परिचय

गहुँ एक पौष्टिक खाद्यान्न बाली हो । यसमा शरिरलाई चाहिने प्रोटिन, भिटामीन, कारबोहाइड्रेट र मिनेरल जस्ता तत्वहरु पर्याप्त मात्रामा पाइन्छ । नेपालमा बाली सघन्ता र क्षेत्रफलको आधारमा गहुँलाई धान र मकै पछिको महत्वपुर्ण बालीको रुपमा लिइन्छ ।

जातहरु

जातको छनौट गर्दा बिशेषतः ठाँउ र हावापानीमा ध्यान दिनुपर्दछ । ठाँउ अनुसारको जात छनौट गर्यो भने राम्रो फसल लिन सकिन्छ ।

गहुँको जात पाक्ने दिन उत्पादन((टन/हे) ) सिफारिस क्षेत्र
भृकुटी  १२० ५.०  तराई, टार र १००० मिटरसम्म उचाइ भएका उपत्यकाहरु
गौतम ११९  ३.४  तराई, टार तथा ५०० मिटर भन्दा कम उचाई भएको उपत्यका
डब्लु के १२०४  १७९ ३.४   मध्य पहाड र उच्च पहाड
आदित्य ११८ ४.८ तराई, टार र ५०० मी. सम्मको उपत्यका
एन.एल. ९७१ १२२ ४.५ तराई, टार र ५०० मी. सम्मको उपत्यका
विजय  १२३ ४.५ तराई, टार र ५०० मी. सम्मको उपत्यका
गौरा १६० ५. मध्य तथा उच्च पहाड
धौलागिरी   १५६ ४.९ मध्य तथा उच्च पहाड
तिलोत्तमा १२० ३.२ तराई र भित्री मधेसको सिंचित तथा अर्ध सिंचित  क्षेत्र
डाँफे १७० ४.५ मध्य तथा उच्च पहाड
बाणगंगा ११० ३.३   तराई,टार, हाचो उपत्यका ७०० मिटरसम्मको उचाईमा सिन्चित र अर्ध सिचिंत क्षेत्रको लागी
  १६३ ४.४ मध्य तथा उच्च पहाड (७०० देखी १४०० मिटरसम्म) सिचिंत तथा अर्ध सिचिंत क्षेत्रको लागी
मुनाल १ १६४ ४.९ मध्य तथा उच्च पहाड (७०० देखी २३०० मिटरसम्म) सिचिंत तथा अर्ध सिचिंत क्षेत्रको लागी
च्याखुरा १ १५८ ५. मध्य तथा उच्च पहाड (७०० देखी २३०० मिटरसम्म) सिचिंत तथा अर्ध सिचिंत क्षेत्रको लागी
बि.एल.४३४१ ११५ ५.९ तराई,टार, हाचो उपत्यका ८०० मिटरसम्मको उचाईमा सिन्चित र अर्ध सिचिंत क्षेत्रको लागी
खजुरा डुरम १  १२८ ४.९ मध्य तथा सुदुर पश्चिम तराइका जिल्लाहरु दाङ, बाँके, बर्दिया, कैलाली, कंचनपुरका सिंचित क्षेत्र समुन्द्र सतहदेखी ५०० मीटर 
खजुरा डुरम २ १२९ ५.३ मध्य तथा सुदुर पश्चिम तराइका जिल्लाहरु दाङ, बाँके, बर्दिया, कैलाली, कंचनपुरका सिंचित क्षेत्र समुन्द्र सतहदेखी ५०० मीटर 

आवश्यकता

गहुँ हिउँदे बाली भएको हुनाले, चिसो तथा मध्यम सापेक्षिक आद्रता भएको हावापानीमा खेति गर्न उपयुत्त हुन्छ ।

कृषि इन्पुट

बीउको छनौट: उन्नत जातको बीउ छनौट गर्ने ।

गहुँ छर्ने तरीका

१. बीउलाई सोझै माटोमा छर्ने (छरुवा प्रविधि)

२. ३–४ सेन्टीमिटर गहिरो गरी बीउ लाईनमा राख्ने र एकहारको दूरी २० सेन्टीमिटर राख्ने ।

