कौसी खेतीका लागि माटो ब्यबस्थापन

यदि कौसी तरकारी खेती गर्ने हो भने लगाउने वाली अनुसार उपयुक्त माटोको छनौट गर्न आवश्यक छ,। माटो उपयुक्त छैन भने पनि वजारमा उपलब्ध मधुमास (coco peat) तथा प्र्रांगारिक मलको प्रयोग गरी माटो सुधार गर्न सकिनाका साथै प्रांगारिक पर्दाथको उपलब्धता बढाइ माटोमा जैविक कृयाकलाप बढाउन सकिन्छ । माटो विरुवा अडिने आधार मात्र हो तसर्थ त्यसमा विरुवालाइ आबश्यक खाद्यपर्दाथ दिन सकेमा मात्र राम्रो उत्पादन लिन सकिन्छ भन्ने कुरामा ध्यान दिन सबै कौसी खेती गर्ने ब्यक्तिले ध्यान दिन जरुरी छ । माटोमा बायुमण्डलीय नाइट्रोजनको मात्रा थप्न कोसेबालीको बाली चक्र अपनाएमा उत्पादकत्व बृद्धि गर्न सकिन्छ ।

कौसीमा तरकारी उत्पादनको लागि माटो ब्यबस्थापनमा ध्यान दिनुपर्ने कुराहरु

  • स्वस्थ्य र सफा ठाउँको राम्रो मलिलो माटो ल्याई डल्ला फोरेर सफा गरी झ्यास, छेस्काछेस्की, ठुटा, गिर्खा केलाई चालेर सफा गर्नुपर्दछ ।
  • त्यसपछि गेगर नमिसिएको राम्रो बालुवा र राम्रोसंग पाकेको कम्पोष्ट मल वा गोवर मल वा जंगलमा पतिङर कुहिएर बनेको मल धुलो पारेर केलाई चाल्नाले अथवा जालीले चाल्नुपर्दछ ।
  • २ भाग माटोमा एक भाग कम्पोष्ट मिसाउने यदि बालुवा नभएको माटो छ भने एक भाग बालुवा पनि मिसाउने
  • भांडो वा संरचनामा समिश्रण भर्नुभन्दा पहिलो साना साना इटका टुक्रा वा गेगरले भाडोका प्वालको सतहसम्म पुग्ने गरी भर्नु पर्दछ ।
  • प्लाष्टिकको थैला वा भाडोमा समिश्रण भर्दा गमला वा काठको बाकसमा समिश्रण पुरा नभरेर केहि ठाउँ खाली राख्नु पर्दछ ।
  • प्लाष्टिक थैलामा दुई तिहाई मात्र समिश्रण भरेर एक तिहाई भाग उल्टाउदै लगेर समाउन सजिलो पार्नु पर्दछ ।
  • भरेको समिश्रणलाई एक पटक हजारीले राम्ररी भिज्ने गरी पानी दिई केही ओभाएपछि विरूवा सार्नु पर्दछ ।

कौसी खेतीका लागि माटो छनौट गर्दा निम्न कुरामा ध्यान दिन आबश्यक हुन्छ

  • माटोको प्रकार तथा लगाउने बालीको आबश्यकता
  • माटोमा रहेको प्रांगारिक पर्दाथको अबस्था (सामान्यतया माटोको रंगलाई बिचार गरेर)
  • माटोको अम्लियपना वा क्षारियपनाको अबस्था
  • माटोबाट सर्ने रोग तथा कीराको अबस्था (पहिला भएको बाली तथा तिनमा लागेको रोग कीराको अबस्था बिश्लेषण गरेर)

कौसी खेती कम माटोमा सघन रुपबाट तरकारी खेती गरिने प्रबिधि भएकोले समुचित रुपमा मलखादको ब्यबस्थापन गर्न अत्याबश्यक हुन्छ । मलखादको प्रयोग गर्दा लगाईएको तरकारी बालीको किसिम, आबश्यक मलखादको मात्रा आदि कुरालाई ध्यान दिन आबश्यक छ अन्यथा अपेक्षित रुपमा उत्पादन लिन सकिदैन । कौसी खेतीको लागि खेर गएका सड्ने बस्तु कुहाई घरमै मल बनाउनाको साथै बजारमा उपलब्ध बिभिन्न प्रकारका प्रांगारिक मल तथा आबश्यकता खाद्यतत्व आपूर्ति गर्न रासायनिक मलको समेत प्रयोग गर्न सकिन्छ । कौसी खेती गर्दा मलखाद ब्यबस्थापन गर्दा कोसेबालीको प्रयोग तथा बालीचक्र प्रणालीको अबलम्बनमा ध्यान दिन आबश्यक छ ।