गोलभेडा खेतीको व्यवस्थापन

  • विरुवा सरेपछि १० देखी १५ दिनको फरकमा झोलमल १ भागमा ६ भाग पानी मिसाएर छर्नुपर्छ वा १ भागमा ४ भाग पानी मिसाएर फेदबाट २–३ इन्च पर वरिपरी पर्ने गरी जरा भिजाउनुपर्छ वा यसो गर्न सम्भव नभएमा प्रत्येक १० दिनको फरकमा एक भाग गहुँतमा भैसीको पिसाब हो भने ५ भाग पानी, गाईको छ भने ६ भाग पानी र मानिसको छ भने १० भागसम्म पानी मिसाई प्रयोग गर्नुपर्छ । थोपा सिँचाइको सेट उपलब्ध छ भने विरुवाको जरामा पिसाव पानीको घोल ७ देखि १० दिनको फरकमा सेटबाट दिनु राम्रो हुन्छ । यसो गर्दा विरुवामा रोग किराबाट लड्ने क्षमताको विकास  हुनुको साथै उत्पादनमा समेत बृद्धि हुन्छ ।
  • यदि प्लाष्टिक मल्च नहालीकन लगाइएको विरुवा हो भने विरुवा सरेपछि गाउँघरमा उपलब्ध हुने तितेपाती, बनमारा, असुरो, खिर्रो आदि ( तिता, पिरा ,टर्रा गन्ध आउने बनस्पति जे उपलब्ध हुन्छ) लाई  १–२ इन्चको टुक्रा बनाई ५–७ दिन ओइलाएर गोलभेडाको फेद नछुने गरी ड्याङमा हालेमा धमिरा, कमिलाको प्रकोप न्युनिकरण गर्न तथा विभिन्न ढुसीजन्य रोगका माटोमा रहेका जिवाणुलाई कम गर्न सहायता पुग्छ ।
  • माटोमा छुन लागेका तथा पुराना पात कैचीको सहायताले काट्नुपर्छ । पात हटाउँदा फललाई छोपेको पात सकभर हटाउनुहुदैन । प्रत्येक पटक पात तथा मुना हटाउँदा कैचीलाई ढुसीनाषक विषादीमा डुबाएर प्रयोग गर्ने र मुना काटिसकेपछि २ ग्राम कपर अक्सिक्लोराइयुक्त विषादी १ लिटर पानीमा मिसाएर बोट भिज्ने गरी छर्नुपर्छ वा झोलमल छर्नुपर्दछ ।
  • विरुवामा फूल  फूलेर फल फल्न शुरु गरेपछी फलको अबस्था हेरेर मल्टिप्लेक्स वा टोमाटो स्पेशियल वा अन्य सुक्ष्म तत्व ४–५  पटक छर्नुपर्छ ।
  • विरुवा लगाएको २०–२५ दिन पछिबाट पहेलो स्टिकी ट्रयाप  १०–१२ वटा प्रति टनेल राख्नुपर्छ । जसले गर्दा सेतो झिँगालगायत अन्य चुसाहा किराको उपस्थिति पत्ता लगाई बेलैमा नियन्त्रण गर्न सहयोग पुग्दछ ।
  • गोलभेडा टिप्दा कम क्षति पुर्याउने किसिमबाट कैचीको सहायताले भेट्नो सहित टिप्नुपर्छ ।
  • बोटको जरामा गाँठा बनाउने, जुका देखापरेमा पछिल्लो अवस्थामा नियन्त्रण गर्न कठिन हुने हुँदा गोबरग्याँसबाट निस्केको लेदो गोबरमल प्रति बोट ५ सय ग्राम जतिको दरले फेदबाट २–३ इन्च वरिपरी राखी माटोले छोपेको खण्डमा माथिबाट जराको वृद्धि विकास हुन मद्धत पुर्याइ उत्पादनमा ह्रास हुनबाट बचाउँछ । 
  • बाह्रै महिना एवं लगातार टनेल भित्र गोलभेंडाको खेती गर्दा रोग किराको प्रकोप बढ्न जानुको साथै माटोको अवस्था पनि बिग्रन जाने हुँदा गोलभेडा लगाएपछि भटमास वा अन्य दालबाली परिवारको बाली लगाई फूल फुल्ने अवस्थामा पुगेपछि माटोमा जोतेर छोडिदिनु राम्रो हुन्छ । एकचोटि गोलभेडा लिइसकेपछि प्लाष्टिक तथा  बाँसका थाँक्राहरू हटाएर सयपत्री फूल वा तोरी रोपी १–१.५ महिनाको भएपछि माटोमा मिलाइ सेतो प्लाष्टिकले ३०–४२ दिन छोपेर माटोमा मिसाउनाले  निमाटोड तथा अन्य माटोमा रहेका कीरालाइ नियन्त्रण गर्न सहयोग गर्दछ ।
  • विरुवा पहेलो हुँदै गएमा र उत्पादनमा ह्रास आउन थालेमा दुई लाइनको बिचमा जरा नखल्बलिने गरी ५ से.मी जति गहिरो लामो खाडल खनी ५–७ दिन कुहाएको पिना प्रति बोट ३० ग्रामको दरले दुई लाइनको बिचमा प्रयोग गर्नुपर्छ । गोवरग्याँसबाट निस्केको कुहिएको लेदो छ भने प्रतिबोट आधा के.जी जति परिमाणमा हुने गरी लाइनमा पिनासँगै हाल्ने र सिँचाई गर्नुपर्छ ।
  • विरुवामा खाद्यतत्व (नाइट्रोजन, फस्फोरस र पोटास) को सन्तुलित रूपमा प्रयोग नभएमा रोग कीराको आक्रमण बढी हुने हुँदा सन्तुलित खाद्यतत्वको प्रयोगमा सधै ध्यान दिनुपर्छ । नाइट्रोजन तत्वको बढि प्रयोगले विरुवाको छिटो वृद्धि गराई विरुवा कमजोर बनाउने हुनाले रोग कीराको आक्रमण बढी हुन्छ । साथै गोलभेडालाई सूर्यको प्रकाशको पनि अधिक आवश्यकता पर्ने हुँदा उचित रूपमा प्रकाश छिर्न सक्ने गरी प्लाष्टिक घरको निर्माण गर्ने र विरुवाको बिचमा हावाको सञ्चार हुन सक्ने गरी विरुवाको दुरी कायम गर्नुपर्छ ।