बीउ छर्ने तरीका

  • राम्रो उमार शक्ति र पोटिलो दाना भएको हुनुपर्छ ।
  • २ ग्राम भाइटाभेक्स २०० प्रति के.जी. बीउका दरले अथवा २ देखि ३ ग्राम बेभिस्टिन वा कारवनड्याजीम र मानकोजेवको समिश्रण प्रति लिटर पानीमा मिसाई बीउको उपचार गर्नुपर्छ ।
  • १२० के.जी. प्रति हेक्टर बीउ छर्ने र माटोले सम्याउने । ४ किलोग्राम बीउ प्रति कठ्ठाका दरले छर्ने ।
  • ढिला छर्दा ४.५ के.जी.प्रति कठ्ठा बीउ छर्ने ।

जग्गा तयारी

सबै प्रकारको माटोमा गहुँ खेति गर्न सकिने भएपनि मलिलो दोमट र पानी नजम्ने माटोमा गहुँ खेति गर्नु राम्रो हुन्छ । गहुँ खेती गर्न कम खनजोत वा सतहि छराई गर्ने तरीकाबाट गर्न सकिन्छ । रोटोभेटर वा पावर ट्रेक्टरबाट जोताई गरी सोझै गहुँ छर्न सकिन्छ । जमिनमा प्रयाप्त मात्रामा चिस्यान संरक्षण गर्ने गरी जमिनको तयारी गर्नुपर्छ ।

परम्परागत तरिकाबाट खेति गर्दा

माटोको अवस्था हेरेर २ देखि ३ पटक राम्ररी जोती सकेपछि डल्ला फोरी माटो बुरबुराउदो र समथर बनाउनुपर्छ । सम्भव भएसम्म लाईन लाईन मिलाई बीउ छर्नु पर्छ ।

वैज्ञानिक तरिकाबाट खेति गर्दा

(उत्पादन लागत घटने तथा उत्पादन बढने भएकोले यी प्रविधिहरु लोकप्रिय हुँदै गएका छन) ।

  • फर्टि कम सिड ड्रिल मेशिनको सहायताले

यो मेशिनको सहायताले खेति गर्दा जमिनको तयारी परम्परागत शैलीमा नै गरिन्छ तर बीउ र मल भने ट्रयाक्टरको सहायताले मेशिनबाट छरिन्छ । यो प्रविधि अपनाएर गहुँ खेति गर्दा कम बीउ लाग्ने तथा दुरी र गहिराई मिल्ने हुँदा उत्पादन बढि हुन्छ ।

  • जिरो टिलेज मेशिनको सहायताले

यो मेशिनको सहायताले खेति गर्दा जमिनको तयारी गर्नु पर्दैन । यो प्रविधि अपनाएर गहुँ खेति गर्दा खनजोत गर्नु नपर्ने हुनाले लेबर खर्च बच्नुको साथै जमिनको संरचना पनि बिग्रदैन । यो प्रविधि अपनाएर गहुँ खेति गर्दा कम बीउ लाग्ने तथा दुरी र गहिराई मिल्ने हुँदा उत्पादन बढि हुन्छ ।

बाढीको प्रकोप बढि हुने क्षेत्रमा माटोलाई धेरै चलाउदा (खनजोत धेरै गरेर) माथिको मलिलो माटो बगेर जाने समस्या हुने हुँदा माटोलाई सकभर कम चलाउने अथवा जिरो टिलेज प्रविधि अपनाएर गहुँ छर्नु उपयुक्त हुन्छ ।

बाली व्यवस्थापन तथा हेरचाह

माटो परिक्षणको नतिजाको आधारमा मलको सहि तथा आवश्यक रुपमा प्रयोग गर्दा उत्पादन लागत घटने तथा उत्पादन बढने हुन्छ । मलखादको प्रयोग गर्दा कम्पोष्ट तथा फस्फोरस र पोटास जमिनको अन्तिम तयारीको बेलामा अथवा गहुँ छर्नु अघि पुरै मात्रामा र नाइट्रोजनको हकमा आधा मात्रामा प्रयोग गर्नुपर्छ । बाँकी नाइट्रोजनको हकमा आधा गाँज लाग्ने बेलामा र आधा बाला निस्कने बेलामा प्रयोग गर्नुपर्छ । जिंकको कमी देखिएमा प्रति कठ्ठा ०.५ देखि १ के.जी. का दरले जिंक सल्फेटको प्रयोग गर्नुपर्छ ।

