परिचय

कुनै पनि राष्ट्रको विकासका लागि स्वस्थ जनशक्ति तथा उपलब्ध प्राकृतिक श्रोत साधनको उपयोग आवश्यक हुन्छ । स्वस्थ जनशक्तिको उत्पादनका लागि पोषणयुक्त आहाराको महत्वपुर्ण योगदान हुन्छ । प्रोटीन शारिरीक तथा मानसिक विकासका लागि अपरिहार्य पोषक तत्व हो । सामान्य मानिसलाई ४५ ग्राम प्रोटीन प्रति दिन आवश्यक पर्दछ जसको एक तिहाई भाग प्राणीजन्य श्रोतबाट प्राप्त हुनु पर्दछ । यसप्रकार करिब ५.५ किलो प्रोटीन प्रति व्यक्ति प्रति वर्ष आवश्यक हुन आउँदछ । माछा सर्वोत्तम एवं सस्तो प्राणी प्रोटीनको रुपमा विश्वभरी नै प्रख्यात छ । कुनै राष्ट्रले माछाबाट नै प्राणी प्रोटीनको आवश्यकता पुरा गर्न चाहन्छ भने त्यहाँ माछाको उपलब्धता करिब २८.५ के.जी. प्रति व्यक्ति प्रति वर्ष आवश्यक हुन्छ । नेपाल प्राणी प्रोटीन आपुर्तिमा निकै कमजोर राष्ट्र हो । यहाँको कुल आवश्यकताको करिब ५० प्रतिशत मात्र परिपुर्ति हुन सकिरहेको छ जसमा मत्स्यको योगदान २० प्रतिशत मात्र छ । नेपालमा माछाको उत्पादन करिब २.७ के.जी. प्रति व्यक्ति प्रति वर्ष मात्र छ । जबकि विकसित मुलुकहरुमा यसको उपयोग २८ के.जी प्रति व्यक्ति प्रति वर्ष छ भने विकासशीलल राष्ट्रहरुमा करिब १.१ के.जी. प्रति व्यक्ति प्रति वर्ष रहेको छ ।

मत्स्य प्रोटीन अन्य प्रोटीनको तुलनामा अधिक पाचनयोग्य तथा एमिनो एससिडको मात्रा मानव शरिरलाई आवश्यक अनुपातमा रहेको हुँदा यसको पुर्ण उपयोग हुने गर्दछ, साथै माछामा ओमेगा ३, फ्याट्टी एसिड अधिक मात्रामा उपलब्ध हुने भएको हुँदा यसलाई स्वस्थकर मासुको रुपमा चिकित्सकहरुद्वारा प्रमाणित गरिएको छ । यसैकारणले गर्दा प्रेशर, कोलेस्ट्रोल, मुटुका बिरामीहरुले समेत यसको सेवन गर्न सक्दछन्, खासगरी गर्भावस्थामा माछाको अधिक सेवन गर्दा शिशुको बुद्धि तिक्ष्ण हुनुका साथै स्वस्थ तथा निरोगी हुन्छ तथा यसको नियमित सेवनले विभिन्न रोगहरुबाट बचावट गर्नका साथै तिक्ष्ण बुद्धि बनाउन एवं वृद्धावस्थामा भुल्ने लक्षणबाट समेत बचाई मानसिक एवं शारिरीक रुपले स्वस्थ जनशक्ति निर्माणमा महत्वपुर्ण भुमिका निर्वाह गर्दछ, फलस्वरुप माछाको माग नेपाल लगायतका मुलुकहरुमा बढ्दै गई रहेको छ ।

माछाको उत्पादन दुई प्रकारले हुने गर्दछ ।

  1. प्राकृतिक जलाशयहरुमा उत्पादन भई रहेका माछाहरुलाई समातेर
  2. पानीको उपयोग गरि मत्स्य पालन गरेर 

मानविय विकास एवं प्राकृतिक कारणहरुले गर्दा प्राकृतिक जलाशयहरुबाट माछाको उत्पादन दिनानुदिन घट्दै जाने निश्चित छ तसर्थ बढ्दो जनसंख्यालाई पोषणयुक्त आहारा उपलब्ध गराउन मत्स्य पालन अपरिहार्य हुन आउँदछ । खास गरि नेपाल जस्तो पानीको धनी देशमा पानीको समुचित उपयोगद्वारा मत्स्य पालनलाई निकै अगाडी बढाउन सकिन्छ ।

  1. प्राणी प्रोटीनको सर्वोत्तम एवं भरपर्दो श्रोत भएकोले पोषणयुक्त आहारा उत्पादन गर्न 
  2. बगेर खेर गई रहेको पानीको समुचित उपयोग गरि उत्पादनशील बनाउन 
  3. पानी जमी अन्य बालीनालीका लागि उपयोग विहिन अवस्थामा रहेको जग्गाहरुको उपयोग गर्न
  4. दिनानुदिन घटी रहेको कृषि श्रमिकहरुको अभावलाई उत्पादनमा प्रभाव पार्न नदिन (कम श्रमिकको आवश्यकता) 
  5. प्रति इकाई क्षेत्रफलमा अत्यधिक उत्पादन (४–१०० टन (हे.) एवं प्रतिफल (६०–८०%) प्राप्त गर्न सकिने भएको कृषकहरुको आयस्तरमा सुधार ल्याई युवा पलायनलाई रोक्न तथा कम जग्गा भएकाहरुले समेत सम्मानपुर्ण जिवनयापन गर्न यथेष्ट आय प्रदान गर्न 
  6. मत्स्य पालनको कार्य रोचक, मनोरन्जनात्मक तथा कम शक्ति लाग्ने भएकोले सबै किसिमका व्यक्तिबाट गर्न सकिने 
  7. सार्वजनिक जलाशयहरुमा भुमिहिन एवं विपन्न वर्गको पहुंच बढाई आयात प्रतिस्थापित गरि निर्यात प्रवर्धन गर्न एव आय आर्जनको अवसर प्रदान गर्न 

चरण क्षेत्रमा दिनानुदिन भई रहेको ह्रास एवं समय समयमा स्वाइनफ्लु, बर्डफ्लु जस्ता संक्रमण रोगको प्रकोपले अन्य मासु भन्दा माछा उत्पादन बढी भरपर्दो हुन्छ। जनसंख्या वृद्धि, प्राकृतिक जलाशयहरुमा सिमित उत्पादन, स्वास्थ्य प्रतिको चेतनामा वृद्धि हुँदै गएको कारणले माछाको माग तथा आपुर्ति बिचको खाडल दिनानुदिन बढ्दै गएको छ । फलस्वरुप देशको उत्पादनले मात्र माग पुरा नभई ठूलो मात्रामा माछा आयात गर्नु परिरहेको छ । माछाको उत्पादन बढाउनु नितान्त आवश्यक छ । माछाको उत्पादन बढाउन मत्स्य पालन सरल तरीका हो किनकी प्राकृतिक जलाशयहरुबाट उत्पादन बढाउनु निकै कठीन हुन्छ । नेपालमा मत्स्य पालन गर्न सकिने प्रशस्त सम्भावना रहँदा रहँदै पनि मत्स्यपालनको त्यति विस्तार हुन नसक्नुका कारण मत्स्यपालन प्रविधिबारे कृषकहरुलाई उचित ज्ञान नहुनु हो । जसले गर्दा यता कृषकहरु यसलाई अपनाउन डराई रहेका छन् वा राम्ररी व्यवस्थापन गर्न नसकेको कारणले खासै उत्पादन तथा फाइदा लिन सकिरहेका छैनन् ।

  1. माछा खेतीबाट जग्गा तथा पानीको राम्रो उपयोग हुन्छ 
  2. माछा पालियो भने परिवारले बढी माछा खान पाउँछ । बढी माछा खायो भने परिवारका मानिसहरु बढी स्वस्थ, बुद्धिमान एवं बलिया हुन्छन् ।
  3. माछा अरु मासु जस्तै निकै स्वादिलो तर कम हानिकारक वा बढी फाइदा पुर्याउने हुन्छ 
  4. माछाको उत्पादन खर्च अन्य मासुको भन्दा कम लाग्ने भएकोले सस्तोमा उपलव्ध गराउन सकिन्छ 
  5. माछाको माग बढ्दो छ, बजारको समस्या छैन 
  6. घर परिवारका सदस्यहरुले नै हेरचाह र व्यवस्थापनको कार्य सजिलै गर्न सक्दछन् तथा अन्य बालीको तुलनामा निकै कम श्रम खर्चिनु पर्ने हुन्छ ।
  7. परम्परागत खेती भन्दा निकै फाइदाजनक भएकोले कम जग्गा भएकाहरुले समेत सम्मानजनक जिवन निर्वाह गर्न सक्दछन् 
  8. खेर गईरहेको जलश्रोतको सदुपयोग भई राष्ट्रिय आयमा बढोत्तरी हुन जान्छ ।

माटोको पोखरीमा गरिने माछापालन सबभन्दा सरल र सस्तो हो । माछापालनको लागि पोखरी सबैभन्दा लोकप्रिय पालन थलो हो । पोखरीमा पानीलाई जम्मा गरेर राख्न सकिन्छ र माछा पाल्न सकिन्छ । जमिनको माटो काटी, पोखरीलाई चारैतिरबाट डील हाली पानी जमाउनका लागि पोखरी निर्माण गरिन्छ । उत्पादन सामग्री, खासगरी चुन, मल, दाना आहार आदिको प्रयोगको आधारमा पोखरीमा माछापालनलाई निम्नानुसार वर्गीकरण गरिन्छ । माछापालन गर्दा पोखरीको सामान्य प्राकृतिक उत्पादन क्षमतालाई मात्र प्रयोग गरिन्छ । यहाँ परिपूरक मलखाद र दानाको प्रयोग हुँदैन, मात्र विकासे जातका माछा राखिन्छन् । 

अर्ध–सघनः यहाँ विकासे जातका माछाको साथै मलखादको प्रयोगद्वारा प्राकृतिक आहारा उत्पादनलाई बढाइन्छ तथा केहि मात्रामा परिपूरक दानाको प्रयोग गरिन्छ ।

सघनः यसमा उच्च व्यवस्थापनको आवश्यकता पर्दछ । यहाँ दानामल यथेष्ट मात्रामा प्रयोग गरिन्छ । अक्सिजनको उपलव्धि बढाउन एरेटरको प्रयोग गरिन्छ । दाना प्रयोग गर्दा पेलेट दानाको प्रयोग गरिन्छ ।  व्यवस्थापनको सघनता अनुरुप उत्पादन त्यति नै बढी गर्न सकिन्छ । 

पोखरी बनाउँदा करिब दुई तिहाई जलाशय तथा एक तिहाई डील प्राप्त हुने गर्दछ । कहिलेकाहिँ पोखरी गहिरो खन्दा डीलले अझ बढी क्षेत्रफल ओगड्दछ । पोखरीको डीललाई बाँझो राख्नु उचित हुंदैन । अर्कोतिर मत्स्य पालन गर्दा विभिन्न वस्तुहरुको आवश्यकता हुने गर्दछ । जस्तैः घाँस, दाना तथा मलखाद । डीलको समुचित उपयोगद्वारा यी वस्तुहरुको परिपूर्ति गर्न सकिन्छ जसले गर्दा डीलको सदुपयोग हुनाका साथै उत्पादन खर्चमा समेत कटौती गर्न सकिन्छ । यसको अलावा डीलमा उत्पादीत वस्तुहरुको प्रत्यक्ष बिक्रीबाट समेत लाभ आर्जन गर्दै अधिक मुनाफा प्राप्त गर्न सकिन्छ । 

जातहरु

व्यवसायिक माछापालनको प्रमुख ध्येय खानका साथै थप आम्दानी हासिल गर्नु  हो । सबै जातका माछा पालेर फाइदा लिन सकिन्न किनकि सबै जात पालनका लागि उपयुक्त हुँदैनन् । व्यवसायलाई फाइदाजनक बनाउन पालिने माछामा निम्नानुसारको गुणहरु हुनु पर्दछ ।

  • छिटो बढ्ने
  • बाह्य दानालाई सजिलै ग्रहण गरि उपयोग गर्न सक्ने
  • रोग व्याधि तथा वातावरणिय परिवर्तनलाई आधिकाधिक खप्न सक्ने
  • भुरा सजिलै उपलब्ध हुने
  • उत्पादन लागतको तुलनामा बिक्री मुल्य अधिक
  • उपभोक्ता द्वारा रुचाइने

