परिचय

परिचय

जैतुन सयौं वर्षसम्म जीवित रहिरहने र फल पनि दिइरहन सक्ने सदावहार फलफूल बाली हो । जैतुन फलमा खान र घस्न सर्वोत्कृष्ट तेल हुने भएकोले यसलाई तेलहन बालीको रुपमा पनि लिइन्छ । प्राकृतिक रुपमा जङ्गली अवस्थामा रहने भएकोले जैतुनलाई वन पैदावर पनि भनिन्छ । यसर्थ, जैतुन फल बाली भएकोले कतिपय देशले कृषि मन्त्रालय अन्तर्गत, औद्योगिक बाली भएकोले केही देशले उद्योग मन्त्रालय अन्तर्गत र वन पैदावर भएकोले कति मुलुकले वन मन्त्रालय अन्तर्गत राख्ने गरेको पाइन्छ । प्राकृतिक अवस्थामा जैतुन बोट झाडी रुपमा शुरु भई पछि पन्ध्र–बीस मिटरसम्म अग्लो र ठूलो गोलाई भएको रुखमा परिणत हुन्छ । जैतुनको विकसित जातको खेती गर्दा बोटलाई सानो अवस्था देखिनै काटछाँट गरी चार–पाँच मिटर मात्र अग्लो बनाइन्छ ।

यस बालीलाई अंगे्रजीमा ओलिभ (Olive) र संस्कृत, हिन्दी, नेपाली, अरबिक भाषामा जैतुन भनिन्छ । खेती गरिने जैतुनको बैज्ञानिक नाम ओलिया युरोपा Olea Europa var. sativa हो र नेपालको उत्तर–पश्चिमी जिल्लाहरुमा पाइने स्थानीय जातको जंगली जैतुनलाई लौंठो Olea cuspidata  भनिन्छ । भूमध्य सागरीय क्षेत्र जैतुन खेतीको लागि उर्बर भूमि भएकोले परापूर्वकाल देखि यसको खेती गरिदैं आएको छ र आज पनि विश्वमा जैतुनको कूल खेती मध्ये ९५ प्रतिशत खेती त्यही क्षेत्रमा गरिन्छ । यसको महत्व र उपयोगिता अब धेरै मानिसले बुझ्दै आएकोले जैतुन खेतीको बिस्तार अमेरिका, अष्ट्रेलिया, दक्षिण अफ्रिका, चीन, भारत, नेपाल लगायत विश्वका विभिन्न मुलुकमा हुँदै आएको छ । जम्मा जैतुन फल उत्पादनको ९० प्रतिशत फल तेल उत्पादन गर्न र १० प्रतिशत फल अचार बनाउन प्रयोग गरिन्छ । जैतुनको फलबाट सरदर १५–२० प्रतिशत तेल निस्कन्छ । जैतुनको गुदीमा बढी तेल हुन्छ । जैतुनको काँचो वा पाकेको फल तीतो हुन्छ । तीतोपना फल भित्रको पानीमा रहेको रसायन oleuropein को कारणले हुन्छ । नुन–पानीले उपचार गरी तीतोपना हटाइन्छ र अचार खान फल उपयोग गरिन्छ ।

नेपालमा जैतुन

नेपालको उत्तर–पश्चिम जिल्लाहरु– बझांग, बाजुरा, मुगु, हुम्ला, कालिकोट, जाजरकोट, रुकुम, डोल्पा, जुम्ला आदि जिल्लाहरुमा पाइने जंगली जातको जैतुनलाई स्थानीय भाषामा “लौंठो” भनिन्छ । यो लौंठो कर्णाली र भेरी नदीका दुवै किनारा र पखेरामा परापूर्व कालदेखि समुन्द्रको सतहबाट १००० मिटर देखि २३०० मिटरको उचाईसम्मका जङ्गलमा प्राकृतिक रुपमा फैलिंदै हुर्कदै आएको पाइन्छ । यसले नेपाल पनि रैथाने जैतुनको उद्गम स्थल हुन सक्ने देखाउँछ । बाजुरा जिल्लामा मात्र २०,००० हेक्टर भन्दा बढी स्थानीय जातको जैतुनले ढाकेको अनुमान छ । स्थानीय बासिन्दाले यसको उपयोग घाँस–दाउराको रुपमा गर्दै आएका छन् । यसको काठ चिल्लो र बलियो हुने भएकोले केही मानिसले घरको झ्याल ढोका बनाउन प्रयोग पनि गर्छन् । यसको फल साना हुन्छन् र चरा तथा जनावरले खान्छन् र फैलाउछन् । कतै कतै लौंठोको फल थिचेर निचोरेर औषधीको लागि तेल निकाल्ने चलन पनि पहिले थियो भनिन्छ । हालसाथै बाजुराको कोल्टीमा तेल पेल्ने मिल इटलीबाट ल्याएर जैतुनका उन्नत जातका फल र स्थानीय जातको फल पेलेर तेल निकालियो । उन्नत जातमा १६ प्रतिशत तेल निस्कियो भने स्थानीय जातको लौंठोको फलबाट पनि ५–८ प्रतिशत उच्च गुणस्तर (Extra virgin) को तेल निस्कियो । यूरोप तथा अफ्रिकामा पाइने जंगली जैतुन भन्दा नेपालको जंगली जैतुन अब्बल ठहरिएको छ । यसबाट के देखिन्छ भने जंगलमा रहेका स्थानीय जातको अध्ययन अनुसन्धान एवं छनौट गरेर उन्नत जातको जैतुनलाई जस्तै तालिम काटछाँट गरी स्याहार–संभार गर्दा अझ सुधार गर्न र तेल निकाल्न सकिने सम्भावना छ । जंगलमा प्राकृतिक तबरले बिकास भएका ठूला साना फल लाग्ने, अगौटे, मध्य वा पछि पाक्ने अग्ला होचा विभिन्न थरीका लौंठोका बोटहरु प्रशस्त पाईन्छन् ।

महत्व

विश्वमा जैतुनको आर्थिक, धार्मिक, समाजिक र स्वास्थको दृष्टिकोणले अत्यन्त महत्वपूर्ण स्थान छ । मानव कल्याणको लागि जैतुन अति उपयोगी र लाभकारी एबं पवित्र बोट भएकोले विश्वले यसलाई सुख, शान्ति र समृद्धिको प्रतीक मानेर संयुक्त राष्ट्रसंघको छाप मा दुईवटा जैतुनका मुना राखिएको छ ।

स्वास्थ्य सम्बन्धी महत्व

जैतुनको तेल खान र घस्नको लागि सबै तेल मध्ये उत्तम मानिन्छ । यो तेलमा चिल्लो एवं लेसिलोपन (Cholesterol) ज्यादै कम हुने भएकोले रोगी, बालक, बृद्ध र मोटा मानिस समेतले सहजै सेवन गर्न सक्छन् । जैतुन तेल काँचै वा विभिन्न सलाद, चना, भटृमासको सातु, पाउरोटी, रोटी, भात आदिमा मिसाएर वा तरकारी, माछा–मासु यसमा पकाएर खान सकिन्छ । सुत्केरी महिला, भर्खर जन्मेका बालक, बृद्ध–बृद्धा लगायत सबै उमेरका मानिसले शरीरमा घस्न र कर्के–मर्केको ठाउँमा लगाउन जैतुन तेल गुणकारी मानिन्छ। आयुर्वेदिक औषधि बनाउन प्रचुर मात्रामा यसको उपयोग गरिन्छ । यसको तेल लगायत फल, पात, बोक्रा र जरा समेत औषधि बनाउन उपयोग गरिन्छ । हिजोआज जैतुन पातको चिया खाने चलन पनि आएको छ ।

जैतुन फलको काँचो अचार (green pickle) १०० ग्राममा १४६ क्यालोरी शक्ति, भिटामिन ई’, फलाम, तामा, क्याल्सियम, सोडियम लगायत अन्य पोषक तत्व पाइन्छ । परिपक्व फलमा ७५% पानी, १५% बोसो, ४% कार्बोहाइड्रेट र १% प्रोटिन हुन्छ ।

आर्थिक महत्व

जैतुन दीर्घकालीन रुख बाली भएकोले बिरुवा लगाउँदा केही खर्च बढी लाग्ने भएपनि यसले लामो अवधिसम्म आर्थिक फाइदा दिइनै रहन्छ । मकै, कोदो आदि अन्न बाली भन्दा पाँचगुना बढी आम्दानी यो बालीबाट लिन सकिन्छ । जैतुनको काटछाँट गरेको हाँगाबिंगा राम्रो बल्ने दाउरा हुन्छन् र पातहरु भेडा–बाख्राले खान्छन् । पिनाबाट आगो ताप्ने गुइँठा (brickets) बन्छ । पिना मलको रुपमा प्रयोग हुन्छ । फलको कडा बियाँ नमिसाएको पिना गाइवस्तुलाई खुवाउन सकिन्छ । जैतुन काठ चिल्लो र बलियो हुने भएकोले झ्याल, ढोका, दलिन बनाउन सकिन्छ । जैतुनको काठबाट बनेका हस्तकला (Handicraft) बढी मूल्यमा बिक्री हुन्छन् । जैतुन खेती गर्न र फल टिप्न धेरै श्रमिक चाहिने भएकोले प्रशस्त रोजगारीको अवसर प्राप्त हुन्छ । जम्मा बार्षिक खर्चको करिब ६० प्रतिशत रकम श्रमिकहरुमा खर्च हुन्छ ।

औद्योगिक महत्व

जैतुनको तेलबाट बढी मूल्यवान सेन्ट, साबुन, क्रिम र अन्य कस्मेटिक सामानहरु बनाइन्छ । आयुर्वेदिक औषधि उत्पादनमा प्रचुर मात्रामा यसको प्रयोग गरिन्छ । यसको कमसल तेल बत्ती बाल्न र मेसिनरी औजारमा प्रयोग गरिन्छ । जैतुनको तेल पेल्न, अचार बनाउन, खेती गर्न र फल टिप्न ढुवानी गर्न आदि कार्यको लागि आवश्यक पर्ने मेशिन एवं औजारहरु निर्माण गर्न कल–कारखाना स्थापना भएका हुन्छन् । यसमा पनि प्रशस्त रोजगारी श्रृजना हुन्छ ।

धार्मिक एवं सामाजिक महत्व

जैतुनको तेल धेरै पहिले देखिनै पवित्र मानिन्थ्यो र अहिले पनि धार्मिक चाडवाड एवं समारोहमा यसको प्रयोग गरिन्छ । जैतुन तेल खान र शरीरमा घस्न मात्र नभएर मन्दिर, चर्च, मस्जीदमा पवित्र जैतुन तेल बाल्ने र देवतालाई चढाउने गरिन्छ । क्रिसमसमा यसको बिशेष महत्व हुन्छ । प्राचीनकालमा ग्रीसमा जैतुन पातको माला र पगरी खेलकुद एवं लडाईका बिजेताहरुलाई सम्मान स्वरुप लगाउने गरिन्थ्यो । देवी देवतालाई चढाउन र ठूला बडाको स्वागत गर्न जैतुन मुनाको गुच्छा दिने गरिन्थ्यो । लडाकु, खेलाडी एवं राजा–महाराजाहरुले महङ्गो जैतुन तेल खाने र घस्ने गर्थे । जैतुनको उल्लेख संस्कृत, कुरान, बाईबल आदि धार्मिक ग्रन्थहरुमा पाइन्छ । जैतुनको तेल र पात सहितका हाँगा मृत शरीर र चिहानमा समेत राख्ने गरेको पाइन्छ । जैतुन फल एवं पात मुनाको अवशेष इजिप्ट (मिश्र) मा इसा पूर्व २००० वर्ष पुरानो चिहानमा समेत पाइएको छ । १४०० वर्ष भन्दा पहिले इस्लाम धर्मका गुरु मुहम्मदले उनका अनुयायीहरुलाई जैतुनको तेल शरीरमा घस्न सल्लाह दिएका थिए र आफैले पनि टाउकोमा लगाउथे भन्ने उल्लेख पाइन्छ ।

अन्य महत्व

जैतुनका बगैंचा एवं वनले वातावरणमा सुधार ल्याउँछ र हरियाली बढाउँछ । चराचुरुङ्गी एवं जन्तु जनावरलाई बासस्थान र आहारा दिन्छ । वायुमण्डलमा कार्बनको मात्रा घटाउँछ र अक्सिजन प्रदान गर्छ र शीतलता दिन्छ । नेपालमा जैतुन बिस्तार कार्यक्रमले जैतुन फल र तेल उत्पादन गरी आयात प्रतिस्थापन र निर्यात प्रबद्र्धन गर्छ । कृषि–पर्यटन व्यवसायलाई टेवा पुर्याउने गर्छ । जैतुन बाली कृषि र वनक्षेत्र बीचको खासगरी खेर गइरहेको सीमाब्कृत क्षेत्र तथा बाँझो बारीमा लगाइने भएकोले अन्य बालीलाई यसले विस्तापित गर्दैन । पातलो कबुलियती वनमा समेत जैतुन लगाई भूमिहिन कृषकहरुलाई आर्थिक टेवा दिन सकिन्छ । जैतुन बोटहरुले भू–क्षय रोक्न र मरुभूमिकरण हुनबाट बचाउन सहयोग पुर्याउँछन् । बाजुरा र डोल्पामा जैतुन फलेको देखेर कृषकहरु यस बाली प्रति आकर्षित भएका छन् । उनीहरुलाई यस बाली सम्बन्धी प्रविधिको खाँचो छ । उनीहरुलाई बगैंचा लगाउन एवं स्याहार–संभार गर्न आर्थिक सहुलियत र जैतुन बालीको विमाको आवश्यकता छ ।

जातहरु

जैतुनका जातहरु

जैतुनका जात

बोसाना (Bosana)

यो जात धेरै किसिमको जलवायु र माटोमा फस्टाउन सक्छ । केही ढीलो गरी फल्न शुरु गर्ने भएपनि फल र तेल उत्पादन गर्ने क्षमता बढी छ तर वर्ष बिराएर फल्छ । फूल फुल्ने हिसाबले मध्यम मौसमी हो । फल पटक पटक गरी पाक्छ र पछौटे जात हो । बोटको वृद्धि मध्यम र हाँगा फैलने स्वभावको हुन्छ ।  यो जातले केही हदसम्म सुख्खा र पातको थोप्ले रोग सहन सक्छ तर फलको झिंगा र कत्ले कीरा सहन सक्दैन ।

hi

अस्कोलाना (Ascolana)

यो जात शितल किसिमको जलवायु र चुनयुक्त खुकुलो माटोमा फस्टाउछ । यसको फल ठूलो, गुदी बढी र तेल कम भएकोले अचार बनाउन प्रयोग गरिन्छ । फल उत्पादकत्व मध्यम र फल्न नियमित हुन्छ । यो   जात चाडैं फल्न शुरु गर्छ । फुल्ने समयको हिसावले पछौटे भए पनि फल चाँडै पाक्छ । यसले चिसो र थोप्ले रोग सहन सक्छ तर फलको झिंगा सहन सक्दैन । बोटको वृद्धि घना,बलियो र सिधा माथि बढ्ने स्वभावको हुन्छ ।

hi

क्यासानीज (Cassanese)

यो जातले कम चिसो र खुकुलो माटो रुचाएँछ । यसको बोट छिटो बढ्छ र ठूलो हुन्छ । यसको फल अचारको रुपमा र तेल उत्पादन गर्न उपयोग गरिन्छ । यो चाँडै फल्न शुरु गर्छ, बढी फल्छ र प्रत्येक वर्ष फल्छ । फूल फुल्ने समय मध्य र फल पाक्ने समय ढिलो हुन्छ । यो जातले हाँगाको गिर्खेरोग र पातको थोप्लेरोग सहन सक्छ तर बढी चिसो र फलको झिंगा सहन सक्दैन । यसको बोट पनि घना,बलियो र सिधा माथि बढ्ने स्वभावको हुन्छ ।

hi

नोचेलारा (Nocellera)

यो जातको फल पनि अचार बनाउन एवं तेल निकाल्न दुवै प्रयोजनको लागि प्रयोग गरिन्छ । बिषम हावापानी र माटो सहन सक्ने कडा स्वभावको यो जात छिटो बढ्छ र बोट ठूलो हुन्छ । फल्ने उमेरको हिसावले यो अगौटे जात हो र फुल्ने समयको हिसावले मध्य देखि पछौटे हो । यसको फल ठूलो हुन्छ, उत्पादकत्व बढी छ र वर्ष बिराएर फल्छ । तेल उत्पादन क्षमता कम छ र कटिंगमा जरा निस्कने क्षमता कम छ ।

hi

क्यारोलिया (Carolea)

यो जात पनि अचार एवं तेल दुवै प्रयोजनको लागि हो । विभिन्न किसिमको जलवायु तथा माटोमा राम्रो हुन सक्छ । फल्ने उमेर एवं फुल्ने समयको हिसावले अगौटे जात हो । यसको फल उत्पादकत्व बढी छ र प्रत्येक वर्ष फल्छ । तेल उत्पादन क्षमता मध्यम छ र कटिंगमा जरा निस्कने क्षमता बढी छ । फल एकै पटक पाक्दैन र पटक पटक गरी पाक्छ । यसको बोट ठूलो, हाँगा घना र सिधा माथि बढ्ने स्वभावको हुन्छ।

hi

कोराटिना (Coratina)

यो जातले धेरै किसिमको वातावरण र ठण्डी सहन सक्छ । तेल उत्पादनको लागि यो राम्रो जात हो र तेल लामो समयसम्म सुरक्षित राख्न सकिन्छ । फल एवं तेल उत्पादन क्षमता बढी छ र प्रत्येक वर्ष फल्छ । फल्न चाँडै शुरु गर्छ । फल पाक्ने समयको हिसावले पछौटे हो र फल विभिन्न साइजका हुन्छन । यो जातको कटिंगमा जरा धेरै निस्कन्छ । यो जातले बढी ठण्डी सहन सक्छ तर ध्वाँसे ढुँसी र काठ कुहिने रोग सहन सक्दैन । यसको बोट वृद्धि मध्यम, हाँगा घना र फैलिने स्वभावको हुन्छ ।

hi

लेचिनो (Leccino)