मलखाद (सिंचित) (असिंचित) समय
       
  मात्रा प्रति कठ्ठा मात्रा प्रति कठ्ठा  
कम्पोष्ट ७०० देखि ७५० के. जी ७०० देखि ७५० के. जी जमिनको तयारी गर्दा
युरिया २.२ के.जी ०.५ के.जी जमिनको तयारी गर्दा
  १.५ के.जी १ के.जी रोपेको २० देखि २५ दिनमा
  १.५ के.जी १ के.जी अर्को २० देखि २५ दिनमा
डिएपी ३.५ देखि ४ के.जी ३.५ देखि ४ के.जी जमिनको तयारी गर्दा
पोटास १.५ के. जी १ के. जी जमिनको तयारी गर्दा
जिंक सल्फेट ०.५ देखि १ के.जी ०.५ देखि १ के.जी जमिनको तयारी गर्दा

गहुँ खेति सामन्यतया हिंउदमा गरिने भएको हुनाले झारपातको त्यति समस्या हुँदैन । तरपनि झारपातको कारणले हुने नोक्शानी बाट बच्न समयमा नै गोडमेल गरी तथा उचित झार नाशक बिषादीको प्रयोग गरी झारपातको नियन्त्रण गर्नु पर्दछ ।

  • चौडापाते झारका लागीः २, ४ डी १५ देखि २० ग्राम (सक्रिय विष) प्रति १५ देखि २० लीटर पानीमा मिसाइ प्रति कठ्ठा का दरले गहुँ छरेको ३० देखि ४० दिन भित्र छर्ने । 
  • सांगुरो पाते झारका लागीः आइसोप्रोटुरान २५ देखि ३० ग्राम (सक्रिय विष) प्रति २० देखि २५ लीटर पानीमा मिसाइ प्रति कठ्ठा का दरले गहुँ छरेको ३० देखि ४० दिन भित्र छर्ने ।
  • दुवै थरी झारका लागीः २, ४ डी ६ देखि ७ ग्राम र आइसोप्रोटुरान २५ देखि ३० ग्राम (सक्रिय विष) मिसाइ प्रति २० देखि २५ लीटर पानीमा मिसाइ प्रति कठ्ठा का दरले गहुँ छरेको ३० देखि ४० दिन भित्र छर्ने ।

जमिन सुख्खा छ भने बाली लगाउनुभन्दा अगाडी नै सिंचाई गर्नुपर्छ । गहुँ बालीमा पानी जम्मा हुन दिनु हुँदैन तसर्थ खेत राम्ररी सम्याएको हुनुपर्छ । दुई चोटी सिंचाई गर्नु जरुरी छ ।

  • गहुँ बालीमा विशेषतः उम्रने, शिखर जरा निस्कने, गँजाउने, बाला निस्कने र फुल फुल्ने तथा दाना बिकास हुने अवस्थामा पर्याप्त मात्रामा चिस्यान हुनुपर्दछ ।
  • तसर्थ यो अवस्थामा माटोको चिस्यान हेरेर कम्तिमा ३ देखि ५ पटक सिंचाइ गर्नु पर्दछ ।
  • बाढीको प्रकोप बढि हुने क्षेत्रमा बालुवा बेसी संकलन हुने हुँदा जमिनमा कम मात्रामा पानी अडिन्छ र माटोको चिस्यानमा कमि आँउछ ।
  • तसर्थ त्यस्तो ठाँउमा सामान्य भन्दा बढि सिंचाई गर्नु पर्दछ । खेतमा पानी जम्न दिनु हुँदैन ।

रोग व्यवस्थापन

रोगको जीवाणु: Puccinia triticina

पातको दुवै सतहमा सुन्तला रङ्गका फोकाहरू देखिन थाल्दछन् । ती फोकाहरू छुट्टाछुट्टै रहेका हुन्छन् । रोगको आक्रमण बेर्ना अवस्था देखि बोटको वयस्क अवस्थासम्म हुन्छ|

ब्यवस्थापन  

  •  रोग अवरोधक जातहरू लगाउने (गौतम, विजय, आदित्य, एन.एन ९७१, विल. १४७३ आदी |
  • सिफारिस गरिए अनुसार मलखादको प्रयोग गर्ने, ठीक समयमा गहुँ छर्ने |
  •  गहुँको बोट ठूलो भएमा म्यान्कोजेव ७५% डव्लु.पि. (डाइथेन एम–४५) नामक विषादी १.५–२ के.जी. प्रति हे. ७५० लिटर पानीमा मिसाई १५ दिनको अन्तरमा २–३ पटक छर्कने । अथवा Propiconazole 25% EC (Bonus, Bumper, Tilt 25) ०.७५ ग्राम प्रति लीटर पानीका दरले मिसाई छर्कने ।

