परिचय

लहरे तरकारी वाली अन्तरगत काँक्रो, फर्सी, लौका ,घिरौला, करेला, जुकेनी फर्सी, चिचिण्डा, इष्कुस, परबल लगायतका तरकारी बालीहरु पर्दछन् । यि वालीहरु कुकुरविटेसी (cucurbitaceae) परिवार अन्र्तगत   पर्ने वालीहरु हुन् । नेपालमा ५४,६८४ हेक्टरमा यस समूहका तरकारी वालीहरुको खेती हुने गरेको छ भने यस समूहका बालीहरुको सरदर उत्पादकत्व १४.१९ मे.टन/हेक्टर रहेको छ । यस समुहका बालीमध्ये नेपालमा  सबभन्दा बढी क्षेत्रफलमा खेती हुने बालीहरुमा क्रमश करेला (१००८२.२ हे.), काँक्रो ( ९३९६.८ हे.), लौका (८६११.५ हे.) र फर्सी ( ७२०३.४ हे.) पर्दछन् ।उत्पादकत्वको हिसावले सबभन्दा वढी उत्पादकत्व भएका लहरे तरकारी बालीहरुमा क्रमशः  काँक्रो (१६.२ मे.टन/हे.) ,लौका (१५.१ मे.टन/हे.) र घिरौला (१४.३ मे.टन/हे) पर्दछन् । यस समूहमा पर्ने  बालीहरु अधिक परसेचित ( highly cross pollinated ) बालीहरु हुन । लहरे तरकारीहरुको फूल फुल्ने विशेषता पनि वाली अनुसार वेग्लावेग्लै हुने गर्दछ उदाहरणका लागि घिरौंलामा पोथी फूल एक आँख्लामा एउटा र भाले फूल झुप्पा झुप्पामा विकसित हुन्छ र जात अनुसार फुल्ने समय पनि फरक फरक हुन्छ । परसेचित वालीहरु भएकाले यस समूहका वालीहरुमा परागसेचनको कार्य मूलतः कीराहरु वाट सम्पन्न हुन्छ । यस समुहका बालीहरुको  प्लाष्टिक घरभित्र खेती गर्ने हो भने परागसेचनमा विशेष ध्यान दिन जरुरी हुन्छ  अथवा जातको छनौट गर्दा  परागसेचनको आबश्यकता नपर्ने parthenocarpic   जातहरुको छनौट गर्नु पर्दछ यसो नगरिएमा उत्पादकत्वमा असर पुग्दछ ।


विभिन्न लहरे तरकारी बालीहरुमा उपलब्ध हुने पौष्टिक तत्वहरु
 काँक्रो
  जात अनुसार यस तरकारी बालीमा लगभग ९० देखी ९५ प्रतिशत सम्म पानीको मात्रा हुन्छ जसले शरिरमा पानीको मात्रा पूर्ति गर्न सहयोग गर्दछ । यसको एकसय ग्राम फलवाट १० क्यालोरी शक्ति पाइन्छ । यो भिटामिन के र मोलिब्लेडनमको राम्रो स्रोत हो । यसमा तामा, पोटासियम,म्यान्गानिज, भिटामिन सि,फस्फोरस, म्याग्नेसियम र बायोटिन पाइन्छ । यस बालीमा रेशाको मात्रा बढी तथा क्यालोरीको मात्रा कम हुनाले पाचन प्रणली सुधार तथा तौल घटाउन सहयोग गर्दछ । भिटामिन सि र बिटा क्यारोटिन यसमा पाइने एन्टिअक्सिडेन्ट  हुन् । यसमा पाइने पोटासियम तत्वले ब्लड प्रेसर कम गर्न सहयोग गर्दछ । यसमा पाइने भिटामिन के ले हड्डी बलियो बनाउन सहयोग गर्दछ ।
फर्सी
यसको एक सय ग्राम फलवाट २६ क्यालोरी शक्ति पाइन्छ । यसमा अत्याधिक मात्रामा  रेशा,भिटामिन ए, भिटामिन सि, राइबोफ्लेभिन,पोटासियम र तामा पाइन्छ । यसका अलाबा र्फिसमा  भिटामिन ई,  वि ६, फोलेट, फलाम,म्याग्नेसियम जस्ता खनिज तत्वहरु पाइन्छन् ।


लौका
 एकसय ग्राम लौकावाट १४ क्यालोरी शक्ति पाईन्छ ।  यसमा करिव ९६ प्रतिशत पानी पाईन्छ । यसमा अत्याधिम मात्रामा रेशा पाइनाको साथै फोलेट, भिटामिन ए, सि, सोडियम, पोटासियम क्याल्सियम, तामा,फलाम,फस्फोरस जस्ता तत्वहरु पाइन्छन् । यसले अपच तथा कव्जियत हटाउन सहयोग गर्दछ । यसको प्रयोगले  शरिरको तौल कम गर्न सहयोग गर्दछ ।


घिरौला
एकसय ग्राम लौकावाट ५०क्यालोरी शक्ति पाईन्छ । यसमा अत्याधिक मात्रामा रेशा पाइनाको साथै भिटामिन ए, पोटासियम, तामा, भिटामिन सि, म्याग्नेसियम, फस्फोरस तथा भिटामिन बि १,वि२, बि ५ र बि ९ पाइन्छ । यसले  मधुमेह लाग्न नदिन सहयोग गर्नाको साथै आँखाको समस्या कम गर्न सहयोग गर्नाका साथै मांशपेशीको दुखाइ समेत कम गर्दछ ।


 करेला
 एकसय ग्राम करेलामा १७ क्यालोरी शक्ति पाइन्छ ।  यसमा रेशा, खरानी, प्रोटिन, भिटामिन ए, भिटामिन सी,फोलेट, क्याल्सियम, तामा,पोटासियम, जस्ता,फलाम आदि तत्वहरु पाइन्छन् । यसले  शरिरमा इन्सुलिनको मात्रा बढाइ मधुमेह रोग लाग्नबाट जोगाउँदछ । यसले रगत सफा बनाउन समेत सहयोग गर्दछ । यसले शरिरको प्रतिरक्षा प्रणाली समेत सुधार गर्न सहयोग गर्दछ ।

जुकेनी
 प्रति १०० ग्राम जुकेनीमा १७ क्यालोरी शक्ति पाइन्छ । यसमा प्रशस्त मात्रामा भिटामिन ए र सी पाइन्छ । यसका अलाबा यसमा पोटासियम र फाइबर पनि प्रशस्त मात्रामा पाइन्छ । यसले शरिरको तौल घटाउन सहयोग गर्दछ । यसले शरिरको कोलस्टेरोल कम गर्न सहयोग गर्दछ ।