बिउ आलु उत्पादनको लागि निरीक्षण गर्नुपर्ने समय र संख्या

 रोगिङ
बिउ आलु खेतीमा स्वास्थ्य र शुद्घता कायम राख्न अमिल्दा, रोग ग्रस्त र बेजातका बोटहरुलाई गेडा सहित उखेलेर निमुर्ल पार्ने कार्यलाई रोगिङ भनिन्छ । रोगिङ बाली अवधिभर कम्तिमा ३ पटक (पहिलो विरुवाको उचाई १० देखि १५ से.मी भएपछि, दोस्रो फूल फुल्ने बेला वा अवस्थामा र तेस्रो बाली भित्र्याउनु अघि वा खन्ने समयमा) गरिनुपर्दछ । संभव भएमा आलुको बोट उम्रिसकेपछि सकभर चाँडै रोगिङ सुरु गर्नुपर्दछ । जसले गर्दा रोगी बोटबाट स्वस्थ बोटमा रोग सर्न पाउँदैन । पहाडमा नाभो आलु जातीय मिश्रणको मुख्य समस्याको रूपमा रहेको छ । त्यस कारण रोगिङ्ग आवश्यकता अनुसार जतिपटक पनि गर्न सकिन्छ र सम्भव भएसम्म छिट्टै शुरू गर्नुपर्दछ । रोगिङ कार्य गर्ने मानिसलाई रोगी तथा बेजातका बोटहरुको पहिचान गर्ने राम्रो ज्ञान हुनुपर्दछ । उखेलेको बोटलाई अरु बोटसँग लसपस हुन दिनुहुँदैन । रोगीङ गर्नुभन्दा पहिले लाही किरालाई नियन्त्रण गर्न विषादी प्रयोग गर्नु उपयुक्त हुन्छ किनकी रोगिङ गर्दा लाही किराको चलखेल बढी हुने र अस्वस्थ बोटबाट स्वास्थ बोटमा लाही किरा पुगी रोग सार्ने कार्य तिब्र हुन्छ । साथै सिंचाई गरेपछि विहानको समय पारेर रोगिङ कार्य गर्नुपर्दछ । जसले गर्दा रोगी तथा बेजातीय बोटहरुलाई राम्रोसँग छुट्याउन सकिन्छ । बिउ आलुको गुणस्तर कायम गर्न निम्न अनुसार निरीक्षणहरू गर्न जरूरी हुन्छ । बिउ उत्पादन प्लट अन्य आलु उत्पादन क्षेत्रबाट कम्तीमा ५ मिटर टाढा हुनुपर्दछ ।

१) पहिलो निरीक्षणः आलु रोपेको ४०–५० दिन पछि जब बोटको उचाई करिब १०–१५ सेन्टिमिटर हुन्छ ।


२) दोश्रो निरीक्षणः आलु बालीमा पहिलो निरीक्षण गरेको २० दिनपछि 

  •  बाली व्यवस्थापन
  •  रोग तथा किराहरूः पात दोब्रने भाइरस, कडा मोजाइक, डढुवाहरू, खैरो पीप चक्के, ऐंजेरू तथा अन्य रोगहरू (यदि भएमा) र लाही किराको संख्या
  • बेजातको बोटहरू

३) तेश्रो निरीक्षणः आलु खन्ने बेलामा ।

  •  रोगी दानाको संख्या: खैरो पिपचक्क, ऐंजेरू, साधारण दाद, कालो खोष्टे र अन्य मापदण्डमा उल्लेख भएका रोगहरु
  • किराले नोक्सान पुर्याएको दाना संख्या
  •  बेजात दाना संख्या
  •  दानाको साइज


४) चौथो निरीक्षणः आलु भण्डारणमा ।

  •  बिउको साइज र यसको एकनासपना
  •  आलुको तौल
  •  ट्यागिङ्ग र लेवलिङ्ग
  •  दानामा देखिने मापदण्डमा उल्लेखित रोग तथा विवरण
  •  यस निरीक्षणमा निरीक्षकले बिउको लट ठीक तरिकाले ट्यागिङ्ग भए नभएको साथै
  •  बिउको साइज र तौलबारे जानकारी सही भए नभएको जाँच गर्नुपर्दछ ।