यो माछाको पुरै शरीर ठुल्ठुला कत्लाले ढाकेको हुन्छ । यस माछाको शरीको बनावट पुष्ट, चौडाइ बढी र माथिल्लो भाग खैरो र पेट सेतो रङ्गको देखिन्छ । टाउको ठूलो, ओठ मोटो र मुख माथितिर फर्केको हुन्छ । यो माछा विगहेड कार्पले जस्तै पोखरीको सतह नजिक पाइने प्राणीजन्य जीवाणुहरु खाने गर्दछ । रोहु र नैनी भन्दा यो माछा छिटो बढ्दछ । एक वर्षमा करिब ९०० ग्राम सम्म र २ वर्षमा २–३ किलोग्राम साइजको हुन सक्दछ । यो माछा १२०० मिलिमिटर सम्म लामो र २०–३० किलोग्राम सम्मको पाइएको छ । मिश्रित माछा पालन गर्दा विगहेड कार्प माछा नपाइएमा भाकुर र भाकुर नपाइएमा विगहेड राख्न उपयुक्त हुन्छ । दुवै थरी राख्ने भएमा आधा संख्यामा वा प्रतिशतमा राख्नु पर्दछ । यसको पनि कृत्रिम तरिकाले प्रजनन् गराईन्छ । बंगलादेश र भारतमा रोहु, नैनी र कत्लाको स्पन अथवा मसिना भुरा नदीहरुबाुट पनि संकलन गर्ने गरिन्छ । तर नेपालका नदीहरुमा यिनीहरुले काहां कहिले प्रजनन् गर्दछन् त्यस बारे अध्ययन गरिएको रेकर्ड पाइएको छैन ।

आहारा वानी: प्लांगटन आहारी  

आहारा क्षेत्र: पानीको माथिल्लो भाग देखि मध्यभाग

प्राकृतिक आहारा/दाना: सूक्ष्म जीवहरु जूप्लांगटन प्राथमिकता

1

ग्रास कार्प माछाको जीउ लाम्चो र डोलो खालको हुन्छ र टाउको चौडा हुन्छ । यसको माथिल्लो ओठ लामो हुन्छ, जुँगा हुँदैन र पुरै शरीर एकनासका ठुल्ठुला कत्लाले ढाकेको हुन्छ । शरीरको माथिल्लो भाग खैरो र हरियो रङ्गको हुन्छ र तल्लो भाग सेतो हुन्छ । यसले पोखरीको पानीमा फुल पार्दैन । कृत्रिम प्रविधि द्वारा प्रजनन गराईन्छ । माछा भुराले वनस्पति र पोखरीको झारपात र घाँस खान्छ । त्यसैले यस माछालाई घाँस खाने माछा (ग्रास कार्प) भनिएको हो । २५–३० डिग्री से. तापक्रममा राम्रो फस्टाउँछ र २–३ वर्षमा परिपक्व हुन्छ । यो माछा झण्डै १ मिटर लामो र ५० के.जी. सम्मको पनि हुन सक्दछ । एक वर्षसम्म राम्रो सँग पाल्दा १.२–२ के.जी. सम्मको हुन्छ । यो माछालाई बढी घाँस पात भएको जलाशयमा पाल्न उपयुक्त हुन्छ । खासगरी मिश्रित माछा पालन गर्दा यसले माछा उत्पादन बढाउनमा बढी योगदान दिन्छ किनभने यसले घाँस खाएर हरियो मल धेरै दिएर अरु माछाको लागि प्राकृतिक आहारा उत्पादन गर्न समेत सघाउ पुर्याउँदछ ।

आहारा वानी: शाकाहरी

आहारा क्षेत्र: सवै सतह

प्राकृतिक आहारा/दाना: घाँस, जलिय विरुवा र दाना

1

यस माछाको शरीर लामो, माथिल्लो भाग खैरो र तल्लो भाग सेतो हुन्छ । शरीर पुरै कत्लाले ढाकेको हुन्छ । यसको आँखा सुनौलो देखिन्छ । यो माछा ग्रास कार्प जस्तै देखिएता पनि कत्ला अलि साना र कत्लामा थोप्ला हुन्छ। यो माछा पनि न्यानो पानीमा फस्टाउँछ (२५–३५ डिग्री से. तापक्रम) । वर्षायाममा रोहु, नैनी र भाकुर माछाहरुको प्रजनन कार्य बढी सफल भएको पाईएको छ । यसको पनि प्रजनन कृत्रिम प्रविधिबाट गरिन्छ र २ वर्षमा परिपक्व हुन्छ । नैनी माछाले पोखरीको पिँधमा पाइने सडेगलेका घांसपात र कीराहरु खान्छ । यो माछा २ वर्ष पाल्दा १.५ देखि २ के.जी. सम्मको हुन्छ । रोहु जस्तै यो माछा पनि पुरानो र गहिरो, बढी हिलो भएको पोखरी वा दहहरुमा राम्ररी फस्टाउँछ ।

आहारा वानी: सर्वहारी

आहारा क्षेत्र: पानीको पिंध क्षेत्र

प्राकृतिक आहारा/दाना: कूहिएका पादार्थ, जीवहरु र दाना

१

नेपालमा पालिएका कमन कार्प दुई किसिमका छन् । एउटाको शरीर भरी कत्ला हुन्छ भने अर्काको शरीरमा कम कत्ला हुन्छ । पुरा कत्ला भएकोलाई जर्मन कार्प र कम कत्ला भएकोलाई इजरायली कार्प वा मिरर कार्प पनि भनिन्छ । यसको शरीर दायाँ बायाँ चेप्टिएको लाम्चो, ओठमा अगाडि-पछाडि गरी दुई जोडा जुँगा हुन्छन् । टाउको सानो, मुख बाहिर-भित्र तन्काउन सक्ने हुन्छ, शरीरमा जोडी पखेटा - २ (कान नजिक र पेटमा), एकल पखेटा - ३ (ढाड, मलद्वार नजिक र पुच्छर) हुन्छन् । पखेटामा तिखा तिखा काँडा हुन्छन् । यो माछा ५० से.मि. सम्म लामो र १८ किलो सम्म तौल भएको पाईएको छ । २०–२५ डिग्री से. तापक्रममा यो माछा राम्रो फस्टाउँछ र ६ महिना देखि १ वर्षमा यो माछा परिपक्व हुन्छ । प्राकृतिक वा अर्धकृत्रिम तरिकाले पोखरीमा फुल पारी बच्चा कोरल्छ । यो माछा सर्वभक्षी भएकोले सुक्ष्म जीवाणु, जलाशयको पिंधमा हुने कीरा, कुहिएका झारपात आदि सबै वस्तु खान्छ र माछाको लागि तयार गरिएको कृत्रिम आहारा प्रशस्त  खान सक्दछ । वर्षभरी पालन गर्दा यो माछा १–१.५ के.जी. सम्मको हुन्छ । यो माछा मिश्रित, एकिकृत अथवा एकजातिय मत्स्य पालन प्रविधिबाुट सबै किसिमका जलाशयहरुमा पाल्न सकिन्छ ।

आहारा वानी: सर्वहारी

आहारा क्षेत्र: पानीको पिंध क्षेत्र र मध्य भाग

प्राकृतिक आहारा/दाना: पिंधमा पाईने जीवहरु, कूहिएका पदार्थहरु र दाना 

1

यस माछाको शरीर लामो र डोलो खालको हुन्छ र शरीर भन्दा टाउको सानो हुन्छ । ओठ मोटो, मुख तलतिर फर्केको हुन्छ र एक जोडा जुँगा हुन्छन् । साधारणतया रोहु माछाको शरीर र कत्लाहरुमा रातो रङ्ग देखिन्छ । पुरै शरीर मझ्यौला साइजका एकनासका कत्लाहरुले ढाकेको हुन्छ । यो माछा २५–३५ डिग्री से. तापक्रममा फस्टाउँछ र दोश्रो वर्ष देखि मात्र राम्रोसँग बढ्दछ । नेपालमा यो माछा ज्यादै स्वादिलो मानिएकोले लोकप्रिय पनि छ । यो माछा २ वर्षमा परिपक्व हुन्छ र यसलाई पनि कृत्रिम प्रविधिद्वारा प्रजनन गराई भुरा उत्पादन गरिन्छ । हाम्रा नदी खोलाहरुमा रोहु माछा पाइन्छ । यस माछाले एककोषिय लेऊ, प्राणीजन्य जीवाणु र खास गरी सडे गलेका झारपातहरु खान्छ । यो माछा २ वर्ष पाल्दा १.५ देखि २ के.जी. सम्मको बनाउन सकिन्छ । यो माछाले लेऊ खाने हुँदा केजमा माछा पालन गर्दा केज सफा गर्ने कामको लागि समेत पालिन्छ । यो माछा पुराना गहिरा पोखरी र ठुल्ठुला घोल वा दहहरुमा छिटो बढ्दछ ।

आहारा वानी: शाकाहारी

आहारा क्षेत्र: पानीको मध्य भागदेखि पिंध क्षेत्र  

प्राकृतिक आहारा/दाना: ठूलुा प्लागंटनहरु, जीवहरु, कूहिएका पदार्थ र दाना

१

यस माछाको टाउको सानो र गोलो जीउ लाम्चो, चेप्टो र पेट देखि मलद्वार अगाडि सम्म धारिलो हुन्छ । पुरै शरीर स–साना सेता चाँदी जस्ता कत्लाले ढाकेको हुन्छ । यो माछा चांदी जस्तै टल्कने भएकोले सिल्भर कार्प भनिएको हो । यो माछा २५–३०० से. तापक्रममा राम्ररी बढ्दछ । यसको गिलमा मसिनो जाली हुन्छ र यसले पोखरीमा उत्पन्न हुने स–साना वनस्पतिजन्य जीवाणु खाएर चांडो बढ्ने गर्दछ । यो माछा २–३ वर्षमा परिपक्व हुन्छ र यसको प्रजनन् पनि हर्मोन दिई कृत्रिम तरिकाले गराईन्छ । यो माछा ५०–६० से.मी. लामो र ४०–५० के.जी. सम्मको हुन सक्दछ । नेपालमा एक वर्षमा १.५–२ के.जी. सम्मको बनाउन सकिएको छ । रसायनिक मल भन्दा बढी प्राङ्गरिक मल प्रयोग गरेर अथवा मलिलो पुरानो पोखरीहरुमा पाल्दा यो माछाबाट बढी उत्पादन लिन सकिन्छ ।

आहारा वानी: प्लांगटन आहारी

आहारा क्षेत्र: पानीको माथिल्लो भाग देखि मध्यभाग

प्राकृतिक आहारा/दाना: वनस्पतिजन्य जीवहरु फाईटोप्लांगटन र दाना

1

यस माछाको टाउको लाम्चो र ठूलो भएकोले यसको नाम विगहेड कार्प रहेको हो । शरीर सिल्भर कार्पको जस्तै चेप्टो र स–साना कत्लाले ढाकेको भएपनि माथिल्लो भागको रङ्ग चाहिं अलि कालो र खैरो देखिन्छ । छातीको भाग सेतो र धारिलोपन पेल्भिक फिन नजिकबाट शुरु भई मलद्वार सम्म पुगेको हुन्छ । छातीको पखेटा (पेक्टोरलफिन) शरीरमा सटाउँदा पेल्भिक फिन  भन्दा पछाडि पुग्छ । तर सिल्भर कार्पको पेल्भीक फिन सम्म मात्र पुग्दछ । ओठको तल्लो भाग लामो र माथितिर फर्केकोले मुख समेत माथि तिर फर्केको हुन्छ । यो माछा पनि २५–३० डिग्री से.तापक्रममा चाँडो बढ्ने र २–३ वर्षमा परिपक्व हुन्छ । यो माछा एक वर्षमा १.५–२ के.जी. सम्मको हुन्छ । यसको गिलमा सिल्भर कार्पको भन्दा अलि ठूलो प्वाल भएको जाली भएको हुनाले वनस्पतिजन्य जीवाणुको साथै प्राणीजन्य जीवाणु बढी फिल्टर गरी खान्छ । 

आहारा वानी: प्लांगटन आहारी

आहारा क्षेत्र: पानीको माथिल्लो र मध्यभाग

प्राकृतिक आहारा/दाना: प्राणीजन्य जीवहरु जूप्लांगटन र दाना

1

रेन्बो ट्राउट चिसो पानीमा हुने माछा खेतीको लागि एउटा उत्कृष्ट माछा हो । नेपालको हिमाली र पहाडी भेगका चिसो पानीको अपार भण्डारलाई उपयोग गरी यो माछाको उत्पादन गर्न सकिन्छ । रेन्बोट्राउट माछाको शरीरको छेउछेउमा चाँदीको रङ्ग र जीउमा गुलाबी तथा गाडा रातो रङ्गको लामो धर्सा र पछाडिको भाग तथा पुच्छरमा कालो थोप्लाहरुले ढाकेको हुन्छ । यसको दुई वटा पेक्टोरल, दुई वटा पेल्भीक, एक एक वटा डर्सल, एडिपोज, एनल र पुच्छरको पखेटा हुन्छ । यो माछाले प्राकृतिक वासस्थानमा ०–२५ डिग्री से. सम्म तापक्रम सहन गर्न सक्छ । यो माछा चिसो पानीमा हुर्कने भएकोले ज्यादै स्वादिलो हुन्छ र पौष्टिकताको दृष्टिकोणले पनि विशेष महत्व राख्दछ । यो माछाको मासुमा स–साना काँढाहरु नहुनु यसको विशेषता हो ।

