद्यपी यी थोप्लाका आकार र रंग, वातावरणीय अवस्था, रोग लागेको समय र धानको जातको प्रतिरोधात्मक क्षमतामा भर पर्दछन । यदि रोगको लागि उपयुक्त वातावरण छ भने थोप्लाहरुको आकार ठुला र गाढा खैरो रंगका हुन्छन । सापेक्षिक आद्र्ता बढी भएको अवस्थामा यो रोगको फैलावट एवम् वृद्धि एकदमै चाँडो हुन्छ । उपयुक्त वातावरणमा थोप्लाहरुको लम्बाई १—१.५ से.मी., चौडाई ०.३—०.५ से.मी.र थोप्लाहरुको छेउमा स्पष्ट खैरो रंगको सिमानाको बिकास हुन्छ । यदि धानको बोट छायाँमा हुर्किएको छ भने र जात रोग प्रति बढी संबेदनशिल छ भने सिमानामा पहेंलो रंग देखिन्छ । तर अवरोधक जातहरुमा भने एकदमै मसिना थोप्लाहरु मात्र देखिन्छ । रोगको प्रकोप बढी भएको खण्डमा एक अर्का थोप्लाहरु मिली पुरै पात डढ्न जान्छ । यसको अतिरिक्त आँख्लामा र बालाको घाँटीमा पनि यो रोग लाग्न सक्छ र बालाको घाँटीमा लाग्ने रोगलाई नेक ब्लाष्ट भनिन्छ । घाँटीमा औंठी आकारका खैरा तथा काला घुमाउरा दागहरु देखिन्छन् । घाँटी च्याउरी पर्ने र घाँटीको वरिपरी सतहमा खरानी रंगका भुबादार ढुसीले ढाकेको हुन्छ । यदि दाना लाग्नु भन्दा पहिले यो रोगले घाँटीमा आक्रमण गर्यो भने दाना लाग्दैन र बाला ननुहिकन ठाडो रहन्छन् । दाना लागिसकेपछि रोग लाग्यो भने पनि घाँटी कमजोर हुन गै भांचिन्छ र बाला झुण्डिन्छन् । अतः यो अवस्थामा रोगको कारणले सबै भन्दा बढी हानी पुर्याउँदछ ।  

3

व्यवस्थापन:

(क) रोग निरोधक जातहरु लगाउने । हाल मरुबा रोग निरोधक बा कम लाग्ने जातहरुमा पहाडी क्षेत्रको लागि कन्चन, खुमल–२, खुमल– ४, खुमल– ५, खुमल–६, खुमल–७, खुमल–९, खुमल–११, पालुङ–२, माछापुछ्रे–३, चन्दननाथ–१ र चन्दननाथ–२ छन् भने भित्री मधेस र मधेसका लागि परवानीपुर–१, लक्ष्मी, दुर्गा, जानकी, चैते –२, खजुरा–२, आई.आर–८, रामपुर मसुली, राधा–४, राधा–७, राधा–११, राधा–१२, हर्दिनाथ–१ आदि छन् (मानन्धर, २०६१) ।

(ख) रोग रहित बिउको प्रयोग गर्ने ।

(ग) रोग ग्रसित डाँठ, पात र ठुटाहरु जलाउने । एउटै परिवारका झारहरु जस्तै कोदे झार आदिलाई खेतको बरीपरीबाट हटाउने र नष्ट गर्ने ।

(घ) सुख्खा ब्याडमा हुर्काइएका बेर्नामा रोगको बढी आक्रमण हुनाले, बेर्नालाई हिले ब्याडको नर्सरीमा हुर्काउनु पर्दछ । यदि सुख्खा ब्याडमा विरुवा उमारिएमा पानीको राम्रोसंग व्यबस्थापन गर्नु पर्दछ । त्यसैगरी बलौटे माटोमा भन्दा चिम्ट्याईलो माटोमा रोगको प्रकोप कम हुनाले नर्सरीमा संभब भएसम्म चिम्ट्याईलो माटो प्रयोग गर्नुपर्दछ ।

(ङ) बिरुवा देखि बिरुवा बीचको दुरी बढाउनाले पनि रोगको प्रकोप कम हुन्छ । धान रोप्दा छिटो रोप्नाले रोग लाग्ने वातावरण शुरु नहुँदै बिरुवा हुर्कन सक्दछ । त्यसैगरी बिरुवा रोप्दा कम गहिराईमा रोप्नु पर्दछ । 

(च) नाईट्रोजनयुक्त मल मात्र बढी प्रयोग गर्नाले रोग बढ्ने हुनाल,े उक्त मल कम गरी फस्फोरस र पोटास पनि सिफारिस मात्रामा प्रयोग गर्ने ।

(छ) बीम २ ग्राम वा बेभिष्टीन वा डेरोसाल ३ ग्राम प्रति किलोग्राम धानको बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने ।

(ज) बेर्ना गाँज वा गाँज हाल्ने अवस्थामा यो रोग लागेमा हिनोसान १.५ मिलिलिटर वा बीम १ ग्राम प्रति लिटर पानीमा मिलाई छर्ने ।

(झ) नेकब्लाष्ट रोकथामको लागि बाला निस्कन ५–६ दिन अगाडी एक पटक र बाला निस्की सकेपछि एक पटक माथि उल्लेखित बिषादी छर्ने ।

(ञ) बेभिष्टिन २ ग्राम प्रति किलोको दरले बिउको उपचार गर्नाले र  किटाजीन जी.आर., बेभिष्टिनले माटोको उपचार गर्नाले पनि रोगको नियन्त्रण भएको पाईएको छ ।

(ट) मरीचको रस, मसलाको पातको रस, तुलसीको रस आदि घरेलु बिषादीको रुपमा प्रयोग गर्न सकिन्छ (पुरी, २०६१) । 

(ठ) यसका साथै ट्राईकोडर्मा भिरीडी (Trichoderma viridae), चिटोमियम ग्लोबोसम (Chitomium globosum) जस्ता सूक्ष्म जीवाणु प्रयोगले पनि रोग नियन्त्रणका लागि सहयोग पुर्याउँदछ ।

(ड) बिभिन्न जातका धानहरुको मिश्रित खेती प्रणालीले पनि रोग नियन्त्रण गर्न सकिन्छ ।

Serial No.

6