बिउ आलु छनौट

साधरणतया २५ देखि ३० ग्राम तौल भएको र हरियो, दरो, मोटो, स्वस्थ टुसा भएको बिउ आलु रोप्नको लागि उपयुक्त हुन्छ । नटुसाएको बिउ आलु रोप्दा बाली एकनासको नभइ ठाउँठाउँमा खाली पनि हुन सक्छ । तसर्थ एकनासको बाली पार्न र बढी उत्पादन लिन आलु लगाउनु अगाडि बिउ आलुको टुसा उमार्ने काम गर्नुपर्छ । बिउ आलुका टुसाहरु छोटो, मोटो र हरियो हुनुपर्दछ ।

यस्तो टुसाहरु कसरी उमार्न सकिन्छ त ?
आलु रोप्नुभन्दा ३,४ हप्ता अगाडि नै कोल्ड स्टोरबाट झिकी न्यानो (१५.२० डिग्री से. तापक्रममा) हावा लाग्ने ठाउँमा फिँजाएर राख्नुपर्छ । यसरी राख्दा उज्यालो ठाउँमा तर सीधै घाम नपर्ने गरी राख्नुपर्दछ। अँध्यारोमा राखेमा सेता कमजोर टुसाहरु देखिन्छ । यदि आलुको दानाको टुप्पामा एउटामात्र टुसाहरु आएको छ भने त्यो भांँचिदिनाले अरु टुसाहरु आउंँदछन् । यसरी दानामा ५,६ वटा टुसाहरु हुनु राम्रो मानिन्छ । धेरै टुसाहरु भएकोमा धेरै डांँठहरु बन्दछन् र धेरै आलु फल्दछ ।


ठूलो साइजको बिउ आलु काट्ने तरिका
सकेसम्म आलु काटेर लगाउनु हुँदैन । बिउ आलु ठिक्क आकारको (२५ देखि ४० ग्राम) भन्दा ठूलो छ भने दुइ फ्याक हुने गरी ठाडो काट्नुपर्छ तर बिउ आलु काटेर रोप्नाले निम्न बेफाइदाहरु हुन सक्छन्।

  • काटेको आलुको उमार कम हुन्छ ।
  • माटोमा चिस्यान कम भयो भने टुसाहरु चाँडै मर्न सक्छन् ।
  • माटोमा चिस्यान बढी भएमा चाँडो कुहिन सक्छ ।
  • उम्रेका टुसाहरु मरे भने फेरी पलाउन सक्दैन ।
  • रोगहरु सजिलैसँग लागि कुहिन सक्छ ।
  • बिउ काट्दा प्रयोग भएको हतियारबाट अरु स्वस्थ बिउमा रोग सर्न सक्छ ।

यदि बिउ ठूलो छ र काटेर नै लगाउन पर्ने हो भने ध्यान दिनुपर्ने कुराहरु

  • सुषुप्त अवस्था सिष प्रधान अवस्था जागृत अवस्था वृद्घ अवस्था
  • बिउ काट्ने चक्कुलाइ प्रत्येक कटाइपछि मट्टितेलमा डुबाउनुपर्छ जसले गर्दा रोगका
  • जीवाणू स्वस्थ बोटमा सर्न सक्दैन ।
  • प्रत्येक टुक्रामा कम्तिमा पनि २, ३ वटा आँखाहरु हुनुपर्दछ ।
  • काट्दा सँधै ठाडो हुने गरी काट्नुपर्छ ।
  • मसिने, लामो टुसा भएको र चाउरी परेको बिउ आलु ठूलो भएपनि नकाटी रोप्ने ।
  • काटेको सतहमा बोक्रा जम्न दिनको लागि रोप्नुभन्दा ५, ६ दिन पहिले नै काट्ने ।
  • प्रत्येक टुक्रा २० ग्रामभन्दा सानो हुनुहुँदैन ।

आलुका जातहरु
उन्मोचन गरिएका जातहरु
कुफ्री ज्योति, कुफ्री सिन्दुरी, डेजिरे, जनकदेव, खुमल रातो, खुमल सेतो, खुमल लक्ष्मी, आइ पि वाई ८, खुमल उपहार, खुमल उज्जल, टिपिएस १ र टिपिएस २, कार्डिनल, एन पि आई १०६ ।
चलनचल्तिमा रहेका तर उन्मोचन नगरिएको जातहरु
एम एस ४२.३, निलो आलुको रुपमा परिचित, खानमा मिठो, छिटो उत्पादन हुने, केही हदसम्म डढुवा सहन सक्ने तर उच्च पहाडी भेगमा एैजेरु रोग देखा पर्ने र तराइमा भण्डारणमा समस्या रहेकोले यो जातलाई उन्मोचन गरिएको छैन । तर पोखरा, नुवाकोट क्षेत्रमा चिरपरिचित जात एम एस ४२.३ को मूल बिउ उत्पादन मार्फत व्यवसायिक बिउ उत्पादन कार्यक्रम सञ्चालन गरिएको छ ।