परिचय

परिचय

मानव सभ्यताको विकास सँगै लगभग ९,००० वर्ष पहिले बाख्रालाई घरपालुवा जनावरको रूपमा पाल्न थालिएको कथन छ । विश्वमा करिब ३५१ जातका बाख्राहरु भएतापनि एशिया महादेशमा करिब १४६ जातका बाख्राहरु पाइने गरिएको थाहा भएको छ । नेपालमा परापूर्वकाल देखि नै सबै जातजाति, धर्म र वर्गका मानिसहरुले बाख्रा पाल्दै आएका छन् ।ग्रामिण क्षेत्रमा विद्यमान गरिबी कम गर्न बाख्रापालन व्यवसायले ठूलो सहयोग पुराउदै आएको छ । नेपालमा करिब ५५ प्रतिशत कृषक परिवारले ९५,१२,९५८ वटा बाख्रा (कृषि डायरी, २०७०) पालेको तत्थाङ्क रहेता पनि हाल देशमा थप वार्षिक करिब ६ लाख खसीबोकाको माग रहेको छ । थप आवश्यकता पूरा गर्नको लागि ८० प्रतिशत भारत र २० प्रतिशत चीनबाट आपूर्ति हुने गरेको छ । देशको कूल मासु उत्पादन २,८७,९३० मेट्रिक टन (कृषि डायरी, २०७०) मध्ये बाख्राको योगदान ५३,९५६ मेट्रिक टन छ, जुन राष्ट्रिय उत्पादनको १८.७५ प्रतिशत हुन आउँछ । देशको कूल गाहस्थ उत्पादनको १२ प्रतिशत भाग बाख्राको मासुले ओगटेको छ ।

महत्व
  • बाख्राबाट मासु बाहेक दूध, छाला, रौं (पश्मिना) र मल आदि प्राप्त हुने र देशको उच्च पहाडी एवं हिमाली क्षेत्रमा ढुवानी गर्न समेत प्रयोग हुने हुँदा यसलाई एक बहुउपयोगी, बहुउद्देश्यीय घरपालुवा जनावर मान्न सकिन्छ ।
  • गाई—भैंसी पाल्न नसक्ने कृषक परिवारले पनि एक दुईवटा बाख्रा सजिलै पाल्न सक्ने हुँदा यसलाई “गरिबहरुको गाई” र “गरिबहरुको बैंक” को रुपमा समेत लिने गरेको पाइएको छ।  
  • गाउँघरमा महिला, केटाकेटी एवं बृद्धहरुले समेत सजिलै स्याहार सुसार गर्नसक्ने हुँदा निम्न वर्गका कृषकहरुको पारिवारिक आय बृद्धिमा र गरिबी न्यूनिकरणमा बाख्राले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्दछ ।
  • बाख्राको दूधबाट निर्मित चिजको माग बढ्दै गएको परिप्रेक्ष्यमा दूध उत्पादनको लागि समेत बाख्रापालन गर्न सकिन्छ |
  • बाख्रापालनबाट उत्पादन हुने छाला र रौं (पश्मिना) एक उप–उत्पादन मात्र नभई वैदेशिक मुद्रा आर्जनको आकर्षक श्रोत समेत हुन सक्ने अवस्था छ

नस्लहरु

 खरी बाख्रा
  • नेपालको तल्लो पहाडी भेगमा पाइने यो बाख्रालाई ठाउँ अनुसार खरी तथा औले बाख्राको नामले चिनिन्छ ।
  • नेपालमा भएको बाख्राहरु मध्ये ५०% खरी बाख्रा रहेको अनुमान गरिएको छ |
  • नेपालको पश्चिममा पाईने खरी बाख्रा पूर्वमा पाईने खरी बाख्रा भन्दा ठुला हुन्छन् |
  • खरी बाख्रा सालाखाला १६ महिनाको उमेरमा पहिलो पटक व्याउने, दुई वेत बीचको अन्तराल करिब ८ महिना हुने तथा अन्य बाख्राहरुको तुलनामा जुम्ल्याहा अथवा तिम्ल्याहा पाठापाठी बढी पाउने बाख्रा हुन् ।
  • खरी बाख्रा सरदर तौल २० देखि २५ किलोग्राम (केजी) सम्म हुन्छ ।  

