परिचय

परिचय तथा महत्व

परिचय

अम्बा उष्ण तथा उपोष्ण प्रदेशिय फल हो भने यसलाई वैज्ञानिकहरुले Myrtaceae परिवार अन्तर्गत राखेका छन । यसको वैज्ञानिक नाम Psidium guajava हो । अम्बा त्यती धेरै उचाईमा जाँदैन लगभग यसको वृद्धि ७ देखि ८ मिटर अग्लो हुन्छ ।यो मुलतः तीन मौषममा जस्तैः वसन्त ऋतुमा, वर्षा ऋतुमा र हिंउद ऋतुमा फूल फुल्ने गरेतापनि वर्षातको समयमा धेरै फल लाग्ने गर्दछ । हिंउदको समयमा फल बढी गुलियो र धेरै मूल्य जाने हुन्छ । फलहरु हरियो तथा कुनै खैरो रातो रंगको, हल्का रातो रंगको, गोलो, अथवा गुलावी रंगको हुन्छ । जात अनुसार फलहरु १० से.मी. सम्म लामो र १० से.मी. सम्म चौडा हुन सक्दछन । यो परिवारमा ल्वाङ्ग, जामुन एवं मसलाजस्ता विरुवाहरु पर्दछन भने त्यस्ता विरुवाहरुका बोक्राहरु सजिलै निस्कने खाले हुन्छन । उष्ण एवं उपोष्ण हावापानीमा राम्रो खेती गर्न सकिने भएको कारणले गर्दा यस फलको विस्तार धेरै देशहरुमा भएको पाईन्छ । नेपालमा अम्बाको खेती संखुवासभा, काभ्रे, धादिङ्ग, बारा, चितवन, तनहुँ, नबलपरासी, रुपन्देही, कपिलबस्तु, दाङ्ग, कञ्चनपुर, लगायतका २२ जिल्लाहरुमा व्यवसायिक रुपमा भईरहेको छ ।

उत्पति

यो फल उष्ण प्रदेशिय अमेरिकी महाद्धीपमा भएको मानिन्छ ।

प्रमुख उत्पादक देशहरु

अम्बा खेती गर्ने प्रमुख देशहरुमा क्युबा, ब्राजील, भारत, म्यानमार, श्रीलंका, पाकिस्तान, बंगलादेश र ईण्डोनेशिया जस्ता देशहरु पर्दछन ।

उपयोगिता

पाकेको अम्बा सजाएर राख्न तथा सलादको लागि प्रयोग गरिनुका साथै फलबाट गुणस्तरीय जेली, जुस एवं आईसक्रीम बनाउन प्रयोग गरिन्छ । अम्बाको पातबाट रङ्ग निकालिन्छ जुन रङ्ग उत्पादन गर्ने कारखानामा प्रयोग गरिन्छ भने यसले झाडापखाला लागेको विरामीलाई सञ्चो गराउँछ । पहाडी भूभागमा पैह्रो रोक्न अम्बाका बोटहरु प्रभावकारी भएको पाईन्छ ।

पौष्टिक महत्व

अम्बामा प्रशस्त मात्रामा भिटामिन ’सी’, क्याल्सियम, फस्फोरस, राईबोफ्लाबिन, पाण्टोथेनिक एसिड, थायमिन र नायसिन (भिटामिन बी कम्प्लेक्स) पाउन सकिन्छ । यसलाई तराइको स्याउ समेत भन्ने गरिन्छ । एक अध्ययन अनुसार यस फलमा प्रति १०० ग्राममा ६०० मिलिग्राम भिटामिन ’सी’ पाउन सकिन्छ । साधारणतया रातो गुदी भएका अम्बाका तुलनामा सेतो गुदी भएका अम्बामा भिटामिन ’सी' बढी पाईन्छ ।

 

जातहरु

जातिय विशेषताहरु

अम्बाको खेती गर्ने देशहरुमा धेरै जातहरु उपलब्ध छन । जसमा ईण्डियन उपमहाद्धिपमा अलाहाबाद सफेदा, लखनउ ४९, रेड प्mलेस्ड सीडलेस, चाईनिज अम्बा, बनारसी, एपल कलर्ड र पियर सेप्ड जस्ता जातहरु प्रचलित छन । यसको अलावा नेपालमा चितिदार, के.जी. १ र स्थानीय जातहरु प्रसिद्ध छन । मुख्य मुख्य जातहरुको जातीय गुण निम्न बमोजिम ब्याख्या गरिन्छः

अलाहाबाद सफेदा (Allahbad safeda)