रोगको जीवाणुPuccinia striiformis

पातको माथिल्लो सतहमा पहेंला, लाम्चिला फोकाहरू एक अर्कासँग मिली धर्सा परेर रहेका हुन्छन् । यो रोगको आक्रमण पनि बेर्ना अवस्था देखि वयस्क अवस्थासम्म हुन्छ |

ब्यवस्थापन  

  • रोग अवरोधक जातहरू जस्तै डव्लु के १२०४, पासाङ्गल्हामु, धौलागिरी, गौरा, वि. एल. १४०३ लगाउने र ठीक समयमा गहुँ छर्ने।
  • सिफारिस गरिए अनुसार रासायनिक मल प्रयोग गर्ने |

रोगको जीवाणुUstilago tritici

बालामा दाना लाग्नुको सट्टा कालो ढूसीको जिवाणुले भरिएको हुन्छ ।कुनै कुनै रोग लागेका बालाहरु स्वस्थ बालाहरु भन्दा एक दुइ दिन अगाडी निस्कन्छन् |

ब्यवस्थापन

  • स्वस्थ बीउको प्रयोग गर्ने ।
  •  भाईटाभेक्स–२०० विषादी २ ग्राम अथवा Tebuconazole  2% DS (Caviet, Raxil) ग्राम प्रति किलो गहुँको बीउका दरले बीउ उपचार गरी छर्ने ।
  •  रोग लागेको बालाबाट धूलो नझर्दै उखेलेर खाल्डोमा गाड्ने अथवा जलाई दिने।
  •  अन्नपूर्ण–४ जातको गहुँमा यो रोग कम लाग्ने हुँदा यो जात लगाउन सकिन्छ |

रोगको जीवाणु: Tilletia caries

रोगी दानाहरू गोलाकार हुन्छन् र कालो रङ्गको रोगको जीवाणुहरूले भरिएका हुन्छन् । ती जीवाणुहरू दाना फुटाएर बाहिर झर्दछन् । नजिकबाट सुँघ्दा माछा कुहिएको जस्तो गन्ध आउँछ।

ब्यवस्थापन

  • दुई तीन वर्षसम्म घुम्ती बाली लगाउने वा गहुँ नै नलगाउने ।
  • भाईटाभेक्स–२०० विषादी २ ग्राम प्रति किलो गहुँको बीउका दरले बीउ उपचार गरी छर्ने ।
  •  स्वस्थ बीउको प्रयोग गर्ने ।

रोगको जीवाणु: Bipolaris sorokiniana वा Pyrenophora tritici-repentis

साना खैरो रङ्गको थोप्लाहरू पातमा देखिछन् । पछि ती थोप्लाहरू बढ्छन् र एक आपसमा जोडिई पात सुकेको वा डढेको जस्तो देखिन्छ ।यस रोगको आक्रमण जरा, फेद, डाठ, आख्ला, पात, बिउ, भुस लगायत सबै भागमा लाग्दछ|

व्यवस्थापन

  • भाइटाभेक्स–२००, दुइ ग्राम प्रति किलोका दरले बीउ उपचार गर्ने ।
  •  पोटास मलको प्रयोग गर्ने ।
  • ठिक समयमा गहुँ छर्ने ।
  • रोग अवरोधक जातहरू लगाउने (जस्तै: त्रिवेणी, गौतम, विजय, एन.एल. ९७१, वि.एल १४७३)

किरा व्यवस्थापन

लार्भाले जरा काटीदिन्छ र बोट सुक्छ ।

व्यवस्थापन

  •  मकैको फेंद काट्ने कीरा जस्तै विषादी प्रयोग गर्ने  |
  •  सिंचाई सुविधा भएमा राम्रोसँग सिंचाई गर्ने |

बाला पसाउने बेलामा यसले दुःख दिन्छ । लाही कीराहरूले कलीलो बालाको रस चुसी नोक्सान गर्दछन् ।  

व्यवस्थापन

  • लेडी विटल्स (मित्रु खपटे) प्रयोग गर्ने |
  • डायमेथोएट ३०% ई.सी. को १ मी.ली./लीटर पानीका दरले छर्कने |

बाली कटानी तथा भण्डारण

रगीङ्ग गर्ने तरिकाः बेजात, झारपात, अस्वस्थ बोट तथा अन्य बालीको बोट बिरुवा झिक्ने।

बीउको लागि छनौट तरीकाः पाक्नुभन्दा अली अगाडीनै रगीङ्ग गर्ने र स्वास्थ बीउ छान्ने ।

अन्य व्यवस्थापनः बाली चक्र र मिश्रण खेती प्रविधिको प्रयोग ।

 