 

1

 जमुनापारी

यसको मुख्य पहिचान उठेको नाक तथा लामो झुण्डिएका कान हुन् । दूध तथा मासुका लागि पालिने उपयुक्त बाख्राको जात नेपालमा धेरै अगाडी नै स्थानीय बाख्रीहरुमा प्रजनन् गराउन भारतबाट भित्राइएको हो ।  तराइ, भित्री मधेश तथा तल्लो पहाडी क्षेत्रमा यस जातका बाख्रा पाल्न सकिन्छ । वयस्क बाखाको र शारीरिक तौल बोकाको ४५ तथा बाख्रीको ३८ किलो उल्लेख गरिएको पाइन्छ ।

1

वारवरी

अफ्रिका महादेशको सोमालीको बारबरा भन्ने स्थानबाट उत्पत्ति भएको मानिएको यो बाख्रा भारतको उत्तर प्रदेश, हरियाणा तथा पश्चिम पाकिस्तानमा पाइन्छ । खँदिलो सानो शरीरको यो जातका बाख्राहरुको शरीरको रंग मुख्यतया सेतोमा रातो गोलो धव्बा भएको हुन्छ । बोकामा बाक्लो दाह्री हुन्छ । प्रजनन् क्षमता राम्रो भएको यो बाख्रा सुख्खा क्षेत्रमा बँधुवागरी पाल्न उपयुक्त पाइएको छ । वयस्क बाखाको र शारीरिक तौल बोकाको ३६ तथा बाख्रीको २३ किलो उल्लेख गरिएको पाइन्छ ।

​​​​​​​वोएर बाख्रा

दैनिक शारीरिक बृद्धिदर तथा वयस्क शारीरिक तौल उच्च (१०० किलो भन्दा बढि) रहेको अफ्रिकन वोयर जातका बाख्रा पहिलो पटक किसानको प्रयासबाट नेपालमा भित्रिएको हो ।  स्थानीय बाख्राहरु सँग क्रस गराई जन्मेका वर्णशंकर पाठापाठीको शारीरिक बृद्धि स्थानीयको तुलनामा धेरै पाईएको हुँदा (सालाखाला एक वर्षको तौल ३५ किलो) यस जातको बोकाको माग अत्यन्तै धेरै देखिन्छ ।  वोयर बोका तथा स्थानीय बाख्रा बीचको प्रजनन्बाट जन्मिएका वोयर क्रस बाख्राहरु तराई देखि १,७००–१,८०० मिटरसम्मको पहाडी क्षेत्रमा सफलताका साथ पालिएका छन् । तर सुदुर पश्चिमका पहाडी जिल्लाहरु मध्य तथा पुर्वि पहाड भन्दा धेरै उत्तरी अक्षांशमा भएको हुँदा १,३००–१,४०० मिटरको उचाईसम्म मात्र लग्नु उपयुक्त देखिन्छ । कृषि तथा खाद्य सुरक्षा परियोजना अन्तर्गत सुदुर पश्चिमको डोटी जिल्ला तथा मध्य पश्चिमको सुर्खेत तथा दैलेख जिल्लाका व्रिडर कृषकहरु मार्फत केहि समय पछि वोयर क्रस बोका तथा पाठीहरु उपलव्ध हुनेछ । ​

