तालिम / काँटछाँट र थाँक्रा दिने

तालिम तथा काँटछाँटले सूर्यको प्रकाश तथा हाबाको सञ्चार एवं खाद्यतत्वको समुचित सदुपयोग  गराई गोलभेडाको उत्पादनमा वृद्धि गर्न सहयोग गर्दछ । गोलभेडालाइ लहरिने/फुल फुल्दै फल्दै गर्ने/ छिमलमा फल्ने (indeterminate) र नलहरिने / फुल फुलेपछि बोट नबढ्ने (determinate) जातमा बर्गिकरण गरिएको छ । साधारणतथा नलहरिने जातलाई त्यति धेरै तालिम तथा काँटछाँटको आबश्यकता नपरेतापनि ३ देखि ४ बटा काण्ड राखेर बाँकी हटाउँदा उत्पादन राम्रो हुन्छ । लहरिने जातलाई एक काण्डिय वा दुई काण्डिय प्रणालीबाट तालिम गर्न सकिन्छ । एक काण्डिय प्रणालीमा लैजान मुख्य काण्ड बाहेक अरु सबै मुना प्रत्येक दिन निरिक्षण गरी हटाउनुपर्छ । दुई काण्डिय प्रणालीमा लैजाने हो भने जमिनबाट करिब ३० देखि ४० से.मी. वीचबाट आएको एउटा मुना राखेर अन्य मुना हटाई मुख्य काण्ड र उक्त मुनालाई बढ्न दिनु पर्दछ । विरुवा रोप्ने बेलामा प्रत्येक ४ वटा विरुवाको बिचमा पर्ने गरेर ठाडा २.५ मी अग्ला दह्रा भाँटा राख्ने र विरुवा १ महिनाको भएपछि शुरुमा ३० से.मी.को फरकमा र त्यसपछि ४५ से.मि. फरकमा तेर्सा भाटा राखेर थाँक्रा दिने कार्य गरी  गोलभेडालाई डोरीले भाटामा बाँध्नुपर्छ  । भाँटा राख्दा बाँसको चिल्लो भाग बिरुवातर्फ फर्काउन पर्दछ ।  थाँक्राको सट्टा गोलभेडालाई डोरीमा मात्र पनि फलाउन सकिन्छ । यसको लागि गोलभेडालाई थाँक्राको रुपमा बलियो प्लाष्टिकको यु.भी.डोरीमा तालिम गर्नुपर्दछ । यसरी यु.भि. डोरीमा तालिम गर्दा प्रति इकाइ उत्पादन लागत घटाउन सकिने कुरा अध्ययन तथा कृषकहरुको अनुभबबाट पाइएको छ ।