भारतको उत्तर प्रदेशबाट विकसित भएको यो जातको अम्बाको बोट करिब ६ मिटर अग्लो, घना र लामा हाँगाहरु भएको हुन्छ । पातहरु पनि चौडा हुने यो जातले बढी सुख्खा सहन सक्दछ । यसका फलहरु गोला, बाहिरी भाग (बोक्रा) सेतो र पहेंलो गुदी भएको करिब १५० देखि २०० ग्रामसम्म तौल भएका हुन्छन । फलहरुमा गुलियोपना र अमिलोपना दुबै बढी हुन्छ र राम्रो भण्डारण क्षमता भएको पाईएको छ ।

लखनउ – ४९/सरदार

बोट मझौला आकारको २ देखि ३ मिटर अग्लो र पातहरु १२–१३ से.मी. लामा र ६.५ से.मी. चौडा हुने यो जात अलाहाबाद सफेदाबाट छानेर भारतको पुना भन्ने ठाउँमा विकास गरिएको हो । सरदार अम्बा पनि भनेर चिनिने यस जातका फलहरु लाम्चो र फलको बोक्रा पहेंलो रङ्गको हुन्छ । फल गुलियो, गुदी सेतो, नरम खालका थोरै वीउहरु हुन्छन र भण्डारण क्षमता बढी हुनु यस जातका अन्य विशेषताहरु हुन । यसको उत्पादन २५ टन/हेक्टर हुन्छ ।

चित्तिदार

यो जात अलाहाबाद सफेदासँग मिल्दो जुल्दो जात हो तर यसका पातहरु चौंडा, टुप्पो तिखारिएका र फेदतिर चौंडा भएका हुन्छन । फलहरु बाटुला, साना आकारका र बोक्रामा राता थोप्लाहरु भएका हुन्छन जुन अलाहाबाद सफेदामा हुँदैन । यसको गुदी सेतो हुन्छ र फलको सरदर तौल ११० ग्राम हुन्छ । यसको भण्डारण क्षमता पनि राम्रै पाईएको छ ।

रेडफ्लेस्ड

नाम अनुसार फलको गुदी रातो हुने यस जातको बोट करिब ३.५ देखि ४.५ मीटर अग्ला र पातहरु १० से.मी. लामा हुन्छन र औषत ५ से.मी. चौडा अनि टुप्पातिर तिखारिएका हुन्छन । फलको बोक्रामा कहिलेकाही राता थोप्ला देखिने यी जातहरु देख्दा आकर्षक भएपनि खाँदा खल्लो र भण्डारण क्षमता कम भएका हुन्छन ।

स्थानीय जातहरु

फलहरु नास्पाती आकारका, पाक्दा पहेंला र चिल्लो रङ्गका देखिने र भण्डारण क्षमता बढी भएतापनि उन्नत जातका तुलनामा उत्पादन कम हुने भएकोले यसको खेती व्यवसायिक रुपमा गरिंदैन ।

आवश्यकता

हावापानी तथा माटो

हावापानी

नेपालमा यो फलको खेती पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका तराई र मध्य पहाडी भेगमा गरेको पाईन्छ । यसको व्यवसायिक खेती समुन्द्र सतहदेखि १५०० मिटरसम्मको उचाईमा गर्न सकिन्छ । अम्बाको बृद्धि विकास एवं उत्पादन राम्रो हुनको लागि बायुमण्लीय तापक्रम २३ डिग्री सेल्सियस र १००० देखि २००० मिलिमिटर वर्षा हुने ठाँउमा यसको खेती गर्नु राम्रो हुन्छ । तर फूल फुल्ने र फलको बृद्धि विकास एवं पाक्ने समयमा वर्षा नभएमा राम्रो मानिन्छ । उच्च गुणस्तरको प्रशस्त उत्पादन लिनको लागि जाडो महिना अर्थात बिशेष हिंउद ऋतुको आवश्यकता पर्दछ । फल्ने फूल्ने समयमा अम्बालाई सुख्खा बातावरणको आवश्यकता पर्दछ । अन्यथा यदि उक्त समयमा सापेक्षिक आर्द्रता बढी भएमा बोटको वृद्धि त प्रशस्त हुन्छ तर बोटले न्यून गुणस्तरको फल दिन्छ । फलको विकास हुने समयमा बायुमण्लको तापक्रम बढी हुन गएमा अम्बाका फलहरु झर्ने समस्या देखा पर्दछ ।