2

आवास व्यवस्थापन

खोर व्यवस्थापन

चिसो हावापानी भएको पहाडी भेगमा खोर बनाउँदा दक्षिण–पूर्व मोहडा र भित्री मधेश, खोँच र बेसी जस्ता तातो हावापानी हुने क्षेत्रहरुमा खोर बनाउँदा उत्तर–पश्चिम मोहडा पर्ने गरि निर्माण गर्नुपर्दछ । टाँडमुनि थुप्रिएको बड्कौलालाई निकाल्न, खोर सफा गर्न तथा जीवाणुको प्रकोपबाट बाख्रालाई जोगाउन बाख्राको खोर जमीनबाट करिब तीन फिट जतिको उचाइमा बनाउनुपर्दछ । बाख्राको खोर बनाउँदा पानीको निकास राम्रो सँग भएको र पानी नजम्ने ठाउँ हुनुपर्दछ । जंगली जनावरहरुले सजिलै आक्रमण गर्न नसक्ने ठाउँ हुनुपर्दछ । साथै चरन तथा घाँसेबाली, पशु स्वास्थ्य सेवा र पशु प्राविधिकका सेवाहरु, यातायात तथा बजार, स्वच्छ पिउने पानी उपलव्ध हुन सक्ने ठाउँ हुनुपर्दछ ।

 

खोरको क्षेत्रफल

अवस्था अनुसार बाख्राको खोर यस प्रकार बनाउनु राम्रो मानिन्छ ।  

बाख्राको अवस्था  प्रति बाख्रा (वर्गमीटर)
प्रजनन् योग्य बोका   २.५
व्याउने बाख्री     १.५
वयस्क बाख्री  १.०
पाठापाठी   ०.४

                                                                                                                           

आहार व्यवस्थापन

घाँस व्यवस्थापन

बाखापालन सुरु गर्ने योजना संगै आवश्यक मात्रामा विभिन्न किसिमक घाँसका पनि खेती गर्नुपर्दछ । बाख्रालाई भुँई घाँसभन्दा पनि डाले तथा बुटयन किसिमका घाँसहरुँ बढी रुचाउने भएकाले इपिल इपिल, मेन्दोला, भटमासे, टाँकी, डेस्मोडियम, खन्यू, कोइरालो, गेडुलो जस्ता डालेघाँसबाली बारी, कान्ला तथा खेर गई रहेको सिमान्तकृत जमिनहरुमा लगाएर घाँसको अभाव हुने मौसममा त्यस किसिमको घाँस खुवाउन पर्दछ भने मौसम अनुसारको स्टाइलो, कुटजु, जै, बरसिम, मकैचरी आदि खुवाउन सके राम्रो उत्पादन लिन सकिन्छ । हरियो घाँसले महंगो दानाको खपतमा कमी ल्याई उत्पादन लागत कम गर्दछ भने बाख्रालाई स्वास्थ्य रहन पनि सहयोग गदर्छ ।

दाना र पानी

दाना व्यवस्थापन

बाख्रापालन गर्दा बाख्रालाई खुराकमा घाँसपात सँगै दाना दिंदा बाख्रा व्यवसायबाट राम्रो आम्दानी लिन सकिन्छ । गाउँघरमा सजिलै सँग बनाउन सकिने दानाको समिश्रण यस प्रकार हुन सक्दछः मकै/गहुँ/जौ ७२%  पीना/दाल/गेडागुडी २५% नून १ % खनिज मिश्रण २ %

दानाको मात्रा

ठूलो बाख्रालाई दैनिक २०० देखि २५० ग्राम (५ मुठी) र सानो पाठापाठीलाई ५० देखि ७५ ग्राम (१—२ मुठी) यसरी तयार गरेको दाना दिनुपर्दछ ।

पानीको मात्रा 

एउटा २० किलोग्राम (केजी) तौल भएको स्वस्थ बाख्राले १ दिनमा ४५० देखि ६८० मिलीलिटर (मिलि) स्वच्छ पानी पिउँदा राम्रो हुन्छ ।