पंगासियस ताजा पानीमा हुर्कने, छिटो बढ्ने, ठुलो साइज हुने भएकोले यो महत्वपुर्ण जातको माछा हो । यो माछाको शरिरमा कत्ला हुँदैन र हावाबाट पनि अक्सिजन लिने वर्गमा पर्दछ । यो माछाको शरिर लामो, कत्ला नभएको, टाउको केही सानो, मुख चौडा र गिजामा स–साना तिखा दाँत हुन्छन् । आँखा केही ठुला, ओठमा दुई जोडी जुँगा, पंखेटा खैरो रंगका र सानो हुँदा ल्याटरल लाइनको साथमा कालो धर्सा देखिन्छ । नदीमा यो माछा १३० से.मि.र ४४ केजी सम्म वृद्धि भएको पाइएको छ । पोथी माछालाई परिपक्व हुन तिन वर्ष (३ केजी तौल) लाग्दछ भने भाले दोस्रो वर्षमा नै प्रजनन योग्य हुन्छ । तिन केजीको पोथीले तिन लाख गोटा सम्म अण्डा दिन सक्दछ र वर्षमा दुई पटक सम्म प्रजनन गराउन सकिन्छ । कमन कार्पको जस्तो फुलहरु एक आपसमा टाँसिने प्रकृतिको हुन्छ । प्रजनन समय जेठ देखि श्रावण सम्म हुन्छ । यो माछा भियतनाम र थाईल्याण्ड बिचको मेकन नदिको स्थानिय जाती हो । एकल जातीय प्रविधि अपनाई व्यवसायिक स्तरमा पंगासियस माछाको उत्पादन भइरहेको छ ।

टिलापिया माछा धेरै समय अगाडि देखिनै तराईका पोखरीहरुमा कृषकहरुले भारतबाट ल्याई पाल्ने गरेको पाइएको छ । तर यो माछाले पोखरीमा नै वर्षमा ३ पटक सम्म बच्चा कोरल्ने भएको, माछा ज्यादै सानो र धेरै संख्यामा पाइने हुनाले पालन गर्न उपयुक्त देखिदैन । यसले अरु माछाको दाना–आहारा समेत खाने र विकासे जातका स–साना भुरा समेत खाने हुनाले धेरै नोक्सान पुर्याएको कृषकहरुको गुनासो छ । यसको पनि उन्नत नश्लको खास गरी नाइल टिलापिया भन्ने माछा तथा भाले मात्र पाल्न सकिएमा निकै राम्रो फाइदा लिन सकिने हुनाले हाल अध्ययनको रुपमा जनकपुर तथा भण्डार मत्स्य विकास केन्द्रहरुमा पालन गरिएको छ । त्यस्तै गरी पुन्टियस जातको माछा पनि थोरै दिन मात्र पानी रहने सिजनल जलाशयहरुमा पालन गर्दा फाइदा हुने हुँदा यसको पनि अध्ययन भइरहेको छ।

पोखरीको तयारी

कुनै पनि जलाशयमा माछा हुर्काइ नियन्त्रित अवस्थामा गरिने उत्पादन कलालाई मत्स्यपालन भनिन्छ । नियन्त्रित अवस्थामा माछा पालनका लागि नियन्त्रण गर्न सकिने उत्पादन क्षेत्रको आवश्यकता पर्दछ । नियन्त्रित अवस्थामा माछा पालन गर्न पोखरी एक प्रमुख उत्पादन क्षेत्र हो । तराई क्षेत्रको गाउँघरमा विभिन्न धार्मिक, सामाजिक कार्यका लागि खनिएका पोखरीहरु मध्ये अधिकांश हाल मत्स्य पालनको लागि उपयोग भईरहेका छन् । तर माछा पालनको लागि उपयुक्त स्थल छनौट सम्बन्धि ज्ञानको अभावमा गलत स्थलको छनोटको कारणले निकै ठूलो संख्यामा निर्माण गरिएको पोखरीहरुमा मत्स्य पालन त्यति सफल हुन सकिरहेको छैन भने कतिपय पोखरीहरु मत्स्य पालनको लागि रुग्न वा मृत अवस्थामा छन् ।

  • गुणस्तरयूक्त पर्याप्त पानीको सुविधा उपलब्ध भएको । वर्षाको भरमा वा पानीको पर्याप्त सुविधा नहुँदा पोखरी सुक्ने डर हुन्छ ।
  • राम्रो माटो भएको स्थानमा १० ली./से. पानी नियमित उपलब्ध भएमा १५ कट्ठा सम्म माछापालन गर्न सकिन्छ ।
  • माटो उर्वर तथा पानी अडाउन सक्ने हुनुपर्छ । यसका लागि दोमट चिम्ट्याईलो माटो सर्वोत्तम मानिन्छ ।
  • पालिने माछाको लागि हावापानी अनुकुल हुनु पर्दछ ।
  • पहिले देखि नै होचो वा अलि अलि भिरालो जमीन पोखरी बनाउन उपयूक्त हुन्छ भने बाढी पहिरो नलाग्ने क्षेत्र हुनु पर्दछ ।
  • उत्पादन सामग्री तथा उत्पादित सामग्रीको बजार जति नजिक हुन्छ त्यतिनै उत्पादन लागत कम लाग्दछ ।
  1. पोखरीको उत्पादन क्षमता तथा उपयोगिता स्थल छनौटमा भर पर्दछ ।
  2. पोखरी निर्माण गलत स्थानमा भईसकेपछि त्यस जग्गाको अन्य उपयोग हुन सक्दैन ।
  3. पोखरी निर्माण गर्न निकै खर्च लाग्दछ । गलत स्थानको चयन हुन गएमा लगानी डुब्न सक्दछ।
  4. स्थलको छनौट माथि नै मत्स्य पालन व्यवसायको सफलता वा असफलता निर्भर गर्दछ ।
  5. पोखरीको निर्माण खर्च स्थल छनौट माथि प्रत्यक्ष रुपले निर्भर गर्दछ ।

मत्स्य पालनको सफलता पानीको सफल व्यवस्थापन माथि निकै भर पर्दछ । मत्स्य पालनको लागि पानी एक माध्यम हो । पानीको अभावमा सर्वोत्तम माटोमा बनेको पोखरीको समेत उपयोग हुन सक्दैन । पोखरी नजिक पर्याप्त पानी भएको श्रोत भएमा यसले धेरै समस्याको समाधान गर्दछ । पोखरी निर्माण गर्नु भन्दा पहिले पोखरी संचालनको लागि चाहिने पानीको आम्दानी खर्चको लेखा जोखा गरि राख्नु आवश्यक हुन्छ ।

हाल हाम्रो देशमा मिश्रित माछा पालन लोकप्रिय भईरहेको छ । मिश्रित मत्स्य पालनको लागि पानीको न्युनतम गहिराई १.२ मिटर हुनु पर्दछ । यस गहिराइमा प्राकृतिक आहाराको अधिकतम उत्पादन गराई पानीको तीन वटा सतह प्राप्त गर्न सकिन्छ । मत्स्य पालन अवधि भरी नै यस गहिराइलाई कायम राख्नु पर्दछ । पोखरीबाट नियमित रुपमा पानीको ह्रास समेत भईरहेको हुन्छ । पानीको ह्रास मुख्यतया वाष्पिकरण तथा चुहावटबाट हुने गर्दछ ।

राम्रो माटोमा पोखरी निर्माण गरी चुहावटलाई न्युनतम ०.५ से.मी./दिन राख्न सकिन्छ । त्यसै गरी तराई क्षेत्रको वार्षिक वाष्पिकरण १.५ मिटर देखि १.८ मिटर सम्मको पाइन्छ । अर्थात् दैनिक करिब ०.५ से.मी. औसत वाष्पिकरणबाट ह्रास हुने देखिन्छ । यसप्रकार पोखरी जस्तोसुकै राम्रो माटोमा बनाइएको भएतापनि न्युनतम दैनिक करिब १ से.मी. पानीको ह्रास हुने गर्दछ । तसर्थ पानी यति मात्रामा उपलब्ध हुन सक्नु पर्दछ, जसले गर्दा चाहिएको बखत पानी भर्नेको साथै पानीको दैनिक ह्रासलाई समेत पुरा गर्न सकोस् । पानीको नियमित श्रोतको अभावमा अर्थात् वर्षातको भरमा पोखरी संचालन गर्ने हो भने पोखरीको गहिराई न्युनतम ४.५ मिटर हुनु पर्दछ, जुन आर्थिक दृष्टिकोणले लाभदायक हुन सक्दैन । पानीको भरपर्दो श्रोत भनेको इच्छाइएको बेलामा न्युनतम प्रयास तथा खर्चबाट आवश्यक परे जति पानीको आपुर्ति गर्न सकिने हुनुपर्दछ । यस्तो श्रोत मुल, ताल, रिजभ्र्वायर, आर्टिजन, बोरिङ्ग, व्यक्तिगत कुलो, भरपर्दो नहर हुन सक्दछ । इनार, खोला तथा स्यालो बोरिङ्गबाट मात्र पानीको आपुर्ति गर्दा थप खर्च लाग्ने हुन्छ जसले गर्दा व्यवसाय त्यति आकर्षक रहन जाँदैन । यस्तो श्रोत आकस्मिक अवस्थामा प्रयोग गर्न वा वैकल्पिक श्रोतको रुपमा मात्र उपयोगी हुन सक्दछ । तर ह्याचरी संचालन तथा भुरा उत्पादन गर्नका लागि यस्तो श्रोत समेत उपयोगी हुन्छ । पानीको मात्रा निर्धारण गर्दा सुख्खा समयको हिसाब गर्नु राम्रो हुन्छ । पानीको मात्रा कम भएमा उत्पादनलाई प्रभावित गर्दछ । ७ कट्ठाको पोखरीको लागि पानीको नियमित श्रोत भएमा ०.४ लि./से. पानीको बेग हुनु पर्दछ तथा ५–७ हर्ष पावरको पम्पले दैनिक ४५ मिनेट वा हप्तामा ५ घण्टा पानी थप्नु पर्ने हुन्छ ।

पानीको मात्रा पर्याप्त भएको ज्ञात गरी सकेपछि, पानी मत्स्य पालन गर्न योग्य छ, छैन ज्ञात गर्नु आवश्यक हुन जान्छ । पानीको श्रोत कारखाना नजिक वा खानी नजिक छ भने गुणस्तर परिक्षण गरिनु पर्दछ । कोइला वा सल्फर क्षेत्रबाट निस्केको पानी निकै अम्लिय हुन्छ भने चुन ढुङ्गा क्षेत्रबाट निस्केको पानी निकै क्षारिय हुन्छ । पानीको पि.एच. ७ देखि ९ को बीचमा हुनु पर्दछ । जमिन मुनीको पानीमा फलामको मात्रा बढी हुन्छ र कहिले काही निकै नोक्सानजनक हुनसक्छ । खास गरी ह्याचरी संचालन गर्दा निश्चिन्त हुनका लागि पानीको गुणस्तर जाँच गरिनु आवश्यक हुन्छ । तर जाँचको कार्य सुख्खायाममा गरिनु उपयुक्त हुन्छ किनकी सुख्खा समयमा वाष्पिकरणले गर्दा दुषित तत्वको मात्रा बढेर जान्छ । तर वर्षातमा पानी कम दुषित हुन सक्छ । पानीको गुणस्तर त्यस पानीमा पालिने माछाका जात बारे जानकारी गरेर वा केही समय सो पानीमा माछा राखेर समेत थाहा पाउन सकिन्छ । पानीमा खराब बासना हुनु हुँदैन, साथै पानी दुषित वा धेरै बालुवा मिसिएको समेत हुनु हुँदैन । पानीको श्रोत पोखरीको सतह भन्दा माथि भएमा पोखरीमा सजिलै पानी ल्याउन सकिन्छ ।

पोखरीको निर्माणमा माटोको महत्वपुर्ण भुमिका हुन्छ किनकी पोखरीको उत्पादकत्व तथा पानी अड्ने क्षमता प्रत्यक्ष रुपमा माटोको बनोट माथि निर्भर गर्दछ । चिम्ट्याइलो माटो पानी अडाउन सबभन्दा राम्रो माटो हो । तर यसका कणहरु पानीमा तैरी राख्ने भएकोले पोखरीको पानीलाई धमिलो पारी प्रकाशलाई अवरुद्ध पार्नुका साथै आवश्यक पोषक तत्वहरुलाई आफुमा बांधी पोखरीलाई अनुत्पादक बनाउँदछ । तसर्थ चिम्ट्याइलो दोमट माटो मत्स्य पालनको लागि सबैभन्दा बढी उपयुक्त मानिन्छ । बलौटे माटोको पानी राख्न सक्ने क्षमता कम हुन्छ । साथै सोबाट तयार पारिएको डिल कमजोर हुन्छ । तसर्थ बलौटे माटो भएको स्थानमा पोखरी निर्माण गर्नु हुँदैन ।