यो जात खास गरेर तेल उत्पादनको लागि लगाइन्छ तर अचार पनि राम्रो बन्छ । लेचिनो धेरै किसिमको हावापानी र माटोमा फस्टाउन सक्छ । यो जात प्रत्येक वर्ष फल्छ, फल उत्पादकत्व बढी छ तर तेल उत्पादन क्षमता कम छ । फल फल्न एवं पाक्न चाँडै शुरु गर्छ र एकै पटक पाक्छ । यसको कटिंगमा धेरै जरा निस्कन्छ । यो जातले बढी चिसो,पातको थोप्ले रोग, काठ सडन रोग र गिर्खे रोग सहन सक्छ तर सुटी —मोल्ड सहन सक्दैन । यसको बोट ठूलो एवं बलियो हुन्छ । हाँगा घना र तल लत्रिने स्वभावका हुन्छन् ।

hi

पेण्डोलिनो (Pendolino)

यो जात तेल उत्पादन र परागसेचनको लागि लगाइन्छ । विभिन्न किसिमको वातावरण र माटोमा यो जात सजिलै फस्टाउन सक्छ । पेण्डोलिनो चाँडै फल्न शुरु गर्छ, प्रत्येक वर्ष फल्छ , बढी फल्छ, मध्य मौसममा पाक्छ तर तेल उत्पादन क्षमता कम छ । यो जात चाँडै फुल्छ, प्रशस्त फुल्छ र लामो अवधिसम्म फुलिरहन्छ । पराग उत्पादन गर्ने क्षमता उच्च भएकोले परागसेचन कर्ताको रुपमा बगैंचामा लगाइन्छ । यसको कटिंगमा धेरै जरा निस्कन्छ । यो जातले बढी चिसो र फलको भिंmगा सहन सक्छ तर पातको थोप्ले रोग, गाँठा पर्ने गिर्खे रोग र सुटी—मोल्डबाट प्रभावित हुन्छ । बोटको वृद्धि मध्यम हुन्छ । हाँगा घना र तल लत्रिने स्वभावका हुन्छन् ।

hi

रोस्सिओला (Rosciola)

यो जातको खेती तेल उत्पादनको लागि गरिन्छ । बोट सानो र कडा स्वभावको भएकोले धेरे किसिमको जलवायु र माटोमा राम्रो फस्टाउन सक्छ । यो जात केही ढीलो फल्न शुरु गर्छ, प्रत्येक वर्ष फल्छ र बढी फल्छ । तेल उत्पादन क्षमता मध्यम छ । फुल्ने समय मध्य—मौसम हो र यसलाई परागसेचन गर्ने जातहरु मोराइलो, लेचिनो, पेण्डोलिनो र फ्रान्टोयो हुन् । फल पाक्ने हिसावले अगौटे हो र फल पटक पटक गरी पाक्छ । यो जातले चिसो सहन सक्छ, तर हाँगामा गाँठा पर्ने गिर्खेरोग, पातको थोप्ले रोग र फलको झिंगा सहन सक्दैन । बोटको वृद्धि मध्यम, हाँगा पातलो र सिधा माथि बढ्ने स्वभावको हुन्छ ।

hi

आर्बेकुइना (Arbequina)

यो जातमा उच्च गुणस्तरको तेल उत्पादन हुन्छ । यो धेरै चिसो पनि सहन सक्छ र न्यानो जलवायुमा पनि राम्रै फलेको पाइन्छ । यसले क्षारीय माटो सहन सक्ने भए पनि बढी चुनयुक्त माटो सहन सक्दैन । यो जात चाँडै फल्न शुरु गर्छ, प्रत्येक वर्ष फल्छ र बढी फल्छ । यसको तेल उत्पादन क्षमता बढी छ । यो मध्य-मौसममा फुल्छ । यसको कटिंगमा धेरै जरा निस्कन्छ । यो जातले पातको थोप्ले रोग र हाँगाको गिर्खेरोग सहन सक्छ तर फलको झिंगा, हाँगा/बोट सुक्ने रोग, कालो कत्ले कीरा, मयूर पंखी थोप्ले रोग सहन सक्दैन । यसको बोट सानो हुने हुँदा सघन—बगैचा लगाउन उपयुक्त छ । हाँगा फैलावट मध्यम किसिमको हुन्छ ।

hi

बार्निया (Barnea)

यो जातको फल तेल -अचार दुवै प्रयोजनको लागि गरिन्छ । यो जात कडा स्वभावको भएको हुँदा एकदम सुख्खा र हिउँदको चिसो सहन सक्छ । यो बढी चुनयुक्त माटोमा पनि राम्रो हुन सक्छ । यो जात फल्न चाँडो शुरु गर्छ र फल पनि चाँडो पाक्छ । सिंचाइ गरे प्रत्येक वर्ष फल्छ र बढी फल्छ । तेल उत्पादन गर्ने क्षमता मध्यम छ । मध्य—मौसममा फुल्छ र पराग उत्पादन क्षमता पनि मध्यम छ । यसको कटिंगमा जरा निस्कने क्षमता मध्यम छ । यसको फुल्ने समय मध्य मौसम हो र पराग उत्पादन पनि मध्यम हुन्छ । यसको तेल राम्रो गुणस्तरको मानिन्छ । यसको बोट बलियो, हाँगा पातलो र सिधा माथि बढ्ने स्वभावका हुन्छन् ।

H

बुटेलान (Bouteillan)

यो जात तेल उत्पादनको लागि लगाइन्छ । यो जात जीवाणु एबं वातावरणजन्य प्रकोप सहन सक्ने प्रकृतिको भएकोले चिसो लगायत विभिन्न किसिमको हावापानी र माटोमा राम्रो हुन सक्छ । यो फल्न चाँडो शुरु गर्छ । फल उत्पादन एवं तेल उत्पादन क्षमता बढी छ र प्रत्येक वर्ष फल्छ । मध्य मौसममा फल पाक्छ र फलको साइज एकनासको हुंदैन । यसले पातको थोप्ले रोग सहन्छ तर फलको झिँगा, कत्ले कीरा र जैतुनको पुतली सहन सक्दैन । यसको बोट बलियो र हाँगा घना र सिधा माथि बढ्ने प्रकृतिको हुन्छ । यसको बोट छिटो बढ्ने भएकोले हलुका काटछाँट बराबर गरिरहनु पर्छ । यो जातलाई खास गरेर सिंचित क्षेत्रमा लगाइन्छ ।

X

कोरोनेकी (Koroneiki)

यो जात पनि तेल उत्पादनको लागि हो । यो जातको बोटले सुख्खा सहन्छ तर बढी चिसो सहन सक्दैन । यो चाँडै फल्न शुरु गर्ने जात हो । प्रत्येक वर्ष फल्छ । यसको तेल उत्पादन गर्ने क्षमता बढी छ । फूल फुल्नमा अगौटे र फल पाक्नमा अगौटे देखि मध्य—मौसमी हो । यसको कटिंगमा जरा निस्कने क्षमता मध्यम छ । यसको तेल उच्च गुणस्तरको हुन्छ र यो गुणस्तर लामो समयसम्म कायम रहन्छ । यो जातले गिर्खे रोग सहन सक्दैन तर पातको थोप्ले रोग सहन सक्छ र बोट ओइलाउने रोग केही हदसम्म सहन सक्छ । बोटको वृद्धि मध्यम, हाँगा फैलने र पातलो घनत्व हुन्छ ।

hi

फ्रान्टोयो (Frantoio)

यो जात तेल उत्पादनको लागि लगाइन्छ । यो जात धेरै किसिमको हावापानी र माटोमा हुने भए पनि बढी चिसो सहन सक्दैन । यो फल्न चाँडै शुरु गर्दछ, प्रत्येक वर्ष फल्छ र बढी फल्छ । तेल उत्पादन क्षमता मध्यम छ र फलको जस्तो बास्ना आउने राम्रो गुणस्तरको तेल निस्कन्छ । यो जातको तेल अरु जातको तेलमा मीठो बास्ना थप्न मिसाइन्छ । फूल फुल्ने समय मध्य (intermediate) हुन्छ र फल पटक पटक गरी ढीलो पाक्छ । कटिंगमा जरा निस्कने क्षमता बढी हुन्छ । यो जातमा पातको थोप्ले रोग,गाँठा निस्कने गिर्खेरोग, फलको झिंगा आदि लाग्छन् । बोटको वृद्धि मध्यम, हाँगाको घनत्व पनि मध्यम र तल लत्रने स्वभावको हुन्छ । यो स्वयंसेचित जात हो ।

X

मोराइलो (Moraiolo)

यो जात तेल उत्पादनको लागि लगाइन्छ । यो एकदम कडा स्वभावको हुन्छ र सुख्खा पहाडी क्षेत्रको लागि उपयुक्त छ । काटछाँट गर्दा लागेको घाउ पुर्न मुश्किल पर्छ । यो चाँडै फल्न शुरु गर्छ, प्रत्येक वर्ष फल्छ र बढी फल्छ । यसको तेल उत्पादन क्षमता पनि बढी हुन्छ । यसको तेलमा फलको स्वाद हुन्छ र तेल बढी समयसम्म बिग्रंदैन । यसको फूल मध्य— मौसममा फुल्छ र फल झुप्पामा लाग्छ र पटक पटक गरी पाक्छ । कटिंगमा जरा निस्कने क्षमता बढी हुन्छ । यो जातले सुख्खा सहन्छ तर पातको थोप्लेरोग, हाँगाको गिर्खेरोग, सुटी—मोल्ड, काठको सडन रोग सहन सक्दैन । यसको बोट कमजोर देखिन्छ , हाँगाको फैलावटको घनत्व पातलो हुन्छ र सिधा माथि बढ्ने स्वभावको हुन्छ ।

hi

पिकुअल (Picual)

यसको फल तेल उत्पादनको प्रयोजनको लागि उपयोग गरिन्छ । यो कडा स्वभावको जात भएको हुँदा विभिन्न किसिमको हावापानी र माटो जस्तै क्षारीय एवं बढी चिस्यान भएको माटो सहन्छ तर सुख्खा र चुनयुक्त माटो त्यति सहँदैन । बिरुवा लगाएको तेस्रो वर्षमा नै फल्न शुरु गर्छ । प्रयेक वर्ष फल्छ र बढी फल्छ । तेल उत्पादन गर्ने क्षमता पनि बढी छ र तेल बढी समयसम्म बिग्रदैन । फूल फुल्ने समय मध्य मौसम हो र स्वयं परागसेचित पनि हो । फल पाक्ने हिसावले अगौटे हो । कटिंगमा जरा निस्कने क्षमता बढी छ । यसले गिर्खेरोग र थोप्ले रोग सहन्छ तर चरिआँखे रोग, ओइलाउने ढुँसीरोग र फलको झिँगा सहँदैन । बोटको वृद्धिपन मध्यम किसिमको हुन्छ र हाँगा घना एवं फैलने स्वभाव हुन्छ ।

hi

पिकोलाइन (Picholine)

यो जातको फल अचार एवं तेल उत्पादन दुवै प्रयोजनको लागि गरिन्छ, बगैंचाको राम्रो व्यवस्थापन गरेमा धेरै किसिमको वातावरणमा फस्टाउन सक्छ । यो चाँडै फल्न शुरु गर्छ । सिंचित अबस्थामा बढी उत्पादन हुन्छ र प्रत्येक वर्ष फल्छ । तेल उत्पादन क्षमता र कटिंगमा जरा निस्कने क्षमता मध्यम हुन्छ । तेलको गुणस्तर उच्च मानिन्छ । फूल फुल्ने समय मध्यम हुन्छ र परागको उम्रने क्षमता बढी हुन्छ । फल पाक्ने हिसावले पछौटे जात हो । यो जातमा थोप्लेरोग लाग्दैन र बोट ओइलाउने रोग, चिसो र सुख्खापन सहन सक्छ । बोटको वृद्धि मध्यम, हाँगाको घनत्व पनि मध्यम र हाँगा फैलने स्वभावको हुन्छ ।

hi

आवश्यकता

जलवायु

जैतुन खेती गर्ने मुलुकहरु ३०० देखि ४५० उत्तरी वा दक्षिणी अक्षांश भित्र रहेका छन् । नेपाल भने २६⁰ २२’ देखि ३०⁰ २७’ उत्तरी अक्षांश भित्र रहेकोले जैतुनलाई फुल्न र फल्न आवश्यक पर्ने चिसो (chilling) सबै ठाउँमा पुग्दैन । यसलाई आवश्यक पर्ने चिसो उपलब्ध गराउन हिमाल नजिक रहेकका उच्च पहाडी क्षेत्र (warm temperate area) मा जैतुन रोपन गर्नुपर्छ । स्थानीय जातको जैतुन (लौंठो) बझांग, बाजुरा लगायत कर्णाली अंचलका जिल्लाहरुमा समुन्द्रको सतहबाट १००० मिटर देखि २५०० मिटरसम्मका उचाईमा पाइन्छ । खेती गरिने युरोपियन जैतुन पनि जातको चिसो–तातो चाहिने स्वभाव अनुसार लगभग त्यही उचाईको हाराहारीमा लगाउन उपयुक्त हुन्छ । इटलीबाट ल्याई नेपालमा हाल लगाइएका जातहरु १४०० मिटर देखि २३०० मिटरसम्मको उचाइमा लगाउन राम्रो हुने देखिएको छ । जैतुन खेती गर्न बझांग, बाजुरा, मुगु, हुम्ला, कालिकोट, डोल्पा, रुकुम, जाजरकोट, जुम्ला, मुस्तांग, मनांग बढी उपयुक्त छन् ।

तापक्रम

जैतुन बोटमा फूलको कोपिला लाग्न हिउँदमा ६⁰ देखि ८⁰ दिन चिसो र अरु मौसममा न्यानो र पारिलो वातावरणको आवश्यकता पर्छ । हिंउदमा सरदर तापक्रम ७⁰ से. जैतुनको जात अनुसार ५०० देखि १००० घण्टासम्म हुनु पर्छ र यो अवधिमा अधिकतम तापक्रम २०⁰ से. भन्दा माथि जानु हुँदैन अन्य मौसममा जैतुनको लागि उपयुक्त अधिकतम तापक्रम १८⁰ से. देखि २८⁰ से.सम्म हुनु राम्रो हुन्छ र २८⁰ से. देखि ४५⁰ से. सम्मको तापक्रम यसले सहन सक्ने भएपनि त्यस अवधिमा पानीको कमी बोटमा हुने भएकोले फूल र फल झर्ने सम्भावना रहन्छ । बढी तापक्रम र पानीको कमी भएमा कलिला फल झर्छन । हिउँदमा चिसो कम (–४⁰ से.) चाहिने जात हुन् – अजापा, अर्वेकुइना, म्यान्जानिलो, मोराइलो, पिकुअल, कालामाटा, होजिब्लाब्का र बढी चिसो (–८⁰ से.सम्म) सहन सक्ने जात हुन् – सेभिलानो, पेन्डोलिनो, लेचिनो, फ्रान्टोयो, बरौनी आदि । फ्रान्टोयो, बरौनी, लेचिनो जातले न्यूनतम तापक्रम –२⁰ से. देखि –८⁰ से. सम्म क्रमैसंग बिस्तारै झरेको तापक्रम सहन सक्छन् तर यस भन्दा कम र एक्कासी झरेको तापक्रम जैतुन बोटले सहन सक्दैन । हिउँदको चिसो पछि एक्कासी तापक्रम बढ्यो भने पनि फूल निस्कने क्रियामा अवरोध पुग्छ र निस्केका फूल पनि अधिकांश भाले फूल हुन्छन् । भाले र पोथी फूलको अनुपात ६:१ हुनु राम्रो मानिन्छ ।

वर्षा

बार्षिक वर्षा ४०० देखि ७०० मि.मि. हुने क्षेत्र जैतुन खेतीको लागि उपयुक्त हुन्छ । धेर–थोर वर्षा सबै महिनामा पर्नु राम्रो मानिन्छ । १००० मि.मि. भन्दा बढी पानी पर्ने क्षेत्रमा बोटका जरा कुहिने र रोग–कीरा पनि बढी नै लाग्ने गर्छ । ४०० मि.मि. भन्दा कम वर्षा हुने क्षेत्रमा सिंचाइको ब्यवस्था मिलाउनसके जैतुन

फल उत्पादन संतोषजनक हुन्छ । फूल फुल्नु भन्दा तीन हप्ता पहिले र फल लागेको दुई हप्ता पछि सिंचाइ गर्दा उत्पादनमा बृद्धि हुन्छ । जैतुनको लागि पानीको मात्रा यसको जात र माटोको किसिममा पनि फरक पर्छ । चिम्टाइलो माटोलाई बलौटे र दुमट माटोलाई भन्दा बढी पानीको आवश्यकता पर्छ । माटोको चिस्यान टेन्सियोमिटर ले १०–२५ सेन्टिबार देखाएमा ठीक चिस्यान पुगेको मानिन्छ र त्यसभन्दा बढी भएमा सिंचाइ गर्नुपर्छ ।

सापेक्षिक आर्द्रता

जैतुन बोट र पातको बिशेष बनौटको कारण यसले सुक्खापन सजिलै सहन सक्छ । यसको पात बाक्लो, चाम्रो, पानी उड्ने सूक्ष्म प्वाल वा रुन्द्र (stomata) पातको तल्लो सतहमा कम संख्यामा रहेका हुन्छन् र चर्को घाममा प्वालहरु स्वतः बन्द हुने कारणले गर्दा सुक्खा अवस्थामा पनि जैतुन बोट हुर्कन र बढ्न सक्छ । जैतुनको लागि सापेक्षिक आर्द्रता ४० देखि ६५ प्रतिशत हुनु उपयुक्त हुन्छ । ६५ प्रतिशत भन्दा बढी आर्द्रता हुने क्षेत्रमा रोगकीराको प्रकोप बढी हुन्छ । फल उत्पादन कम हुन्छ, फलको गुणस्तर कमसल हुन्छ र बोट पनि चाडै बूढो हुन्छ ।