स्वास्थ्य व्यवस्थापन

पेट ढाडिने

प्रायः गरि बाख्राले मकै वा अन्य अन्न, डालेघाँस वा कोसेघाँस बढी खाँदा पचाउने क्रममा बढी हावा वा फिंज निस्कने भई बाख्राको पेट ढाडिने गर्दछ ।  यस्तो अवस्थामा अफानिल, टिम्पोल आदि औषधी बाख्रालाई खुवाउनुपर्दछ र धेरै बढी ग्यास भएमा देब्रे पेटमा ट्रोकर क्यानुला, वा मोटो सुईले घोपेर हावा बाहिर निकाल्नुपर्दछ । तारपीनको तेल वा तोरीको तेल १५ देखि ३० मिलि जति पेट ढाडिएको पशुलाई खुवाउनाले पनि फाइदा पुग्दछ ।

पेटको गोलो जुका

बाख्राको पेट वा आन्द्रामा जुका छ भने बाख्राको च्यापु सुन्निने, दुब्लाउने, छेर्ने आदि जस्ता लक्षणहरु देखिन्छन् ।  यसको लागि रोगी पशुलाई जेठ देखि असोजसम्म प्रत्येक महिनामा एक–एक पटक फेनबेन्डाजोल (५ मि.ग्रा प्रति केजी शारीरिक तौल) वा अलबेन्डाजोल (७.५ मिलिग्राम प्रति केजी शारीरिक तौल) औषधी खुवाउनुपर्दछ |

hi

छमासे रोग

यो रोग बाख्रमा जीवाणुक कारणले लाग्ने गर्दछ। विशेषगरि  ६ महिनासम्मका पाठापाठीमा यो रोग बढी देखा पर्ने भएकाले यसलाइ कमसल आहाराबाट एक्कासि दानामा जाँदा यो रोगले बढी आक्रमण गर्दछ । यो रोगले गर्दा पाठापाठीले छेर्ने, शरीरमा पानीको कमी हुने, खाना नखाने, ज्वरो आउने, आन्द्रा सुन्निने र मृगौलाले काम गर्न छोड्ने आदि हुन्छ तथा यो लक्षण देखा परेको ३–४ दिनमा बाख्राहरु मर्दछन् । उपचारको रूपमा संक्रमित पाठापाठीलाई सल्फाडिमाइडिन चक्कि तीन दिनसम्म खुवाउने र लक्षणअनुसार उपचार गर्नुपर्दछ, तथा इन्टेरोटोक्सेमिया विरुद्धको खोप निश्चित मात्रामा लगाउने व्यवस्था मिलाउनुपर्दछ । थप व्यवस्थापनको रूपमा बाख्राको आहारा अचानक नबदल्ने र चरनमा पनि लग्ने व्यस्था गर्न सकिन्छ ।

पी.पी.आर

पी.पी.आर :
यो भाइरसबाट  फैलिने भेडाबख्रमा महामारीका रुपमा देखिने सरुवा रोग हो । यसलाई बाख्राको हैजा पनि भनिन्छ । यो रोग लागेपछि बाख्रामा अत्यधिक ज्वोरो आउने (१०५ दखि १०६फरेननहाइट), टाउको सुन्निनु, मुखमा घाउ आउनु, आँखाबाट कचेरा निस्कने, खान मन नलाग्ने , नाकबाट सिंगान बग्ने र छेर्ने आदि लक्षणहरु देखा पर्दछन् र अन्ततः बाख्रा मर्दछन् | रोग लागेको बाख्रालाई लक्षण अनुसारको उपचार गर्नुपर्दछ तथा रोग लाग्नु भन्दा अगाडी नै वार्षिक रुपमा पी.पी.आर विरुद्धको खोप एक मिलि प्रति बाख्राको दरले लगाउनुपर्दछ ।

1

खोरेत

यो रोग सामान्यतया खुरफट्टा जनावरमा एक थरिको भाइरसबाट लाग्ने सरुवा रोग हो ।  यो रोग लागेमा पशुलाई ज्वरो आउने, मुखमा घाउ हुने,  र्याल चुहाइराख्ने, खान मन नलाग्ने, खुट्टामा घाउ हुने र खुट्टा खोच्याएर हिड्ने आदि लक्षणहरु देखा पर्दछन् ।
उपचारको रूपमा खोरेत लाग्नु भन्दा अगावै वार्षिक रुपमा बाख्रालाई खोरेत विरुद्धको खोप लगाउनुपर्दछ | मुखमा घाउ छ भने फिटकिरी पानीले सफा गर्नुपर्दछ तथा खुट्टामा घाउ छ भने पाटास–पानीले सफा गरि हिम्याक्स वा चारमिल मलम दनिक रूपमा घाउमा लगाउनपर्दछ ।