माटोको नमुना संकलन

जमिनको सबैतिर तथा सबै सतहको माटो एकनासको हुँदैन । तसर्थ पोखरी निर्माण हुने स्थलको पुर्ण प्रतिनिधित्व हुने गरी विभिन्न स्थानबाट माटोको नमुना संकलन गरिनु पर्दछ । नमुना संकलन गर्दा पोखरी खनिने गहिराइ भन्दा ३० से.मी. मुनी सम्मको माटो संकलन गर्नु पर्दछ । माटोको बनोट अध्ययनका लागि प्रत्येक विन्दुको, फिट गहिराईको माटो संकलन गरिनु पर्दछ । गहिराईबाट माटोको नमुना लिने कार्य खाडल खनेर वा पाइप अगर (soil auger) बाट गर्न सकिन्छ ।

माटोको भौतिक अवस्था जांच्ने तरिका

१. डल्ला परिक्षण (ball test) तरिका

  1. माटोलाई भिजाइ सानो गोला बनाउने,
  2. गोलालाई घाममा सुकाउने,
  3. गोला पुरै सुकेपछि हातमा लिई थिचेर पटाल्ने प्रयास गर्ने,
  4. माटोको गोला फटेन भने वा गाह्रो गरी फुट्यो भने पोखरी निर्माणको लागि उपयुक्त हो तथा सजिलै फुट्यो भने अनुपयुक्त हो ।

अथवा

  1. माटो भिजाई डल्ला बनाउने,
  2. माटोको डल्लालाई केही माथि फाली पुनः हातमा समात्ने,
  3. डल्ला जस्ताको तस्तै रहेमा राम्रो र फुटेर गएमा नराम्रो ठहरिन्छ ।

२. रिवन परिक्षण तरिका

  1. माटोलाई भिजाई मुट्ठी बन्द गर्ने,
  2. बुढी औंलाले माटोलाई थिच्ने,
  3. माटो निस्कँदा लामो रिवनको आकार लिई निस्किन्छ भने माटो मत्स्य पालनको लागि उपयुक्त हो यदि माटो निस्कँदा छिट्टै टुक्रा भएर गयो भने अनुपयुक्त हो ।

३. पानीको चुहावट नाप्ने तरिका

  1. पोखरी खनिने गहिराई सम्मको खाडल खन्ने,
  2. ४ से.मी. डायमिटरको पाइप उक्त खाडलमा २० से.मी. अझ तल धसाउने,
  3. पाइपलाई पुरै पानीले भर्ने र जग्गालाई भिज्न दिने तथा पुनः पाइपलाई भर्ने,
  4. एक निश्चित समयपछि (२४ घण्टा) पाइपमा पानी कति घटेको रहेछ नाप्ने र तीन पटक यस क्रियालाई दोहोर्याउने,
  5. निम्न सुत्रको प्रयोग गरी चुहावटको मात्रा निर्धारण गर्ने ।

चुहावटको मात्रा = पानी घटेको मात्रा (से. मि.) / पानी घटेको समय (दिन)

४. नमुना माटोको संरचनामा पत्ता लगाउने तरिका

  1. विभिन्न किसिमका माटोका कणको संरचना प्रतिशतको आधारमा माटोको वर्गीकरण गरी उपयुक्त छ, छैन ज्ञान गर्नु पर्दछ ।
  2. सफा पारदर्शी शिशाको भांडो लिने,
  3. भांडामा आधी माटोको नमुना राख्ने तथा बांकी पानी थप्ने,
  4. पानी र माटोलाई राम्ररी घोल्ने र ६–८ घण्टा थिग्रिन दिने,
  5. भांडामा विभिन्न तह देखिन्छ । सबभन्दा तल बालुवा, बालुवा माथि पांगो माटो, पांगो माटो माथि चिम्टयाइलो तथा सबभन्दा माथि जैविक पदार्थ
  6. यी विभिन्न तहको नाप गरी विभिन्न माटोका कणहरु कुन अनुपात वा प्रतिशतमा छन्, ज्ञान गर्न सकिन्छ ।

माटोको संरचना परिक्षण = (माटोको तहको मोटाइ / कुल माटोको मोटाइ) * १००

हरेक स्थानमा हरेक किसिमका माछा पाल्न सकिंदैन । खास किसिमका माछाको राम्रो सम्बर्द्धनको लागि खास किसिमको जलवायुको आवश्यकता पर्दछ । कार्प माछाहरु न्यानो पानीमा राम्ररी हुर्कन्छन् । यसको वृद्धिको लागि १८ डिग्री देखि २२ डिग्री से. सम्मको पानीको तापक्रम उपयुक्त मानिन्छ । ७ महिना भन्दा कम समय यो तापक्रमको मान उपलब्ध हुने क्षेत्रका लागि कार्प माछा पालन त्यति फाइदाजनक हुँदैन । कार्प माछा पालनमा प्रकाशले समेत मुख्य भुमिका निर्वाह गर्दछ । तसर्थ जुन क्षेत्रमा बढी समय सम्म सुर्यको प्रकाश पाइन्छ, माछाको वृद्धि त्यति नै बढी पाइन्छ । हाम्रो देशमा तराई तथा भित्री मधेश कार्प मत्स्य पालनका उपयुक्त क्षेत्र हुन् । तसर्थ स्थल छनौट गर्दा उक्त
स्थानको जलवायुलाई समेत विचार गर्नु पर्दछ, अन्यथा पालन कार्य असफल हुन सक्छ ।

जमिनको बनोट भन्नाले पालन स्थल कस्तो छ भन्ने जानकारी दिन्छ । जमिनको बनोट माथि पोखरीको निर्माण खर्च निर्भर गर्नुका साथै संचालन खर्च समेत प्रभावित हुने गर्दछ ।

साथै जग्गा तथा जलाशयको अनुपातलाई समेत प्रभावित गर्दछ । पहिले देखि नै होचो स्थलमा पोखरी निर्माण गर्दा कम माटो काट्नु पर्दछ । जसले गर्दा निर्माण खर्च कम लाग्दछ । स्लोप परेको जग्गामा पोखरी निर्माण गर्दा पोखरीमा पानी भर्न तथा सुकाउन सजिलो हुन्छ अर्थात खर्च लाग्दैन । पानी निस्कने ठाउँ नभएमा पोखरी सुकाउन पम्पको प्रयोग गर्नु पर्दछ । यदि पालन स्थल अग्लो स्थानमा छ भने पानी भर्न समेत पम्पको प्रयोग गर्नु पर्दछ । यी सबैले व्यवस्थापनलाई कठिन तथा संचालन खर्चलाई बढाउँछ । तसर्थ जमिनको बनोट बाढी पैरो नलाग्ने, पानी सजिलै ल्याउन तथा पठाउन सकिने तथा कम माटो काटेरै पोखरी बनाउन सकिने खालको भएमा राम्रो हुन्छ ।

उत्पादनका लागि आवश्यक वस्तुहरु उत्पादन केन्द्र सम्म पुर्याउनका लागि बाटोघाटो नितान्त आवश्यक हुन्छ । अन्यथा अतिरिक्त खर्च (overhead cost) बढेर जानुका साथै व्यवस्थापन कार्य समेत निकै कठिन हुन्छ । उत्पादनका लागि आवश्यक सामग्रीहरु चाहिएको बखत सजिलैसँग उपलब्ध हुन सक्ने तथा उत्पादित वस्तु सजिलैसँग बिक्री हुन सक्ने बजार हुनु नितान्त आवश्यक हुन्छ । उत्पादन स्थलबाट बजारको दुरी जति बढी हुन्छ तथा यातायातको जति असुविधा हुन्छ फाइदाको मात्रा त्यति नै कम हुन्छ, किनकी लागत खर्च बढी लाग्ने तथा उत्पादित वस्तु सस्तोमा बिक्री गर्नु पर्ने वा बजारसम्म पठाउँदा बढी खर्चिलो हुन्छ । तसर्थ पालन स्थलको छनौट गर्दा बाटो-घाटो या यातायातको सुविधा तथा नजिक भन्दा नजिक बजार भएमा उपयुक्त मानिन्छ ।

स्थल छनोट गर्दा सकभर सामाजिक सामन्जस्यता भएको, घरको नजिक सुरक्षित स्थान हुनु पर्दछ, अथवा कम भन्दा कम खर्चमा हेरचाह तथा सुरक्षा गर्न सकिने क्षेत्रको चयन गरिनु पर्दछ । अन्यथा उत्पादित वस्तुबाट आशातीत फाइदा लिन सकिंदैन र कहिलेकाही विषादीको प्रयोगबाट माछा मर्ने, दैनिक हेरचाह गर्न कठिन हुने साथै उत्पादित वस्तुको चोरी हुने समेत बलियो सम्भावना हुन्छ । 

यसप्रकार हामी भन्न सक्छौं कि कार्प पालनको लागि स्थल चयन गर्दा निम्नलिखित वस्तु माथि ध्यान पुर्याउनु पर्दछ;

  1. जग्गाको बनोट यस्तो हुनु पर्दछ, जसलाई कम खर्चमा पोखरीमा रुप दिन सकियोस्, जस्तैः ईट्टा कारखानाको खाडल, सडक किनारका खाडलहरु वा तीनतिर अग्लो तथा एकतिर होचो भएको जग्गा उपयुक्त हुन्छ ।
  2. पानीको श्रोत उपयुक्त मात्रा तथा गुणस्तरको हुनु पर्दछ । वर्षाको भरमा पोखरी खनाउनु हुँदैन । बिना खर्च प्राप्त हुने श्रोत उपयोग गर्नु पर्दछ ।
  3. माटोको बनोट अधिकांश अधिक पानी अडाउने क्षमता भएको तथा उत्पादनशील हुनु पर्ने चिम्टयाइलो दोमट उपयुक्त मानिन्छ ।
  4. जलवायु समशीतोष्ण वा उष्ण वा सदाबहार हुनु पर्दछ ।
  5. उत्पादन समग्री उपलव्ध हुने तथा उत्पादित वस्तु बिक्री हुने बजारको सुविधा तथा राम्रो बाटोघाटो भएमा बढी लाभ आर्जन गर्न सकिन्छ ।
  6. गाउंघरको नजिक तथा सुरक्षा पुर्याउन सक्ने क्षेत्रमा कार्प माछा पालन गर्नु पर्दछ ।

यसरी चयन गरिएको स्थलमा व्यवसाय असफल हुने कम सम्भावना हुन्छ । तर कुनै पक्षलाई वेवास्ता गर्दा अपेक्षित फाइदा लिन सकिंदैन र व्यवसायबाट घाटा हुन सक्दछ । पोखरी निर्माणको लागि उपयुक्त स्थालको छनौट गरि सकेपछि पोखरीको उपयोग अनुसार कम खर्चमा अधिकतम जलाशय प्राप्त हुने गरि योजनाको डिजाईन बनाउनु पर्दछ । तथा सोही डिजाईन अनुसार निर्माण पुरा गर्नु पर्दछ । पोखरीको डिजाईन गर्दा न्युनत ६५% जलाशय प्राप्त हुन पर्दछ, पोखरीको डिजाईन गर्दा निम्न बुँदाहरु माथी विशेष ध्यान दिनु पर्दछ ।

  • बढी हिलो लेदो भएको (३० से.मी. भन्दा बढी) पुरानो पोखरी भए सो पोखरीलाई राम्ररी सुकाई बढी हिलो बाहिर निकाल्नु पर्दछ र पोखरीलाई जोतेर माटो पल्टाउनु पर्दछ ।
  • डीलहरु चेक गरी प्वालहरु भए टाल्नु पर्छ भने स्लोप बिग्रेको भए बनाउनु पर्छ ।
  • चुनको प्रयोग सामान्यतया १५ किलो÷कट्ठाका दरले गर्नु पर्दछ ।
  • पानी एकहप्ता भित्र भर्ने गरी व्यवस्था मिलाउनु पर्छ ।
  • १०० किलो÷कट्ठा गोबरमल तथा डिएपी १ किलो र युरिया १.५ किलो/कट्ठा आधार मात्राको रुपमा प्रयोग गर्नु पर्दछ । 

