गोलभेडा खेतीको परिचय

गोलभेंडा (Tomato) सोलानेसी (Solanaceae) परिवार अन्तर्गत पर्नेे तरकारी  हो । गोलभेंडाको उत्पत्ति दक्षिण अमेरिकाको पेरु, इक्वेडर र बोलिभिया क्षेत्रको एण्डिज पर्वतमालामा भएको मानिएको छ। गोलभेंडा न्यानो मौसममा उष्ण, उपोष्ण र शितोष्ण हावापानी भएको क्षेत्रमा खेती गरिने तरकारी बाली हो । गोलभेंडामा प्रशस्त मात्रामा विभिन्न प्रकारका खनिज पदार्थ, भिटामिन सि, फस्फोरस, क्याल्सियम, सोडियम, पोटासियम लगायत अन्य धेरै तत्वहरु पाईन्छ । गोलभेंडामा लाइकोपिन नामक  बुढ्यौली रोक्ने तत्व पाइन्छ । गोलभेंडालाई तरकारीको रुपमा तथा सलादको रुपमा प्रयोग गर्नुको साथै यसबाट अचार, केचप, जुस पनि तयार गरेर प्रयोग गर्न सकिन्छ । नेपालका प्राय सबै जिल्लाहरुमा गोलभेंडा खेती गरिन्छ । गोलभेंडा मौसमी र बेमौसमी तथा  उचित ब्यवस्थापन गर्न सकेमा बाह्रै महिना खेती गर्न सकिने भएकोले तरकारीमा यसको ठूलो महत्व छ ।