परिचय

परिचय

सुर्यमखी एक महत्वपूर्ण तेलहन बाली हो । यो  Asteraceae परिवारको परसेंचित बाली हो । यसको वैज्ञानिक नाम Helianthus annus  हो । बोट ५–२० फिट सम्म अग्लो र सिधा हुन्छ । फूलको रंग खैरो, गोलाकार तथा १५–३० से. मी. व्यास भएको हुन्छ । यसको एउटा फूलले ३५०–२००० सम्म बीउ उत्पादन गर्छ । यसको दाना कालो, लाम्चो हुन्छ ।

विश्वमा खेती गरिने तेलहन बालीहरु मध्ये यो चौथो स्थानमा रहेको छ । यसको उद्गम स्थल दक्षिण अमेरिकाको मेक्सिको मानिएको छ । अमेरिकाबाट स्पेन १६ औं शताब्दीमा र इङलैण्ड, सोभियत संघ तथा भारतमा १९ औं शताब्दीमा आएको हो । नेपालमा १९७८ मा पेरेडोभिक जात रुसबाट ल्याई राष्ट्रिय तेलबाली विकास कार्यक्रम, सर्लाहीमा परिक्षणको रुपमा सुरु गरियो ।

नेपालमा तेलबालीको कुल २,१७,८६७ हेक्टर क्षेत्रफलमा तोरी खेती गरिएकोमा सुर्यमुखी २,४९४  हेक्टर क्षेत्रफलमा लगाई उत्पादन २,७५३ मे.टन. र उत्पादकत्व ११०४ के.जी. प्रति हेक्टर रहेको देखिन्छ (कृषि विकास मन्त्रालय, २०७२/०७३) । स्वास्थ्य प्रति जनचेतना बढेकोले नेपालमा यसको क्षेत्रफल बढ्ने सम्भावना छ । विगतका केही वर्ष यता मोर्डन ड्वार्फ(Modern dwarf) पनि निकै लोकप्रिय हुँदै आएको छ । केही जिल्लाहरुमा भारतबाट ल्याएर केही वर्णशंकर जातहरु hybrid पनि लगाई रहेको पाईएको छ । हाल सुर्यमुखी खेती बढ्दै गरेको जिल्लाहरुमा कञ्चनपुर, कैलाली, दाङ, रुपन्देही, चितवन, सर्लाही, सुनसरी आदि प्रमुख हुन् । यसको क्षेत्रफल नबढ्नुको कारणहरुमा तेल प्रशोधन उद्योगको कमी, जात तथा सिंचाईको कमी, प्रविधि र ज्ञानको कमी र सुगाको क्षति आदि हो ।

महत्व

सूर्यमुखीको बीउबाट ४५–५० % सम्म तेल निकाल्न सकिन्छ । तेलमा भिटामिन, प्रोटिन, खनिज पदार्थ प्रशस्त मात्रामा पाइने भएकाले यसको तेललाई उच्च कोटीको मानिन्छ । यसको तेलमा मुटुको रोग निम्त्याउने कारक तत्व मानिएको कोलेस्टेरोल अथवा पोलि अनस्याचुरेटेड फ्याट्टी  एसिड (लिनोलेनिक अम्ल अधिकतम ७१%) को मात्रा एकदमै कम हुने भएकोले रक्तचाप सम्बन्धी रोगीको लागि उपयुक्त मानिन्छ । यसको तेल वनस्पति घ्यू तथा साबुन बनाउन र पिनामा उच्च गुणस्तरिय प्रोटिन ४०–४४% हुन्छ । बीउमा ३७–४०% तेल र पिनामा नाइट्रोजन, फस्फोरस र पोटास क्रमश : ४.९, १.४ र १.२ % हुन्छ । यसको तेल अलि ढिलो तात्ने भएकोले भोजन बनाउदा कम नोक्सान हुन्छ । सुर्यमुखीको बीउ कफनाशक तथा मुत्रबर्धक हुने भएकाले श्वास तथा फोक्सो को रोगमा प्रयोग गर्न सकिन्छ । यसको १०० ग्राम बीउमा प्रोटिन १९.८ ग्राम, तेल ५३ ग्राम, कार्बोहाइड्रेट १७.९ ग्राम, क्यालोरी ६२० आइ यु, राइबोप्लेबिन ०.२ मि.ग्राम र थाइमित ०.८६ मि.ग्राम पाइन्छ । यसको पिनामा ४२–४६ % सम्म उच्च कोटिको प्रोटिन पाइने हुँदा पशुपंक्षीहरुका लागि पौष्टिक आहारका लागि राम्रो मानिन्छ ।