पोखरी निर्माण

  • पोखरी पूर्व पश्चिम लाम्चो भएको बनाउनु पर्छ ।
  • पोखरी निर्माण गर्नु अघि पोखरीको डिजाइन बनाउनु पर्छ  (गहिराई, डीलको बनोट, आदि) ।
  • रेखांकन गरी निर्माण गरिएको पोखरी राम्रो हुन्छ ।
  • पोखरी जति ठूलो बनाइन्छ लागत खर्च त्यति नै कम लाग्छ ।
  • आयताकार पोखरी व्यवस्थापन गर्न सजिलो हुन्छ ।
  • बलियो तथा आकर्षक डील बनाउने तथा डीलको स्लोप घटीमा १ः१.५ कायम राख्ने ।
  • पानीको प्रवेशद्वार पानीको अधिकतम स्तरभन्दा माथी हुनु पर्ने ।
  • सकभर पोखरीको पानी सजलै बाहिर जान सक्ने गरि पोखरीको स्लोप तथा ड्रेन पाइपको व्यवस्था गर्नु पर्छ ।
  • पोखरीको गहिराई घटीमा ४ फिट पानी राख्न मिल्ने हुनु पर्छ ।
  • माटो काट्ने स्थान तथा डीलको विचमा पेटी राख्दा राम्रो हुन्छ । 

 1

पोखरीको आकार उपयोगको आधारमा सानो वा ठूलो हुन्छ । भुरा हुर्काउनको लागी सानो तथा खाने माछा उत्पादनको लागी ठूलो पोखरी बनाउन राम्रो हुन्छ । उपयोगको आधारमा निम्नानुसार साईज राख्न सकिन्छ;
नर्सरी पोखरी ( ०.०५ – ०.२ हे.)
माउ पोखरी ( ०.२ – ०.५ हे.)
उत्पादन पोखरी ( ०.२ – ३.० हे.)
सानो पोखरीमा व्यवस्थापनको कार्य सरल हुन्छ तर प्रति ईकाइ जलाशय खर्च बढी लाग्दछ तथा जग्गाको अनुपातमा कम जलाशय प्राप्त हुन्छ । पोखरीको साईज व्यवस्थापन गर्न सक्ने क्षमताको आधारमा ठूलो भन्दा ठूलो राख्नु फाईदाजनक हुन्छ । पोखरी बनाउँदा वर्गाकार पोखरी किफायती हुन्छ भने आयताकार पोखरी व्यवस्थापन गर्न सरल हुन्छ । धेरै ठूला वर्गाकार पोखरी बनाउन सकिदैन । तसर्थ लम्बाई तथा चौडाई बिचको अन्तरलाई न्युन राखी (यथासम्भव) डिजाइन गर्नु पर्दछ । लम्बाई र चौडाई बिच जति ठूलो अन्तर हुन्छ डिलले त्यत्तिनै बढि क्षेत्रफल ओगट्छ र जलाशय त्यत्ति नै कम प्राप्त हुन्छ । डिलको चौडाई ५० मिटर भन्दा बढी राख्दा जाल तान्ने कार्य कठिन हुन्छ ।

मिश्रित माछा पालनको लागि पानीमा तीन वटा सतह पाउनु आवश्यक हुन्छ । पोखरीमा तीन सतह पाउन पानीको न्युनतम गहिराई १.२ मिटर हुनु आवश्यक छ । पोखरीको गहिराई स्थानीय जलवायु माथि समेत भर पर्दछ । तसर्थ गर्मी स्थानमा बढी तथा चिसो स्थानमा कम गहिरो पोखरी बनाउनु उपयुक्त हुन्छ । व्यवसायिक रुपमा मत्स्यपालन गर्न पोखरी बनाउँदा २.० मिटर सम्म पानी राख्न सक्ने पोखरी बनाउनु पर्दछ । पोखरी बाट सामान्यतया त्यति मात्रै माटो निकाल्नु पर्छ जति डिल बनाउन उपयोग होस् । जग्गाको कुल क्षेत्रफलको १ तिहाई भाग मात्र डिलले ओगट्ने हो भने माटो काट्ने कार्य ६० से.मी. देखी ७५ से.मी. मात्र गर्नु पर्दछ । त्यसकारण वांछित गहिराई तथा उपयुक्त जलाशय क्षेत्रफल प्राप्त गर्नका लागी निर्माण स्थल पहिले देखिनै गहिरो (३०–६० से.मी.) हुनु आवश्यक देखिन्छ ।

डिलको बनावट यस्तो हुनु पर्दछ जस्ले बाढीबाट पोखरीलाई सुरक्षित राख्न सकोस् साथै पोखरीको पानीको चापलाई धान्न सकोस र पानीलाई बाहिर चुहिनबाट बाचावोस् । डिल बनाउँदा निम्नलिखित कुराहरु माथि विचार गर्नु पर्दछ ।

sd

  1. डिल निर्माण हुने स्थानबाट घांसपात, ढुङ्गा, जरा, ठुटो आदि सफा गर्ने 
  2. तह तह गरी माटो राख्ने 
  3. हरेक ३० से.मी.मा माटो दबाउने 
  4. डिल आवश्यक उचाई भन्दा अली अग्लो बनाउने 

डिलको उचाई पानी राख्ने स्तर तथा छेउछाउको क्षेत्रमा पानी जम्ने उचाई माथी भर पर्दछ । बढी बाढी लाग्ने संभावना भएको क्षेत्रमा अग्लो डिल बनाउनु पर्दछ । पोखरीको क्षेत्रफल अनुसारको डिलको उचाई १ देखी २ मिटर राख्न सकिन्छ ।

डिलको माथिल्लो चौडाई लाई क्राउन भनिन्छ । यो आवत-जावत गर्ने बाटोको रुपमा समेत प्रयोग हुन्छ । बाटोको आवश्यकता तथा पोखरीको क्षेत्रफल अनुसार यसलाई १–४ मिटरको राख्न सकिन्छ ।

हरेक किसिमको माटो एक निश्चित कोणमा बस्ने गर्दछ । डिलका उचाई जति बढी हुन्छ स्लोपले त्यत्ति नै बढी स्थान ओगट्छ । डिलको भित्री स्लोप १ः२ मा तथा बाहिरी स्लोप १ः१.छ को अनुपातमा राख्दा उपयुक्त हुन्छ ।

डिलको आधार भनेको डिलको जगको वा डिलको अधिकतम चौडाई हो। डिलको उचाई, क्राउन तथा स्लोप निर्धारण भए पछि डिलको आधार स्वतः निर्धारित हुन्छ । उदहरणको लागि यदि डिलको उचाई १.५ मिटर तथा क्राउन १.५ मिटर छ भने बाहिरी स्लोपले २.२५ मिटर ठाउँ ओगट्छ तथा भित्री स्लोपले ३ मिटर ठाउँ ओगट्छ । यसप्रकार डिलको आधार ६.७५ मिटर हुन्छ ।

hk

चित्र: डिलको निर्माण

पोखरीमा पानी भर्न तथा पानी निकाल्नको लागी प्रवेश तथा निकासद्वारको व्यवस्था गरिन्छ । जसको माध्यमबाट पोखरीमा भर्न वा सुकाउन सकिन्छ भने माछालाई भाग्न बाट बचाईन्छ र माछाका शत्रुलाई प्रवेश गर्नबाट बन्चित गरिन्छ । पानीको प्रवेशद्वार माथिल्लो भागमा तथा निकासद्वार सबभन्दा होचो स्थानमा बनाउनु पर्दछ । पोखरीको माटो काट्दा स्लोपमा काट्नु पर्दछ । तथा पोखरीको एउटा बिन्दु सबभन्दा गहिरो हुनु पर्दछ । त्यहि नै पानीको निकासद्वार बनाईन्छ । पानीको प्रवेश तथा निकासद्वारको साईज पोखरीको साईज माथि भर पर्दछ । प्रवेशद्वार तथा निकास बनाउन ईट्टा, सिमेन्ट, पोलिथिन पाईप आदिको प्रयोग गर्न सकिन्छ ।

ठूलो पोखरी बनाउदा डिलहरुलाई सुरक्षित राख्नका लागी साथै व्यवस्थापनलाई सरल बनाउनका लागी पेटी छाडिन्छ जसलाई वर्मलाईन भनिन्छ । वर्मलाईन १–३ मिटरको पेटी पोखरीको डिलको भित्र पट्टी चारै तिर राखेर मात्र माटो काट्ने कार्य गरिन्छ ।

पोखरी खन्दै जाँदा कुनै तहमा बलौटे माटो निस्किएमा डिल बनाउँदा बलौटे माटोको बिच राम्रो माटो पुरिन्छ । त्यसैगरि पोखरीको त्यो तहमा छेउमा खाडल खनी राम्रो माटो भरिन्छ । डिलमा हुने यस्तो कार्यलाई कोरवाल तथा पोखरीमा हुने कार्यलाई ट्रेन्च भनिन्छ ।

पोखरी व्यवस्थापन

  1. सकभर समयमै नर्सरी पोखरीमा भुरा राख्नु पर्दछ ।
  2. फाल्गुण-चैत्रमा कमन कार्प; वैशाख-जेष्ठ-आषाढमा ग्रासकार्प, सिल्भरकार्प र विग हेड कार्प; श्रावण–भाद्रमा रोहु, नैनी र भाकुर जातका माछाका भुराहरु मत्स्य विकास केन्द्र र नीजि मत्स्य ह्याचरी तथा नर्सरीहरुमा उपलब्ध हुन्छ ।
  3. भुरा खरिद गर्दा भरपर्दो श्रोतबाट मात्र खरिद गर्नु पर्दछ ।
  4. प्रति कट्ठा ३००-५०० गोटा निम्न अनुसार राख्दा उपयुक्त हुन्छ ।

क्र.सं.

माछाको जात

अनुपात

आवश्यक संख्या

कमन कार्प

२५%

७५ देखी १२५

सिल्भर कार्प

३५%

१०५ देखी १७५

विग हेड कार्प

१०%

३० देखी ५०

ग्रास कार्प

५%

१५ देखी २५

रोहु

१५%

४५ देखी ७५

नैनी

१०%

३० देखी ५०

 

जम्मा

 

३०० देखी ५००

भाकुर माछा विगहेड कार्पको सट्टामा वा दुवैलाई मिलाएर राख्न सकिन्छ  

  1. माछा भुरा ढुवानी सितल समयमा गर्नु पर्दछ तथा माछा भुरालाई सोभै पोखरीमा खन्याउनु हुंदैन । केही बेर (१०-१५ मिनट) नयाँ वातावरणसंग घुलमिल गर्न दिनाका लागि भुराको प्याकलाई पोखरीको पानीमा राखेर मात्र भुरा छाड्नु पर्दछ ।
  2. स्वस्थ माछा मात्र पोखरीमा छाड्नु पर्दछ । सावधानीको लागि १ लि. पानीमा ५० ग्राम नुन घोली माछालाई डुबाई पोखरीमा छाड्नु पर्दछ ।
  3. माछा भुरा सकभर एकैनासको हुनु पर्दछ ।
  4. ठूलो भन्दा ठूलो भुरा राख्ने प्रयास गर्नु पर्छ ।

 

माछा पानीमा आश्रीत एवं बाच्ने जीव भएकोले पानीको गुणस्तरले माछा पालन गर्न प्रभावित गर्दछ । माछा पालन गर्न पोखरीको पानीको गुणस्तर निम्नानुसारको हुनु पर्दछ ।

 

भौतिक गुणहरु

वान्छित स्तर

१.

पानीको गहिराई

१.५ मिटर

२.

पानीको रंग

हरियो

३.

पारदर्शिता

२०–४० से.मी.

४.

प्रकाश क्षेत्र

४०–८० से.मी.

५.

तापक्रम

१८–३२ डि.से.

 

रसायनिक गुणहरु

वान्छित स्तर

१.

घुलित अक्सिजन

५ पी.पी.एम. भन्दा बढी

२.

घुलित कार्वनडाईअक्साईड  

२० पी.पी.एम. भन्दा कम

३.

पी.एच.

७–९

४.

सम्पूर्ण क्षारीयता

५०–२०० पी.पी.एम.

५.

सम्पूर्ण कडापन

५०–२०० पी.पी.एम.

६.

अमोनिया

०.२ पी.पी.एम.भन्दा कम

७.

हाइड्रोजन सल्फाइड

५ पी.पी.एम. भन्दा कम

 

जैविक गुणहरु

वान्छित स्तर

१.

ठूला जलिय वनस्पती

अनुपस्थित

२.

फाइटोप्लाङ्कटन (लेउ)  

बाहुल्यता

३.

जुप्लाङ्कटन

ठीकै मात्र

४.

