बेर्ना जमाउने तरिका

गोलभेडा नर्सरीमा बेर्ना जमाएर रोपिन्छ । जमिनमा नर्सरी राख्ने हो भने सकभर कुनै तरकारी बालीको खेती नगरेको माटोमा नर्सरी राख्दा राम्रो हुन्छ । नर्सरी १ मिटर चौडा र आबश्यकताअनुसार लम्बाईको बनाउन सकिन्छ । नर्सरी राख्दा प्रायः ब्याडमा राख्ने चलन भएतापनि स्वस्थ र बलियो बेर्ना उत्पादनको लागि प्लाष्टिकको थैलो वा बजारमा उपलब्ध सेल ट्रे/प्लग ट्रेमा राख्नुपर्छ । ३ इञ्च लम्बाई ३ इञ्च चौडा प्लाष्टिकको थैलो तयार गरी पानी तर्कने ४ वटा प्वाल पार्ने र २ भाग जंगलबाट ल्याईएको माटो वा पोखरीको पिँधको माटो(अथवा निर्मलीकरण गरेको माटो २ भाग, राम्ररी पाकेको मल १ भाग र १ भाग बालुवाको मिश्रणले थैलो भर्ने) (बालुवा मिसिएको माटो भएमा बालुवा नराख्ने) र १ से.मि. जति गहिराइमा एक–एक वटा वीउ राख्ने । वीउलाई माटो वा राम्ररी पाकेको कम्पोष्ट वा वालुवाले छोप्नुपर्छ । हजारीको सहायताले माटोमा चिस्यानको अबस्था बिचार गरी बेला बेलामा हजारीबाट हल्का सिंचाई गर्नु पर्दछ । बीउलाई १ भाग झोल मलमा ४ भाग पानी हालेर ६–७ घण्टा भिजाउँदा जराको वृद्धि विकासमा सहयोग पुर्याउँछ । यदि सेल ट्रे/प्लग ट्रेमा विरुवा जमाउने हो भने कम्तीमा एक वर्ष पुरानो रोग तथा कीराको जिवाणु र झारपातको बीउ रहित कम्पोष्ट वा २–३ वर्ष काठको बोक्रा कुहाएर बनाएको कम्पोष्ट अथवा नरिवलको जटाबाट बनेको धुलो (growing media)/मधुमास को प्रयोग गर्नु पर्दछ । यदि मधुमासको प्रयोग  गर्ने हो भने आधा भाग मधुमासमा आधा भाग रोग तथा कीरा मुक्त गड्यौली मल वा पाकेको कम्पोष्ट प्रयोग गर्दा विरुवाको बृद्धि विकास राम्रो भएको पाइएको छ ।

कोकोपिटको मिडियामा  रोपीएको बीउ पोलिपटमा जमाइएको रोप्न तयार बिरुवा