माटो

अम्बाले सुख्खा सहन्छ साथै हल्का तूषारो समेत सहन्छ र हल्का अम्लीय देखि क्षारीय माटोको पि.एच. मान ४.५ देखि ८.२ सम्मको माटो यस खेतीको लागि उपयुक्त हुन्छ । प्राङ्गारिक पदार्थ प्रशस्त भएको तथा पानीको राम्रो निकास भएको गहिरो दोमट माटो यस खेतीको लागि उपयुक्त हुन्छ ।

नर्सरी व्यवस्थापन

विरुवा प्रसारण विधि (Propagation)

विरुवा प्रसारण विधि (Propagation)

अम्बा वीउबाट प्रसारण गरिन्छ भने बानस्पतिक प्रसारणमा ईनार्चिङ्ग (एप्रोच ग्रफ्टिंग) र गुटि बाँध्ने तरीकाबाट प्रसारण गर्न सकिन्छ । जसमा ईनार्चिङ्ग र गुटी बाँध्ने तरीकाबाट प्रसारण गर्दा ८० देखि ९० प्रतिशतसम्म सफलता पाउन सकिन्छ । वीउबाट बेर्ना उमार्नका लागि पाकेको फलबाट निकालिएको ताजा बीउलाई प्लाष्टिकको थैलो या नर्सरीमा रोपिन्छ । वीउ निकालेको केही दिनपछि नै अम्बाको वीउ उम्रन सक्ने शक्ति नष्ट भएर जाने भनिएतापनि कृषि तथा पशु विज्ञान अध्ययन संस्थानमा अम्बा परियोजनाले गरेको एक अनुसन्धानको प्रारम्भिक नतिजा अनुसार अम्बाको वीउ निकालिएको एक वर्षपछिसम्म पनि उम्रन सक्ने शक्ति नष्ट नभई उक्त वीउबाट ८० देखि १०० प्रतिशतसम्म बेर्ना उत्पादन गर्न सकिने देखिएको छ ।

वीउ रोपेको ४५ देखि ६० दिनपछि बगैंचामा रोप्न सकिने भएतापनि प्रायः गरेर एक वर्ष पुरानो अम्बाको विरुवालाई बगैंचामा रोप्न उपयुक्त हुन्छ । वीउबाट उत्पादन गरिएका बोटको फल मातृ गुणले परिपूर्ण नहुने भएकोले व्यवसायिक रुपमा खेती गर्न उपयुक्त मानिदैन ।

अम्बामा बानस्पतिक प्रसारण विधिहरु जस्तैः बडिङ्ग, ग्राफ्टिंग, लेयरिङ्ग र स्टुलिङ्ग विभिन्न विधिहरु भएतापनि व्यवहारिक रुपमा किसानहरुले आफ्नो बगैंचाममा अपनाउने गरेको प्रसारण विधि भनेको गुटी बाँध्ने (air layering) विधी हो जुन अति प्रचलित र सफल विधी हो ।

गुटी बाँध्ने (Air layering)

एअर लेयरिङ्ग गर्दा रुखको एक वर्ष पुरानो हाँगा जसको व्याँस १–१.५ से.मी. को छ त्यसमा ३ से.मी. लामो गोलाकार कटिङ्ग दिई त्यस बीचको बोक्रालाई निकालेर फालिन्छ । त्यसपछि बोक्रा फालेको ठाउँमा रहेको चिल्लो भागलाई रगडेर त्यस भागको वरिपरि पानीमा भिजाईएको झ्याउ वा चिम्ट्याईलो माटोले ढाकेर प्लाष्टिकले टम्म पारेर बाँधिन्छ दुबै छेउमा सुतरीले मजबुत पारेर बाँधिन्छ । झ्याउ वा माटोले ढाक्नु अघी बोक्रा फालिएको ठाउँमा क्ष्द्यब् वा ल्ब्ब् जस्ता हर्मोनले उपचार गरेको खण्डमा त्यसबाट चाँडै नै जरा निस्कन शुरु गर्दछ । गुटी बाँध्ने उपयुक्त समय वर्षा ऋतु हो । यसरी लेयरिङ्ग गरेको ३० देखि ४५ दिनपछि वा त्यसमा जरा निस्केपछि त्यस हाँगालाई माउबोटबाट छुट्टयाएर बढी कम्पोष्ट भएको ठाँउमा रोप्नु पर्दछ र करिब १ वर्षपछि यसलाई बगैंचामा रोप्न सकिन्छ ।

