बेर्ना रोप्ने अवस्था तथा दुरी

साधारणतया ४ देखि ५ पात आएको स्वस्थ विरुवा रोप्न योग्य हुन्छ । जमिन तयारी गरिसकेपछि जमिनभन्दा १५ देखी २० से.मी. अग्लो ड्याङ बनाई दुई ड्याङको बिचमा ४० से.मी. बाटो राख्ने र ड्याङमा एक बोटदेखि अर्को बोटको दुरी ५० देखि ६० से.मी र एक लाइनदेखि अर्को लाइनको दुरी ७० देखि ८० से.मी.राखी प्रति ड्याङ दुई लाइन विरुवा रोप्ने र हल्का सिंचाई दिने कार्य गर्नुपर्छ । विरुवाको दुरी जात तथा माटोको उर्वरापन , तालिम तथा काँटछाँट बिधिमा निर्भर हुन्छ । होचो हुने जातलाई डयाङ्ग देखि डयाङ्गको दुरी ६० से.मी र बोट देखि बोटको दुरी ४० से.मी. राख्दा उपयुक्त हुन्छ । अग्लो हुने जात यदि दुई काण्डिय प्रणालीमा लैजाने हो भने डयाङ्ग देखि डयाङ्गको दुरी ६० से.मी र बोट देखि बोटको दुरी ६० से.मी. कायम राख्नु पर्छ । एक काण्डिय प्रणालीमा लैजाने हो भने बोट देखी बोटको दुरी ४० से.मी. राख्दा हुन्छ ।