प्रकाश

जैतुनलाई पारिलो र न्यानो वातावरण चाहिन्छ । यसलाई मिलेसम्म दक्षिणी वा पूर्बी मोहडा भएको र अरु रुख आदिको छहारी नपर्ने ठाउँमा लगाउनु ठीक हुन्छ । जैतुनले लामो दिन र कडा प्रकाश रुचाउछ । जैतुनलाई वर्षभरीमा सूर्यको प्रकाश कम्तीमा २००० घण्टा चाहिन्छ । जैतुन खेती गर्ने मुख्य देशहरुमा २४०० देखि २७०० घण्टा र चीनमा १९०० देखि २४०० घण्टा सूर्यको प्रकाश बोट बिरुवाले प्राप्त गर्छन् ।

माटो

माटो भनेको माटोका कणहरु, प्राङ्गारिक पदार्थ, माटो भित्र रहेको हावा एवं पानी र जीवाणुहरु मिसिएको एकमुष्ट मिश्रण हो । बोट बिरुवाले माटो भित्र पानीमा पग्लेर रहेको खाद्यतत्व उसका रौं जस्ता मसिना जराले सोसेर लिन्छ । जैतुनका जरा माटोको माथिल्लो सतहमा नै फैलिन्छन् र माटोमा बढी पानी भएमा जरा सडन थाल्छन् । माटोको भौतिक बनौट, उसमा रहेको रसायनिक गुणहरु भन्दा महत्वपूर्ण हुन्छ ।

माटोको भौतिक बनौट माटो कणको साइज अनुपात

बलौटे (sand particles) भाग – ४५ – ६५%

पाँगो (silt particles) भाग – १० – ३५%

चिम्टाइलो (clay particles) भाग – १० – ३५%

यदि चिम्ट्याइलो माटो ३५ प्रतिशत भन्दा बढी छ भने अथवा तल्लो सतहको माटो निकै कडा छ भने वा ठूलो चटृान ढुङ्गा छ भने जैतुन खेती सफल हुँदैन ।

जैतुन बालीको लागि माटोको पी.एच. ७–८ हुनु राम्रो मानिन्छ र पी.एच. ६ भन्दा तल र ८ भन्दा माथि हुनु हुँदैन । माटोमा नाइट्रोजनको मात्रा १–१.५%, फस्फोरसको मात्रा ०.६० देखि ०.७५ प्रतिशत, पोटासको मात्रा ०.४ प्रतिशत, प्राङ्गारिक पदार्थ २–३ प्रतिशत र पानीमा घुलित नुन (salt) को मात्रा ४–५ ग्राम प्रति किलोग्राम माटो हुनु राम्रो हुन्छ । जैतुन बोटलाई क्रमशः क्याल्सियम, पोटासियम, नाइट्रोजन र फस्फोरसको जरुरत पर्दछ । फूल फुल्नु भन्दा २–३ हप्ता अगाडि बोरन अलग्गै वा सल्फरसंग मिसाएको धुलो बोटमा छर्दा फूल एवं फल बढी लाग्छ ।

नर्सरी व्यवस्थापन

​​​​​​​बिजु बिरुवा उत्पादन

नेपालको बझांग, बाजुरा, मुगु, हुम्ला, कालिकोट, डोल्पा, जाजरकोट लगायतका जिल्लाहरुमा जङ्गली अवस्थामा पाइने जैतुनको स्थानीय जात लौंठो (Olea cuspidata) को बीउ भदौं–असोज महिनामा संकलन गरी नर्सरीमा रोपी बिजु बिरुवा उत्पादन गरिन्छ । लौंठोको फल स्थान र जात अनुसार उपरोक्त जिल्लाहरुमा भदौं देखि मंसिर महिनासम्म पाक्छ । बीउको लागि पाकेका ताजा फल छनोट गर्ने र बढी फल भए पेलेर राम्रो गुणस्तरको तेल निकाल्न पनि सकिन्छ । जैतुनको हाँगा–बोट सुक्ने रोग लगायत अन्य रोग र सुक्खापन सहन सक्ने भएकोले लौंठोको बिजु बिरुवामा उन्नत युरोपियन जात Olea europea को एक बर्षे डाली जोडेर कलमी बिरुवा तयार गरिन्छ ।

बीउको लागि टिपेको फल टिपेकै दिन लोहोरा वा मुब्ग्राले हलुकासंग थिचेर बोक्रा हटाउने र बीउलाई बालुवा या भाँडा सफा गर्ने जालीले रगडेर पानीले धोई बीउमा टाँसिएको चिप्लो पदार्थ हटाउनु पर्छ । बीउमा भएको चिप्लो पदार्थ हटाउन २.५ ग्राम सोडियम हाइड्रोअक्साइड प्रति लिटर पानीको घोलमा एक किलो बीउको दरले केही समय बीउ डुबाएर पनि चिप्लो पदार्थ हटाउन सकिन्छ । यसरी तयार गरेको बीउलाई तत्कालै (असोज–कार्तिक) पनि रोप्न सकिन्छ तर बीउ उम्रन लामो समय (फागुन तिर) लिन्छ । बीउ उम्रन १३⁰ से. तापक्रम आवश्यक हुन्छ । पछि रोप्नको लागि ४–५ से.मि. बाक्लो बीउको तह बनाई फिजारेर र कागजले छोपेर भण्डारण गर्ने अथवा बीउलाई पातलो कपडामा पोको पारी मुसाले खान नपाउनेगरी हावा खेल्ने सुक्खा कोठामा झुण्ड्याएर राख्न पनि सकिन्छ । माघ–फागुनतिर बीउ रोप्न प्रत्येक दिन पानी फेर्दै १५–२० दिन बीउलाई पानीमा ढड्याएपछि नर्सरी ब्याडमा रोप्नुपर्छ । अझ मंसिर पुसमा १५ दिनसम्म बीउ पानीमा डुबाएर त्यसपछि एक तह बालुवा र अर्को तह बीउ गर्दै तह–तह गरी छहारी पर्ने ठाउँमा राख्ने र माथि खर–पराल वा जुट बोराले छोपी राख्दा चिसो (stratification) ले बीउमा टुसा निस्कन्छ । बीउ लामो समयसम्म सुषुप्तावस्थामा जाने भएकोले चिसो दिन परेको हो । यसरी रोपेको बीउ चाडै उम्रन्छ । दश लिटर पानीमा एक चिया चम्चा (५ एम.एल.) नेप्mथालिन एसिटिक एसिड घोलेर १० के.जी. बीउका दरले भिजाउदा बीउको उमारशक्ति अझ बढ्छ । बीउका लागि जङ्गली वा उन्नत जात (Canino) दुवै प्रयोग गर्न सकिन्छ तर उमारशक्ति र बोटको बृद्धि जङ्गली जातमा बढी हुन्छ ।

नर्सरी ब्याडको तयारी

बालुवा र जङ्गलको माथिल्लो तहको मलिलो माटो बराबर मात्रामा मिलाउने र चाल्नोद्वारा चालेर खस्रो चीज हटाउनु पर्छ । बालुवा र माटो मिश्रणलाई उम्लेको तातो पानीले भिजाएर प्लाष्टिक शीटले एक दिन छोप्ने अथवा १५ दिन घाममा फैलाएर सूर्यको किरणद्वारा निर्मलीकरण गर्नु पर्छ । यसपछि मिश्रणको आधा भाग जति राम्रोसंग सडेको गोबर मल मिलाई अन्तिम मिश्रण माटो तयार गर्नु पर्छ । उक्त मिश्रण माटोबाट १ मिटर चौडा र ६ मिटर लामो वा आवश्यकता अनुसार लम्बाइ भएको ब्याड (seed bed)बनाउनु पर्छ । ब्याडको उचाई १५ से.मि. राख्नु पर्छ । एक किलो लौंठोको बीउमा करिब ५००० दाना हुन्छन् । सुकेको बीउ एक किलोमा त सात–आठ हजार दाना पनि हुन्छन् । बीउ रोप्न ब्याडको सटृा काठको बाकस वा ट्रे पनि प्रयोग गर्न सकिन्छ ।

बीउ रोप्ने कार्य : ब्याडमा बीउलाई एक तहमा फिजारेर वा लाइन बनाएर रोप्नु पर्छ र १ से.मि. देखि २ से.मि. अथवा बीउको दोब्बर बाक्लो हुनेगरी उक्त मल, माटो एवं बालुवाको मिश्रणले पुर्नुपर्छ । बर्षा वा चिसोबाट बचाउन ब्याडलाई प्लाष्टिक शीटले ढाक्नुपर्छ । प्रत्येक ३ दिनमा एक पटक हलुका सिंचाइ गर्नुपर्छ । घाम लागेको दिनमा प्लाष्टिक शीट हटाउने र बेलुकी पुनः छोप्ने गर्नु पर्छ । कार्तिकमा रोपेको बीउ लगभग ४ महिनापछि फागुन महिनामा उम्रन्छ । स्ट्राटिफिकेशन गरेको बीउ वा भण्डारण गरी भिजाएको बीउ भए माघ–फागुन महिनामा पनि रोप्न सकिन्छ ।

बिरुवा प्लाष्टिक थैलोमा सार्ने:  कार्य बिजु बिरुवा ६ देखि ८ पाते भएपछि नर्सरी ब्याड भिजाएर मसिना जरासहित आउनेगरी बाँसको कप्टेरोले उखेल्ने, मूल जराको टुप्पा २ से.मि. जति काट्ने, मूल जरा सोझो र मसिना जरा चारैतर्फ फैलिने गरी कालो प्लाष्टिक ब्यागमा रोप्नु पर्छ । १५ से.मि. चौडा २२ से.मि. अग्लो साइजको प्लाष्टिक ब्यागको पींधको साइडमा ४–६ वटा प्वालपारी बढी भएको पानी निथारको लागि राख्नु पर्छ । बिरुवा नर्सरीमा लामो समय (दुई वर्ष) सम्म राख्न पर्ने भए ३०० गेजको कालो प्लाष्टिकको थैलोको साइज १५ से.मि. चौडा र ३० से.मि. अग्लो हुनुपर्छ । मलमाटोको मिश्रणले ब्याग भरी हातले हलुका किसिमले माटो थिच्नु पर्छ । सिंचाइको पानी अड्याउन ब्यागको माथिल्लो १ से.मि. भाग खाली राख्नु पर्छ । बिरुवा बैशाख–जेठ महिनामा सकभर बादल लागेको दिनमा वा बेलुकीपख रोप्नु पर्छ । चार–चार ब्यागको लहर बनाई बिरुवा राख्दा पछि कलमी गर्न सजिलो पर्छ । हावा संचालनको लागि एक लहर देखि अर्को लहरको दूरी १५–२० से.मि. राख्नु पर्छ ।

कलमी बिरुवा उत्पादन

कलमी बिरुवा उत्पादन

जैतुनको वानस्पतिक अङ्ग प्रयोग गरी बिरुवा उत्पादन गरिने कार्यलाई अलैङ्गिक वा वानस्पतिक प्रजनन भनिन्छ र यस विधिद्वारा उत्पादित बिरुवालाई कलमी बिरुवा भनिन्छ । कलमी गर्न माउबोटको आँकुरा, हाँगा, जरा वा अन्य वानस्पतिक अङ्ग प्रयोग गर्न सकिन्छ । कलमी बिरुवा माउबोटको गुण कायम राख्दै फुल्छन् र फल्दछन् । कलमी बिरुवा उत्पादन गर्ने बिभिन्न तरिका छन्:

बडिंग

कलमी गर्न चाहेको जातको पेन्सिल साइजको एक बर्षे डाली (Scion stick) माउबोटबाट काटेर छुट्याउने र डालीको छिप्पिएको फेद एवं कमलो टुप्पा भाग काटेर हटाउनु पर्छ । त्यसपछि डालीबाट शिल्ड (shield) वा प्याच (patch) आकारमा पातको डाँठ र आँकुरा (bud) सहित आँकुरालाई बीचपारी फेदतर्फबाट टुप्पातर्फ समेतको बोक्रा छुट्याउनु पर्छ । अब बिजु बिरुवा (Rootstock)को फेंदबाट १५–२० से.मि. माथि टी–कट (T-cut) वा प्याच–कट (patch cut) बनाई बोक्रा खुकुलो बनाउने र डालीबाट लिएको बोक्रा सहितको आँकुरालाई यसमा टम्म मिल्नेगरी टाँस्नु पर्छ । यसपछि प्लाष्टिक रिबनले आँकुरा देखाई कसेर बाँधिदिनु पर्छ । आँकुरा पलाएर बढेपछि बडिङ्ग गरेभन्दा बिजु बिरुवाको माथिको भाग काटेर हटाउनु पर्छ ।

hi

hi

ग्रफ्टिंग

उन्नत जातको जैतुनको एक बर्षे डाली  (Scion) त्यही साइजको बिजु बिरुवा (Scion) मा कलमी गरी जोडेर कलमी बिरुवा तयार गर्ने विधिलाई ग्रफ्टिंग भनिन्छ । ग्रफ्टिंग धेरै प्रकारका छन्, जैतुनमा साइड ग्रफ्टिंग (side grafting), बार्क ग्रफ्टिंग (bark grafting), टङ्ग ग्रफ्टिंग (tongue grafting) र क्लेफ्ट ग्रफ्टिंग (Cleft grafting) बढी प्रचलित छन् । सबै प्रकारका ग्रफ्टिंग माघ–फागुनमा गरिन्छ ।

hi

कटिंग

सप्रेको स्वस्थ माउबोटको बीच भागबाट ६–१२ महिना पुरानो पेन्सिल साइज (५ मि.मि.मोटाइ) को ४५–६० से.मि. लामो डाली (सायन) लिने, टुप्पातर्फको कमलो र फेदतर्फको छिप्पेको भाग हटाउने र बीच भागबाट १०–१५ से.मि. लामा टुक्रा (cuttings) बनाउने । कटिङ्गको माथिल्लो भाग छड्के काट्ने र तल्लो भाग ठीक आँख्लामुनि तेर्सो काट्ने । ठीक आँख्लामुनि नकाटे जरा निस्कदैनन् । कटिङ्गको माथिल्लो भागतर्फ १–२ जोर (२–४ वटा) पात राख्ने र तल्लो भागका अरु पात सिकेचरले काटेर हटाउने गर्नुपर्छ । अब ४००० पी.पी.एम. IBA Solution शक्तिको इण्डोल ब्युटारिक एसिडको झोलमा एक पटकमा २५ कटिंग लिने र कटिंगको फेंद तर्फको २ से.मि. भाग ५ सेकेण्डसम्म डुबाउने । त्यसपछि कटिंगलाई १५ मिनेटसम्म छहारीमा सुक्न दिनुपर्छ । एक कटिङ्गबाट अर्को कटिङ्गको दूरी पनि २ से.मि. दिएर फेद २ से.मि. गहिरो हुनेगरी सिधा गाडेर रोप्नु पर्छ । ब्याड मिडियाको पींधमा तातो बनाउने उपकरण जडान गरेको भए मिडियाको उचाइ १५ से.मि. र यो सुविधा नभए मेडियाको उचाइ ३० से.मि. राख्नुपर्छ र कटिङ्गको फेद पनि ५ से.मि. गहिरोगरी रोप्नुपर्छ । कटिंग रोप्ने काम वातानुकूलीत ग्रीनहाउस मा गर्नु उपयुक्त हुन्छ । यस्तो ग्रीनहाउस भित्र बिरुवालाई आवश्यक पर्ने तापक्रम, आद्र्रता, चिस्यान स्वतः प्राप्त हुने र घटि–बढी हुन नदिन स्वतः नियन्त्रण गर्ने प्रविधि अपनाइएको हुन्छ ।

कटिंगको फेद पानीमा भिजाई सेराडिक्स वा रुटेक्स पाउडरमा डोबेर ब्याडमा रोप्नु पर्छ । घरेलु सामान अङ्गारका मसिना टुक्रा, काठ चिरेको धुलो, गड्यौलामल, नरिबलको जटामल, ईटाका मसिना टुक्रा, खस्रो बालुवा आदि मिलाएर ३० से.मि. बाक्लो ब्याड बनाई कटिंग रोप्न सकिन्छ । कटिंग ब्याड वा काठको बाकसमा रोपेपछि कटिंगलाई सुक्न नदिन आवश्यकता हेरी झारीले सिंचाइ गर्दै रहनु पर्छ । ब्याडको माथि र चारैतिर जुट बोरा भिजाउदै झुण्ड्याउँदा कटिंगमा जरा निस्कन मद्दत पुग्छ ।

ठूलो पोलिब्यागमा बिरुवा सार्दा ध्यान दिनुपर्ने कुरा

३० भाग मल, ३० भाग बालुवामा ४० भाग जंगलको माथिल्लो भागको मलिलो माटो मिलाई नर्सरी माटो तयार गरिन्छ । एक क्युविक मिटर नर्सरी माटोमा ४ के.जी. डी.ए.पी. र ४ के.जी. पोटास मल राम्रोसंग मिसाउनु पर्छ । ठूलो ब्यागमा भर्नु भन्दा पहिले नर्सरी माटोलाई पानी छर्केर सित्याउनु पर्छ । एक तिहाई पोलिब्याग नर्सरी माटोले भर्ने, साना पोलिपट उल्टोपारी गोला सहित बिरुवा निकाल्ने, ठूलो पोलिब्यागको बीच भागमा पर्नेगरी गोला सार्ने र २.५ से.मि. पोलिब्यागको माथिल्लो भाग सिंचाइको पानी अड्याउन बाँकी राखी अरु चारैतिर खाली ठाउँ नर्सरी माटोले भर्नु पर्छ । बाहिर खुला ठाउँ वा शेड–नेट हाउसमा जमिन तयार गरी रोग–कीराको उपचारपछि ८ ब्यागको हार बनाई आवश्यकता अनुसारको लम्बाइमा बिरुवा राख्नु पर्छ । दुई आठ—लहर बिरुवाको बीचमा आधा मिटरको बाटो मल–जल दिन हिड्न राख्नु पर्छ । एक–एक महिनाको फरकमा बिरुवाको साइज अनुसार ०.३ ग्राम देखि ०.५ ग्राम नाइट्रोजन मल प्रत्येक बिरुवालाई दिनु पर्छ वा ०.२ प्रतिशतको नाईट्रोजन झोलमल पातमा छर्कने गर्नु पर्छ । झार उखेल्ने र रोग–कीरा नियन्त्रण गर्ने कार्य गरिनै रहनु पर्छ । बिरुवा सारेको ५ दिनसम्म दिनको एक पटक र त्यसपछि ३ दिनमा एक पटक सिंचाइ गर्नुपर्छ । बिरुवा ४५ से.मि. देखि १०० से.मि. उचाइ भएपछि बगैंचामा सार्नु पर्छ । वातानुकूलित ग्रीन हाउसमा कटिब्स वर्षको दुई पटक असोज (सेप्टेम्बर) र बैशाख (अप्रिल) मा राख्न सकिन्छ ।