हिलो/ लेदो

३० से.मी. भन्दा कम

  • हरियो पानीले उत्पादन भइरहेको जनाउँछ ।
  • पानी उचित मात्रामा हरियो भएमा पानीको गुणस्तर उपयुक्त रहेको देखाउँछ ।
  • उचित मात्रामा पानी हरियो रहेको वा नरहेको भन्ने जानकारी सेची डिस्कबाट वा हात डुबाएर थाहा हुन्छ ।
  • गर्मी याममा तथा बादल लागेको दिनहरुमा सूर्योदय भन्दा पहिले पानीको गुणस्तरमा ह्रास आई माछा मर्न सक्ने भएको हुँदा घाम लाग्नु भन्दा १ घण्टा पहिले पोखरीको भ्रमण गरी माछाको व्यवहारको अध्ययन गर्नु पर्दछ ।
  • पानीको गहिराई कम भएमा (१ मि. भन्दा कम) पानी तातेर माछा मर्ने तथा बढी भएमा (१ मि. भन्दा बढी) पिंध अनुत्पादक तथा अक्सिजन विहिन हुने हुँदा पानीको उचित गहिराई कायम राख्न पर्दछ ।
  • पानीको तापक्रम १८ देखी ३२ डि.से. भएमा कार्प माछाहरु बढ्दछन् तर पालनको लागि बढी उपयुक्त तापक्रम भने २८ देखी ३२ डि.से. हो । तसर्थ पानीको तापक्रम उपयुक्त स्तरमा रहे सम्म मात्र माछा पाल्नु पर्दछ ।
  • पोखरीको सरसफाई गर्ने 
  • जलीय वनस्पतिहरुलाई नियन्त्रण गर्ने 
  • ठीक संख्यामा माछा राख्ने 
  • पोखरीमा हिलो/लेदो भएमा १ फिट भन्दा बढी भएका झिकि दिने 
  • मल एकै पटकमा धेरै नहाल्ने बरु कम तर छिटो छिटो राख्ने 
  • मल एकै ठाउंमा थुपारेर नराख्ने तथा सकभर कांचो मल प्रयोग नगर्ने 
  • दाना खेर हुने गरी नदिने 
  • पोखरीको नियमित हेरचार गर्ने 
  • पानीको उचित गहिराई कायम राख्ने 

प्राकृतिक आहारा उत्पादनको एक निश्चित सिमा भएको हुँदा स्टकिङ्ग घनत्व अनुसार माछाहरुलाई प्राकृतिक आहाराले मात्र पुग्दैन । उत्पादनमा वृद्धि ल्याउन दाना पनि उचित मात्रामा दिने गर्नु पर्दछ । माछाको लागि खुवाइने दाना सामान्यतया स्थानीय स्तरमा उपलब्ध हुने धानको ढुटो (राइसब्रान) ५० प्रतिशत र तोरीको पिना ५० प्रतिशत मिलाएर बनाउन सकिन्छ । सुरुको अवस्थामा माछाको शारिरीक तौलको ५ देखी १० प्रतिशतको दरले दाना दिनु पर्दछ भने माछा वृद्धि हुँदै जाँदा, शारिरीक तौलको १ देखी ३ प्रतिशतको दरले दाना दिनु पर्दछ । दाना दिँदा राम्रोसँग मुछेर डल्ला पारी झूण्डयाएर प्रत्येक दिन एउटै समय र स्थानमा दिने गर्नु पर्दछ । दाना दिने गरेको ठाउँमा समय समयमा दाना खाइरहेको छ छैन हेर्ने गर्नु पर्दछ । ग्रास कार्पको लागि आवश्यकता अनुसार दैनिक घाँस पनि दिने गर्नु पर्दछ । ग्रास कार्प ५० ग्राम भन्दा माथि पुग्दा शरीरको तौलको २० देखि ३० प्रतिशत सम्म घाँस खाने गर्दछ । दाना सामान्यतया विहानीपख तथा घाँस साँझमा दिँदा राम्रो हुन्छ । 

ठाउँ अनुसार माटोमा उपलव्ध हुने पोषकतत्व फरक फरक हुने हुनाले मलखादको मात्रा पनि कम बेसी चाहिने हुन्छ । मलिलोपना हेरी मलखादको मात्रा र अवधिलाई निर्धारण गर्नु पर्दछ । पहिलो पटक मल प्रयोग गरेको ४-५ दिन देखि नै मलिलोपन जाँच गर्दै जानु पर्दछ । हातले मलिलोपन जाँच गर्दा कुहिनो सम्म डुबाउँदा नङ देखिन छाड्यो भने मलखाद ठीक छ, हत्केला नडुब्दै नङ देखिन छोड्यो भने मलखाद धेरै छ र कुहिनो भन्दा माथी सम्म डुबाउँदा नङ देखियो भने मलखादको कमी रहेको छ भन्ने बुझ्नु पर्दछ । सेचि डिस्कले नाप्ने हो भने २० देखि ४० से.मी. भित्रको पारदर्शिता उपयुक्त हुन्छ र यस्तो जांच पानीको रंग हरियो भएमा मात्र उपयुक्त हुन्छ । घाम नलागेको बेलामा वा धमिलो पानीमा यो जांचले ठीक परिणाम दिंदैन । 

1

2

पोखरीमा लगातार प्राकृतिक आहारा उत्पादन भैरहोस् भन्नको लागि आवश्यकता अनुसार समय समयमा मलखादको प्रयोग गर्नु पर्दछ । मलखादको प्रयोगले उत्पादकत्व बढाउँछ भन्दैमा अनुपयुक्त तरिकाले प्रयोग गरिएको मलखादले लाभ भन्दा बढी नोक्सानी पुर्याउन सक्छ । तसर्थ उपयुक्त मात्रा तथा तरिकाले मलखादको प्रयोग गर्नु पर्दछ । उत्पादन बढाउने मुख्य पोषकतत्वहरु फोस्फरस र नाइट्रोजन हुन् । यी तत्वहरु पोखरीमा प्राङ्गारिक र रसायनिक मलको प्रयोग गरेर बढाउन सकिन्छ । मलखादको प्रयोग गर्दा सकभर घोलेर घाम लागेको समयमा गर्नु पर्दछ । प्राङ्गारिक मलको रुपमा गाई भैंसीको पुरानो गोबर, बंगुरको मल, हांस तथा कुखुराको सुली, कम्पोष्ट मल प्रयोग गर्नु पर्दछ । गोबरको प्रयोग हरेक १५ दिनमा १० किलो प्रति कट्ठाको दरले प्रयोग गर्नु पर्दछ । नाइट्रोजन र फोस्फोरसको श्रोतको रुपमा युरिया र डि.ए.पी.को प्रयोग गर्नु पर्दछ । हरेक हप्ता ५०० ग्राम डि.ए.पी. र ७०० ग्राम युरिया प्रति कट्ठाको दरले प्रयोग गर्नु पर्दछ ।

पालिएका माछाहरुको अवस्था कस्तो छ राम्रो संग फस्टाएको छ/छैन जान्नका लागि र आवश्यक दानाको मात्रा निर्धारण गर्न माछाको वृद्धि जाँच अत्यावश्यक हुन्छ । जांच गर्दा सबै जात र साइजको माछाको प्रतिनिधित्व हुने गरी १० देखी २० गोटा सम्म माछाको नमुना लिएर त्यसको तौल र साइज लिनु पर्दछ । बृद्धि जांच गरे पछि पोखरीमा भएको सम्पूर्ण माछाको तौल अनुमान गर्न सकिन्छ र त्यसै अनुसार दानाको मात्रा निकाल्न सकिन्छ । माछाको बृद्धि जांच गर्दा स्वास्थ्य जांच पनि गर्नु पर्दछ । माछामा घाउ खटिरा वा अन्य असामान्य अवस्था देखिएमा रोग लागेको हुन सक्छ । यस्तो अवस्थामा प्राविधिक सल्लाह अनुसार उपचार गर्नु पर्दछ ।

आहार व्यवस्थापन

माछाहरु मुख्य गरेर सर्वभक्षी जलचर प्राणी हुन् | यिनीहरु विषेशत: पानीमा भएको वनस्पति तथा प्राणीजन्य जीवित वा सडेगलेका पदार्थहरु खाएर हुर्कने-बढ्ने गर्दछन् | यस्ता पदार्थहरु सुक्ष्म जीवाणुहरु देखि लिएर ठुल्ठुला जीव, बिरुवा तथा कृत्रिम दाना पनि हुन सक्दछन् | केहि माछाहरु मांशाहारी हुन्छन् र साना माछा वा अन्य जलचर प्राणीको सिकार गरेर खान्छन् | व्यावसायिक मत्स्यपालन गर्दा माछाको जात अनुसार तिनीहरुको प्राकृतिक आहारका साथै थप दानाको पनि व्यवस्था गरी अधिकतम उत्पादन लिइन्छ |

माछा उत्पादन व्यवसायमा करिब ४०-६० प्रतिशत लागत दानामै खर्च हुने गर्दछ | नाफामुलक मत्स्यपालन व्यवसायमा दानाको खर्च फार्ममा बिक्रि गरिने माछाको मुल्य (Farm gate price) को २० प्रतिशत भन्दा बढी हुनु हुँदैन |

पानीमा वनस्पतिजन्य सुक्ष्मजीवहरु (Phytoplankton) जस्तै: लेउ (Algae), सिनेड्रा अल्ना (Synedra ulna), नाभीक्युला (Navicula), फ्राजिलेरिया (Fragilaria) आदि र प्राणीजन्य सुक्ष्मजीवहरु (Zooplankton) जस्तै: कोनोचिलस (Conochilus), ट्राइकोसर्का (Trichocerca), कालानोइडा (calanoida), डाफनिया (Daphnia) आदिका साथै पानीमा बस्ने क्रस्टासियन (Crustacean) प्रजातिका जीवहरु विशेषगरी गङ्गटा (Crabs), झिंगेमाछा (Lobsters/shrimp), शंखेकिरा, जलीय झारपात आदि पाइन्छ | धेरैजसो माछाहरुको मुख्य आहारा नै पोखरीको पानीमा पाइने यिनै प्राकृतिक आहार हुन् | यि प्राकृतिक आहारले विभिन्न माध्यमबाट पोखरीको सम्पर्कमा आएर उत्पादन वृद्धि गर्न सघाउ पुर्याउँछन् |

यि प्राकृतिक आहाराको वृद्धिदर पोखरी खनिएको माटोको मलिलोपना, पानीको गुणस्तर, जलवायु, पानीको तापक्रम, पोखरी भएको ठाउँको उचाइ, मोहडा आदिमा निर्भर गर्दछ | त्यसैले विभिन्न पोखरीको उत्पादन क्षमता बेग्लाबेग्लै हुन्छ | एकै पोखरीको उत्पादन क्षमता पनि बेग्ला-बेग्लै समयमा फरक फरक हुन सक्छ |

पोखरीको उत्पादन क्षमता बढाउन पोखरीमा प्रांगारिक वा रासायनिक मल प्रयोग गरिन्छ | व्यवसायिक रुपमा मत्स्यपालन गर्दा प्राकृतिक आहाराले मात्र माछाको उत्पादनशीलता बढाउन सकिन्न | यस्तो अवस्थामा माछाको शारीरिक आवश्यकता र जातअनुसार थप कृत्रिम आहार बनाएर माछालाई खान दिइन्छ |

उन्नत प्रविधि अपनाएर माछा पाल्दा एउटा सानो जलाशय क्षेत्रमा बढी घनत्वमा माछा पालिन्छ | यस्तो अवस्थामा प्राकृतिक आहाराले मात्र माछाको अधिकतम वृद्धि कायम राख्न पर्याप्त पोषण पुग्दैन | तसर्थ व्यवसायिक उत्पादन लिनका लागि थप पूरक दानाको व्यवस्था गर्नुपर्छ | यस्तो दानाले माछाको शारीरिक क्रियाकलाप तथा वृद्धिदर कायम राख्न आवश्यक मात्रामा प्रोटिन, कार्बोहाइड्रेट तथा फ्याटको आपूर्ति गर्दछ |

मत्स्यपालन व्यवसायमा माछाको दानामा बढी खर्च लाग्छ | दाना व्यवस्थापन गरेर लागत घटाउन सकिन्छ, माछाको स्वास्थ्य र वृद्धिका साथै जलाशयको वातावरण पनि सुधार गर्न सकिन्छ |

दाना व्यवस्थापनका लागि निम्न तथ्यहरुमा ध्यान दिनुपर्दछ:

  • दाना बनाउने खाद्य सामग्रीको सहि चयन
  • किफायती दाना बनाउने तरिका
  • दाना खुवाउने सहि तरिका