जातहरु

मोडर्न ड्वार्फ

यो कम्पोजिट जात होचो, बोट करिब ८०–१०० से.मी. सम्म अग्लो, नढल्ने, १०० दिनमै तयार हुन्छ र सरदर १.५ मे. टन. उत्पादन दिन्छ । कम्पोजिट जात मध्ये यो सबभन्दा उत्तम जात हो । होचो भएकोले हावाहुरिमा कम ढल्ने, मश्रित बालीको रुपमा उपयुत्त हुन्छ ।

हाइब्रिड जात

सुर्यमुखीमा विभिन्न हाईब्रिड जातहरु रहेका छन् । यी जातहरु भारत तथा अन्य मुलुकबाट ल्याई खेती गरेको पाईन्छ । यी जातहरुको उत्पादन करिब २००० के.जी. सम्म हुन्छ र यसको उचाई १५० से. मी. सम्म हुन्छ । यसको लागि सालै पिच्छे बीउ फेर्नु पर्ने हुन्छ र बाहिरबाट आयात गरेको बीउ लगाउदा राम्ररी बुझेर मात्र लगाउनु पर्छ ।

आवश्यकता

हावापानी

हावापानी 

सुर्यमुखीलाई लामो र छोटो दिनले कुनै प्रभाव पर्दैन । यस बालीलाई वर्षभरी नै लगाउन सकिन्छ । यसै कारण यसलाई दिनले प्रभाव नपर्ने day neutral बिरुवा भनिन्छ । बिरुवालाई सुरुको अवस्थामा उम्रन र विरुवाको वृद्धि हुन चिसो हावापानीको आवश्यकता पर्दछ । ४–६ पाते अवस्थाका विरुवाले तुषारो सहन सक्छ । चिसो मौसममा बीउ उम्रन करिब १२–१३ दिन लाग्न सक्ने हुँदा अत्याधिक चिसो बाहेक हरेक समयमा लगाउन सकिन्छ । बिरुवा हुर्कने र फूल फुल्ने बेलामा राम्रो घाम लागेमा उत्पादन राम्रा हुन्छ । धेरै ओसिलो, बादल लागि रहने र वर्षाले फूल खेल्ने अवस्थामा दाना बन्नमा बाधा पुर्याउँछ । पाक्ने बेलामा धेरै तापक्रम भएमा लिनोलेनिक अम्लको मात्रा कमी भई तेलको गुणस्तर घटाउँछ । यसको खेतीका लागि २०–२५ ० से तापक्रम उपयुक्त हुन्छ ।

माटो

यो सबै किसिमको माटोमा लगाउन सकिन्छ, तैपनि हल्का दोमट माटो र पानी निकासको व्यवस्था भएको जग्गामा खेती राम्रो हुन्छ । यसको लागि ६.५ –८.५  पि.एच. सम्मको गहिरो माटो उत्तम हुन्छ । वर्षैसम्म सुर्यमुखी एउटै माटोमा लगाउनु हुदैन । २–३ बर्षमा बाली फेरबदल गर्दै जानुपर्छ ।

जग्गा तयारी

बीउ दर र लगाउने दुरी       

यो बाली परसेंचित भएकोले हरेक बर्ष नया र ताजा बीउ लगाउनु  पर्दछ । हाईब्रिड जात भए ६–७ किलो र कम्पोजिट जात भए ८–१० के.जी. बीउ प्रति हक्टरका दरले बीउ आवश्यक पर्छ । हलो पछाडि लगाउदा एक सियो बिराएर लाईनमा लगाउनु पर्छ । हल्का माटोमा लाईन र बीउको दूरी ४०*२० से.मि. (प्रति हेक्टर १२५००० बोट संख्या) तथा भारी माटोमा लाईन र बीउको दूरी ४५*३० से.मी राख्नु पर्छ र बीउ ३ देखि ५ से.मी. भन्दा गहिरो पुर्नु हुदैन । बीउ रोपी सकेपछि मज्जाले बीउ छोप्नु पर्छ वा हल्का पाटा लगाई दिनु पर्छ । चिस्यान र तापक्रम अनुसार बीउ ८–१० दिनमा उम्रन्छ । यसरी उमे्रका बीउहरुको दूरी मिलाएर २–३ बोट भए १–१ बोट मात्रा राख्ने र बाकी बोट हटाउनु पदर्छ । एक हेक्टरमा कम्तिमा ५५,००० विरुवा भएको राम्रो मानिन्छ ।