माउबोट ब्लक स्थापना र व्यवस्थापन
  • माउबोट लगाउने जग्गा खनजोत गर्ने र सम्याउने ।
  • लाइन–लाइनको दूरी र बोट–बोटको दूरी २×२ मिटर वा २×३ मिटर वा २×४ मिटर राखी बगैंचा रेखांकन गर्ने र ६० से.मि. गहिरो र ६० से.मि. चौडा खाडल खन्ने । खाडलको माथिल्लो र तल्लो तहको माटो छुट्टा छुट्टै राख्ने ।
  • माथिल्लो तहको माटोमा ७ के.जी. सडेको कम्पोष्टमल, २०० ग्राम डी.ए.पी. र २०० ग्राम पोटास मल मिलाई मल माटोको मिश्रण तयार गर्ने । आवश्यक देखिए ५०० ग्राम कृषि चुन र ४० ग्राम मालाथियन धुलो मिसाउने । जग्गाको माथिल्लो भागको साविकको माटो खाडलको पींधमा, बीचमा मल–माटोको मिश्रण र फेरि साविकको माटो माथिल्लो भागमा जमिनको सतह भन्दा १५ से.मि. उचा हुने गरी खाडल पुर्ने ।
  • जात पहिचान भएको स्वस्थ जैतुनको ठीक साइजको बिरुवा खाडलको बीचमा रोप्ने र माटोमा रहेको हावा हटाउन बिरुवाको फेद वरिपरि गोडाले थिच्ने ।
  • हावाले लडाउन नसक्नेगरी एउटा दरो लट्ठी गाडेर बिरुवा बाँधि दिने ।
  • बिरुवा सारेपछि तुरुन्त पानी दिने, त्यसपछि १५ दिनको फरकमा माटोमा चिस्यान हेरी आबश्यकता अनुसार सिंचाइ गर्ने ।
  • झार देखिना साथ हातले उखेल्नु पर्छ । झारले बिरुवालाई दिएको मल–जल लिन्छ र रोग–कीरालाई आश्रय दिन्छ ।
  • वर्षमा ४–५ पटक (कार्तिक, फागुन, जेठ, साउन र असोज) माउबोट बगैंचामा १० से.मि. गहिरो हलुका खन्ने–खोस्रने गर्नुपर्छ ।
  • माउबोट बनाउन रोपेको बिरुवालाई दुई वर्षसम्म कुनै काटछाँट नगर्ने र तेस्रो वर्ष झाडी आकारको माउबोट बनाउन जमिनको सतहमा नै काट्ने । गर्मी चढेपछि प्रशस्तै मुना काटेको भागबाट निस्कन्छन् र बोटले झाडीको आकार लिन्छ । एकल काण्डको माउबोट बनाउन फेद नकाटी टुप्पा काट्ने र जमिनको सतहभन्दा केही माथि काण्डमा मुना (सायन) विकास गर्ने ।
  • हरेक वर्ष १००० बर्गमिटर (२ रोपनी) माउबोट बगैंचामा १ टन राम्रो पाकेको गोठेमल, २१ के.जी. युरिया, १५ के.जी. डी.ए.पी. र १५ के.जी. पोटासियम सल्फेट मल हालेर खनजोत गरी सिंचाइ गर्नु पर्छ ।
  • नाइट्रोजन र सूक्ष्म तत्वयुक्त झोलमल फागुन देखि जेठसम्म दुई पटक र भदौ देखि कार्तिकसम्म दुई पटक गरी पातमा छर्नु पर्छ ।
  • रोग–कीरा लाग्न नदिन बिषादी छर्दै गर्नु पर्छ ।
  • यसरी माउबोटको स्याहार–संभार गर्दा कार्बोहाइड्रेटयुक्त प्रशस्त हाँगा (Scion roots) निस्कन्छन् र यस्ता सायनमा छिटो र बढी जरा निस्कन्छन् ।
  • माउबोटबाट ज्यादै गर्मी र ज्यादै चिसो मौसममा बाहेक बर्षैभरी कलमी गर्न हाँगा (सायन) लिन सकिन्छ । कलमी गर्न उपयुक्त साइजका सायन हाँगा लिने र मसिना हाँगा अर्को पटक कलमीको लागि बढ्न दिनु पर्छ । कलमीको लागि काटिएका सायन हाँगा पानी छर्केर छहारीमा राख्नु पर्छ ।

जग्गा तयारी

जग्गा छनौट

बगैंचा लगाउनको लागि जग्गा छनौट गर्दा त्यस क्षेत्रको जलवायु र माटो जैतुन बालीको लागि उपयुक्त छकि छैन निश्चय गर्नुपर्छ । जग्गा उपयुक्त देखिए सिंचाइको सुविधा, सुरक्षा, सामग्री एवं श्रमिकहरुको उपलब्धता, यातायात ढुवानी साधन, तेल पेल्ने मिल र बजारको ब्यवस्था अध्ययन गर्नु आवश्यक हुन्छ किनभने जैतुन बालीको फल्ने क्षमता र त्यसबाट हुने आर्थिक फाइदा यिनै कुरामा निर्भर गर्छन । जैतुन अरु बालीको निमित्त अनुपयुक्त रुखो–सुक्खा जग्गा र बिषम परिस्थितिमा पनि फस्टाउन सक्ने क्षमता भएको बाली भएतापनि अनुकूल जलवायु, मलिलो र बलौटे खुकुलो ढु·यान माटो र बगैंचाको राम्रो प्रबन्धबाट यसको फल्ने क्षमता लामो अवधिसम्म बढ्दै जान्छ । जैतुनको लागि उपयुक्त जलवायु र माटोको बारेमा माथि नै बिस्तृत जानकारी दिइएको छ । बढी तुसारो पर्ने, निकै तेज बतास चल्ने, पानी जम्ने, धेरै असिना पर्ने, ज्यादै भिरालो जमिन र रोग ग्रस्त क्षेत्र जैतुन खेतीको लागि उपयुक्त हुँदैन । बार्षिक बर्षा १००० मि.मि. भन्दा तल खासगरी पाँच–सातसय मिलिमिटर बाह्रै महिनामा धेर–थोर बितरण भई पर्ने, सरदर सापेक्षिक आद्रता ६५ प्रतिशत भन्दा कम हुने, वर्ष दिनमा सूर्यको प्रकाश २००० घण्टा भन्दा बढी पर्ने, हिंउदमा तीन महिना चिसो (सरदर ७⁰ से. ५०० घण्टा भन्दा बढी) र नौ महिना न्यानो हुने पारिलो स्थान, माटोको पी.एच. ६.५ देखि ८ सम्म भएको खुकुलो बलौटे जमिन यसको खेतीको लागि उपयुक्त मानिन्छ । यस किसिमको हावापानी र माटो उत्तर–पश्चिम नेपालको १००० देखि २५०० मिटरसम्म उचाइ भएका पहाडी जिल्लामा पाइने यथार्थता परापूर्व कालदेखि ती जिल्लामा प्राकृतिक रुपमा हुर्कंदै फैलिंदै आएको जैतुनको जङ्गली जात लौंठोले जनाएको छ ।

जमिनको तयारी

बगैंचा लगाउने जमिन गहिरोसंग खनजोतगरी तयार गर्नुपर्छ । झाडी–बुट्यान भए जरैदेखि उखेली हटाउनु पर्छ । तल्लो सतहमा कडा माटो भए गहिरो एवं फराकिलो गरी खाडल खन्ने, ठूला ढुङ्गा भए फुटाउने र माटो सम्याउने गर्नुपर्छ । भिरालो जग्गामा गराहरु बनाउनु पर्छ । पानी जम्ने जग्गा भए गहिरो नाली बनाएर पानी निकासको ब्यवस्था मिलाउनु पर्छ । भिरालो जमिन भए स्वतः पानी निथ्रिएर जान्छ, नाली खन्नु पर्ने आवश्यकता पर्दैन । प्रत्येक बोटमा पानी दिन सकिने गरी सिंचाइ कुलो वा थोपा सिंचाइ वा फोहोरा सिंचाइ वा अन्य सिंचाइ ब्यवस्था मिलाउनु पर्छ ।

रेखांकन

बगैंचा लगाउँदा कुन–कुन ठाउँमा बिरुवा रोप्ने, बाटो सडक कहाँ–कहाँ राख्ने, सिंचाइ पोखरी कुलो कहाँ बनाउने, फार्म–घर स्टोर कहाँ निर्माण गर्ने, बार–बन्देज गेट आदिको समष्टि कार्य–योजना नै ।।।ले–आउट’ हो । योजनाबद्ध तरिकाले सीधा रेखामा बिरुवा लगाउँन रेखाको ठीक–ठीक दूरीमा चिन्ह लगाई कीला गाड्ने बैज्ञानिक विधिलाई रेखांकन भनिन्छ । जैतुन बिरुवा एक जीवित वस्तु भएकोले लगाउँदा सानो भएपनि आफ्नो प्रकृति अनुसार बढ्दै जान्छ । नजिक लगाएमा पछि एकआपसमा जोडिएर खुला हावा र प्रकाशको अभावमा फुल्ने र फल्ने क्रम रोकिन्छ । बोटका जराहरु खाद्य तत्वको लागि एक आपसमा प्रतिस्पर्धा गर्छन् । सीधा रेखामा ठीक दूरी दिएर बिरुवा लगाउँदा सबै बिरुवालाई बराबर क्षेत्र मिल्ने, जमिन खेर नजाने, सूर्यको प्रकाश एवं ताप सबै बिरुवाले पाउने, मल–जल तथा बाली संरक्षण, बोटको काटछाँट आदि कार्य गर्न सजिलो पर्छ र बगैंचा पनि आकर्षक देखिन्छ ।

जैतुन बालीलाई फुल्न फल्न धेरै सूर्यको प्रकाश आवश्यक पर्ने भएकोले रेखांकन गर्दा बोटको हार (row) उत्तर–दक्षिणतर्फ बनाउँदा बोटहरुले सूर्यको प्रकाश बढी पाउँछन् । जैतुनको फल सूर्यको प्रकाश पर्ने बोटको बाहिरी भागमा एक बर्षे डाली (one year old root) लाग्छ । छायाँ–छहारीले ढाकेको हाँगामा फल लाग्दैन, तसर्थ बोटले सूर्यको प्रकाश पछिसम्म पाउनेगरी बिरुवा लगाउनु पर्छ । सूर्यको प्रकाश बोटको भित्री भागसम्म पुर्याउन हरेक वर्ष फल टिपेपछि बोटको काटछाँट गर्नुपर्छ ।

रेखांकनका धेरै किसिम छन्, ती मध्ये बढी प्रचलनमा आएका निम्न प्रकार छन् —

वर्गाकार तथा आयताकार

रेखांकनको वर्गकार तरिकामा एक लाइन देखि अर्को लाइनको दूरी र एक बोट देखि अर्को बोटको दूरी बराबर राखिन्छ । यस तरिकाबाट रेखांकन गर्दा पहिले मूलबाटो बाट समानान्तर हुने गरी बोटको बीच राखिने दूरीको आधा दूरी (३ मिटर) जति जग्गा छोडेर आधार रेखा खिचिन्छ । त्यसमा ३, ४, ५ को सूत्र प्रयोग गरी ९० डिग्रीको कोण बनाई एक ठाडो रेखा तानिन्छ । दुबै रेखामा बिरुवाको लागि राख्नुपर्ने दूरी बराबरमा कीला गाडेर चिन्ह लगाइन्छ । अब ठाडो रेखाको पहिलो चिन्ह र आधार रेखाको पहिलो चिन्हबाट बिरुवाका लागि कायम गरिएको दूरी बराबरका दुईवटा डोरी लिएर तन्काउँदा दुई डोरीको छेउ जहाँ मिल्छन् त्यहाँ कीला गाडी चिन्ह लगाउनु पर्छ । यो चिन्ह दोस्रो लाइनको पहिलो चिन्ह हुन्छ । यसैगरी अरु चिन्ह र लाइनहरु पत्ता लगाउन सकिन्छ । यो तरिका प्रायः समथर जग्गामा रेखांकन गर्दा अपनाइन्छ । वर्गाकार तरिकामा बिरुवाको संख्या निकाल्न बोट–बोटको दूरीलाई, लाइन–लाइनको दूरीले गुणन गरी क्षेत्रफललाई भाग गर्दा बिरुवाको संख्या निस्कन्छ ।

बिरुवाको संख्या = क्षेत्रफल ÷ बोट बीचको दूरी *लाइन बीचको दूरी

बोट बोटको दूरी र लाइन लाइनको दूरी फरक राखी वर्गाकार जस्तै रेखांकन गर्ने तरिकालाई आयताकार तरिका भनिन्छ । यसमा पनि बर्गाकार तरिकाले बोट संख्या निकाले जस्तैगरी संख्या निकालिन्छ ।

क्विनकब्स तरिका

वर्गाकार तरिका अनुसार रेखांकन गरी लगाइएका चार बोटको बीचमा एक अस्थायी बिरुवा थपिन्छ । अस्थायी बिरुवा छोटो अवधिमै फल्ने हुनुपर्छ वा त्यही फलफूल भएपनि मुख्य बोट ठूला भएपछि बीचका अस्थायी बोटहरु हटाउनु पर्दछ । यसमा वर्गाकार तरिकामा भन्दा दुई तिहाइ बढी बिरुवा त्यति जमिनमा अट्दछन् ।

त्रिभुजाकार तथा षट्कोणाकार तरिका

यसमा पनि बर्गाकार तरिकामा गरेजस्तै गरी आधार रेखा खिचिन्छ । त्यसमा बिरुवा बीच दिइने दूरी कायम गरी चिन्ह लगाइन्छ । संगैका दुई चिन्हबाट त्यही दूरी बराबरका दुई डोरी तन्काउँदा ती दुई डोरीको छेउ जहाँ मिल्छ त्यहाँ एक कीला गाडिन्छ । एवंरीतले अरु चिन्ह (कीला) लगाउने काम बढाउँदै लगेपछि दोस्रो आधार रेखा तयार हुन्छ । यही क्रमले अन्य आधार रेखाहरु बनाउँदै जाँदा सम्पूर्ण क्षेत्रको रेखांकन हुन्छ । यसमा प्रत्येक तीन बोटले भित्रुज र एक बोट केन्द्रमा पारेर वरिपरिका छ बोटले षट्कोण बनाउँदछन् । षट्कोण तरिकामा सबै बोटको दूरी एक आपसमा बराबर हुन्छ तर त्रिभुजाकार तरिकामा बर्गाकारमा भन्दा विरुवा संख्या कम हुन्छ । षट्कोण तरिकाद्वारा रेखांकन गर्दा वर्गाकार तरिकामा भन्दा १५ प्रतिशत बढी बिरुवा त्यति जमिनमा अटाउन सकिन्छ ।

गह्रा/कान्ला तरिका

यो रेखांकनको तरिकामा एक लाइन देखि अर्को लाइनको दूरी बराबर राखिन्छ तर ठाडो लाइन भित्र एक बोट देखि अर्को बोटको दूरी फरक हुन सक्छ । पहाडको गह्रा–कान्ला भएको जग्गामा प्रायः यस तरिकाले रेखांकन गरिन्छ । यो तरिकामा सबभन्दा पुछार र सिरानको गरामा डोरी टाँगी आधार रेखा बनाइन्छ र लाइनको बीचमा पर्ने बोटहरुको लागि गह्रामा अनुकूल ठाउँ हेरी चिन्ह लगाइन्छ । माथिल्लो र तल्लो गह्रामा लगाइएका बिरुवाहरुको जरा क्षेत्र र हाँगा एक आपसमा नजोडिने भएको हुँदा एक बोट देखि अर्को बोटको बीचको दूरी कम राख्न सकिन्छ ।

कन्टुर तरिका

कन्टुर तरिकाले रेखांकन पहाडको बाङ्गोटिङ्गो परेको भिरालो जमिनमा गरिन्छ । यो किसिमको जमिनमा माटो बगेर जाने सम्भावना बढी हुन्छ र सिंचाइ गर्नु पनि अप्ठेरो पर्छ । कन्टुर तरिकाद्वारा रेखांकन गर्न ‘ए–फ्रेम’ प्रयोग गर्नुपर्छ । कन्टुर रेखाहरु पत्ता लागेपछि ती रेखाहरुको आधारमा कम्तीमा २ मिटर फराकिला गह्राहरु बनाउनु पर्छ र ठाडो लाइनमा बोटहरु सीधा लाइनमा देखिने गरी लगाउनु पर्छ ।

खाडल खन्ने कार्य

रेखांकन गरेपछि बिरुवा लगाउनु भन्दा एक महिना अगाडि नै सकभर १ मिटर गहिरो एवं १ मिटर चौडा खाडल खन्ने, माटो राम्रो भए पनि कम्तीमा ६० से.मि. (२ फिट) गहिरो र ६० से.मि. (२ फिट) चौडा खाडल खनी माथिल्लो तहको र तल्लो तहको माटो छुटृाछुटृै राख्नुपर्छ । माथिल्लो मलिलो माटोमा राम्रोसंग सडेको एक/दुई डोका गोबर वा प्राङ्गारिक मल (३० देखि ४० के.जी.) मिलाई खाडल पुर्नु पर्छ । खाडलको केन्द्रमा एउटा सानो कीला गाडी बिरुवा लगाउने चिनो राख्नु पर्छ । खाडल खन्दा र बिरुवा लगाउँदा ‘प्लान्टिब् बोर्ड’ को प्रयोग गरेमा लाइन सीधा बनाउन सकिन्छ ।