माछाका लागि दाना उच्चस्तरको पोषिलो हुनुपर्दछ | यसमा प्रोटिनको मात्रा २८-३२%, फ्याट ३-६% तथा शक्ति, भिटामिन, खनिज र लवण आवश्यक मात्रामा मिसाइएको हुनुपर्दछ | माछाको भुरालाई ३०-३५% प्रोटिनयुक्त दाना आवश्यक पर्दछ | त्यस्तै माउ माछालाई २५-३०% र खाने माछालाई २०-२५% प्रोटिनयुक्त दाना दिनु पर्दछ तर ट्राउट माछाको भने सबै उमेर र अवस्थामा ३५% प्रोटिन भएको दाना आवश्यक पर्दछ | माछालाई सबैभन्दा आवश्यक पर्ने पौष्टिक तत्व कार्बोहाइड्रेट हो | खाद्यान्न बाली र तिनका उप-उत्पादनहरु (धानको ढुटो, गहुँको चोकर, पिठो, मकै आदि) कार्बोहाइड्रेटका स्रोतहरु हुन् | त्यस्तै भटमास, पिनाहरु, सिद्रा, माछाको धुलो एवम् गेडागुडीहरु प्रोटिनको स्रोतहरु हुन् | दानको फर्मुलेसन गर्दा प्रोटिनको प्रतिशतलाई बढी ध्यान दिइन्छ |

दानाको टुक्रा धेरै सानो वा धेरै ठूलो हुनु हुँदैन | साधारणतया यसको आकार ३-६ मिलिमिटर बिचको हुनुपर्छ | दाना बनाउनको लागि विशेषगरी भटमासको पिना, धानको ढुटो, गहुँको चोकर, मकैको पिठो तथा अन्य खाद्यसामग्रीहरुको प्रयोग गरिन्छ | दानामा फोस्फोरस, भिटामिन तथा खनिज तत्वहरु पनि आवश्यक मात्रामा मिसाइएको हुनुपर्दछ | माछाहरुले रेशमको कोया, भान्सामा उब्रिएको खाना, बंगुरको विष्टा आदि पनि खाने हुँदा खेर गएको खाद्य पदार्थहरु प्रयोग गर्न सकिन्छ | ग्रास कार्पका लागि हरियो पोषिलो घाँस र केराको पात पनि दिइन्छ |

क्र.सं. खाद्यपदार्थ मात्रा (प्रतिशत)
    नमुना १ नमुना २ नमुना ३ नमुना ४ नमुना ५
धानको ढुटो ४०

-

५२ ३७
गहुँको चोकर - - २० २० २०
मकैको पिठो - ३१.५ - - -
भटमासको पिना २८ १८.५ १३ २३ ४६
तोरीको पिना ०.५ - - - -
जाँडको कट (Brewer taste) २० ३१.५ - - -
सिद्रा (Fish meal) १२ १८.५ १० १५
भिटामिन र मिनरल मिक्स्चर ०.५ - - - -
प्रोटिन २८ - १८ २५ ३०

माछाको दाना धुलो वा मुछेको (Mash) वा डल्लो (pellet) को रुपमा बनाइन्छ | पलेट दाना पनि पानीमा डुब्ने (Compact/pressure pellet) र पानीमा तैरने (Extruded pellet) गरी दुई थरिका हुन्छन् | धुलो दाना भुराहरुको लागि उपयुक्त हुन्छ | पानीमा तैरिने दाना केहि महँगो पर्दछ |

दाना बनाउँदा खाद्य सामग्रीको आकारमा पनि विशेष ध्यान दिनुपर्छ | साना जीरा (Fry) का लागि ०.८-१.० मिलिमिटर, ठूला भुरा (Fingerlings) का लागि २-३ मिलिमिटर र ठूला माछाहरुका लागि ४-४.५ मिलिमिटर आकारको हुनुपर्दछ | पलेट दाना १-४ मिलिमिटर आकारका हुन्छन् | यिनीहरु हलुका भएकाले पानीमा तैरन्छन् | माछालाई खुवाइने दाना विभिन्न प्रकारका हुन्छन् | तिनीहरुको तुलनात्मक विवरण निम्नानुसार दिईएको छ:

 

क्र.सं. विवरण दानाको किसिम
    कच्चा दाना (Mash feed) पलेट दाना (Pellet feed) [डुब्ने] पलेट दाना (Pellet feed) [तैरने]
दानाको प्रकार ढुटो वा पिठोको रुपमा ट्याब्लेट/क्याप्सुल आकारमा, पानीमा डुब्ने ट्याब्लेट/क्याप्सुल आकारमा, पानीमा तैरने
पानीमा हाल्दा हुने पोषकतत्व ह्रास (%) ५०-६० २० ०-५
पानीमा पग्लिएर जाने सम्भावना केहि समयमै घुलेर खेर जाने एक घण्टासम्म नघुली रहने १२-१८ घण्टासम्म नघुली रहने
पचाउन सक्ने क्षमता (Digestibility) ५०-६० ८०-९० ९५ भन्दा बढी
प्रदुषण बढी कम अति कम
आहार परावर्तन अनुपात (Feed Conversion ratio) १:३.५-४.५ १:२-२.५ १:१.५-१.७५
भुराबाट एक किलो हुन लाग्ने समय (दिन) ४५० २४०-२५० १८०-२००
उत्पादन टन/हेक्टर १.५-१.८ ५-६ ९-१००

माछालाई आहारा खुवाउँदा जलाशयको एक कुनामा राखेर वा जलाशयको चारैतिर छर्केर खान दिइन्छ | जलाशयमा छर्केर खान दिँदा माछाका गतिविधिहरु पनि थाहा पाउन सकिन्छ तर आहार छर्कन ज्यामी भने बढी लाग्छ | यदि एक निश्चित ठाउँमा आहार दिने हो भने जलाशयको एक वा तिन चार ठाउँमा कुनै भाँडोमा राखेर दिन सकिन्छ, जसले गर्दा नोक्सान पनि कम हुन्छ |

अचेल माछालाई दाना दिने विभिन्न प्रकारका आधुनिक भाँडाहरु (Feeder) पनि पाइन्छन् | यस्ता स्वचालित भाँडामा दाना भरिन्छ | दाना निस्कने ठाउँलाई सोली (Funnel) आकारको बनाइएको हुन्छ र त्यसमा धातुको ट्रिगर (Trigger) जोडिएको हुन्छ | माछालाई भोक लागेको बेला त्यो ट्रिगर थुतुनोले चलाउँछ र दाना झर्छ | यस्तो स्वचालित दाना खाने भाँडोको प्रयोग गरेर समय र श्रमको बचत गर्न सकिन्छ |

क्र.सं. माछाको तौल (ग्राम) दानाको मात्रा (तौलको अनुपात) दानाको आकार (मिलिमिटर)
१०-२०  २
२०-३०
३०-५०
५१-१०० ३.५
१०१-२००  ३   
२०१-३०० २.५
३०१-४००
४०१-५०० १.८
५०१-६०० १.६
१० ६०१-७०० १.४ ४ 
११ ७०१-८०० १.२
१२ ८०१-९००
१३ ९०१-१००० ०.९

 

दाना दिने समय र ठाउँ
  1. माछालाई एक निश्चित समयमा र तोकिएको ठाउँमा मात्र दाना दिनुपर्छ | स्वचालित भाँडाबाट दाना दिने हो भने माछाले आफुखुशी दाना खान्छ |
  2. औसत एक हेक्टरको पोखरीमा तिन ठाउँमा दाना राख्नुपर्छ |
  3. पोखरीमा दाना राख्दा गहिरो कम भएको ठाउँमा राख्नुपर्छ |
  4. दाना बिहान ८-९ बजे (पुरै घाम लागेपछि) र दिउँसो ३-४ बजे (घाम नअस्ताउँदै खाइसक्ने गरी)
दाना खुवाउने तालिका

अन्डाबाट निस्केका, ३-५ दिनपछी दुई हप्ताको उमेरसम्म:

  1. जीरा अवस्थासम्मका भुरालाई पहिलो हप्ता दिनमा ४ पटक
  2. दोस्रो हप्ता दिनको आठपटक भुराको तौल बराबरको दाना

जीरादेखि भुरा आकारसम्म, करिब ९० दिनको उमेरसम्म:

  1. पहिलो महिना, भुराको तौलको ६-८ प्रतिशत, दिनमा दुईपटक
  2. दोस्रो महिना, भुराको तौलको ५-६ प्रतिशत, दिनमा दुईपटक
  3. तेस्रो महिना, भुराको तौलको ३-४ प्रतिशत, दिनमा दुईपटक

भुरा देखि बिक्रि अवस्थासम्म, करिब ६ महिनाको उमेरसम्म

  1. माछाको तौलको १-३ प्रतिशत, दिनमा दुईपटक (बिहान र मध्यान्न)
माछाको वृद्धिदर

पोखरीमा प्रत्येक महिना माछाको औसत तौलको अनुमान गर्नुपर्छ र सोहि अनुसार माछालाई दाना खुवाउनुपर्छ |

दाना दिन नहुने अवस्थाहरु
  1. हप्ताको एक दिन  (निश्चित दिन निर्धारण गरी एक दिन दाना नदिने)
  2. साँझपाख र रात्रीको समय
  3. बादल लागेको दिन
  4. माछाको कृत्रिम प्रजनन गराउनु भन्दा २४ घण्टा अगाडी
  5. माछा हार्भेस्ट गर्ने (माछा मार्नुभन्दा २४ घण्टा अगाडी)
  6. हिउँद वा चिसो मौसममा (पानीको तापक्रम २० डिग्री से. भन्दा कम भएमा) माछाले दाना कम खाने हुँदा दानाको मात्रा घटाउनुपर्छ |
सावधानीहरु
  1. धेरै पुरानो (२० दिन भन्दा पुरानो) र ढुसी लागेको दाना प्रयोग गर्नु हुँदैन |
  2. माछालाई चाहिने भन्दा बढी दाना दिनु हुँदैन | बढी भएको दानाले पोखरीलाई प्रदुषित बनाउँछ, साथै लागत खर्च पनि बढाउँछ |
  3. एकपटक दिएको दाना माछाले २० मिनेट भित्र खाइसक्नुपर्छ |
  4. दाना बढी भएमा सडेर पानी गन्हाउँछ | अक्सिजनको मात्रा घट्छ |
  5. सुक्खा दानालाई मोक्राएर डल्ला बनाई दिनुपर्छ |

उत्पादन

  • पोखरीको पानी पुरै नसुकाईकन नै गरिने हारभेस्टीङ्गलाई आंशिक हारभेस्टीङ्ग भनिन्छ । यस प्रकारको हारभेस्टीङ्ग पालन अवधिको बिच-बिचमा नियमीत रुपमा गरिन्छ । 
  • स्थानीय साना जातका माछाहरु प्रजनन् गरी राख्ने खालका हुन्छन् । वर्षा हुनासाथ यी माछाहरुले पोखरीमा प्रजनन् गर्दछन् जसले गर्दा यिनीहरुको घनत्व बढेर जान्छ र आहार तथा बासस्थानको लागि एक-आपस बिच प्रतिस्पर्धा हुन्छ । त्यसकारण उनीहरुको उपयुक्त संख्या मिलाउन यस प्रकारको आंशिक हारभेस्टीङ्ग गरिन्छ ।
  • यस प्रकारको हारभेस्टीङ्गद्वारा यी माछाहरुको संख्यामा वृद्धि हुनुका साथ-साथै कृषकहरुले नियमित रुपमा माछालाई आफ्नो पारिवारिक आहारमा समावेश गर्न सक्छन् जसले गर्दा परिवार स्वस्थ हुन्छ ।
  • जाल तान्दा दुइ पटक भन्दा बढी तान्नु हुदैन नत्र पिंधको अक्सिजन कम भएको पानी चल्छ र अक्सिजन कम भई माछा मर्न सक्छ ।
  • जाल तान्दा छिटो तानी कार्पलाई छानी तुरुन्त पोखरीमा छाडी दिनु पर्छ, त्यस पछि मात्र साना स्थानीय माछालाई पोखरी बाहिर ल्याउनु पर्छ ।

पूर्ण हारभेस्टीङ्गमा ठूलो कार्प माछाहरु सबै निकालिन्छन् भने साना स्थानीय जातका माछाहरु पूर्ण रुपले निकालिदैन । यसरी हारभेस्टीङ्ग गर्दा हामीले १-१.५ फिट पानी छोड्नु पर्छ ताकी आउँदो वर्षमा गरिने माछा पालनमा साना स्थानीय जातका माछाका भुराहरु यथेष्ट मात्रामा होस् । 

  1. पोखरी तयारी देखि भुरा राख्दा तथा मलखाद, दाना, औषधि, जस्ता पोखरीमा प्रयोग भएको प्रत्येक वस्तुको अभिलेख राख्नुका साथै ज्यामी ज्याला, व्याज जस्ता खर्चहरुको समेत अभिलेख राख्नु पर्छ ।
  2. पानीको गुणस्तर जाँच गरिएको भए सो को अभिलेख समेत राख्नु पर्दछ ।
  3. त्यसै गरी उत्पादित वस्तुहरुको बिक्रीबाट प्राप्त हुने आम्दानीको समेत अभिलेख राख्नु पर्छ ।
  4. यसप्रकार जति राम्ररी अभिलेख राखिन्छ त्यति राम्ररी गरिएको कार्यको लेखाजोखा राख्न सरल हुन्छ र खुद मुनाफा यकिन गर्न सकिन्छ