2

निमोनिया

चिसोको कारणले बाख्राको फोक्सोमा संक्रमण भई श्वास फेर्न अप्ठ्यारो हुने अवस्थालाई निमोनिया भनिन्छ । प्रतिकूल चिसो मौसममा पाठापाठीमा यो रोग बढी देखा पर्दछ । श्वास–प्रश्वासमा अवरोध आउने, नाकबाट सिंगान निस्कने, खोक्नेजस्ता लक्षणहरु निमोनियामा हुने गर्दछ ।  उपचारका रूपमा रोगी पशुलाई  न्यानो र सुखा ठाउँमा राखी एभिल सुई लगाउने  र एन्टीबायोटिक तथा खोकी कम गर्न क्याफलोन धुलो खुवाउनुपर्दछ |

w

छेरौटी

सामान्यतय पशुले पातलो दिसा धेरै मात्रामा गरेमा छेरौटी भनिन्छ | यो रोग धेरै कारणले लाग्न सक्दछ जस्तै दानाको मात्रा तथा गुणस्तरमा कमि,संक्रमण आदि । यो रोग लागेपछि पशुको शरीरमा पानी तथा पौष्टिक पदार्थ अप्रातिश रूपमा कम भएर जान्छ । यसको लागि नेब्लोन वा डाइरोक धूलो १०–१५ ग्राम दिनमा २–३ पटक तीन दिनसम्म खुवाउनुको साथै नून–चीनीपानीको घोलो वा जीवनजल वा इलेक्ट्रोलाइटस पशुलाई खुवाउनुपर्दछ । साथै कोजोल बोलस आधा देखि एक चक्कि तीन दिनसम्म खुवाउनुपर्दछ ।

नाम्ले/माटे रोग

यो रोग नाम्ले जुकाको कारणले हुने भएकाले बाख्राको कलेजोलाई असर गर्दछ र पाचनक्रियामा असर पुगी पशुको च्यापु सुन्निने, घासपात कम खाने र पशु दुबलाउदै जान्छ । उपचारको रूपमा पशुलाई अक्सीक्लाजानाइड औषधी १० मिलिग्राम (मिग्रा) प्रति केजीको दरल र लिभर टनिक संगै भिटामिन बी कम्प्लेस आषधी निश्चित मात्रामा खुवाउन पर्दछ ।

2

लूतो

लूतो बाख्रामा लाग्ने छालासम्बन्धी परजिबीबाट हुने रोग हो ।  बाख्रालाई लूतो वा छालामा देखिने घाउहरु भएमा टिक आउट, नोटिक्स वा साइपरमेथ्रीन ३५ ईसिको झोल दुई मिलि एक लिटर पानीमा घोली शरीरमा लगाउनुपर्दछ । विषादी लगाउँदा मुखमा मोला लगाउनु पर्दछ । यसको सट्टा एक मिलि इभरमेक्टीन इन्जेक्सन ५० केजी तौलको अनुपातमा लगाउनु सकिन्छ ।

2

मोहोला

यो पनि बाख्रामा भाइरसबाट लाग्ने सरुवा रोग हो ।  यो रोग लागेमा बाख्राको ओंठ र मुखमा खटिरा र घाउ आउने, पशुले खान वा चर्न छोड्ने आदि लक्षण देखा पर्दछ तथा यो रोग तीन हप्तासम्ममा आफै  निको हुन्छ ।  यो रोगले वयस्क बाख्रालाई भन्दा स–साना पाठापाठीहरुलाई बढी असर गर्दछ । उपचारको रूपमा मुखको घाउलाई फिटकिरी पानीले सफा गरि हिम्याक्स मलम लगाउनु पर्दछ ।