जग्गा तयारी

रेखांकन, खाडल तयारी र विरुवा रोपण कार्य

अम्बाका विरुवाहरु लगाउने जग्गालाई मनसुन शुरु हुनु अगाबै अर्थात् हिंउदमा नै गहिरो खनजोत गरी सम्याउनुपर्दछ । जग्गा हेरीकन बर्गाकार, आयताकार वा षटकोणाकार आदी तरीकाबाट रेखाड्ढन गरी ६ देखि ७ मिटरको दुरीमा विरुवा लगाउन सकिन्छ भने ७५ से.मी. × ७५ से.मी. × ७५ से.मी. साईजमा खाडल खनीसकेपछि गाईबस्तुको राम्ररी कुहिएको मल १ भाग र माथिल्लो सतहको माटो २ भाग राम्ररी मिलाएर उचित तरीकाले खाडल पुरिदिनु पर्दछ र त्यसपछि जेष्ठ–आषाढको समयमा माथी उल्लेखित दुरीमा विरुवा लगाउन सकिन्छ । विरुवा लगाउँदा सीधा जरा भएको लगाउनु पर्दछ भने जरा चुँडिएको भएमा १ ग्राम वेभिष्टिन प्रति लिटर पानीमा मिसाई उपचार गरी लगाउन सकिन्छ । हाल आएर अम्बालाई High density planting अर्थात बढी घनत्वमा विरुवा लगाउने पद्धतिको शुरुवात भएको छ । जसअनुसार भारतको नयाँ दिल्लीमा ३ मी.×३ मी. दुरीमा लगाईएको अलाहाबाद सफेदाको बोट ३५ वर्षसम्म स्वस्थ रहेको पाईयो ।

बाली व्यवस्थापन तथा हेरचाह

मलखाद प्रयोग

मलखाद प्रयोग

अम्बामा हरेक वर्ष चैत्र–बैशाखमा रासायनिक तथा प्राङ्गारिक मलको प्रयोग गरिन्छ । विरुवालाई दिने मलखादको मात्रा बोटको उमेर, जात, माटोको अवस्था र हावापानीको स्थिति आदीमा निर्भर गर्दछ । अम्बाको बोटमा नयाँ हाँगाहरुमा मात्र फल लाग्ने हुँदा उक्त हाँगाहरुको विकासको लागि पनि मलजल अपरिहार्य छ । अम्बालाई तल दिईए बमोजिम मलखादको आवश्यक पर्दछ |

बोटको उमेर (वर्षमा) गोबरमल (के.जी./बोट) नाईट्रोजन (ग्राम/बोट) फस्फोरस (ग्राम/बोट) पोटास (ग्राम/बोट)
१० ६० ३० ३०
२० १२० ६० ६०
३० १८० ९० ९०
४० २४० १२० १२०
५० ३०० १५० १५०
६ वा सोभन्दा माथी ६० ३६० १८० १८०

 अम्बाको विरुवाको उमेर अनुसार मलखादको व्यवस्थापन गर्न सकिन्छ । मलखाद दिंदा नाईट्रोजनको आधा मात्रा चैत्र–बैशाखमा र बाँकी आधा मात्रा नाईट्रोजनआषाढ–श्रावणमा दिन सकिन्छ । एउटा उत्पादनशील र परिपक्व अम्बाको बोटमा ४० के.जी. कम्पोष्ट वा गोवरमल, डि. ए. पी. ३०० ग्राम, युरिया ५०० ग्राम र म्युरियट अफ पोटास ५०० ग्रामका दरले प्रयोग गर्न सकिन्छ ।

सिंचाई तथा काँटछाँट

सिंचाई

अम्बालाई बगैंचामा रोपीसकेपछि तुरुन्त सिंचाईको आवश्यकता पर्दछ । तसर्थ, यदि आकाशबाट पानी परेको छैन भने उक्त अवस्थामा पानी दिनु राम्रो हुन्छ । साधारणतया बूढाभन्दा कम उमेरका विरुवालाई धेरैपटक सिंचाई दिनु पर्दछ । फल नलागेका कम उमेरका विरुवालाई गर्मी याममा प्रत्येक हप्तामा र जाडो यामभरी केबल २–३ पटक सिंचाई पर्याप्त मानिन्छ । साधारणतया फूल र फल लाग्नु भन्दा अगाडीको उमेरको बोटलाई वर्षको ८–१० पटक सिंचाईको आवश्यक पर्छ ।