बिरुवाको छनौट तथा रोप्ने कार्य

जैतुनको बिरुवा ३–५ वर्षमा फल्न सुरु गर्छ र धेरै वर्षसम्म फल दिइरहन्छ तर बिरुवा लगाउँदा नराम्रो जात पर्यो भने लामो समयपछि हाम्रो लगानी, मेहनत र समय खेर गएको थाहा हुन्छ । यसर्थ बिरुवा लगाउँदा नै धेरै बिचार पु¥याउनु पर्छ ।

बिरुवाको छनौट

बिरुवा खरिद गर्दा बिश्वासिलो स्रोतबाट जातको ठेगान भएको स्वस्थ बिरुवा छान्नुपर्छ । बिरुवा माटोको गोला सहित वा पोलिब्यागमा राखेको हुनुपर्छ र कलमी (ग्राफ्टिंग) बिरुवा भए राम्रोसंग जोडिएको, रुटस्टकबाट मुना ननिस्केको हुनुपर्छ । यस्ता मुना बिरुवा लगाइ सकेपछि पनि निस्कने गर्छन् । यसर्थ यस्ता मुना देखिए बिरुवा लगाउँदा वा पछि पनि हटाउनु पर्छ । बिरुवा छनोट गर्दा सँगसँगै फुल्ने र फल्ने कम्तीमा ३–४ जात परागसेचन समेतको ख्याल गरी छान्नुपर्छ । बिरुवा तेल उत्पादन गर्न वा अचार बनाउन कुन उद्देश्यका लागि छान्न खोजिएको हो बिचार गरी छान्नु पर्छ । फल पाक्ने समय अगौटे, मध्य–मौसम वा पछौटे के हो मिलाएर लगाएमा लामो समयसम्म फल टिप्न पाइन्छ । बिरुवा सपे्रको प्रशस्त हाँगाहरु निस्केको हुनुपर्छ । बिरुवा लगाउने ठाउँ ज्यादा चिसो वा ठिक्क चिसो वा कम चिसो हावापानी हुने क्षेत्र कहाँ पर्छ, सोही हावापानी अनुसार जातको छनौट गर्नुपर्छ ।

 

बिरुवा रोप्ने समय

सिंचाइको सुविधा भएको ठाउँमा माघ–फागुन देखि साउन–भदौसम्म नै बिरुवा लगाउँन सकिन्छ तर सुक्खा क्षेत्रमा बर्षा सुरु भएपछि जेठ–असार महिनामा बिरुवा रोप्नु पर्छ ।

बिरुवा रोप्ने तरिका

खाडलको बीचमा चिनोको लागि गाडेको कीला हटाई बिरुवा सार्न प्वाकल बनाउनु पर्छ र जरा चारैतर्फ फैलने गरी बिरुवा सोझो पारेर बेलुकीको समयमा सार्नु पर्छ । बिरुवा सारिसकेपछि फेंद नजिकको चारैतिरको माटो थिचिदिनु पर्छ । प्लाष्टिक थैलोमा बिरुवा भए प्लाष्टिक हटाई बिरुवा सार्नु पर्छ । भाँचिएका र धेरै लामा जरा भए सिकेचरले काटेर हटाउनु पर्छ । माटोको गोला साह्रोभए खुकुलो बनाउनु पर्छ । कलमी गरेको भाग माटो भित्र पुर्नु हुँदैन । बिरुवाको नजिक बतास आउने दिशातर्फ बाँस वा बलियो काठको डेढ–दुई मिटर अग्लो टेका दिनुपर्छ र त्यसमा बिरुवाको काण्ड सोझो बनाई बाँध्नु पर्छ । धेरै मोटा काठ नपाए दुईवटा दह्रा लट्ठी बिरुवाको दुईतिर बिरुवा नहल्लिने गरी बाँध्नु जरुरी छ किनभने बिरुवा हावाले ढल्नु हुँदैन र सोझो काण्डमा हुर्कनु पर्छ । बिरुवा सारेपछि सिंचाइ गर्नुपर्छ । गत वर्ष विरुवा लगाएको बगैंचामा केही विरुवा मरेकोभए जात मिलाएर पुनः सार्नु पर्छ ।

परागसेचन गर्ने जातको व्यवस्था

जैतुनमा धेरै भाले अङ्ग मात्र भएका फूलहरु (Staminate flowers) हुन्छन् र भाले–पोथी दुवै अङ्ग भएका पूर्ण फूलहरु (Complete flowers) ज्यादै थोरै हुन्छन् । जैतुन मुख्यतया पर–परागसेचित बाली हो र परागसेचन क्रिया हावाको माध्यमबाट हुन्छ । स्वयं सेचित जातहरु कमै हुन्छन् । एउटै फूलमा वा बोटमा दुवै भाले पोथी फूलहरु भएपनि पराग–थैलोबाट पराग–धुलो निस्कने समय र पोथी अङ्ग परागकण लिन तयार (Receptive) नभै सकेको अवस्थामा परागसेचन हुन पाउँदैन र फल लाग्दैन । यस्तो परिस्थितिमा पोथी–अङ्ग पराग लिन तयार हुँदा अरु बोटको पराग–कण त्यस समयमा लिएर गर्भधारण क्रिया हुन पाउँछ र फल लाग्छ । यसर्थ जैतुन बगैंचा लगाउँदा सकभर स्वयं सेचित जातहरु लगाउने, बिभिन्न दृष्टिकोणले उद्देश्य अनुरुप असल ठहरिएका संगै फुल्ने र एक आपसमा परागसेचन गर्ने चार–पाँच जातहरु मिलाएर लगाउँदा धेरै फल बोटमा लाग्छ । कुनै कुनै जातहरु जस्तै पेन्डोलिनो, फ्रान्टोयो, एस्कोलाना, सेभिलानो आदि जातहरु लामो समयसम्म फुलिरहने र पराग–कण पनि धेरै उत्पादन गर्ने भएकोले जैतुन बगैंचा भित्र परागसेचन कर्ता (Pollinizers) को रुपमा लगाइन्छन् । धेरै जातहरु मिलाएर लगाएमा परागसेचनको समस्या आउँदैन । एक परागसेचन गर्ने जातले चारैतिर ३० मिटरको दूरीसम्म अरु जातलाई परागसेचन गर्न सक्छ । परागसेचन गर्ने बोट बगैंचामा १० देखि २५ प्रतिशतसम्म हुनु लाभदायक हुन्छ । बगैंचा भित्र माहुरी पालन गर्दा परागसेचन क्रियामा पनि सहयोग पुग्दछ ।

बोटको दूरी

जैतुन बगैंचा लगाउन बोटहरु बीचको दूरी रेखांकनको तरिका, बोटको तालिम एवं काटछाँट, हावापानी एवं माटो, जैतुनको जात, सिंचाइको सुविधा भएको वा नभएको आदि कुरामा घटी–बढी हुन्छ । काटछाँट नगरिने सुक्खा क्षेत्रमा लगाइएका पुराना बगैंचामा १० देखि १२ मिटर र अझ मरुभूमि क्षेत्रमा त २४ मिटरसम्मको फरकमा जैतुन लगाएको देखिन्छ । हिजोआज बोटको तालिम र बार्षिक गरिने काटछाँटका कारण ६×६ मिटर वा ५×६ मिटरको दूरीमा जैतुन लगाउने गरिन्छ, जस अनुसार एक हेक्टर (२० रोपनी) जमिनमा लगभग ३०० बोट र एक रोपनीमा १५ बोट अटाउँछन् । जैतुन खेती गर्ने स्पेन, इटली जस्ता देशहरुमा बोटहरुको दूरी २×५ मिटर राखेर सघन बगैंचा (High density orchard) लगाउने चलन पनि आएको छ । सघन बगैंचा लगाउँदा खर्च बढी लाग्ने भएपनि बोटहरुले चाँडै जमिन ढाक्ने, बोट सानै राखी चाँडै फलाउने गर्दा उत्पादनमा बृद्धि भई बढी फाइदा हुने गर्छ ।

बाली व्यवस्थापन तथा हेरचाह

मलखाद

पोषक तत्व

पोषक तत्व पोषक तत्वको काम पोषक तत्वको कमीको असर
नाइट्रोजन बिरुवाको वृद्धि र पातमा हरियोपन ल्याउँछ । फूलको कोपिला बन्न र फल
लाग्नमा मद्दत पुर्याउँदछ ।
पुराना पात पहेंलिन्छन, जरा र बोटको वृद्धि रोकिन्छ,उब्जनी कम हुन्छ ।
फस्फोरस जरा फैलन र बीउ बन्न मद्दत गर्छ । फूल फुलाउन र चाँडै फल पकाउन मद्दत गर्छ । जरा र काण्डको वृद्धि रोकिन्छ, पुराना पातमा पहेंला थोप्ला एवं धब्बा देखिन्छ ।
पोटास कार्बोहाइड्रेट बनाउन विभिन्न भागमा खाना पठाउन,गुणस्तरमा सुधार ल्याउन र रोगकीराबाट बचाउन मद्दत गर्छ । पातको टुप्पा,किनारा झुल्सिएको वा डढेको देखिन्छ ।
क्यालसियम पात र जराको विकासमा सहयोग पुर्याउँछ, माटोको अम्लिय घटाँउछ र लाभदायी जीवाणु बढाँउछ । जरा कालो भई टुप्पा मर्छ, मुनाहरु मर्छन्, पातहरु झुल्सिएका र पहेंलिएका देखिन्छन्।
म्याग्नेसियम हरितकण र चिल्लो पदार्थ बनाउन, कार्बोहाइड्रेट पातबाट अरु भागमा पठाउन मद्दत गर्छ । पुराना पातहरु पहेंलो - रातो हुने तर नसाहरु हरियो नै रहने गर्छ, सहायक नसा बीचको भाग पहेंलिन्छ ।
सल्फर प्रोटिन, भिटामिन र हरितकण बनाउन महत्वपूर्ण भूमिका खेल्छ । कलिला पातहरु पहेंलिन्छन्, वोट फिका हरियो हुन्छ । फलको बोक्रा बाक्लो हुन्छ ।
जिंक अक्सिजन ओसार्न र हरितकण बनाउन मद्दत गर्छ । कलिलो पातको नशा बीचको भाग गाढा पहेंलो वा सेतो हुन्छ ।
म्याङ्गानिज वीउ उमार्न र फल परिपक्व बनाउन मद्दत गर्छ । पुराना पातको नशा बीचको भाग पहेंलिन्छ ।
तावाँ भिटामिन ए र पातमा हरितकण बनाउन मद्दत गर्छ । बोट र फलमा गुँद देखिन्छ । फलको बोक्रा फाट्छ ।
बोरन फूल फल लाग्न सहयोग पुर्याउँछ । बोटको बृद्धि रोकिन्छ, फल सानो हुने र फल फुट्ने गर्छ ।
मोलिब्डेनम पात बन्नमा र बोटको बृद्धिमा मद्दत गर्छ । पात साँगुरिने र पुराना पातको नसा बीच भाग पहेंलिन्छ ।

56XCCCS

मलखाद

जैतुन जस्तो ठूला बोट हुने फलफूलले अरु बालीको दाँजोमा धेरै मात्रामा पोषक तत्वहरु माटोबाट लिन्छन् । तसर्थ माटोको संतुलन कायम राख्न उपयुक्त समयमा यी तत्वहरुको परिपूर्ति गर्दैरहनु पर्छ । जनावरको मलमूत्र, कम्पोष्ट, पिना, हाडको धूलो, खरानी, हरियो मल, एजोला आदिलाई प्राङ्गारिक मल भनिन्छ । प्राङ्गारिक (अर्गानिक) खेती गर्न प्राङ्गारिक मल बिषादी प्रयोग गर्नुपर्छ, रासायनिक मल बिषादी प्रयोग गर्नु हुँदैन । जैतुन बोटको बृद्धिको अवस्थामा नाइट्रोजन र फस्फोरस मलको बढी आवश्यकता पर्छ भने फल फल्न थालेपछि बढी मात्रामा क्रमशः क्याल्सियम, पोटासियम, नाइट्रोजन अनि फस्फोरसको जरुरत पर्दछ । फूल फुल्नु भन्दा २–३ हप्ता अगाडि बोरन धुलो अलग्गै वा सल्फर धुलोसंग मिसाएर बोटमा छर्दा फूलको संख्या बढ्छ। माटोको पी.एच. ६.५ देखि ८ सम्म हुनु जैतुन बालीको लागि राम्रो मानिन्छ ।

मुख्य पोषक तत्वको मात्रा र दिने समय

मल दिने महिना प्रति बोट मलको मात्रा नाइट्रोजन अति आवश्यक पर्ने अवस्था र समय
नफलेको बोट
(२–४ वर्ष)
फलेको बोट
(५ वर्ष देखि)
मंसिर–पुष (Dec-Jan)

१००–३०० ग्राम नाइट्रोजन

५०–१०० ग्राम फस्फोरस

१००–२०० ग्राम पोटासियम

३००–५०० ग्राम नाइट्रोजन

१००–२५० ग्राम फस्फोरस

२००–४०० ग्राम पोटासियम

फूलको कोपिला र वानस्पतिक आँकुरा छुटिृने समय (March)
जेठ–असार (Spring time) ५०–१०० ग्राम नाईट्रोजन

१००–२०० ग्राम नाईट्रोजन

(फूल फुलिसकेपछि)

फल लागेपछि (June)
भदौ–असोज (Autumn time) ५०–१०० ग्राम नाईट्रोजन १००–२०० ग्राम नाईट्रोजन फलमा बीउ कडा हुन थालेपछि (August)

 

मलखाद दिने तरिका

जैतुन बोटको हाँगाको टुप्पा जहाँसम्म पुगेको छ ठीक त्यसको मुनि १०–१५ से.मि. गहिरो औंठी आकारको कुलेसो बनाई मलखाद हाल्नु पर्छ र माटोले पुरिदिनु पर्छ । यो तरिका प्रायः साना बोटमा क्यालसियमको अभाव जिंकको अभावमा अपनाइन्छ । मलखाद दिएपछि माटोमा चिस्यान नभए सिंचाइ गर्नुपर्छ । सिंचाइको ब्यवस्था नभए बजारमा पाईने एन.पी.के.मल ०.२ प्रतिशतको झोल मल बोटको पातमा स्पे्रयरले छर्कनु पर्छ, झोलमल पातमा छर्दा फूल र फल बढी लाग्ने गरेको पाइएको छ । मझौलाखाले बोटमा फेदको वरिपरि केही जमिन छोडेर बोटको टुप्पा जहाँसम्म पुगेको छ ठीक त्यसको मुनिसम्मको केही जरा देखिने गरी माथिल्लो भागको माटो हटाई मलखाद दिएपछि पुनः पुरिदिनु पर्छ । मलखाद दिने यो तरिकालाई वेसिन  तरिका भनिन्छ । ठूलाबोट भएका बगैंचामा फेदको वरिपरि एक–डेढ मिटर ठाउँ छाडेर बोटहरुको बीचको जमिनमा मलखाद छरेर खनजोत गर्नुपर्छ किनभने ठूला बोटका मलपानी लिने मसिना जरा फेदभन्दा टाढा पुगेका हुन्छन् र फेद वरिपरिका मोटा जराले मलखाद लिन सक्दैनन् ।

कम्पोष्ट मल ५ देखि १० टन प्रति हेक्टर (२० रोपनी) का दरले प्रति वर्षमा दिनु आवश्यक हुन्छ । बगैंचा भित्र हरियो मलका लागि भटमास वा अन्य कोसे बाली लगाएर खनजोत गरी पुरिदिंदा माटोको उर्वरा शक्ति बढ्छ । बोटमा बोरन तथा गन्धक तत्वको कमी देखिएमा बोरन एवं गन्धकको धुलो बरावर मात्रामा मिलाई फूल फुल्नु भन्दा २–३ हप्ता अगाडि बोटमा छर्दा बढी फूल र फल लाग्छ । बोरन तत्वको कमी हटाउन २००–४०० ग्राम सुहाग (बोरेक्स) प्रतिबोट माटोमा दिन वा पातमा स्पे्रयरले बोरन झोल छर्न पनि सकिन्छ । यसैगरी अन्य सूक्ष्मतत्वयुक्त मल जस्तै एग्रोमिन, मल्टिप्लेक्स आदि भिटामिन मल वा नाइट्रोजन, फस्फोरस एवं पोटासियमयुक्त मुख्य झोल मल पनि सिंचाइको सुविधा नभएको बगैंचामा बोटको पालुवा आएको नयाँ पातमा स्पे्रयरले छर्न सकिन्छ ।

अर्को मलखाद दिने तरिका अनुसार बोटको हाँगाहरु जहाँसम्म फैलिएका छन् तिनको ठीक टुप्पामुनी २० से.मि. चौडा, २० से.मि. गहिरो र ५०—१०० से.मि. लम्बाईको कम्पोष्ट बाकस बनाई त्यसमा मलखाद राखेर माटोले पुरिदिनु पर्छ । पहिलो वर्ष एक दिशामा दिने, दोस्रो वर्ष दोस्रो दिशामा गर्दै चौथो वर्षमा चौथो दिशामा गरी पालै पालो मलखाद दिन सकिन्छ । यसले समयको बचत भई मल दिन कम खर्च लाग्ने, कम मल भए पनि पुग्ने र माटोको भौतिक बनोट पनि सुध्रने गर्छ ।

प्राङ्गारिक जैतुन खेती गर्दा रसायनिक मल बिषादी प्रयोग गर्नु हुँदैन, प्राङ्गारिक स्रोतबाट तयार गरिएको मल विषादी मात्र प्रयोग गर्नु पर्छ । अर्गानिक फल वा तेल उत्पादन गर्न यसका नियमहरु खेती गर्दा देखि नै पालना गर्नु पर्छ र परीक्षण गरी अर्गानिक हो भनी प्रमाणित गर्नु गराउनुपर्छ । यसरी अर्गानिक भनेर सम्बन्धित संस्थानले प्रमाणित गरेपछि मात्र व्यापारीहरुले बढी मूल्य दिएर खरिद गर्छन ।