 

जग्गाको तयारी

जग्गा ३–४ पटक जोती माटो बुर्रबुर्राउदो पार्नु पर्दछ । झारपात रहित प्रशस्त चिस्यान भएको जमिन छान्नु पर्दछ । १० मे.टन. (२०–३० गाढा) गोबर/कम्पोस्ट मल मिसाई  २–३ पटक राम्ररी जोती पाटा लगाएर जग्गा तयार गर्नु पर्दछ । सिंचाईको लागि सजिलो होस भनेर जग्गालाई स–साना प्लटमा बाड्नु पर्दछ । पानी जम्ने खालको जमिनमा कुलेसो बनाई निकासको व्यवस्था मिलाउनु पर्छ । चिस्यान नभएको जग्गामा बीउ छर्नु भन्दा अगावै सिंचाई दिई राम्ररी जग्गा तयार गर्ने र यसरी गर्दा बीउ उमारमा एक रुपता आउछ ।

बीउ लगाउने उपयुक्त समय र तरिका

अत्याधिक चिसो (मंसिर-पुस) र अत्याधिक सुख्खा वा तातो (बैशाख-जेठ) बाहेक वर्षैभरी सर्यमुखी खेती सफलता पूवर्क गर्न सकिन्छ । सुर्यमुखी लगाउने विभिन्न समय तालिकामा प्रस्तुत गरिएको छ ।

ऋतु                              बीउ लगाउने समय जात कैफियत
हिउँद     असोजको दोस्रो हप्तादेखि कार्तिकको पहिलो हप्ता        मोर्डन ड्वार्फ तथा हाइव्रिड एस.एच. ३३२२ उत्पादन १.५ मे.टन प्रति हेक्टर र डढुवा रोग कम हुने, लिनोलेइक एसिड बढी हुने
वसन्त                            माघको दोस्रोदेखि फाल्गुनको पहिलो हप्तासम्म मोर्डन ड्वार्फ सिँचाईको व्यवस्था हुनु पर्ने
वर्षा                              जेष्ठ अन्तिमदेखि अषाढ   यस समयमा लगाएको बीउ बसन्त र हिउँदको भन्दा चाँडो तयार हुन्छ

रोप्ने समयमा माटो सुख्खा भएमा बीउलाई १२–२४ घन्टा पानीमा भिजाई त्यसपछि १२ घन्टा छहारीमा सुकाई लगाउदा बीउ चाडै र धेरै उम्रने हुन्छ । बसन्त ऋतुमा र हिउदमा लगाउ“दा रोग तथा कीरा कम लाग्ने र झारपात कम हुने र उत्पादन बढि हुन्छ ।

बाली व्यवस्थापन तथा हेरचाह

मलखाद  व्यवस्थापन

राम्ररी कुहिएको गोबर मल ६–१० मे.टन, डीएपी. १२५ के.जी., यूरिया १३० के.जी., पोटास ६६ के.जी., बोरेक्स ५ के.जी. र जिंक सल्फेट २० के.जि. प्रति हेक्टरको दरले प्रयोग गर्नुपर्छ । यूरिया मलको आधा भाग र बाकी सबै मलखाद सुर्यमुखी रोप्नु भन्दा पहिले नै जग्गमा मिलाउनु पर्दछ । बाँकी आधा यूूरिया मल १–२ चोटी गरी सिचाईँ पछि टप ड्रेसि¨को रुपमा प्रयोग गर्नु पर्दछ । डीएपी सट्टा सिंगल सुपर फस्फेट प्रयोग गर्दा तेलको मात्रा बढी हुन्छ । बोरोन जमिन तयारीका बेला उपलब्ध हुन नसकेको खण्डमा ०.२ % को घोल बनाई फूलको कोपिला बन्ने बेलामा र फूल खेल्ने बेलामा छर्दा दाना राम्रोसँग भरिने र वजनदार हुने भएकाले उत्पादन बढ्छ ।