  • बाला र बाला मुनीको डांठ हरियो रंगबाट पहेंलो रगंमा परिवर्तन भइसकेपछि को ७ दिन पछि बाली काट्नु उपयुक्त हुन्छ ।
  • जात र ठाँउ अनुसार पाक्ने अवधि फरक हुने हुदा वाली कटानी गर्न लायक भयो कि भएन थाहा पाउन वालालाई हातमा राखेर माड्ने र यसरी माड्दा दाना राम्ररी छुट्यो भने वाली कटान गर्न लायक हुन्छ ।
  • वाली सकेसम्म बिहानी पख शित ओभाए पछि काट्नु उपयुक्त हुन्छ ।
  • गहुँ काट्ने अवस्था बाली पहेलिन थालेर दाना सुख्खा भएपछि काट्ने ।
  • चिस्यान अवस्थाः काट्दा १८–२०% चिस्यान दानामा हुन्छ ।
  • राम्ररी सुकाएर १०–१२% चिस्यान भएपछि मात्र भण्डारण गर्ने ।
  • गहुँ चुट्ने गहुँ कम क्षति हुनेगरी चुट्ने ।

 

३–४ दिनसम्म राम्ररी सुकाएर भण्डारण गर्ने ।

सामान्य अवस्थामाः

  • भण्डारण गर्नु भन्दा पहिले तीन चार घाम सुकाउनु पर्छ ।
  • सुकाइसकेपछि ताततातै थन्काउनु हुँदैन, सेलाएपछि मात्र थन्काउनु पर्दछ ।
  • अन्न थन्काउदा मेटल बीन, माटोको भाँडो, बाक्लो प्लाष्टिकको बोरा अथवा भकारीमा प्रति मेट्रिक टन ५ चक्की सेल्फस अथवा क्वीकफस राखी भण्डारण गर्नु पर्दछ ।
  • यसरी भण्डारण गरिएको गहुँ २—४ घाम सुकाएर मात्र खानमा प्रयोग गर्नु पर्दछ ।

बाढीले असर गर्ने क्षेत्रमाः

  • बाढीको प्रकोप बढी हुने क्षेत्रमा सामान्यतया भण्डारण कक्ष जमिनको सतह भन्दा अग्लो ठाँउमा बनाउनु पर्दछ ।
  • भण्डारण कक्ष अथवा भण्डारण गर्ने डेहरी वा भकारी जमिनको सतह भन्दा कम्तिमा ४ फिट अग्लो मचान बनाएर वा बाढीको पानीले नभेट्ने ठाँउमा बनाउनु पर्दछ ।
  • अन्य कुरा सामान्य अवस्थामा झैं गर्नु पर्दछ ।

अन्य जानकारी

गहुँको थारोपना (स्टरलिटी) हटाउन सुक्ष्म तत्व बोरेक्स २ के.जी. प्रति हेक्टर छर्दा प्रभावकारी हुन्छ । पहेलो सिन्दूरे रोग सहन सक्ने जात डब्लु.के.१२०४  लगाउँदा राम्रो हुन्छ । श्रोत संरक्षण विधि सम्बन्धि प्रविधिको विकास भईसकेकोले धान काट्नु अघि सतहमा बीउ छर्ने । धान काटेपछि जमिन जोतखन नगरी माटोमा चिस्यान नसुकदै सीड ड्रिल मेसिन वा पावर टिलर वा रोटोभेटरद्वारा सामान्य खनजोत गरी मल बिउ छर्ने । श्रोत संरक्षण विधिबाट खेती गर्न गौतम, भृकुटी, आदित्य र एन.एल ९७१ जात ठीक समयमा छर्नका लागि उपयुक्त भएको र ढिलो छर्नका लागि विजय र भृकुटी जात उपयुक्त हुन्छ । गहुँ राम्रोसँग पाकेर पुरै दाना सुकेपछि काट्नुपर्छ । भण्डारण गर्दा राम्रोसँग घाममा सुकाएर मात्र गर्नुपर्छ । भण्डारण गर्दा हावा नछिर्ने पोली ब्यागको प्रयोग गर्नु उत्तम हुन्छ । भण्डारण गर्दा किरा नलाग्न दिन नीमको धुलो, तितेपातीको धुलो प्रयोग गर्न सकिन्छ ।

सन्दर्भ सामग्री

गहुँ बाली पात्रो; www.namis.gov.np

बाढी उत्थानशील गहुँ खेती प्रविधि; Practical Action

NARC Krishi मोबाइल एप