जैतुन बगैंचा व्यवस्थापन

बगैंचामा जैतुन बिरुवा रोपिसके पछि त्यसलाई बलियो र स्वस्थ राख्न बिरुवाको फेद वरिपरि झार देखिए हातले उखेलेर हटाउनु पर्छ र माटोमा हलुका चिस्यान राख्न आवश्यकता हेरी सिंचाइ गर्नुपर्छ । माटोमा चिस्यान राख्न र झार आउन नदिन फेद वरिपरि खर–परालले छापो (मल्चिङ्ग) दिनुपर्छ । खाडलको माटो बसेर खाल्टो परेमा बोट वरिपरि पानी जम्न नदिन माटोले पुरि दिनुपर्छ । रोग–कीरा देखिएमा तुरुन्त नियन्त्रण गर्नुपर्छ ।

 

 

अन्तरबाली

नयाँ बगैंचामा बिरुवा ठूला नभएसम्म अन्तरबाली लगाई अतिरिक्त आम्दानी लिन सकिन्छ तर ती बालीलाई छुट्टै मलजलको ब्यवस्था गर्नुपर्छ । अन्तरबाली जैतुन बिरुवाको वरपर केही जमिन छाडेर बीच भागमा लगाउनु पर्छ । अन्तर बालीको रुपमा जडीबुटी, तरकारी बाली, अन्न बाली, अब्गुर आदि लगाउन सकिन्छ ।

गोडमेल

जैतुन बोटको वरिपरि हाँगाको टुप्पा मुनिसम्म झारपात हटाएर सधैं सफा राख्नु पर्छ । असोज–कार्तिकमा फल टिपेपछि केही बढी गहिरो र फाुगन, जेठ एवं भदौमा हलुका (५ देखि १५ से.मि. गहिरो) खनजोत गर्नुपर्छ । बोट साना छँदा अन्तरबाली लगाएर र बोट ठूला भएपछि खनजोत गरेर बगैंचा सफा राख्नु पर्छ ।

सिंचाइ

माटोमा बढी चिस्यान हुनु वा पानी जम्नु जैतुन बोटको लागि हानिकारक हुन्छ । सिंचाइ गर्ने पानीमा बढी नाइट्रोजन भए वनस्पतिको बृद्धि बढी हुन्छ र फूल–फल लाग्नमा कमी आउँछ । सिंचाइको पानी वा माटोमा बढी नुन (sodium) भए पानी माटोभित्र छिर्न समस्या उत्पन्न हुन्छ । माटो भित्र छिर्ने पानीको बेग ८०–१५० मि.मि. प्रति घण्टा हुनु पर्छ । यसर्थ जैतुन खेतीको जमिन छनौट गर्दा माटोको साथै सिंचाइ गर्ने पानीको पनि परीक्षण गर्नु पर्छ । जैतुन सुक्खा क्षेत्रमा हुने भए पनि यसका संवेदनशील अवस्थामा फूलका कोपिला निस्कदा, फूल फक्रिनु पहिले, फलका दाना लागेपछि, फल भित्र कोया छिप्पिदा र फल परिपक्व भएर रङ्ग परिवर्तन हुँदा सिंचाइको जरुरत पर्दछ ।

  • जैतुन बोटलाई सिंचाइको बढी जरुरत पर्दैन तापनि यसलाई अति आवश्यक पर्ने अवस्थामा सिंचाइ गर्नै पर्ने हुन्छ, अन्यथा फूल्न, फल्न र फल उत्पादनमा कमी आउँछ । पानीको अति आवश्यक पर्ने अवस्था फूल फुल्नु भन्दा दुई–तीन हप्ता अगाडि (March-April)
  • फल लागेपछि तुरुन्तै (May-June)
  • जब फलमा बीउ  छिप्पिन थाल्छ (July-August)
  • जब फल पूर्णरुपमा बिकास हुन्छ र बोक्राको रङ्गमा परिवर्तन आउँछ (August-September)
  • जब बोटले बिहानको समयमा मुना ओइलाएर पानीको कमी भएको संकेत दिन्छ ।

सिंचाइका प्रकार

(क) सतह वा धरातलीय सिंचाइ 

कुलो कुलेसो वा पाइपद्वारा मुख्य स्रोतबाट पानी ल्याई बगैंचामा छोडिन्छ । बोट बिरुवालाई पानी दिने यो तरिका सजिलो भए पनि कतै पानी नचढ्ने र कतै आवश्यक मात्राभन्दा बढी पानी जम्ने हुनाले बगैंचाकोलागि त्यति उपयोगी तरिका होइन ।

क्यारी तरिका  :प्लट वा क्यारी तरिकामा कुलोबाट ल्याएको पानी बगैंचामा बनाइएका क्यारीमा लगाई सिंचाइ गरिन्छ । एक प्लट भरिए पछि अर्को प्लटमा लगाइन्छ । यसमा पानीको सदुपयोग हुनेभए पनि क्यारी बनाउनु खर्चिलो र फेदका बोक्रा बढी पानीको सम्पर्कले कुहिने डर हुन्छ । माटोमा चिस्यान बढी भए जरा कुहिन्छन् ।

बेसिन तरिका  : बगैंचामा सिंचाइ गर्न बेसिन तरिका राम्रो मानिन्छ । यसमा फेदको वरिपरि जमिनको सतह भन्दा केही उँचा हुने गरी डिल लगाईन्छ र त्यसैगरी जहाँसम्म हाँगा फैलिएका छन् ठीक त्यसको मुनि पनि डिल बनाइन्छ । दुई डिल बीचको खाली ठाउँ बेसिनमा पानी लगाई सिंचाइ गरिन्छ ।

C

रिंग तरिका  : बेसिनमा भएका अवगुणहरु हटाई सुधारिएको सिंचाइको विधि रिब तरिका हो । यसमा फेदबाट ६० से.मि. देखि ७५ से.मि.सम्मको दूरीमा माटो उठाई अग्लो पारिन्छ । यसै गरी हाँगाको ठीक टुप्पा मुनि अर्को डिल बनाइन्छ । यही बोटको बीच भागमा सिंचाइ गरिन्छ, फेद नजिकैको माटोलाई सुक्खा राखिन्छ । बोटको पंक्तिहरुको समानान्तर हुनेगरी बीचमा कुलो बनाइन्छ । यस कुलोलाई मुख्य कुलोसंग जोडी पानी छोडिन्छ र कुलोको दायाँबायाँका बोटहरुमा कुलेसोले जोडी सिंचाइ गरिन्छ ।

J

थोपा सिंचाइ

जमिनमुनी कडा चटृान वा कडा सतह वा बलौटे माटो भएको जमिनमा छिद्रयुक्त पाइपहरु ओछ्याई पाइपमा पानी छोडिन्छ । पाइपको छिद्रहरुबाट रसाएर वा थोपा–थोपा गरी चुहिएर निस्कोको पानी बिरुवाको जराले पाउँछ । यी छिद्रयुक्त पाइपहरु जमिनको सतहमा राखिएको वा सतहमुनि गाडिएको मुख्य पाइपमा जोडी प्रेसर दिएर पानी संचालन गरिन्छ । यो तरिका पानी अत्यन्त कमी भएको ठाउँमा पंक्तिमा रोपिएका जैतुन जस्तै धेरै महत्वका बालीहरुमा अपनाइन्छ ।

C

फोहरा सिंचाइ

यसमा पाइपहरु बिछ्याई पानीको पे्रसर नोजलमा दिएर वर्षा भए जस्तै फोहराको रुपमा माटोको सतह एवं बाली भिजाइन्छ । यो तरिकाबाट प्रायः सबै बालीलाई सिंचाई गर्न सकिन्छ तर प्रारम्भिक खर्च निकै धेरै लाग्छ ।

 

तालिम
  • बोटको तालिम काटछाँट भनेको नै बोटको बनौट काटछाँट हो ।
  • काण्डमा निस्केका प्रत्येक मुनाहरुको अध्ययन गरी उपयोगी मुनाहरुलाई मुख्य हाँगाको रुपमा विकास गर्ने र अनुपयोगी कलिला मुनाहरुलाई चिमोटेर, काटेर हटाउने ।
  • बोटको चारैतिर सन्तुलन हुनेगरी हाँगा एबं डालीहरु विकास गर्ने ।
  • बोटको मुख्य हाँगाको लागि अनुपयोगी तर सपे्रका डालीहरु नुगाएर बाँधेर राख्ने र पछि हिंउदमा हटाउने । नुगाएर राखेका हाँगाहरुले मूल काण्डलाई सूर्यको प्रचण्ड तेजबाट बचाउँछन् र जल्न दिंदैनन् । नुगाउँन नमिन्ने हाँगाहरु काटेर भएपनि हटाउने ।
  • मुख्य हाँगाहरुको रुपमा विकास गरिने हाँगाहरुको दूरी कम्तीमा १०–१५ सेन्टिमिटर फरक हुनेगरी चारै तिर हाँगाहरु फैलिने गरी राख्ने । हाँगाहरु बीचमा उपयुक्त दूरी कायम राख्दा बोटको भित्री भागमा सूर्यको प्रकाश पार्न र हावा संचालित हुन सहयोग पुग्छ ।
  • हाँगाहरु एकै ठाउँबाट विकास गरिए तिनको बीचमा खाल्टो बन्नगई पानी जम्न सक्ने ठाउँ बन्छ र हाँगाहरु सड्न थाल्छन् ।
  • जब बोटको उचाइ १.२ देखि १.३ मिटर पुग्छ र काण्डमा डालीहरु निस्कन्छन्, तब मूलकाण्डको फे दबाट ८० से.मि. उचाइमा काण्डको टुप्पा काट्ने ।
  • नर्सरीमा नै उपयुक्त स्थानमा केही हाँगाहरु राखेर बिरुवा हुर्काएमा पछि बोटको मुख्य हाँगाहरु तयार गर्न सजिलो पर्छ ।

झाडी आकृति

प्राकृतिक स्वभाव अनुसार जैतुन झाडीको आकारमा विकसित हुने बाली हो । यस आकारमा बोटको विकास गर्न शुरुका वर्षहरुमा काटछाँट नगर्ने र पछि भित्रपटिृका मसिना एक आपसमा खप्टिएका हाँगा एवं पानीसरा मात्र हटाउने गरिन्छ । झाडीका आकारमा तयार गरिएका बोटबाट फल टिप्न सजिलो हुने, चाँडै फल्ने र केही वर्षसम्म बढी उत्पादन दिने पनि हुन्छ तर आठ दश वर्षपछि तल्लो सतहमा हाँगाहरु खप्टिने, नयाँ मुना नपलाउने, तलका हाँगा सुक्ने र रोग कीराको प्रकोप बढ्ने गर्दछ । उत्पादन खर्च बढ्छ तथा फल उत्पादन घट्छ । यस आकारमा बिरुवाको तालिम गर्न होचा जात लगाउने, बिरुवा घना नरोप्ने, मूल हाँगाहरुको टुप्पा एवं घना हाँगा काट्ने र उपयुक्त वातावरण मिलाउने गर्नु पर्दछ ।

खुला वा परिवर्तित केन्द्र आकृति

खुला केन्द्र आकृतिमा बोटको विकास गर्न जमिनको सतहबाट ८० देखि १०० से.मि.को उचाइमा १०–१५ से.मि. को फरकमा बिभिन्न दिशातर्फ फर्केका ३–४ मुख्य हाँगा राखिन्छ र काण्डको टुप्पा काटी केन्द्र खुला बनाइन्छ । यस तरिकाबाट बोटको तालिम गर्ने उद्देश्य बोटको सबै भागमा सूर्यको प्रकाश र हावा पुगोस भन्ने हो । बिरुवा राम्रोसंग सपे्रको भए सार्ने बेलामा नै तीन–चार हाँगा छानेर मुख्य हाँगाको रुपमा विकसित गर्न सकिन्छ । बिरुवा सारिसकेपछि तीनवटा बाँसका कप्टेरालाई १२०⁰ कोणको फरकमा ४५⁰

कोणको झुकाव दिई बोट नजिक गाडिन्छ । मुख्य हाँगाको रुपमा विकसित गर्न खोजिएका हाँगालाई बाँसका यी कप्टेरासंगै बाँधिन्छ र ३०⁰–४५⁰ कोणमा बढ्न लगाइन्छ । यदि बाँसको कप्टेरामा हाँगा विकास गर्न बाँस नपाए वा झन्झट् लागे प्राकृतिक रुपमा नै भएपनि यसै अनुरुपको बोट बनाउन कोशिस गर्नुपर्छ । यो आकृतिमा तयार गरेको बोट फल्न केही ढिला हुने भएपनि पछि हातले दुहेर वा कागिंयोको सहायताले फल टिप्न सजिलो पर्छ ।

होचो खुला केन्द्र आकृति

यो आकृति पनि खुला केन्द्र ९ख्बकभ० आकृति नै हो । फरक यति मात्र होकि यसको मूलकाण्ड छोटो हुन्छ र हाँगाहरु तल्लो तहमा नै विकसित गरिएका हुन्छन् । बिरुवा लगाउने समयमा नै वा पछि यसको काण्ड ३० से.मि. देखि ५० से.मि.को उचाईमा काटिन्छ र काटिएको भाग नजिकबाट पल्हाएका चारै दिशातर्फ फर्केका ३–४ हाँगालाई बढ्न दिइन्छ । यो झाडी आकृति र खुला केन्द्र आकृतिको बीचको रुप हो र यसमा पनि केही मात्रामा झाडी आकृतिमा हुने समस्या देखा पर्छन् र केही मात्रामा खुला केन्द्र आकृतिका फाइदा समावेश हुन्छन् । बोट होचो हुने र फल टिप्न सजिलो पर्ने कुरा यसका फाइदा हुन् ।

एकधुरा आकृति

यो आकृति बनाउन मूलकाण्डलाई बिना अवरोध बढ्न दिइन्छ र काण्डमा निस्केका हाँगाहरुलाई छोटो बनाई फल लाग्ने प्रशाखाहरुको विकास गरिन्छ । यो किसिमको बोटको आकृतिमा घना बिरुवा लगाउन र मेशिनद्वारा बोट हल्लाएर फल झार्न उपयुक्त हुन्छ । बोटको फेदको ६० से.मि. देखि ८० से.मि.सम्म कुनै हाँगाविंगा राखिदैन जसले गर्दा बोट हल्लाउने मेशिन (tree shaker) चलाउन सजिलो पर्छ । बोटमा तल्लो तहका हाँगा केही लामा र टुप्पातर्फ क्रमशः हाँगाको लम्बाई घटाउदै लगिन्छ । बोटको आकार देवदार रुखको जस्तै देखिन्छ । जैतुनको फेदतर्फका हाँगा लामा हुने र माथितर्फका हाँगाहरु देवदारको जस्तै क्रमशः छोटो हुदै जाने स्वभाव वा बानीलाई ‘बासिटोनी’ बानी भनिन्छ । यसमा फल लाग्ने डालीहरु काण्डको नजिक हुनेहुँदा मेशिनले बोट हल्लाएर फल झार्न सजिलो पर्छ । यो आकृतिको बोट पूर्णरुपमा विकसित भएपछि गोलो रुख देखिन्छ ।

एकधुरा आकृतिका बेफाइदाहरु:

  • तल हाँगा झुक्ने र हाँगा फैलिने स्वभाव भएका जैतुनका जातमा यो तरिकाले बोटको तालिम गर्न सकिंदैन, केवल सीधा माथि हाँगा जाने जातमा मात्र यस किसिमले बोटलाई तालिम दिइन्छ ।
  • यो आकृतिको बोट बनाउन अनुभवी र दक्ष ब्यक्तिको निरन्तर प्रयासले मात्र सम्भव हुन्छ ।
  • बोटलाई निकै लामो टेका र तारको आवश्यकता पर्छ ।
  • बोट धेरै अग्लो हुने भएकोले अन्य क्रियाकलाप गर्न अप्ठेरो पर्छ ।
  • बोटका हाँगाहरु एक–आपसमा खप्टिने सम्भावना रहन्छ ।

बार पर्खाल आकृति

यसमा मेशिनको सहायताले फल टिप्न र काटछाँट गर्न सजिलो हुने गरी बोट–बोट बीचको दूरी कम र लाइन–लाइनको दूरी मे शिन चलाउन मिल्ने गरी बढी राखी बिरुवा लगाइन्छ र बार जस्तो देखिने गरी बोटलाई तालिम दिइन्छ ।

काटछाँट

कलिलो मुना काटछाँट

  • कलिलो मुना काटछाँट बिरुवाको बढ्ने मौसम बर्षायाममा तलका उद्देश्य प्राप्तिकालागि गरिन्छ: वानस्पतिक क्रियाकलाप नियन्त्रणमा राख्न ।
  • बोटको आकार निर्माणको निम्ति वानस्पतिक वृद्धि ठीक ठाउँमा ठीक तरिकाले गराउन ।
  • फलहरुमा प्रकाश पार्न ।
  • हिउँदमा गरिने काटछाँट घटाउन ।
  • अनावश्यक मुनाले लिने खाद्य–तत्व वानस्पतिक एवं फल उत्पादन कार्यमा उपलब्ध गराउन ।

हलुका काँटछाँट

यसमा केही हाँगाहरु मात्र हटाइन्छ । हुर्कंदै गरेको बोटमा धेरै पातहरु रहुन् र पातहरुले अधिकतम पोषकतत्व बनाएर बोटको वानस्पतिक एवं जराहरुको वृद्धि गरुन् र बढी उत्पादन होस् भन्ने सोच यसमा रहेको हुन्छ । हलुका काटछाँटमा १७ प्रतिशत भन्दा कम हाँगाबिंगा हटाइन्छ ।

मध्यम काँटछाँट

यसमा वानस्पतिक भाग र फल उत्पादनमा संतुलन हुनेगरी पर्याप्त मात्रा (२५–३३ प्रतिशतसम्म) मा काटछाँट गरिन्छ । यो किसिमको काटछाँट फल लाग्ने गरेको तर बाक्ला झिनामसिना अनुत्पादक डालीहरु हटाउन र सूर्यको प्रकाश बोटको भित्री भागसम्म पु¥याई अर्को वर्ष फल लाग्ने डालीहरु विकास गर्नको लागि गरिन्छ ।

गहन काँटछाँट

यसमा धेरै हाँगाहरु काटछाँट गरिन्छ र नयाँ मुनाहरु निकाल्न प्रयत्न गरिन्छ । यो काटछाँट वानस्पतिक बृद्धि र फल उत्पादन कम हुँदै गएको बोटमा गरिन्छ । पुराना बोटलाई पुनर्जीवन दिन नयाँ मुना निकालेर हाँगाहरुको विकास गर्नु यसको उद्देश्य रहन्छ । यसमा ५० प्रतिशतसम्म काटछाँट गरिन्छ ।

कुन कुन डालीहरु हटाउनु पर्छ ?