सिँचाई व्यवस्थापन

सिँचाई व्यवस्थापन

वर्षायाममा सिँचाई गर्नु आवश्यक पर्दैन । माघ–फाल्गुन तथा आश्विन–कार्तिकमा लगाएमा सूर्यमुखी बालीलाई माटोको चिस्यान र माटोको किसिम हेरी ३–५ पटक सम्म सिंचाई दिनु पर्दछ । सुर्यमुखीलाई फूल फूल्ने अवस्थादेखि दाना भरिने अवस्थासम्म सिँचाई अति आवश्यक पर्दछ । यस अवधिमा एक पटक सिँचाई दिनु अति जरुरी छ । पछिल्लो सिंचाई गर्दा हावा नचल्ने दिन मौका पारी गर्नु पर्दछ, अन्यथा बोटहरु अकसर ढल्ने गर्दछन् र नोक्सान हुन्छ ।

बीउ लगाउने समय           सिँचाईका लागि महत्वपूर्ण अवस्था
हिउँद याम          ४–५ पातको अवस्था, फूल फूल्ने अवस्था र दाना भरिने अवस्था
वसन्त याम         रोपेको २०, ४० र ६० दिनमा
झारपात व्यवस्थापन

सुर्यमुखीको शूरुको अवस्था (रोपेको २०–४० दिन)मा बोटको वृद्धि सुस्त हुने भएकाले यस अवस्थामा झारपात नियन्त्रण अत्यन्त जरुरी छ । पेन्डीमेथालिन झारनाशक विषादी ३–४ एम.एल. प्रति लिटर पानीमा मिसाई ५००–६०० लिटर झोल प्रति हेक्टरको दरले बीउ छरेको २ दिन भित्र छरेमा झारपात नियन्त्रण हुन्छ । विषादी छर्ने बेलामा माटोमा चिस्यान प्रसस्त हुनु पर्छ नत्र विषादीको असर प्रभावकारी हुदैन । ३०–४० दिनमा (बोट घुडासम्मको अग्लो हुँदा) माटो चढाउँदै उकेरा दिँदा झारपात नियन्त्रण गर्न सकिन्छ । यसले हावा हुरीबाट बोट ढल्नबाट बचाउँछ ।

 

चरा नियन्त्रण

सूर्यमुखी खेतीमा सुगाको प्रकोप एउटा ठूलो समस्याको रुपमा रहेको छ । दाना लाग्ने बेलामा चरा (सुगा) को प्रकोप बिहाना–बेलुका बढी हुन्छ । त्यसैकारण करिब १ महिना सम्म चरा धपाउने काममा सक्रिय भई लाग्नु पर्दछ । मालाथियन धुलो २० के.जि. प्रति हेक्टरका दरले प्रयोग गरेमा विषादीको गन्धले सुगाको प्रकोप कम हुन जान्छ । फूलहरुमा दाना लागि सकेपछि पुरानो कपडा वा गोरखापत्र आदिको कागजले छोपी दिँदा पनि सुगाको आक्रमण केही कम हुने पाइएको छ ।

 

बाली चक्र
धान बालीमा आधारित   पाखो जग्गामा आधारित अन्तर बाली
धान – तोरी –सुर्यमुखी मकै – सुर्यमुखी सुर्यमुखी + बदाम (१:३)
धान – आलु – सुर्यमुखी छिटो पाक्ने रहर –सुर्यमुखी  
धान – राजमा – सुर्यमुखी  मकै – तोरी – सुर्यमुखी  
  आलु – सुर्यमुखी  
  बर्षे मास – सुर्यमुखी – बोडी  

 

 

बेजात छनोट

समय भन्दा पछि फूलेका, कमजोर र बढी अग्ला बोटहरु  समयमै हटाउनु पर्छ र बाली एकनाशको राख्नु पर्छ ।

 

रोग व्यवस्थापन

थुँगा कुहिने रोग 

रोग लागेमा थुंगाको रंग खैरो र पछि खैरो रंगको ढुसीको बिकास हुन्छ । थुंगाको पछाडी भाग पानीले भिजेको जस्तो थोप्ला देखिन्छ । रोग बढी लागेमा दाना मसिनो,हलुंगो भई उत्पादनमा कमी आउछ । दाना खादा तितो र गेडा कालो धुलो ढिक्कामा बदलिन्छ ।