काँटछाँट

विरुवालाई एक निश्चित आकार दिन शुरुदेखि नै तालिम दिईन्छ । बोटको एक दरिलो ढाँचा तयार गर्नका लागि फेदबाट माथी ९० से.मी. सम्मको उचाईमा आएका हाँगाहरु हटाई त्यसपछि ४ देखि ५ वटा दरिलो हाँगाहरु २०–२५ से.मी.को फरकमा कायम गर्नुपर्दछ । त्यसपछि जब विरुवाले १.५ देखि १.८ से.मी.को उचाई लिन्छ अनि खुल्ला केन्द्र प्रणाली अपनाई तालिम गराउदै मुख्य काण्डलाई काट्नु पर्छ । बाली लिईसकेपछि हल्का काँटछाट गर्न सकेमा वानस्पतिक बृद्धि र फूल फुल्नमा सहयोगी हुन्छ । प्रत्येक वर्ष मरेका हाँगा, रोगकीरा लागेका हाँगा, धेरै बाक्ला र फेद एवं साईडबाट आएका चोर हाँगा काटी हटाउनु पर्दछ । काँटछाट गरिएका बोटबाट ठूला फल फल्ने र छिटो उत्पादन लिन सकिन्छ ।

परागसेचन

अम्बाको राम्रो उत्पादनको लागि बगैंचामा परागसेचनको लागि मौरी घार राख्न सकेमा धेरै उत्पादन लिन सकिन्छ ।

रोग व्यवस्थापन

रोगहरु

 अम्बामा लाग्ने ओईले रोग, एन्थ्राकनोज, क्याड्ढकर र दादे रोग प्रचलित रोगहरु हुन ।

किरा व्यवस्थापन

कीराहरु

कत्ले कीरा र बोक्रा खाने झुसिल्किरा यी दुई प्रकारका कीराहरु अम्बामा लाग्ने हानीकारक र धेरै नोक्सान पुरयाउने कीराहरु हुन ।

बाली कटानी तथा भण्डारण

फूल फुल्ने र फल लाग्ने

अम्बामा वर्षभरी फूल फुल्ने भएतापनि मुख्यतयाः २ मौषममा,वर्षात अर्थात् बैशाख–जेष्ठमा र हिंउदमा अर्थात् भाद्र–आश्विनमा फूल फुल्दछ । यो फूल फुल्ने क्रम २५ देखि ४५ दिनसम्म रहन्छ । शुरुमा ८० देखि ८५ प्रतिशत फल लागेतापनि फल परिपक्व हुने अवस्थामा ३५ देखि ५० प्रतिशत मात्र बाँकी रहन्छ । वीउ रहित जातमा अझ ६ प्रतिशत मात्र बाँकी रहन्छ । फल अडाउनका लागि जिबर्लिक एसिड (न्ब्(घ) २०० पि.पि.एम.का दरले प्रयोग गर्नुपर्दछ । फल लागेको दिनबाट फल परिपक्व हुन १०५ देखि १४० दिन लाग्छ ।

बाली लिने, उत्पादन तथा भण्डारण

बाली लिने र उत्पादन

सतह केहि नरम भई जव पहेंलो रङ्ग देखा परेपछि श्रावण देखि कार्तिक सम्मको समयमा एक एक गरी भेट्नो सहित टिप्नु पर्छ फल टिपिन्छ । यो अवस्थासम्म पुग्नका लागि फूल फुलेको दिनबाट १५० दिन समय लाग्दछ । वीउबाट लगाईएका बोटहरुले शुरुको समयमा कमै फल दिन्छन।खेती गरिने तौर तरीका र जातको आधारमा एउटा बानस्पतिक प्रसारण गरी लगाईएको वोटले १००० देखि १५०० संख्यामा फल दिन्छ । सालाखाला एउटा बोटले २–३ क्वीण्टलसम्म फल दिन्छ । अम्बा ७ देखि १२ मे.टन प्रति हेक्टरका दरले उत्पादन लिन सकिन्छ ।

भण्डारण

पूर्ण अवस्थामा पाकेको अम्बालाई धेरै समयसम्म भण्डारण गर्न सकिदैन । तसर्थ, यदि टाढाको बजारमा लगी अम्बा विक्री गर्नुपर्ने भएमा अर्ध पहेंलो अवस्थामा टिप्नु पर्दछ । त्यसैगरी वायुमण्लीय तापमानले गर्दा वर्षे फललाई भन्दा हिंउदे फललाई बढी समय भण्डारण गरी १ महिनासम्म राख्न सकिन्छ । त्यसैगरी waxing गरेर वा Gibberellic acid को प्रयोग गरेर पनि भण्डारण क्षमता केहि बढाउन सकिन्छ ।  

सन्दर्भ सामग्री

सन्दर्भ सूचि

सन्दर्भ

राजन चौंलागाईं

फलफूल विकास अधिकृत

उष्ण प्रदेशीय फलफूल खेति प्रविधि पुस्तिका - अम्बा खेती प्रविधी

फलफूल विकास निर्देशनालय

कीर्तिपुर, काठमाडौं