  • गत वर्ष फलिसकेका अनावश्यक डालीहरु हटाउने ।
  • यस वर्ष फल्ने डालीहरु मध्येबाट पनि ठीक–ठीक ठाउँमा डाली राखी अन्य घना डालीहरु हटाउने ।
  • आगामी वर्ष फल्ने केही घना डालीहरु पनि काटछाँट गरी हटाउने ।

झिनामसिना, एक आपसमा खप्टिएका, रोगी, सुकेका र अनावश्यक हाँगाहरु हटाउने

रोग व्यवस्थापन

 पातको थोप्ले रोग (Olive leaf spot or Pea-cock or bird's eye spot)

   पातको थोप्ले रोग (Olive leaf spot or Pea-cock or bird's eye spot)

यो रोगको कारण जैतुन फलको भेट्नु, फल एवं पातमा मयूरको प्वाँखमा भएजस्तो अथवा चराको आँखाको थोप्लो जस्तो गोलो थोप्लो देखिने भएको हुँदा यसलाई मयुरपंखी थोप्ले रोग वा चरीआँखे थोप्ले रोग पनि भनिन्छ । यो फङ्गस Cycloconium oleaginum Cast नामको जीवाणुबाट संक्रमित भई गोलो थोप्लो देखिने रोग हो । वायुको सापेक्षित आद्र्रता ६० प्रतिशत भन्दा बढी हुने र बर्षा पनि धेरै पर्ने ठाऊँमा यो रोग छिटो फैलिन्छ । शुरुमा सानो धब्बा पातमा देखापर्छ र पछि खैरो हरियो वा कालो रबमा परिणत हुन्छ ।

बढी प्रकोप भएमा पात पहेंलिएर झर्ने गर्छन । रोगी फलहरु पनि झर्छन, बोटको बृद्धि कम हुन्छ र अर्को वर्षको फल उत्पादनमा प्रतिकूल असर पर्दछ । यो रोग कीर्तिपुर र चित्लाबमा लगाइएका जैतुन बोटहरुमा देखिएको छ, बाजुराको कोल्टीमा कताकति पाइन्छ भने डोल्पाको जुफालमा लगाइएका जैतुन बोटमा यो रोगको प्रकोप छैन ।

यो रोगको रोकथामको लागि रोग लागेर झरेका वा संभव भए बोटबाटै टिपेर पनि रोगी फल एवं पातहरु संकलन गरी जलाउने गर्नु पर्छ । बर्षा सुरु हुनुभन्दा पहिले बैशाख–जेठमा र बर्षापछि असोज–कार्तिकमा तावाँयुक्त विषादी जस्तो १% बोर्डो मिश्रण वा कपरअक्सिक्लोराईड २ ग्राम प्रति लिटर पानीका दरले १०–१५ दिनको फरकमा २/२ पटक बोटमा छर्नुपर्छ । बर्षायाममा रोगको प्रकोप बढी देखिए उक्त बिषादी महिनाको एक पटक छर्नु पर्छ । फूल फुल्ने र फल लाग्ने अवस्थामा विषादी छर्नु हुँदैन, यस्तो अवस्थामा रोगी पातहरु टिपेर जलाउनु पर्छ । हिउँदमा बोटको भित्री भागसम्म घाम पुग्ने र हावा खेल्न सक्नेगरी बोटको काटछाँट गर्नु पर्छ । सन्तुलित मलजल गर्नु पर्छ, नाइट्रोजन बढी प्रयोग गर्नु हुँदैन । यो रोग सहन सक्ने जात जस्तै फ्रान्टोयो, मोराइलो, इत्राना बगैंचामा लगाउनु उपयुक्त हुन्छ ।

N

जरा कुहिने रोग (Phytophthora collar and root rot)

जरा कुहिने रोग (Phytophthora collar and root rot)

यो रोग लागेमा हाँगाहरु ओइलाउने र माटो नजिकको काण्ड पहेंलो हुने गर्छ । पानी जमेमा वा माटोमा चिस्यान बढी भएमा जैतुनका जराहरु कुहिन्छन् । यसको रोकथामको लागि पानी निकासको ब्यवस्था गर्ने, गोडमेल गर्दा जरामा क्षति नपुर्याउने, ग्रसित बोट जरा सहित उखेलेर जलाउने, सन्तुलित मलखाद दिने र स्थानीय जातको रुटस्टकमा कलमी गरेको बिरुवा लगाउने गर्नु पर्छ ।

B

सर्कोस्पोरा रोग (Cercospora leaf mould)

सर्कोस्पोरा रोग (Cercospora leaf mould)

यो रोग Cercospora cladosporoides नामको ढुँसीबाट पैदा हुन्छ । यो ढुँसीबाट पातको टुप्पा एवं फेदको भाग सुक्दछ । पातको तल्लो सतह समेत सुक्छ । फलमा साना खैरा थोप्लाहरु देखा पर्छन् र फल समान रुपबाट पाक्दैनन् । यसका जीवाणुहरु जाडो समयमा पानी परेपछि अरु पातमा फैलने गर्छन् ।

यसको रोकथामको लागि बोटको काटछाँट गर्ने । सिंचाइ कम मात्रामा गर्ने र १% को बोर्डो मिश्रण वा तावाँयुक्त विषादी बोटमा छर्ने गर्नु पर्छ ।

FB

थोप्ले रोग (Anthracnose) Colletotrichum gleosporiodes)

थोप्ले रोग (Anthracnose) Colletotrichum gleosporiodes)

यो ढुँसी रोग हो । यसको आक्रमणबाट पात, फूल र फलमा मसिना गोलाकार काला थोप्लाहरु देखापर्छन् । यो रोगको आक्रमण बढी भएमा बोटका सबै पातहरु झर्छन् । हावामा बढी आर्द्रता र लगभग २५⁰ से. तापक्रम भएमा यसको प्रकोप अझ बढी हुन्छ । कलिला पातहरु डढ्छन्, छिप्पिएका पातहरुमा प्वाल पर्छ र रोगको आक्रमण बढी भएमा मुनाहरु समेत मर्छन् । साना फलहरु झर्छन्, ठूला फल फुट्छन् र भण्डारमा राखेका फल सड्छन् ।

यसको रोकथामको लागि रोगी हाँगा, पात, फूल बटुलेर जलाइ दिनुपर्छ । १% को बोर्डो मिश्रण वा कपर क्लोराइड ०.३% झोल माघ, चैत्र र असोज गरी ३ पटक बोटमा छर्नुपर्छ । बोटको भित्री भागसम्म हावा र प्रकाश पुग्ने गरी काटछाँट गर्ने, काटछाँट गर्ने औजार निर्मलीकरण गर्ने र कम मात्रामा सिंचाइ गर्नुपर्छ ।

N

जैतुनको गिर्खे रोग (Olive Knot or canker)

यो रोग ब्याक्टेरिया  (Pseudomonas savastanoi Smith) को संक्रमणबाट उत्पत्ति हुने रोग हो । यो रोग लागेमा पात र फलमा कोत्रे आकृति देखिन्छ र काण्ड एवं हाँगामा कडा गिर्खा वा गाँठा पैदा हुन्छन् । गिर्खाको साइज पिनको टाउको देखि मझौला साइजको फुटबलसम्मको हुन सक्छ। हावाको तापक्रम २५⁰–३०⁰ सेन्टिगे्रड र सापेक्षिक आर्द्रता ८० प्रतिशत भन्दा बढी भएमा रोगको विकास बोटको बाहिरी भागमा छिट्टै देखिन्छ । रोगको जीवाणु बोटको काटछाँट गर्दा, बगैंचा खनजोत गर्दा, फल लाठीले हानेर झार्दा लागेको चोटपटक, असिना, तुसारो, रोगकीरा आदिले पारेको घाउबाट यो रोग बोटभित्र प्रवेश गर्छ । खनजोत एवं काटछाँट गर्ने औजारहरुबाट पनि रोग सर्न सक्छ । रोगी बोटको वृद्धि कम हुन्छ, फल एवं पात झर्छन्, हाँगाविंगा सिख्रो भएर सुक्छन् । यसको रोकथामको लागि रोगी हाँगाविंगा काटेर र पूरै गिर्खा निकालेर जलाउनु पर्छ । काटेको भागमा बोर्डोपेस्ट लगाउनु पर्छ । काटछाँट गर्दा सकभर बढी चोटपटक नलगाउने र काटछाँट पछि बोर्डो मिश्रण छर्ने गर्नु पर्छ । एस्कोलानो जस्तो यो रोग सहन सक्ने जात लगाउने, फ्रान्टोयो एवं लेचिनो जातहरुमा यो बढी लाग्न सक्छ । आर्द्रता बढी भएको समयमा काटछाँट गर्नु हुँदैन र पानी परेको समयमा फल टिप्न पनि हुँदैन ।

VJM

हाँगा बोट ओइलाउने सुक्ने रोग (Verticillium wilt)

हाँगा बोट ओइलाउने सुक्ने रोग (Verticillium wilt)

यो रोग Verticillium dahliae Kleb ढुँसी समुहको जीवाणुको संक्रमणले गर्दा देखापर्छ । बोटको जरामा खनजोत आदिको कारणले लागेको चोटपटक वा घाउबाट यो रोग बोटमा प्रवेश गर्छ र बोटको रससंगै माथिल्लो भागमा जान्छ । यो जीवाणु माटोमा १४ वर्षसम्म पनि जीवित रहन सक्छ । बोटले यस जीवाणुसंग लड्न रसायन छोड्छ, जसको कारण पोषणयुक्त रस बोटको हाँगाविंगामा जान सक्दैन । रोगी बिरुवाको पहिले पातहरु र पछि हाँगा ओइलाएर सुक्छ । रोगको संक्रमण बढी भएमा पूरै बोट पनि मर्न सक्छ ।

यो रोग मौलाउने उपयुक्त तापक्रम २०⁰ देखि २५⁰ से र सापेक्षिक आर्द्रता ६० प्रतिशत भन्दा माथि भएको समय हो । केही बोट रोग लागिसकेपछि पनि लामो समयसम्म बाच्न सक्छन् । रोगी बोटको फेद वरिपरि नयाँ मुना निस्कन्छन् । किसानहरुले रोगी बोट काटेर एक मुना (सकर) हुर्काउँछन् तर त्यो पनि केही वर्षपछि रोगग्रस्त हुन्छ । हावामा बढी चिसो र बढी आद्रता भएको समयमा हाँगा, मुना वा पूरै बोट यो रोगको कारण छिट्टै ओइलाउँछ ।

यो रोगको रोकथामको लागि एकिकृत बगैंचा ब्यवस्थापन विधि अपनाउनु पर्छ, कुनै एक मात्र उपचार विधिले काम गर्दैन । सर्बप्रथम बगैंचा लगाउँदा रोगमुक्त माटोमा रोगमुक्त बिरुवा लगाउनु पर्छ । जरालाई चोटपटक नलाग्ने गरी हलुका खनजोत गर्नुपर्छ । झार मार्ने विषादी छर्दा र थोपा सिंचाइ गर्दा एक बोटबाट अर्को बोटमा रोगको जीवाणु फैलिन पाउँदैन । माटोमा बढी चिस्यान रहनु हुँदैन । बोटको जराक्षेत्रलाई प्लाष्टिक सिटले छोप्दा रोगको असर कम भएको पाइएको छ । ओइलाउने रोग पाल्ने बाली गोलभेंडा, भण्टा, आलु, खोर्सानी, फर्सी समुहका लहरे बाली, कपास, आरु, आलुबखडा आदि जैतुन बगैंचा भित्र लगाउनु हुँदैन । बढी रसायनिक मल बिरुवालाई दिनु हुँदैन, नाइट्रोजन कम र पोटास मल बढी दिनुपर्छ । रोगी बोट काटछाँट र खनखान गरेका औजार उपचार गरी रोगमुक्त बनाउनु पर्छ । बोट बिरुवामा बर्षा पहिले र बर्षापछि तावाँयुक्त विषादी बोटमा छर्ने र फेद वरिपरि भिजाउनसके रोगको प्रकोप कम हुन्छ ।

कालो ध्वाँसे ढुसी (Sooty mould) Spilocaea oleagina)

कालो ध्वाँसे ढुसी (Sooty mould) Spilocaea oleagina)

यो रोग लागेमा पात, डाँठ, फल सबैमा कालो ढुँसी फैलिन्छ । रोगको आक्रमण बढी भएमा पूरै बोट कालो देखिन्छ । कालो ढुँसी उत्पादन गर्ने धेरै रोगका जीवाणु छन् । यो रोग खास गरेर रस चुस्ने किसिमका कीरा जस्तै- लाई, कत्लेकीरा, मिलिबग, लौंठेमह कीरा, टिन्जीड बग आदि प्रकारका कीराको आक्रमणबाट सर्छ । रसचुस्ने कीराले प्रायः गुलियो पदार्थ पैदा गर्छन् र त्यही गुलियो पदार्थमा कालो ध्वाँसे ढुँसी फैलिन्छ । तापक्रम एक्कासी घटबढ हुने र आर्द्रता बढी र तेज हावा चल्ने वातावरणमा यो रोगको प्रकोप बढी हुन्छ । यो रोग बोट भित्र कोशिकामा प्रवेश नगरेपनि पात, फल र हाँगाको सतह ढाकेर सूर्यको प्रकाश र हावा भित्र छिर्न दिंदैन र फलस्वरुप फल एवं तेलको गुणस्तर खस्किन्छ । यो रोग लाग्न नदिन चुसाहा कीरा दैहिक बिषादी छरेर निर्मुल पार्नुपर्छ । बोर्डो मिश्रण वा अन्य तावाँयुक्त विषादी फल टिपेपछि, बर्षा पहिले र बर्षा पछि १/१ पटक छर्नु पर्छ । इण्डोफिल एम–४५, २.५ ग्राम प्रति लिटर पानीमा मिलाई बोटको सबै भागमा राम्रोसंग भिज्नेगरी छर्दा कालो ढुँसी कम हुन्छ । हिउँदको चिसो समयमा खनिज तेल वा सोडियम हाइड्रोअक्साइड बोटमा छर्दा पनि कालो ढुँसी कम हुन्छ ।

HJ

किरा व्यवस्थापन

जेउजेरा गभारो (Borer) Zeuzera pyrina L.

जेउजेरा गभारो (Borer) Zeuzera pyrina L.

यो कीराले बोटको काण्ड र हाँगाका बोक्रामा फुल पार्छ र फुलबाट लाभे्र निस्केर दुई वर्षसम्म काठको भित्रीभाग खाँदै जान्छ । गभारो लागेको ठाउँमा प्वाल देखिन्छ र यसबाट गभारोको बिष्टा निस्केको एवं रातो पानी बगेको पाइन्छ । यसको रोकथामको लागि माऊ पुतलीलाई बत्तीको उज्यालो (light trap) मा आकर्षित गर्ने र बत्तीको तल बाटामा मटृीतेल वा विषादी मिसाएको पानी राखी कीरा त्यसमा खस्ने ब्यवस्था मिलाउनु पर्छ। प्वालमा सिन्का वा तारले घोच्ने र मटृीतेलमा भिजाएको कपास प्वालभित्र कोचेर प्वाल मइन वा चाम्रो माटोले बन्द गर्नु पर्छ । नुभान वा मेथाइल पाराथियान विषादी छरेर पनि रोकथाम गर्न सकिन्छ ।

लौंठेमह कीरा (Psyllid) Euphyllura olivina Costa

  लौंठेमह कीरा (Psyllid) Euphyllura olivina Costa

लौंठेमह कीरा धेरै सानो वयस्क अवस्थामा २.५ मि.मि. लामो खैरो रङ्गको हुन्छ । यसले आफ्नो शरीर वरि परि सेतो भुवा बनाएर आफुलाई ढाकेर भित्र बसी कलिला मुनाबाट रस चुसेर खान्छ । यसको भुवा गुलियो हुने भएकोले स्थानीय बोलीमा यसलाई लौंठेमह भनिन्छ । यसले नयाँ मुनामा फुल पार्छ । वसन्त ऋतुमा नयाँ मुना निस्कने हुँदा त्यस समयमा यसको प्रकोप बढी देखिन्छ । यसको जीवनचक्र २–३ महिनामा पूरा हुन्छ । यसको आक्रमण साना बोट र नर्सरी बिरुवामा बढी हुन्छ । यसले बोट बिरुवाको रस चुस्ने भएकोले फल कम लाग्ने र लागेका फल पनि झर्ने गर्छन । लौंठेमह कीराले आक्रमण गरेको ठाउँमा कालो ध्वाँसे रोग (Sooty mould) लाग्छ र फलको गुणस्तर बिगार्छ । ध्वाँसे रोगको कारणले बिरुवाको बृद्धि विकास रोकिन्छ र मुना हाँगा सुकेर मर्छन् । यसले स्थानीय जातभन्दा बढी उन्नत जातमा असर पारेको देखिएको छ । यसको रोकथामको लागि ग्रसित भाग र सकरहरु काटेर जलाउने र खनिजतेल १५–२० एम.एल. प्रति लिटर पानीका दरले मिसाई यसको बच्चा अवस्था (निम्फ) मा बोटमा छर्नुपर्छ । कालो शुटी–मोल्ड हटाउन बोर्डो मिश्रण वा डाइथेन एम–४५ छर्नुपर्छ । लौंठेकीरा बढी लागे दैहिक बिषादी छरेर नियन्त्रण गर्नुपर्छ ।