व्यवस्थापन

  • झुसिल कीरा संख्या कम गरेर वा नियन्त्रण गरेर रोगको प्रकोप कम गर्न सकिन्छ ।
  • थुंगा निस्किने बेलामा फोलिथियन ०.१ % वा थायमेट ०.२ % मिसाएर छरेमा रोग नियन्त्रण हुन्छ ।
डाँठमा ढुसी लाग्ने रोग

रोग लागेमा रोगी वोटको डाँठको तल्लो भागको रंग कालो हुनुको साथै बोटको विकाश राम्रोसंग हुदैन । बोट विस्तारै सुक्दै जान्छ र अन्त्यमा बोट मरेर जान्छ ।  

व्यवस्थापन

२–३ ग्राम विभास्टिनले बीउ उपचार गर्नुपर्छ वा डाईथेन एम–४५ को २–३ ग्राम प्रति लिटर पानीमा मिसाई २–३ पटक स्प्रे गर्नुपर्छ ।

किरा व्यवस्थापन

झुसिल कीरा

लार्भाहरु मसिनो छदा पातमा एकै ठाँउमा बसेर बिरुवाका पातहरु खान्छन् र पुरै बोटलाई नाङ्गो बनाई दिन्छन् ।

यसको रोगथामको लागि साईपरमेथ्रीन २५ EC एम.एल. प्रति लि. पानीमा मिलाई लार्भाको सानो अवस्थामै छर्नु पर्छ ।

पात चुस्ने कीरा 

फड्के र लाही कीरालाई रोगर Dimethoate १ मिलि लिटर प्रति लिटर पानी वा इमिडाक्लोरोपिड १ मि.लि. लिटर प्रति ४ लिटर पानीमा घोली छर्नुपर्छ ।

फूलमा बीउ खाने कीरा

पतेरो, सुर्ती र चनाको लाभ्रेले फूल तथा दाना खाएर क्षति पुर्याउँछन् । यी कीराहरुको रोकथामका लागि क्लोरोपाइरिफस १० ई.सी. २ मि.लि. प्रति लिटर पानीमा घोली फूलको वरिपरी झिज्ने गरी छर्नुपर्छ ।

बाली कटानी तथा भन्डारण

काट्ने, चुट्ने , भण्डारण र उत्पादन

फूलको थुंगामा पछाडीको भाग पहेंलो, खैरो रंगको र पात पनि पहेँलो भएपछि पाकेको सम्झनु पर्छ । काटेको फुलको थुंगालाई २ दिन घाममा राम्ररी सुकाई सुकेको फुलबाट तारको ब्रशले वा लठ्ठीले थुंगाको पछाडि भागलाई ठटाएर बीउ/दाना झार्न सकिन्छ । दानालाई ३–४ घाम राम्ररी सुकाउनु पर्छ र टोक्दा कुटुक्क आवाज आउने (८–९ प्रतिशत चिस्यान) आवस्थामा पुर्याई भण्डारण गर्नु पर्दछ । बीउको लागि प्रयोग गर्ने दानालाई हरेक १–२ महिनामा सुकाई रहनु पर्दछ नत्र सुर्यमुखी बीउको उमारशक्ति घट्दै जाने सम्भावना हुन्छ ।

उत्पादन

कम्पोजिट जातबाट १.० देखी १.५ मे. टन तथा हाइब्रिड जातबाट २ देखी २.५ मे टन प्रति हेक्टर उत्पादन लिन सकिन्छ ।

उत्पादनोप्रान्त गरिने क्रियाकलापहरु

सुर्यमुखीको तेल निकाल्ने तरिका

सुर्यमुखीको दानामा पाइने ५३ % तेल मध्ये ३५–४० % तेल तोरी पेल्ने मिलबाट निम्न कार्य गरी निकाल्न सकिन्छ ।

१)  सुर्यमुखी दानालाई धोएर राम्ररी सुकाउने । तोरी पेल्ने मिलमा तोरी भन्दा बढी स्पेलर बसेर पेल्ने र जसबाट ३५ % तेल निस्किन्छ ।

२) सुर्यमुखी घाममा सुकाउने, तत्कालै हल्का जातोमा पिसेर बोक्रा निकाल्ने । यसो गर्दा करिब दुई तिहाई बोक्रा घट्छ । त्यसपछि तोरी पेल्ने मिलमा राम्ररी पेल्ने । यसो गर्दा बोक्रा निकाले पछिको तौल ५० % भन्दा बढी तेल निकाल्न सकिन्छ  र सुर्यमुखी उत्पादन गरी तेलमा आत्मनिर्भर बन्न सकिन्छ ।