माछा उत्पादन, अभिलेख तथा आर्थिक विश्लेषण

  1. सर्वाधिक प्रतिफल प्राप्त गर्नका लागि माछाको उत्पादन जब पोखरीको क्षमताको नजिक पुग्न थाल्छ अनि माछा झिक्ने कार्य सुरु गर्नु पर्दछ ।
  2. उत्पादन क्षमता नजिक पुग्न लाग्दा वृद्धिदर घटेर जाने तथा अक्सिजन कमीका लक्षणहरु देखिन थाल्छन् ।
  3. समय समयमा साइज पुगेका (करिब ५०० ग्राम वा माथि) माछाहरु झिक्दा बढी माछा उत्पादन गर्न सकिन्छ) भने नियमित आम्दानी हुनुका साथै जोखिम घट्दै जान्छ ।
  4. माछा छिटटै कुहिने वस्तु भएकोले आवश्यक मात्रामा मात्र झिक्नु पर्दछ तथा छिटो भन्दा छिटो बिक्री गर्नु पर्दछ ।
  5. समय लाग्ने भए वर्फमा तत्काल माछा राख्नु पर्दछ वा डिफ्रीजको उपयोग गर्न सकिन्छ ।
  6. यस प्रविधिको अनुसरणबाट वार्षिक २०० देखी ३०० किलो माछा प्रति कठ्ठा उत्पादन गर्न सकिन्छ । 
  • एरेटरको प्रयोगले अक्सिजनको कमी हुन नदिई पोखरीको उत्पादन क्षमता बढाउछ ।
  • एरेटर नियमित रुपमा दिउंसो तथा राति २ः०० बजे करिब १ देखि २ घण्टाको लागि चलाउनु उपयुक्त हुन्छ ।  
  • दानालाई पेलेट बनाई दिन सकेको खण्डमा दाना कम नोक्सान हुने तथा उत्पादन बढी लिन सकिने हुन्छ । 

अन्य जानकारी

भुरा स्टकिङ्ग: यस बहुजातिय पालन प्रविधिमा ट–७ जातका कार्प र ३ जातका साना स्थानीय माछाहरुलाई पोखरीमा पालिन्छ ।

साना स्थानीय माछाहरु: डेढुवा, मारा/धवई, पोठी

साना स्थानीय माछा सकेसम्म ठूलो साइजको राख्नु पर्छ ताकी वर्षा हुना साथ तिनले प्रजनन गर्न सकोस् । साना स्थानीय माछा ढुवानी गर्दा धेरै मर्ने भएकोले सक्दो नजिकको श्रोतबाट बिहानीपख मात्र पोखरीमा छाड्ने अथवा कुलो मुहान हुने ठाउंमा, कुलोमा जाली राखी साना स्थानीय माछा समातेर पोखरीमा छाड्ने । कार्प १०० गोटा प्रति १०० वर्ग मीटर र साना स्थानीय माछा डेढुवा, मारा/धवई र पोठी मध्ये एक जातको वा मिसाएर ५०० गोटा प्रति १०० वर्ग मीटर दरले पोखरीमा राख्नु पर्दछ। 

दाना दिने तरिका

  • दाना दिदा कार्पलाई ध्यानमा राखेर नाङ्गलो अथवा दाना दिने भाडामा दैनिक बिहान घाम लागे पछि दिनु पर्छ ।
  • दाना कार्पको कुल तौलको २–३∞ को दरले दिनु पर्छ ।
  • दाना अन्य माछालाई दिए जस्तो ढुटो, पिना, चोकर मिसाएर दिनु पर्छ ।
  • ग्रास कार्पको लागि घाँस, तरकारी तथा केराको पत्ता आदि दिनु पर्छ ।
  • साना स्थानीय माछाले प्राकृतिक आहारा र दाना दुवै खाएता पनि कार्पको बृद्धिमा खासै असर पार्दैन |

रोग तथा समस्याहरु

“सामान्य स्वास्थ्यमा आएको जुनसुकै किसिमको परिवर्तनलाई रोग भनिन्छ” तथा त्यस्ता जीवहरु जसले यस्तो परिवर्तन ल्याउन मद्दत गर्दछ लाई जीवाणु भनिन्छ ।

माछामा रोग विभिन्न कारणले लाग्न सक्दछ जस्तै: 

  • वातावरण र त्यसमा आएको परिवर्तन 
  • माछाको दाना आहारामा कमि 
  • पोखरीमा मलखादको बढी प्रयोग 
  • माछालाई चोट पटक लाग्नु 
  • अन्य माछाबाट सरेर 
  • दूषित पानीबाट

 रोगी माछाहरुमा सामान्यतया निम्नलिखित लक्षणहरु देखा पर्दछ । 

  • विस्तारै हिडडुल गर्नु
  • पानीको सतहमा आउनु 
  • जीउ भीत्तामा घस्रनु 
  • विभिन्न भागमा थोप्लाहरु देखिनु 
  • पखेटाहरु कुहिदै जानु तथा कत्ला झर्नु 
  • आँखा बाहिर निस्कनु 
  • शरिरको विभिन्न भागमा घाउ हुनु 
  • माछाको शरीरमा बढी चिप्लो पदार्थ (म्युकस) हुनु

पोखरीको लागि सबै भन्दा घातक तथा नोक्सान पुर्याउने रोग ।

रोगको लक्षणः यो रोग एफ्यानोमाइसिस भन्ने ढुसिबाट लाग्छ । सुरुमा शरीरमा रातो रातो थोप्ला देखिन्छ । सो ठाउँमा कत्ला झर्न गई खाल्टो भएको घाउ देखिन्छ । ढाड र पुच्छरको नजिक भागमा घाउहरु देखिन्छन् । जाडोको समयमा स्थानीय जातका माछामा खास गरी कत्ला नभएको तथा मसीना माछाका जातमा यो रोग बढी लाग्दछ । विकासे माछा मध्ये रहु, नैनी र भाकुरामा मात्र यो लागेको पाइएको छ । 

उपचारः

  • घर पोत्ने चून १५ के.जी./कठ्ठा हाली रोगको प्रकोप हेरी १ हप्ताको अन्तरमा बढीमा ३ पटक सम्म प्रयोग गर्ने ।
  • पानीको प्रवेशद्धारमा जाली राख्ने र जंगली माछा सबै हटाउने ।
  • सामान्यतया कमन, सिल्भर, विगहेड र ग्रासमा यो रोग लागेको नपाइएकोले यो रोगको प्रकोप भैरहने स्थानमा यी जातका माछाको संख्या बढी राख्नु उपयुक्त हुन्छ ।
  • माछा मार्ने जाललाई प्रयोग गरी सकेपछि राम्रोसंग सुकाएर पुनः प्रयोग गर्ने ।

12

12

 

  • यो माछाको छाला, गिल र पखेटामा आक्रमण गर्ने एक कोषीय बाहय परजीवि हो
  • यसको संख्या धेरै भएमा माछाको भुरा मार्दछ

लक्षण

माछा दुब्लो हुने, पानीमा बिस्तारै तैरने  फाट्टफुट्ट रुपमा दैनिक माछा भुरा मर्दै जाने यो परजीविको आक्रमणको प्रमुख लक्षण

औषधि उपचार

  • ०.२५ पि.पि.एम.को दरले टा«ईक्लोफेन र डिप्टेरेक्स राख्ने
  • २५ पि.पि. एम को दरले फोर्म्लिन पोखरीमा हाल्ने
  • २–३ प्रतिशतको नुन पानीको झोलमा ५–१० मिनेट डुवाउने
  • ०.२५ पि.पि.एम मालाचाइत ग्रीन प्रयोग गर्ने

 fvdf

vx

 

लक्षणहरु

  • शरीरको कुनै पनि भागमा लाग्न सक्दछ
  • यसले शरीरको रगत चुस्ने भएकोले जिउमा घाउ तथा खाटिरा देखा पर्दछ

औषधि उपचार

  • २–३ प्रतिशत नुन पानीको झोलमा ५–१० मिनेट डुबाउने
  • टा«ईक्लोफेन ÷डिप्टेरेक्स ०.२५ पि.पि.एम प्रयोग गर्ने  

sfc

csf

लक्षणहरु

  • शरीरको बाहिरी भागमा सेतो थोप्लो देखा पर्दछ
  • ढाड र जिउमा छाला पातलो भई घाउ देखिन्छ

औषधि उपचार

  • ३ प्रतिशत नुन पानीको झोलमा ३–४ मिनेट डुबाउने
  • मालाचाइट ग्रीन ०.१ पि.पि.एम प्रयोग गर्ने  

svg

  • यो रोग मिक्जोबोलस सेरेब्रेलिस नामक परजीवीबाट लाग्छ
  • यो परजीवी मुख्यतया माछाको टाउको नरम हाड र मेरुदण्डमा लाग्छ
  • यस परजीवीका बिउहरु संक्रमित भई मरेको माछाबाट र संक्रमित पानीबाट सर्छ

लक्षण

  • यस रोगबाट संक्रमित माछाको मेरुदण्ड बांगो हुन्छ र पुच्छर तिरको भाग बांङ्गो टिङ्गो हुदै जान्छ
  • संक्रमित माछाको शरीरको रङ्ग कालो हुदै जान्छ र माछाको बृद्धि हुँदैन

उपचार र रोकथाम

  • यस रोगको उपचार नभएकोले संक्रमित माछालाई पोखरीबाट झिकी जमिन मुनि गाड्नु पर्दछ
  • यो परजीवी लाग्न नदिन पोखरीमा भुरा राख्नु अगाबै ५०० कि.ग्रा. प्रति हे. को दरले चुना प्रयोग गर्नु पर्छ
  • माछालाई संतुलित आहारा दिनु र्पछ

 sfc

मांसाहारी माछा — नियन्त्रण गर्न पानी सुकाउने वा विषादि प्रयोग गर्ने, पटक पटक जाल तानेर मांसाहारी माछा झिकी कम गर्ने, पानीको निकास तथा प्रवेशद्वार र निकास द्वारमा जालि प्रयोग गर्ने ।

भ्यागुता – नियन्त्रण गर्न गाह्रो हुने भएकोले ठूला साईजको माछा भुरा स्टक गरि यसवाट बचाउन सकिन्छ ।

सर्प – पानी सर्प पानी वाहिर बस्छ  र माछा समात्नको लागि पानी भित्र पसेर भुरा तथा ठूला माछा खाएर नोक्सान पुर्याउछ । यस लाई नियन्त्रण गर्नको लागी सर्पको पासो थापेर समात्न सकिन्छ।

चरा – चराहरुले पानीको माथी तथा कुनैले पानी भित्र पसेर माछा समातेर नोक्सान गर्ने भएकोले यीनीहरुलाई ढाग्रो वजाएर, रगी विरंगी कागजहरु ठाउंठाउंमा राखेर तर्साएर धपाई नियन्त्रण गर्नु पर्छ।

अक्सिजनको कमी: माछाहरु समुहमा सतहमा आई सास फेर्न खोजेमा तथा थपडी बजाउंदा वा पानीमा ढुंगा फाल्दा विस्तारै प्रतिक्रिया देखाएमा पानीमा अक्सिजनको कमी भई गुणस्तरमा ह्रास आएको सम्झनु पर्दछ तथा तत्काल पानी थप्ने व्यवस्था  मिलाउनु पर्दछ वा एरेटरको प्रयोग गर्नु पर्दछ ।

पोखरीको पानी रातो देखिनु: मलखाद राम्रो व्यवस्थापन गर्न नसक्दा पानीको सतहमा रातो लेउ देखिन्छ । यो माछाको लागि राम्रो होइन । मलखादको उचित प्रयोगबाट यसलाई ठीक पार्न सकिन्छ।

झारपातको प्रकोप: कम गहिरो तथा कम मलीलो पोखरीमा घाम पींधसम्म पुग्दछ तथा ग्रास कार्प माछा पर्याप्त नभएमा पोखरीमा झारपातहरु उम्री पोखरीलाई अनुत्पादक बनाउँदछ र माछाको उत्पादन संतोषजनक हुँदैन । त्यसैले पोखरीको उचित गहिराई तथा मलीलोपना कायम राख्नु पर्दछ ।

सन्दर्भ

पोखरीमा माछा पालन, कृषक पुस्तिका ANEP

डा. माधव कुमार श्रेष्ठ प्राध्यापक, कृषि तथा वन विश्वविद्यालय

रमानन्द मिश्र सह–सचिव, राष्ट्रिय प्राकृतिक तथा कृत्रिम जलासय, मत्स्य विकास कार्यक्रम

डा. शुनिला राई सह–प्राध्यापक, कृषि तथा वन विश्वविद्यालय

सुरेश कुमार वाग्ले वरिष्ठ वैज्ञानिक, मत्स्य अनुसन्धान महाशाखा