बाख्राका रोगहरु विरुद्ध लगाइने खोपको तालिका
समय (महिना) रोगको नाम खोपको मात्रा
वयस्क पाठापाठी
पौष–माघ सि.सि.पि.पि. ०.२ मिलि छालामुनी ०.२ मिलि छालामुनी
फागुन–चैत्र पी.पी.आर १ मिलि मासु वा छालामुनी १ मिलि मासु वा छालामुनी
चैत्र–बैशाख विफर सियोले छालामा खोपेर सियोले छालामा खोपेर
बैशाख–जेठ छमासे ५ मिलि छालामुनी २.५ मिलि छालामुनी
बैशाख–जेठ खोरेत २ मिलि छालामुनी १ मिलि छालामुनी

 

बाखापालन गर्दा बाख्राको स्वास्थ्य व्यवस्थापनका लागि ध्यान दिनु पर्ने  कुराहरु

 

  • बाखा किनेर ल्याउँदा सकेसम्म राम्रो फार्मबाट वा खोप लगाएको फार्म बाट किर्नेर ल्याउनु पर्दछ
     बजारबाट बाखा ल्याउदा पी.पी.आर. विरुद्धका खोँप र जुका विरुद्ध औषधी प्रयोग गर्नुपर्दछ ।
  • बाखा संग-संगै अन्य जनावर जस्तै कुकुर पालिने गरिएको छ भने कुकुरलाई र रेबिज विरुद्धको खोप  लगाउने र जुका बिरुद्ध समय\ समयमा औषधि खुवाउनु पर्दछ | खोर र बाख्रा बस्ने ठाउँ हावा पस्ने तथा सुख्खा र न्यानो हुनुपर्दछ ।
  • जैविक सुरक्षाको विधिहरु राम्ररी अपनाउनुपर्दछ । बिरामी पशुलाई अलग्गै राखी पशु प्राविधिकको सहायताले उपचार गर्नुपर्दछ ।  समय–समयमा खोर भित्र निर्मलीकरण गर्ने औषधी वा फिनेल छर्कने गर्नुपर्दछ ।  पाठापाठीको मृत्युदर कम गर्न हाडनाता नपर्ने गरि प्रजनन गराउनुपर्दछ ।

अन्य जानकारी

बाख्रापालन सम्बन्धि केहि महत्वपूर्ण कुराहरू

 