बीउ उत्पादन प्रविधि

सुर्यमुखी परपरागसेचित बाली हो । बीउ उत्पादन गर्दा दुईवटा जातको दुरी कम्तीमा १५००–१६०० मिटरको फरकमा लगाउनु पर्छ । १ के.जी. बीउबाट १०० के.जी. बीउ निकाल्न सकिन्छ । बीउ उत्पादन गर्दा बेजात, धेरै अग्ला वा होचो बोट उखेलिहाल्नु पर्छ र स्वस्थ्य बाटबाट ठूला ठूला फूलका थुङ्गा मात्र छनौट गरी बीउको लागि अलग्गै चुट्ने गर्नुपर्छ ।

 

अन्य जानकारी

परागसेचन प्रक्रिया

सुर्यमुखी पर पराग सेचन हुने बाली हो । त्यसैले परागसेंचन हुनको लागि उचित मात्रामा मौरीको व्यवस्था मिलाउनुपर्छ । मौरीको क्रियाकलाप कम भएको ठाउँमा फूल फुल्ने बेलामा हातमा कपडा बाँधी  बिहान ८–११ बजेको बिचमा फूललाई हल्का मुसार्नु  पर्दछ । प्लटको छेउमा मौरी पालन गर्दा उत्पादानमा वृद्धि हुन्छ ।

 

मौरीद्वारा परागसेचन र त्यसबाट सुर्यमुखी  बालीमा हुने फाईदाहरु

मौरीलाई सबैभन्दा भरपर्दो र सक्षम परागसेचक मानिन्छ । मौरीको शरीर मसिना रौँले ढाकेको र खुट्टाहरुमा पराग संकलन गरी  ल्याउन विशेष अङ वा टोकरी बनेको हुन्छ । कर्मी मौरी फूलको भित्री भागमा भएको पुष्षरस संकलन गर्न विभिन्न फूलहरुमा घुम्दा मौरीको शरीर तथा खुट्टामा भएका रौँहरुका कारण फूलको भाले अंगको पराग पोथी अंगमा पर्न गई परागसेचन हुन्छ । परागसेचन भई सबै फूलहरुमा भ्रुण उत्पादन हुन सफल भई गुणस्तरीय बीउ बन्ने हुँदा अध्ययनकर्ता र विज्ञ अनुसार बाली उत्पादनमा २०–४० % ले वृद्धि हुन्छ । मुख्यत फलफूल, तरकारी, तेलबाली जस्ता नगदेबालीहरुमा परागसेचनबाट २ देखि ३ गुणा बढी उत्पादन हुन सक्दछ । पराग सेचनबाट बाली बिरुवाको उत्पादनमा वृद्धि गराउन ५–१० % फूल फूलेपछि मौरी गोलाहरु स्थानान्तरण गराउन उपयुक्त मानिन्छ । यस्ता बालीहरुमा प्रति हेक्टर ८ देखि १० वटा राख्न आवश्यक पर्छ ।

स्वसेचित तेलहन बाली      परसेचित तेलहन बाली
रायो, आलस       तोरी, झूसेतील, तील, बदाम, सुर्यमुखी, सर्सौँ

मौरीद्वारा पराग सेचन गराउँदा हुने फाईदाहरु

  • बालीको उत्पादन र उत्पादकत्वमा वृद्धि
  • बीउको उम्रने शक्ति बढ्दछ
  • फलमा पौष्टिक तत्व बढाउने बास्नादार र गाढा रङको बनाउन मद्दत पुग्ने
  • तेलहन बालीमा तेलको मात्रामा वृद्धि
  • फल नलाग्ने वा फल भर्ने समस्या कम हुने
परागसेचनका लागि आवश्यक मौरी गोला

परागसेचनका लागि सबैभन्दा बढी बलियो (मेलिफेरा भए ६०,००० र एपिस सेरेना भए १५,००० कर्मी मौरी) र धेरै मह दिने मौरी गोला छनौट गर्नु पर्दछ । परागसेचनका लागि प्रति हेक्टर जमिनमा एपिस मेलिफेरा भए ५ घार र एपिस सेरेना भए ५ देखि ८ घारसम्म राख्न उपयुक्त हुन्छ ।