कौसी खेतीका लागि संरचनाको छनौट

माटोको गमला, विस्कुटका खाली टिन, आधा काटिएका ड्रम, मालसामान प्याक भएर आएका काठका बाकस,माछा प्याकिंग भएर आएका स्टाइरोफोम, पुराना बोरा र प्लाष्टिका थैला आदि कौसी खेतीमा प्रयोग गर्न सकिने संरचना हुन् । यी भाडाहरूको साइज र आकार फरक हुन सक्दछन् । त्यसैले लगाइने तरकारीको बोटको फैलावटका आधारमा भाडोको छनौट गरिनु पर्दछ । साधारणतया ३० से.मी. देखि ४५ से.मी. ब्यास भएको गमला वा प्लाष्टिकको थैला, बोरा आदि प्रयोग गर्नु बढी व्यावहारिक देखिन्छ । यी भांडाहरूको पिंधमा पानी निथ्रेर जाने स–साना प्वालहरू हुनु आवश्यक छ । खर्चको दृष्टिकोणले प्लाष्टिक थैला वा बोरा सबैभन्दा सस्तो पर्दछ । तर यो एक पटक मात्र प्रयोग गर्न सकिन्छ । गमला, काठको बाकस र सिमेन्टका संरचना महंगो पर्दछन् तर पटक पटक प्रयोगमा ल्याउन सकिन्छ ।