यसको प्राकृतिक शत्रु Cryptolaemus montrauzieri  हो ।

X

X

फलको झिंगा (Olive fly) Bactrocera oleae Gmelin

फलको झिंगा (Olive fly) Bactrocera oleae Gmelin

यो झिंगाले बाक्लो गुदी भएका ठूला फलहरुको बोक्रा छेडेर भित्र फुल पार्छ र फुलबाट लाभे्र निस्केर फलको गुदी खान्छ । कीरा लागेका धेरै फल परिपक्व नहुँदै झर्छन् । कीरा लागेको फलबाट कमसल तेल निस्कन्छ र फल अचार बनाउन अनुपयुक्त हुन्छ । यसले एक वर्षमा हावापानी अनुसार ३ देखि ५ पटकसम्म सन्तति पैदा गर्छ । हिउँदमा यसको लाभे्र माटो भित्र जान्छ र गर्मी चढेपछि झिंगा (माऊ) बनेर निस्कन्छ । जम्मा फलको ५ प्रतिशत फलभन्दा बढी क्षति भएको देखिएमा यसलाई रोकथाम गर्नु पर्छ ।

यस कीराको रोकथामको लागि जालीले समातेर मार्ने, कीरालाई आकर्षित गर्ने रसायनयुक्त पासो (Sexual trap) मा फसाएर मार्ने, कीराले फुल पार्नुपूर्व फल लाग्नासाथ २–४ पटक मेथाइल पाराथियान बोटमा छर्ने  र पछिल्लो अवस्थामा डाइमेथोएट छर्ने गर्नु पर्छ । सख्खरमा मालाथियानको धुलो मिलाएर बोटको ठाउँ ठाउँमा राख्दा वा काण्ड एवं हाँगामा लेपन गरिदिनेगर्दा झिंगा गुलियोमा आकर्षित भई यसमा मिसिएको मालाथियन विष खाएर मर्छ । यसको प्राकृतिक शत्रु Opium concolor ले यस कीरालाई मार्छ ।

GBJ

बीउमा लाग्ने गभारो (Olive kernel borer) Prays oleae Bern

बीउमा लाग्ने गभारो (Olive kernel borer) Prays oleae Bern

यो पुतली समुहमा पर्ने मोथ (moth) कीरा हो र वयस्कको पखेटा फैलाउदा १५ से.मि. चौडा हुन्छ । यसको पखेटाको रब चाँदी जस्तो सेतो हुन्छ । अण्डा साना सेता रबका र लार्भा ८–१० से.मि. लामो हल्का हरि यो देखि सेतो रबको हुन्छ । यो जैतुनको एक मुख्य हानिकारक कीरा हो । यसको एक वर्षमा तीन पुस्ता हुन्छन्, पहिलोले पातमा आक्रमण गर्छ, दोस्रोले फूलमा र तेस्रोले फलमा । यी तीन पुस्तामा पनि तेस्रो पुस्ताले फललाई निकै क्षति पुर्यांउने हुँदा यसको नियन्त्रण गर्नु आवश्यक हुन्छ । यसको मोथले फलको डाँठ जोडिएको ठाऊँ (pedicel point) मा फुल पार्छ र यसबाट लाभे्र निस्केर फलभित्र बियाँ (Kernel) सम्म पुगी खान्छ । यो कीरा लागेको फल परिपक्व नहुँदै झर्छ र फलको भेट्नु जोडिएको भागमा सानो प्वाल देखिन्छ ।

यसको रोकथामको लागि झरेका फल बटुलेर जलाउने वा गहिरो गरी गाड्ने गर्नुपर्छ । यदि कीरा थुन्ने पासोमा १०० जति कीरा फसेमा वा १० प्रतिशत भन्दा बढी फलमा कीराको प्रकोप देखिएमा पाराथियान वा मालाथियन वा नुभान विषादी छर्नु पर्छ । यसको प्राकृतिक शत्रु Bacillus thuringiensis ले पनि यसको लाभ्रेलाई मार्छ ।

कालो कत्लेकीरा (Black scale) Saissetia oleae Bern

कालो कत्लेकीरा (Black scale) Saissetia oleae Bern

यस कीराले बोटको कलिलो डाँठ, पात एवं फलबाट रस चुसेर बोटलाई कमजोर बनाउछ । यसको आक्रमणबाट पातहरु झर्छन्, बोटको बृद्धि कम हुन्छ, मुना छोटा हुन्छन् र फूलका कोपिला थोरै लाग्छन् । यस कीराले गुलियो पदार्थ छोड्छ जसमा कालो ढुँसीरोग ९क्ययतथ mयगमि० फैलिन्छ । यो कीरा सुन्तला जात लगायत अरु फलफूल बालीमा पनि लाग्छ । कालो कत्लेकीरा हिउँदमा अचल अवस्थामा रहन्छ र गर्मीमा सकृय माउको रुपमा आफ्नो गतिविधि बढाउँछ । यो कीरा यदि बोटको १० प्रतिशत भन्दा बढी मुनामा देखियो भने यसको रोकथाम गर्नु पर्दछ । कीराको संख्या कम भए हातले टिपेर मार्न सकिन्छ । यस कीराको प्रकोप गर्मी महिनामा बढी हुने भएकोले जेठ र असोजमा खनिज तेलमा प्याराथियान विषादी मिलाई एक–दुई पटक बोटमा छरेमा कीराको नियन्त्रण हुन्छ । यसको प्राकृतिक शत्रु Methaphycus barletti ले यसको लाभे्र खाएर रोकथाम गर्छ ।

F

टिन्जीड बग (Tingid or lace bug) Gryllodes sigillatus Walk

टिन्जीड बग (Tingid or lace bug) Gryllodes sigillatus Walk

जैतुन बालीमा लाग्ने यो एक खतरनाक कीरा हो । यसले पातको तल्लो सतह ९ीबmष्लब० मा टाँसिएर रस चुसेर खान्छ । नाङ्गो आँखाले सजिलै नदेखिने यो मसिनो कीरा हो, पातको तल्लो सतहमा हेर्दा कालो दाग जस्तो देखिन्छ तर सिन्काले छुँदा चलमलाएर कीरा हिड्छ । यसले चुसेको पात पहेंलो भई आफ्नो काम गर्न छाड्छ र अन्तमा झर्छ । यस कीराको आक्रमण बढी भएमा पातहरु झरेर बोट सिख्रो हुन्छ र पछि हाँगाहरु सुक्दै बोट मर्छ । बोटको बृद्धि हुने गर्मी समयमा यसका धेरै पुस्ता निस्कन्छन् । यसको रोकथामको लागि फागुन देखि कार्तिकसम्म शो वा प्याराथियान वा अन्य दैहिक बिषादी पटक पटक छर्नु पर्छ । प्राङ्गारिक जैतुन खेती गर्न प्राङ्गारिक विषादी छर्नु पर्छ । यसको प्राकृतिक शत्रु अझै थाहा पाउन सकिएको छैन ।

H

लाहि कीरा (Aphids)

लाहि कीरा (Aphids)

यो कीराको माऊ र बच्चा दुवैले बोटको कलिलो भाग र कमलो पातबाट रस चुसेर खान्छन् । यो कीराले चुसेको पातको आकार प्रकार बिग्रन्छ । लाई कीरा लागेको बोटमा कालो ढुँसीरोग फैलिन्छ । यसको नियन्त्रणको लागि सर्बो वा एट्सो एग्रो स्पे्र २० मि.लि. प्रति लिटर पानीमा मिसाई बोटमा छर्ने । तीन हप्ता पहिले जम्मा गरेको गाईको गहुँत एक भागमा पाँच भाग पानी मिसाएर बनाएको झोल ३ दिनको फरकमा ३–४ पटक छर्ने । लाई कीरा नियन्त्रण गर्न दैहिक विषादी डेसीस वा रोगर २ मि.लि. प्रति लिटर पानीमा मिसाएर छर्न सकिन्छ ।

बाली कटानी तथा भन्डारण

फल पाक्ने र टिप्ने समय

शरद ऋतुमा जब तापक्रम घट्न थाल्छ र इथलिन हर्मोन बढ्न थाल्छ, फल पाक्ने समय शुरु हुन्छ । फलको बोक्राको रब चढ्न थालेपछि फल परिपक्व भएको र पुरै बोक्रा सहित गुदी गुलाबी भएर नरम भएपछि फल पाकेको  मानिन्छ । फल पाक्ने क्रमसंगै तेलको मात्रा पनि प्रति दिन बढ्दै जान्छ र पुरै क्षमतामा पुगेपछि तेल यथावत रहन्छ तर पानीको मात्रा घट्छ र फलको तौल पनि कम हुन्छ । उच्च गुणस्तरको तेल उत्पादन गर्न फलको बोक्रामा रब चढ्न थालेर परिपक्व भएपछि फल टिप्नु पर्छ तर तेलको मात्रा कम हुन्छ । फल पुरै पाकेर बोक्रा सहित गुदी गुलाबी भएर नरम भएपछि फल टिप्दा तेल धेरै निस्कन्छ तर गुणस्तर कमजोर हुन्छ ।

जैतुनको फल टिप्ने अवस्था

जैतुनको फल टिप्ने अवस्था

जैतुन फल पकाइलाई पाँच अवस्थामा बाड्न सकिन्छ, जस्तै –

अवस्था– १: जब फल १०० प्रतिशत हरियो अवस्थामा छन् ।

अवस्था– २: जब ५० प्रतिशत फलमा रब चढ्छ ।

अवस्था– ३: जब १०० प्रतिशत फलमा बोक्रामा रब चढ्छ ।

अवस्था– ४: जब ५० प्रतिशत फलको गुदीमा रब चढ्छ ।

अवस्था– ५: जब १०० प्रतिशत गुदीमा रब चढ्छ ।

जैतुन फल–पकाइको अवस्था–२ र अवस्था –३ हुँदा फल टिपेमा उच्च गुणस्तरको तेल (Extra virgin olive oil) निस्कन्छ । फलको अबस्था— ४ सम्म फल टिप्दा राम्रै तेल निस्कन्छ । फल पाकेर आफै झर्नु भन्दा पहिले नै फल टिप्नु पर्छ, अवस्था–५ सम्म पर्खनु हुँदैन । फल परिपक्व नहुँदै हरियो अवस्थामा टिपेमा पनि तेलको मात्रा र गुणस्तरमा कमी आउँछ ।

जैतुन फल टिपेपछि चोट–पटक लाग्न नदिई सुरक्षितसाथ प्रशोधन केन्द्र मा पुर्याउनु पर्छ र फलमा मिसिएका पात–छेस्का हटाई सफा खानेपानीले धोएर सकभर टिपेकै दिनमा पेल्नु पर्छ । एक–दुई दिन राख्नुपर्ने भएमा सफा शीतल ठाउँमा पातलो तह बनाई फिंजाएर भण्डारण गर्नुपर्छ ।

जैतुन फल टिप्ने तरिका

प्रायःजसो जातमा जैतुन फल एकै पटक नपाक्ने भएकाले पाकेका फल पटक–पटक गरी टिप्नु पर्छ । फल हातले टिप्ने, वा हाँगा हल्लाएर, झटराले हानेर, हातले दुहेर, औजारले कोरेर, मेशिनले हाँगा वा बोटै हल्लाएर झार्ने वा प्राकृतिक रुपमा झर्न दिएर पछि जम्मा गर्ने बिभिन्न फल टिप्ने तरिका आफ्नो उद्देश्य, सुविधा र परिस्थिति अनुसार अपनाइन्छन् ।

उत्पादनोप्रान्त गरिने क्रियाकलापहरु

अचार बनाउन फलको छनौट

अचार बनाउन फलको छनौट

अचार खासगरी दुई अवस्थाका फलबाट बनाइन्छ:

(क) हरियो फलको अचार– फल परिपक्व भएर ५–१०% फलमा रङ्ग चढ्न थालेपछि छिप्पिएका एकसाइजका फल टिपिन्छ ।

(ख) पाकेको फलको अचार– फल पाकेर गाढा बैजनी वा कालो रब्मा परिणत भएपछि टिपिन्छ ।

यी दुबै किसिमका फल टिप्दा चोटपटक नलाग्ने गरी छानेर हातले नै टिप्नु बेस हुन्छ । चोटपटक लागेका फलबाट राम्रो अचार बन्दैन । यदि धेरै फलबाट बढी परिमाणमा अचार बनाउनु छ भने भुइँमा जाली वा त्रिपाल बिछ्याएर हातले रुएर वा फल टिप्ने काँगियोले कोरेर फल झार्नु पर्छ र पात, डाँठ, टुटेफुटेका फल आदि हटाउनु पर्छ । सग्ला एकनासका फललाई खानेपानीले धोएर सफा गर्नुपर्छ । फल एकै जातको हुनु, एकै प्रकारले छिप्पिएको वा पाकेको हुनु आवश्यक हुन्छ । अचार बनाउन आस्कोलाना, म्यान्जानिला, सेभिलानो, लेचिनो जातहरु उपयुक्त हुन्छन् । यसका लागि मासु (गुदी) बढी भएका ठूला फल उपयुक्त हुन्छन् ।

अन्य जानकारी

तेल निकाल्ने परम्परागत मिलको प्रविधि (Old techniques of olive oil extraction)

फल पिस्ने ढुंगे घटृ

यसमा घटृको जस्तै एक ठूलो चौडा ग्रेनाइट् ढुङ्गा स्थिर अवस्थामा राखिन्छ र यस माथि त्यस्तै दुईवटा ठूला ढुङ्गाको पिस्ने चक्का ठाडो गरी जडान गरिएको हुन्छ । यी ढुङ्गा जडान गरिएको धुरा (axil) लाई पानीमिलको धुरासंग बलियो काठले दाँते चक्काको माध्यमबाट जोडेको हुन्छ । कुलोबाट छोडेको पानीले पानीमिल चलाउदा ढुङ्गाको पिस्ने चक्का पनि विस्तारै (१०–१२ चऊ) घुम्छ र ठूलो चौडा ढुङ्गामा राखेको जैतुन फल पिसेर लेदो बनाउछ । यस्तो ढुङ्गेमिल बिजुलीबाट चलाउने वा मानिसले धकेलेर वा जनावरले तानेर चल्ने बनाउन पनि सकिन्छ ।

तेल निचोर्ने प्रविधि

अल्लो, भाब वा केतुकी जस्ता वनस्पतिको रेसाबाट बनेको थैले चकटीमा जैतुन फलको लेदो हालेर हाइड्रोलिक मेसिनले थिचेर जैतुनको तेल र पानी मिसिएको रस निकालिन्छ । यो रस स्टिलको भाँडोमा जम्मा गरिन्छ र पिना प्राङ्गारिक मल वा आगो ताप्ने गुइँठा बनाउन प्रयोग गर्न सकिन्छ ।

तेल छुट्याउने प्रविधि

जैतुन फलको रसमा तेल र पानी मिसिएको हुन्छ तर तेल पानीभन्दा हलुका हुने भएकोले पानीमाथि तैरिन्छ । तेललाई पानीबाट छुट्याउन जै तुनको रसलाई एउटा टुटी पिंधमा भएको स्टिलको भाँडोमा खनाइन्छ । केही समयपछि भाँडोमा तेल पानीमाथि तैरिन्छ र तल्लो भागमा रहेको पानी भाँडोको पिंधमा रहेको टुटी खोल्दा बाहिर निस्कन्छ । पानीसंगै तेल बगेर नजाओस् भनेर होसियार हुनुपर्छ । तेललाई काँचको बाक्लो सिसी, काठको ठेकी वा माटोको भुँड्का आदिमा बिर्को कसेर उज्यालो नपस्ने र तातो नहुने सुख्खा चिसो (१०–१५ डि. से. तापक्रम) कोठामा भण्डारण गर्नुपर्छ । यसरी राख्दा जैतुन तेल २–३ बर्षसम्म बिग्रंदैन । जैतुन तेल उज्यालो र तातो कोठा वा ठाऊँमा राख्दा गुणस्तर बिग्रिन्छ । परम्परागत मिलमा तापक्रम बढाउने तातो दिने ब्यवस्था हुँदैन । यो चिसो प्रविधि हो र यस्तोमा तेलको गुणस्तर राम्रो हुन्छ तर फलको लेदो हावामा धेरै बेर देखाएमा गुणस्तर बिग्रिन्छ ।

आधुनिक मिलको प्रविधि (Modern techniques of olive oil extraction mill)

आधुनिक मिल बिजुलीबाट चल्छ । यसमा माथि उल्लेख गरिएका तीनवटै चरण एउटै मेसिन भित्र समावेस गरिएका हुन्छन् र यसमा तापक्रमको ब्यवस्था गरिएको हुन्छ । यो मिलको मुख मा सफा जै तुन फलहरु राखिन्छ र त्यसको भित्र जडान गरिएको घनले फल टुक्रा पार्छ र रोलरले टुक्रालाई पिसेर लेदो बनाउछ । यो लेदो मथ्ने चेम्बर मा खस्छ । यहाँ लेदो करिब ३०–४० मिनटसम्म दहि मथे जस्तै गरी मिक्सर को सहायताले मथिन्छ । यहाँ २७⁰ से. तापक्रम मिलाइएको हुन्छ र पटकपटक मनतातो पानी थपिन्छ । तेलका मसिना कणहरु जम्मा भएर जब लेदो माथि ठूला तेलका ढिकाहरु निस्कन्छन्, तब यसमा जडान गरिएको पाइपद्वारा मथिएको लेदो तेल–पानी छुट्याउने मेसिनमा पठाइन्छ । यहाँ तेलको ढिका तान्ने औजारले तानेर तेल एक पाइपद्वारा बाहिर पठाउछ र पानी–पिना अर्को पाइपद्वारा बाहिर निस्कन्छ । यसरी निकालेको तेलमा मिसिएको बाक्लो पदार्थ थेग्रिन दिन ठूला स्टिलका भाँडामा १–३ महिनासम्म राखिन्छ र त्यसपछि थेग्रो छोडेर सिसीमा जैतुन तेल भरिन्छ र हावा पस्न नसक्ने गरी कसेर बिर्को लगाइन्छ । तेलमा केही फलको स्वाद रहोस् भनेर बाक्लो पदार्थ थेग्रिन दिइन्छ, जाली वा कपडाले छान्ने काम गरिंदैन ।

सन्दर्भ सामग्री

सन्दर्भ सूचि

बुद्धिराज ढकाल
जैतुन बिज्ञे
फलफुल विकास निर्देशनालय
कीर्तिपुर, काठमाडौं
२०७३