  • बाख्राले ओसिलो भन्दा ओभानो तथा सुख्खा स्थान बढी मनपराउँदछ । बाखालाई घाम, पानी, हावाहुरी, जाडो,गर्मि तथा जंगली जनावरबाट बचावटको लागि खोरको आवश्यकता पदछ । स्थानीय सामग्रीहरुको प्रयोगबाट कम लागतमा बाख्राहरुलाई आरमदार्यी किसिमको खोर निर्माण गर्न सकिन्छ ।
  • कुन बाख्राको जात पाल्ने भन्ने कुरा बाख्रापालनको उद्देश्य (मासु, दूध, पश्मिना, मोहेर उत्पादन) तथा पालन गरिने स्थानको हावापानीमा निर्भर गर्दछ । जुनसुकै बाख्राको जातबाट मासु उत्पादन गर्न सकिने भएता पनि वर्षाको अथक प्रयासबाट विशेष उत्पादनको लागि विशेष बाखाका जातहरु विकास गरिएका छन् । मासु उत्पादनका लागी बोएर, दुध उत्पादनका लागि सानन, दुध तथा मासु दुवैक लागि जमुनापारी, मोहर उत्पादनको लागि एंगोरा तथा पश्मिना उत्पादनका लागि टीवटेन तथा च्यांग्रा यसका केहि उदाहरण हुन्।
  • बाख्राको उत्पादन तथा उत्पादकत्व यसको वंशाणुगत तथा जातिय क्षमता र बाख्राको व्यवस्थापन (आहारा, प्रजनन, स्वास्थ्य तथा वातावरण) ले निर्धारण गर्दछ । जतिसुकै राम्रो वशांणुगत क्षमता भएको बाख्रा भएता पनि आवश्यकता अनुसारको आहारा पुराउन नसकेमा तथा स्वास्थ्यको अवस्था नराम्रो भएमा राम्रो उत्पादन लिन सकिदैन । त्यसैगरि जतिसुकै राम्रो आहारा तथा स्वास्थ्यको व्यवस्थापन गरेता पनि वंशाणुगत क्षमता नराम्रो भएको बाख्रा भएमा राम्रो उत्पादन लिन सकिदैन । बाख्रापालनमा वंशाणुगत क्षमता तथा व्यवस्थापन दुबै उत्तिकै महत्वपूर्ण छन् ।
  • बाख्रा चरनमा मात्र राम्रो हुर्कन्छ भन्ने धारणा सहि हैन । वंधुवा प्रणालीमा पनि बाख्रापालन गर्न सकिन्छ । वातावरणिय सन्तुलनको लागि वंधुवा बाख्रापालन पद्धतीलाई अवलम्वन गरिनु जरुरी छ ।
  • साधारणतया एउटा ३० देखि ४० किलोको बाख्रालाई दैनिक ५ देखि ७ किलो हरियो घाँस तथा १५० देखि २०० ग्राम दाना (मकै, पिना) को आवश्यकता पर्दछ । वंधुवा प्रणालीमा बाख्रापालन गर्दा कति संख्यामा माउ बाख्राहरु राख्ने भन्ने कुराको निर्क्योल गर्न हरियो घाँसको उपलव्धतालाई आधार मान्नु उपयुक्त हुन्छ ।
  • रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्न नदिनु नै राम्रो हो तसर्थ बाख्रापालनमा जैविक सुरक्षाविधिको पूर्ण अवलम्वन तथा प्रमुख रोगहरु विरुद्ध उपलब्ध भ्याक्सिन लगाई बाख्रालाई सुरक्षित राख्नु महत्वपुर्ण हुन्छ ।
बाख्रा प्रजननमा ध्यान दिनुपर्ने प्रमुख कुराहरु
  • प्रति ३० वटा बाख्राको लागि एउटा बोका चाहिन्छ । 
  • यस्ता बोका बथानमा सबैभन्दा ठूलो र बढी तौलको हुनुपर्दछ । 
  • प्रजननको लागि बाख्रा छनौट गर्दा जुम्ल्याहाबाट छनौट गर्नु राम्रो मानिन्छ । 
  • प्रजननको बोकालाई साधारणतया १ वर्षदेखि ५ वर्षको उमेर सम्म प्रजननको लागि उपयोग गर्न सकिन्छ । तर हाडनाता प्रजनन भने हुन दिनु हुँदैन । 
  • प्रत्येक १८ महिनामा बोका फेदा हाडनाता बीच हुने प्रजनन हुन पाउँदैन ।  शुरुमा पाठीलाई बोका लगाउने उमेर तराई र पहाडमा १० महिना तथा उच्च पहाडमा १३ महिना हुनु पर्दछ । 
  • बोका खोजेको १८ घण्टाभित्र प्रजनन गराउँदा राम्रो हुन्छ । बाख्रीले बोका खोज्ने बेला हुँदा बढी बेचैन हुने, कराउने, पुच्छर हल्लाउने, राम्ररी घाँस–दाना नखाने, दूध उत्पादन घटने, सुत (Vulva) रातो हुने, सुन्निने, बोका बाख्रीमाथि चड्ने आदि लक्षणहरु देखाउँदछ । 
  • बाख्रा ब्याएको २–३ महिनाको अवधिमा पुनःबोका लगाउनु उपयुक्त हुन्छ । यसो गर्दा २ वर्षमा ३ पटकसम्म बाली लिन सकिन्छ ।